Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

सुरक्षित भविष्यका लागि किशोरीमा लगानी

         सुदर्शन रिजाल ||   279 Views   ||   Published Date : 22nd September 2016 |

किशोरीहरुले व्यहोरेका पीडादायी घटनाबाट मुक्तिका लागि किशोरीहरुलाई शिक्षित बनाउने, स्वस्थ बनाउने, उनीहरुलाई आफ्ना अधिकारहरु दावी गर्न सक्ने बनाउने ढिलो विवाह र ढिलो गर्भाधानका लागि तयार गराउने र उनीहरुको भविष्य सुनिश्चित गराउने अभियान तर्फ हामी सबै लाग्ने जरुरी छ ।

दाङ ।
घटना १– दाङको सतबरिया ५ दुईघरुवाकी १७ बर्षिय राधा चौधरीले कक्षा ८ मा पढ्दै गर्दा १७ बर्षकै उमेरमा घर सल्लाह बिना भागेर बिबाह गरिन् । चाडै विवाह गरेपछि पढाई बिग्रेला, सकी नसकी घर व्यवहार धान्नु पर्ला भन्ने राधाले केही सोंच्नै सकिनन् । जब विवाह लगत्तै स्कुल छुट्यो, घरको सबै भार आफ्नो जिम्मामा आईलाग्यो अनि गर्भधारण गरेर बाल आमा बन्नुप¥यो, राधा चौधरी पछुतो मान्दै बस्न बाध्य छन् ।
घटना २– दाङको सिसहनिया गाबिस ७ करङ्गाकी झगा गाहामगर पनि चाँडै विवाह गरेका कारण पढाई बिग्रिँदा र सकी नसकी घर व्यवहार चलाउनु पर्दा अहिले पश्चातापमा परेकी छन् ।
घटना ३– बाल विवाह गरेर बालापनमै आमा बनेकी सल्यान खलङ्गाकी साबित्रा सुनार, श्रीमान्ले अर्की श्रीमती लिएर अलपत्र पारेपछि घर न घाटकी हुनुको पीडा बोकेर हाल अल्पकालिन सुरक्षा आवास गृहमा बस्नु परेको छ ।
घटना ४– “१५ बर्षको कलिलो उमेरमा ९ कक्षामा पढ्दै गर्दा कन्यादान गरिदिएर बुवाले ममाथि सरासर अन्याय गर्नुभयो । ……. म एकैपटक २४ जनाको ठुलो परिवारमा होमिन पुगें । …………आकासमा स्वतन्त्र विचरण गरेकी म पखेटा काटिएकी १२ हाते धोतीको घुम्टो भित्र रुमल्लिन पुगे । ……….मेरो पढ्ने रहर भएर पनि स्कुल जाने परिस्थिति बनेन । ………..रामसरको सल्लाहमा इण्डिया पुगेर भए पनि १० पास गरे । …….कठै …..त्यतिञ्जेलसम्म खुसुक्क विवेक पेटमा आइसकेछ । ………..अल्लहड छोरी, जिम्मेवार बुहारी अनि एकैपटक १७ बर्षकै उमेरमा आमा । ……..अव मेरा सबै सपना विलिन हँुदै गए ।” स्व. पत्रकार शान्ता पौडेलको अक्षरमा जीवन पुस्तकबाट ।
घटना ५– बालापनमै विवाह सम्बधनमा बाँधिएकी सल्यानकी नेहा परियारका २ सन्तान त गर्भमै खेर गए । १८ बर्षकै उमेरमा तेस्रो सन्तान जन्माउने क्रममा अत्याधिक रक्तश्राव भएर राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा भर्ना भएकी परियारको उपचारकै क्रममा मृत्यु भयो ।

दाङको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा सुत्केरी हुनेहरुको तत्थ्याङकलाई केलाउँदा करीब २० प्रतिशत आमा वाल विवाह गरी जोखिमपूर्ण अवस्थामा सुत्केरी हुने गरेका छन् । हरेक वर्ष अस्पताल आईसकेर पनि औसतमा ४ आमाको बच्चा जन्माउने क्रममा अत्याधिक रक्तश्राव भएर मृत्यु नै हुने गरेको छ । यस्तै बाल विवाह लगत्तैको गर्भधारणले निम्तिएको जोखिमका कारण हरेक बर्ष औषतमा ४ सय ४० आमाले अपरेशन गरेर बच्चा जन्माउनु परिरहेको छ । जिल्लाभर र देशभरको अबस्था अझ डरलाग्दो छ ।

