Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

अब त साङ्लो नचुँडाए बात लाग्छ

         सावित्री गौतम ||   291 Views   ||   Published Date : 24th August 2016 |

sabitri gautamकेही वर्ष अघिदेखि विभिन्न साहित्यिक महोत्सवका नाममा देशका विभिन्न ठाउँमा हुने सार्वजनिक कार्यक्रमहरुमा ठूलो संख्यामा कवि—लेखक, अध्येता, विश्लेषक, अभिनेता—अभिनेत्री, सामाजिक अभियन्ता र राजनीतिज्ञहरुको कुरा सुन्ने मौका पाइन थाल्यो । अचानक किताबका अक्षर र काँचका पर्दाबाट बाहिर निस्केर सजीव बोलिरहेका उनीहरुको कुरा सुन्ने हुलमा मिसिनु रोमान्चक थियो । तर यस्ता कार्यक्रम सकिएलगत्तै टिप्पणी पनि सुनिन थाले—कार्यक्रममा महिलाको सम्मानजनक उपस्थिति थिएन । एक्का—दुक्का भए पनि महिलाहरुलाई मन्चमा देखिरहँदा उता मचाहिँ दर्शक दीर्घामा बसेर सोच्थें ‘१४ वर्षदेखि लगातार कान्तिपुरमै लेखिरहेकी रामेश्वरी पन्त किन यो समाजमा बलात्कार मात्रै देख्छिन् ? किन सबैले ‘अति सुन्दर’ भनेर बखान गरिरहने सुदुरपश्चिमको बारेमा सुदुरपश्चिमकै छोरी डा. अरुणा उप्रेतीले कुरुपता मात्र लेख्छिन् ? यो सब सुन्न किन कोही चाहँदैन ?

जवाफ सजिलो थियो ‘कैयौं किताब प्रकाशित गरिसकेका लेखकहरु त नअटेको बेला कहाँ ‘भुरे टाकुरे’ स्तम्भकारहरुलाई ठाउँ पुग्छ ?’ तर पनि मैदानमा फुटबल खेलिरहेका खेलाडीभन्दा बढी चासो उनीहरुको समर्थन गरिरहेका दर्शकलाई लागेजस्तै जब यस्ता कार्यक्रममा महिला लेखकको सहभागिता कम हुन्छ हामीलाई तातो लागि नै हाल्छ । नारायणी देवकोटा कुर्लिन्छिन् ‘किन हामीलाई कहिले मान्छे भनिएन ?’ वा म कुर्लिन्छु ‘महिला लेखकको स्तर बोलीमा नाप्ने कि अक्षरमा ?’ किनकि अत्यन्त थोरै संख्यामा सहभागी भइरहेका महिला लेखकको मुखबाट हामी आफ्नो आवाज पनि प्रतिविम्वित भएको पाउँछौं । आखिर हामी सबैले बाँचेको परिवेश र मुद्दा त साझा हुन् ।

साहित्यिक सम्मेलनमा महिलाको सहभागिता कम किन भन्ने प्रश्नमा सधैंजसो एउटै उत्तर दोहोरिन्छ ‘राम्रो लेख्ने महिला नगण्य छन् । (राम्रो लेख्ने पुरुष चाहिं अनगिन्ती छन् (?) )’ यस्तो लाग्छ उनीहरु भित्रभित्र भनिरहेछन् ‘पारिजात बिति सकिन्, प्रेमा शाह र मन्जुश्री थापा विदेशमा छन्, यहीं भएका एकदुईजना ‘राम्रा’लाई कताकता मात्र बोलाउनु ?’ उदेक यो सम्झेर लाग्छ कि यस्ता कार्यक्रममा प्रत्येक पटकजसो दोहोरिएका सबै पुरुष वा महिला लेखक पारिजात वा प्रेमा शाहकै हाराहारीका वा उनीहरुभन्दा पनि बढी प्रतिभाशाली भएर बोलाइएका हुन् । बोलाउनेहरुले कहिले सोंचेजस्तो लाग्दैन हरेक पटक उनै मान्छेका कुरा सुनिरहँदा दर्शकले आवाजको विविधताको अभाव महसुस गरिरहेका छन् । जसलाई पढेर हामी हुर्कियौं—बानिरा गिरी, कुन्ता शर्मा, तोया गुरुङ, भद्र घले, भुवन ढुंगाना, माया ठकुरी, बेन्जु—मन्जु शर्मा वा बीचको पुस्ताकी मोमिलाको पालाको लेखन अनुभव सुन्नै पाईंदैन ।

