Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

वाल बिवाहको असर खेप्दै आमाहरु

         निमुसंगम घर्ती ||   241 Views   ||   Published Date : 24th August 2016 |

दाङ ।

देउखुरी वेलाकी सन्तोषी यादवको ११ बर्षकै उमेरमा विवाह भयो । विवाह भएको ४ बर्षपछि महिनावारी भयो । त्यसपछि उनले बर्षैपिच्छे जसो ८ वटा बच्चा जन्माइन् । ती मध्ये दुई वटा बच्चाको निमोनियाका कारण मृत्यु भयो । अहिले उनी तल्लो पेट दुख्ने, पिसाव पोल्ने र सेतो पानी बग्ने समस्याले पीडित छन् ।
परम्परा अनुसार नै बिहे गरेकी यादवले पढ्न लेख्न पाइनन् । सन्तोषी अहिले ६५ बर्षकी भईन् । आफ्नै गाउँको स्वास्थ्य चौकीमा घोराहीबाट निःशुल्क उपचार गर्न डाक्टर आउने खबर पाएर शिविरमा पुगेकी सन्तोषीले डाक्टरको सल्लाह र कुरा सुनेर विगतलाई सम्झिइन् । घर परिवारको सल्लाहबाटै ११ बर्षमा विवाह गरेकी सन्तोषीको मन अहिले त्यो दिन र संस्कारलाई सम्झेर असन्तोष छ ।
यादव समुदायमा संस्कार नै थियो सानैमा बिहे गर्ने अनि दुई चार बर्ष माईती मै बस्ने । ‘त्यति बेलाको जमाना अर्कै थियो । अहिले त सबैले पढ्ेलेखेका छन् । हाम्रो पालामा त्यसो थिएन । संस्कार र काम प्यारो हुन्थ्यो ।’ सन्तोषीले भनिन्, ‘अहिले पछुताएर के गर्ने ? नाति नातिनालाई पढाउने र उमेर पुगेपछि बिहे गर्ने सल्लाह दिन्छु ।’
ओरेक नेपाल नामको संस्थाले देउखुरीको बेलामा आयोजना गरेको महिला स्वास्थ्य शिविरमा सन्तोषी दुखेसो पोख्दै थिइन् । स्वास्थ्य शिविरमा आएका करीब २ सय महिलाहरुमध्ये ७५ प्रतिशतभन्दा बढी महिलाहरु सानैमा बिहे गरेका र प्रजनन तथा यौन समस्याबाट पीडित बनेको पाइएको संस्थाकी जिल्ला संयोजक तुलसा गिरीले बताइन् ।

शिविरमा उपचार गराउन पुगेकाहरु महिलाहरुको प्रजनन् स्वास्थ्यमा गम्भिर असर देखा परेको छ । विवाह गर्ने उमेर नहुँदै बिवाह गर्ने र छिटो बच्चा जन्माउँदा महिलाहरुको प्रजनन् स्वास्थ्यमा समस्या देखा परेको हो । शिविरमा आउनु भएकी शिबा खनालले पनि ११ बर्षमै बिहे गरेको चिकित्सकलाई सुनाइन् । आठ वटा बच्चा जन्माएकी शिबाले चार वटा बच्चालाई बचाउन सक्नु भएन । विहे गरे देखी नै स्वास्थ्य समस्या खेप्दै आएकी शिवाले पनि रोग सँग लड्दै आएकी छन् । सुत्केरी हुँदा समेत स्याहार नपाएको बताउने शिवा अहिले बिभिन्न शारीरिक समस्या रहेको बताउँछिन् ।

सानै उमेरमा बिबाह गर्दा परिपक्व शरीर नहँुदै बच्चा जन्मने, स्याहार नपाउने, पोषण तत्वको कमी, घरमै बच्चा जन्माउने र शिक्षाको अभावका कारण महिलाहरुको प्रजनन् स्वास्थ्यमा असरहरु देखा परेको स्वास्थ्य जाँचकालागि शिविर पुगेका डा. अरबिन्द भुसालले बताए । उपचारका लागि शिविरमा पुगेका अधिकांश महिलाहरुमा पाठेघरमा समस्या, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, ढाड कम्मर दुख्ने समस्याहरु देखिएको थियो ।

यादब समुदायको बस्ती रहेको वेला, खरदरिया, प्रतापपुरका महिलाहरुले सानै उमेरमा विवाह गरेको र धेरै सन्तान जन्माउँदा अहिले समस्या थपिदै गएको डा. भुसालको भनाई छ । शिविरमा गएका अधिकांश महिलाहरुले १० देखि १५ बर्षको उमेर मै विवाह गरेको बताएका थिए । त्यसैगरी सन्तान पनि १० वटा सम्म जन्माउने गरेको पाइएको छ । शिविरमा दुई सय बढीले निशुल्क सेवा लिएका थिए । डा. अरबिन्द भुसाल र डा. दिपिका सुबेदीले विरामीहरुको स्वास्थ्य जाँच गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np