यी पाँच भिन्न भिन्न घटना अनि राप्ती उपक्षेत्रीय अस्पतालको तत्थ्याङकले वाल विवाह, किशोरावस्थामै हुने गर्भाधान अनि त्यसले किशोरीहरुमा पारेको प्रभावलाई झल्काउछ । यस्तै परिस्थितिका बीच ११ जुलाई अर्थात असार २७ गते नेपाल सहित बिश्वभर “क्ष्लखभकतष्लन यल तभभलबनभ नष्चकि” अर्थात “सुखद भबिष्यका लागि किशोरीहरुमा लगानी” गरांै भन्ने नाराका साथ बिश्व जनसंख्या दिवस मनाईयो । विश्व जनसंख्या दिवस विश्वव्यापी समस्याका रुपमा देखा परेका जल्दाबल्दा जनसांख्यिक सवालमा सचेतना फैलाउने अवसर हो । यसका लागि विश्व जनसंख्या कोष लगायतका युएन एजेन्सीका साथै सम्बन्धित देशका सरकारहरु, गैर सरकारी सामाजिक संस्थाहरु तथा जिल्ला तथा गाउँ अनि समुदायस्तरका संस्थाहरुले तत्काल पहल थाल्नु आबश्यक छ ।

राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा १०–१९ बर्ष उमेर समुहका किशोर किशोरीको संख्या २४ दशमलव २ प्रतिशत अर्थात ६४ लाखको हाराहारीमा छ । जसमध्ये किशोरीको संख्या ३२ लाख ६४ हजार जति छ । सन् २०११ मा गरिएको जनसांख्यिक स्वास्थ्य सर्वेक्षणले यी मध्ये ४० प्रतिशत अर्थात करीव १३ लाख किशोरीहरुको १९ बर्षअघि नै विवाह भएको देखाएको छ । यस्तै १७ प्रतिशत किशोरीहरु अर्थात ५ लाख ५४ हजार किशोरीहरु १९ बर्ष अगावै यात आमा यात गर्भवती भइसकेका हुन्छन् । यसको सोझो अर्थ यी साढे ५ लाख किशोरी आमाहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा राधा चौधरी, झगा गाहामगर, साबित्रा सुनार, स्व.शान्ता पौडेल तथा नेहा परियारको जस्तै नियति भोगिरहेका छन् ।

यो समस्या नेपालका साथै धेरै विकाससिल देशहरुको साझा समस्या बनेका कारण पनि विश्व जनसंख्या दिवसले “सुरक्षित भबिष्यका लागि किशोरीहरुमा लगानी” गरौ भन्ने नारा अगाडि ल्यायो । २०७० सालमा मनाईएको बिश्व जनसंख्या दिबसको नारा पनि किशोरीहरुको समस्यासँग सम्बन्धित अर्थात “किशोरावस्थामा हुने गर्भाधान, सर्वाङ्गिण विकासमा व्यवधान” भन्ने थियो ।

जनसंख्या व्यवस्थापनको क्षेत्रमा काम गरिरहेको विश्व जनसंख्या कोषका अनुसार नेपाल लगायतका विश्वका विकाशोन्मुख देशहरुका ५० करोड किशोरीहरु मध्ये २० करोड किशोरीहरु १९ बर्ष अगावै वैवाहिक जीवनमा बाँधिन अनि आफ्ना प्रगतिहरु रोक्न बाध्य छन् । उनीहरुले उचित अवसर र सीपका लागि संघर्ष गरिरहेका छन् । जुन पूरा हुन नसक्दा ती किशोरीहरुले मात्र होईन की उनीहरुका परिवार, समुदाय, देश र विश्वको प्रगतिमा धेरै बाधा व्यवधानहरु आइरहेका छन् । त्यसैले त भन्न थालिएको छ, अब परिवार समुदाय, देश र विश्वको प्रगति गर्ने हो भने किशोरीहरुमा लगानी बढाऔ । उनीहरुका बाधा र व्यवधान पहिचान गरांै । हटाउन मद्दत गरांै ।

विश्व समुदाय र तीनका सरकारहरुले प्रतिबद्धता जनाएका विकासका एजेण्डासँग जोडिएका किशोरीहरुका अधिकार, स्वास्थ्य र शिक्षाको संभावनाहरु सुरक्षित बनाइनै पर्छ । उनीहरुलाई गरिबी, अवसरबाट बञ्चित, बहिष्करण र हिंसाको चपेटाबाट जोगाउन सकिएमा मात्र यो संभव छ । उनीहरुलाई दिइने शिक्षा, रोजाई र अवसर उनीहरुको स्वस्थ्य जीवन जीउने आधारहरु हुन् ।