पुराना र नयाँ पुस्ताका महिला लेखकको लेखनका साझा वा फरक भोगाइ के के हुन्, यो पनि छलफलका सत्रहरुमा नपरेको विषय हो । नयाँ पुस्तामै पनि कवितामा किराँत समुदायको प्रतिनिधित्व गर्ने बिमला तुम्खेवा वा होटल व्यवसायमा प्रसिद्धि कमाएका थकाली महिलाकी प्रतिनिधि मनीषा गौचन कसरी लेखनमा आइपुगे यो सुन्ने फुर्सत कसैलाई छैन । शरीरमा सेरेब्रल पल्सी जस्तो जटिल अपांगता बोकेर लगातार लेखिरहने झमक घिमिरे नेपाली लेखनको सर्वोच्च मानिने मदन पुरस्कार विजेता पनि हुन् । उनलाई नबोलाईँदा पुरस्कार विजेता, महिला र अपांगता भएका महिलाको गरी ३ वटा वर्गको प्रतिनिधित्व एकैचोटि गर्ने झमकको दृष्टिकोण के हो भनेर थाहा पाउनबाट पनि नेपाली पाठक बन्चित छन् । द्वन्द्वकालको एउटा महत्वपूर्ण अध्यायलाई अभिलेखीकरण गर्ने अर्की मदन पुरस्कार विजेता राधा पौडेल उत्कृष्टताको कुन चाहिं मापदण्ड पुरा गर्न नसकेर नबोलाइने हुन् ? उनको किताब साहित्यिक थिएन भन्नेहरुलाई उनले जवाफ दिने मौका पाउने कि नपाउने ? कमलरीको नारकीय जीवन भोगेर मुक्तिको असंभवप्राय लडाई जितेकी, निरक्षरताबाट किताब लेखनसम्मको लामो यात्रा तय गरेकी शान्ता चौधरी आदिबासी थारु समुदायमा जन्मेर पनि जातीय राज्यको विरोध किन गरिरहेकी छिन् ? उनको राजनैतिक र लेखकीय जीवनबारे सुन्ने चासो साहित्यिक महोत्सवका आयोजकहरुलाई किन छैन ? पराई लोग्नेमान्छेलाई अनुहार समेत नदेखाइने मुस्लिम समुदायमा जन्मेकी मोहना अन्सारी आज कसरी देशका कार्यकारी प्रमुखको टिप्पणीमाथि खुल्लमखुल्ला आपत्ति जनाउन सक्ने बनिन् ? यति धेरै सामाजिक अभियन्ता अटाउने साहित्यिक सम्मेलनमा अन्सारी किन कहिले अटाइनन् ? यस्तै प्रतिनिधि महिला लेखक, राजनीतिज्ञ वा अभियन्ताहरु दलित वा मधेशी समुदायमा पनि कैयौं होलान् ।

हालै काठमाडौंमा एक प्रकाशन संस्थाले आयोजना गरेको अन्तरराष्ट्रिय पुस्तक प्रदर्शनीमा केही छलफलका सत्र पनि थिए । नेपाली साहित्यमा पछिल्लो ट्रेण्ड, नेपालको भूराजनीति र शक्ति सन्तुलन, आजको युवा र पठन संस्कृति, आजको नेपाली सिनेमा कला, पहिचान र साहित्य र बदलिँदो नेपाली राजनीतिको आयाम गरी छ वटा विषयमा हुने छलफलका यी सत्रमा अभिनेत्री ऋचा शर्मा बाहेक अरु एकजना पनि महिला नपरेको विषयले त्यतिबेला तरंग ल्यायो जब समालोचक अर्चना थापाले यसबारेमा कडा प्रतिरोध जनाउँदै सामाजिक संजालमा पोस्ट गरिन् । तालिका हेर्दा यस्तो लाग्यो नेपालको राजनीति, पठन संस्कृति, पहिचान आदि विषयमा बोल्न सक्ने एकजना पनि महिला नेपालभरिमै रहेनछन् । भाइरल बनेको उक्त पोस्टमा यो गलत भयो भन्नेमै अधिकांशले सहमति जनाए । बाह« घन्टा पनि नबित्दै आयोजकले हतारमा कार्यक्रम तय गरिएकोले माफी माग्दै नयाँ तालिका बनाइने र त्यसमा उपस्थित भइदिन महिला लेखकलाई अनुरोध ग¥यो । केही प्रतिष्ठित लेखकले पनि आफू बोल्ने सत्रहरु छोडिदिने र त्यो समय कुनै महिला वक्तालाई दिन आयोजकलाई आग्रह गरे । आयोजकले गल्ती महसुुस गर्नु सकारात्मक कुरा हुन सक्ला । पुरुष वक्ताहरुले आफ्नो सत्र छोडिदिनु पनि सह्ृदयताको कुरा हुन सक्ला । तर यसले प्रश्नहरु पनि उठाएको छ— के महिला भीडमा छुटेको जुत्ताजस्तो हतारमा बिर्सिने र पछि फर्केर लिन गइने वस्तु हुन् ? उनीहरु पछि सच्याइन मिल्ने गल्ती हुन् ? शुरुमा आयोजकको दिमागमा एकजनासम्म पनि महिलाको नाम नआउनु गल्ती हो वा मानसिकता हो ? अनि अर्चना थापाले थाहा नपाएका भए यो गल्ती हुन्थ्यो वा भव्य कार्यक्रम हुन्थ्यो ? निम्ता पाएका त्यत्रा पुरुष वक्ताहरुमध्ये कुनै एकजना सम्मले पनि को—को महिला सहभागी हुँदैछन् भनेर पहिल्यै सोधिदिएको भए आयोजकले आफ्नो ‘गल्ती’ बेलैमा थाहा पाउँथे कि ? अब आएर सच्याइएको तालिकामा सहभागी हुन जाने महिलाको आत्मसम्मान वा स्वाभिमानको प्रश्न पनि महत्वपूर्ण हुन सक्ला ।

केही लेखकहरुले जनाएको विरोधमा कतिपयले भन्न पनि भ्याएका छन् महिलाहरु लिपिस्टिक र लुगाको गफ गर्छन् । टीभीमा राशिफल र नाचगान हेरेर बस्छन् । उनीहरु पढ्ने लेख्ने काममा अल्छी भएकाले नबोलाइने हुन् । यदि यस्तै हो भने उनीहरु किन यसो गर्छन् भन्ने विषयको समाजशास्त्रीय विश्लेषण झनै छलफलको विषय बन्न सक्छ । त्यस्तै हामी साहित्य पढ्दा दाह्री र सारी मा भेदभाव नगरी पढ्छौं, कुनै महिला भन्दा बढी राम्ररी उनीहरुका संवेदना व्यक्त गर्ने पुरुष लेखक छन् भन्ने टिप्पणी पनि सुनिएका छन् । यो साँचो होला तर सधैं सार्वजनिक सभाहरुमा महिलाहरुको आँशु सधैं उनीहरुले नै रोइदिनुपर्ने भन्ने के छ ? महिलाहरु आफैं आफ्ना संवेदनाका बारेमा बोल्न किन नपाउने ?
पश्चिमी देशहरुमा पुरुषहरुको मात्र प्रतिनिधित्व रहने ‘अल मेन प्यानल’ बहिस्कारको अभ्यास पुरानो बनिसकेको छ । यतिखेर काठमाडौंको यो कार्यक्रमका वक्ताहरुले भने मिश्रित अभिव्यक्ति दिएका छन् । लेखक युग पाठकले आयोजकसंग सैद्धान्तिक असहमति भएकाले कार्यक्रम बहिस्कार गरेको घोषणा गरेका छन् भने अर्का लेखक संजीव उप्रेतीले बाहिर बसेर भन्दा कार्यक्रममै सहभागी भएर ‘जेण्डर ब्लाइण्डनेस’को यो मुद्दालाई प्रखर रुपले उठान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जेहोस यो प्रकरणले इंगित गरेको छ समाजका विभिन्न क्षेत्रमा महिलाको बलियो उपस्थितिलाई सार्वजनिक वृत्तमा नकार्नै नसकिने बेला आइसक्यो । कुनै संस्था व्यक्तिगत हुन सक्ला तर कार्यक्रम भने सार्वजनिक भएकाले सबैलाई यसमा चासो राख्ने स्वतन्त्रता हुन्छ । कसलाई बोलाउने वा नबोलाउने भन्ने पनि आयोजकका व्यक्तिगत सीमा र स्वतन्त्रता(सम्पर्क) भित्र पर्न सक्लान् । तर तिनै सीमाभित्र पनि उनीहरुले समानुपातिक सहभागिताको खोजी गर्नु अनिवार्य हुन्छ । देशभित्र र बाहिरबाट यसबारेमा लगातार बोलिरहेका महिला लेखक, विश्लेषक अध्येता, अधिकारकर्मी र पाठकको सामूहिक उर्जाले पारिजातको यो भनाई याद दिलाएको छ —
अब त आफ्नो मर्यादाको खातिर आवाज नउठाए बात लाग्छ ,
अब त यो साङ्लो नचुँडाए बात लाग्छ
अब त युद्ध नगरे बात लाग्छ
(कान्तिपुरबाट)

sabitrigautam2012@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np