किशोरीहरुमा किन लगानी बढाउने भन्ने धेरै तर्कहरु छन् । जस्तै लाखौं किशोरीहरु अझै पनि समान शिक्षा, स्वास्थ्य उपचार, उचित अवसरको गहिरो विभेद, बहिष्करण र उनीहरुका अधिकार दाबी गर्नबाट बञ्चित हुनुका साथै उनीहरुले आफूमा भएको संभावनाहरुलाई प्रष्फुटन गर्न समेत पाइरहेका छैनन् । उनीहरु चाडै नै विद्यालय छाड्न बाध्य पारिएका छन् । लैंगिक हिंसाको जोखिम सहन बाध्य पारिएका छन् । यसका साथै उनीहरु शारीरिक र मानसिक रुपले परिपक्क नहुँदै बाल विवाह, किशोरावस्थामै गर्भवती हुन अनि बाबुनानीका आमा बन्नु परिरहेको छ ।

नेपाल लगायतका विकासोन्मुख देशहरुले यसको चपेटा अलि धेरै व्यहोर्नु परिरहेको छ । किशोरावस्थामै हुने बाल विवाह प्रमुख सामाजिक समस्या हो । यसले किशोरीको शैक्षिक प्रगति अनि सीप आर्जन गर्ने बाटोमा अबरोध सृजना गरिरहेको छ । साथै किशोरावस्थामै गर्भावस्था अनि बाल आमा किशोरीहरुको प्रमुख स्वास्थ्य समस्याका रुपमा देखा परिरहेका छन् । जनसंख्या अध्ययनका जानकारहरुले यसलाई सामाजिक गरिबीको संज्ञा समेत दिइरहेका छन् । यसलाई लैंगिक विभेदको पराकाष्ठा, लैंगिक हिंसा अनि जबरजस्ती विवाह पनि भन्ने गरिएको छ । यो अभिभावक र किशोरीहरु बीचको शक्तिको असन्तुलन पनि हो । शिक्षाको कमीको कारण पनि हो । सरकार, संस्थाहरु र परिवारमुलीको असफलता पनि हो । यदी होइन भने किशोरीहरुका अधिकार सुरक्षित हुनैपर्छ । किशोरीहरुको शिक्षा र प्रगतिका लागि पारिवारिक, सामाजिक तथा सरकारी लगानी बढाउनै पर्छ ।

विकासोन्मुख देशका धेरै किशोरीहरु जो पछाडि पारिएका छन्, विद्यालय बाहिर छन्, छिटो विवाह गरिरहेका छन्, गरीब परिवारमा जन्मिरहेका छन्, उनीहरु गलत अभ्यासहरु गर्न बाध्य बनाइएका छन् । यौन सम्बन्धका लागि बाध्य हुनुपर्ने जोखिममा छन् अनि बृहत्तर यौन तथा प्रजनन शिक्षाको कमीका कारण किशोरावस्थामै विवाह, गर्भाधान अनि बाल आमा बन्न बाध्य छन् । धेरै किशोरीहरु बाल विबाह, परिवार योजनाका साधनको उपलव्धताको कमी बाध्यात्मक यौन सम्बन्ध र बलात्कार जस्ता घटनाले पनि गर्भाधान गर्न बाध्य छन् । सामाजिक मान्यताकै बीच पनि छिटो विवाह र छिटो गर्भाधानले ढिलो विवाह गर्भाधानको तुलनामा आमा र बच्चाको मृत्युको जोखिम, जटिल फिष्टुला र अपाङ्गता निम्ताइरहेको छ । शोरावस्थामै हुने बाल विवाह, गर्भावस्था र बाल आमा बन्नुपर्ने बाध्यता विकासको बाधकको प्रमुख एजेण्डा बनाईनै पर्छ ।

बिश्वका २० लाख भन्दा बढी १९ बर्ष मुनिका किशोरीहरु किशोराबस्थामा न्युन लगानी गरिदा हुने बाल बिबाह, गर्भाधान अनि बाल आमा बन्नुपर्ने बाध्यता झेलिरहेका छन् । नेपालमा पनि यो संख्या उल्लेख्य अर्थात साढे ५ लाखको हाराहारीमा छ । जसले किशोरीहरुका हरेक प्रगतिमा बाधा उत्पन्न गरिरहेको छ । कलकलाउँदो उमेरका किशोरीहरु शिक्षित हुन नपाउनु, सीप हासिल गर्न नपाउनु, अवसरबाट बञ्चित भइरहनुपर्ने, हिंसाको सिकार हुनुपर्ने, उपेक्षा र पीडामा बाँच्नुपर्ने स्थिति सबैका लागि दुःखद पक्षहरु हुन । यो अवस्थाको अन्त्यका सन १९९४ को कायरोमा सम्पन्न जनसंख्या र विकास सम्मेलन तथा सन् १९९५ को बेइजिङ्घमा सम्पन्न विश्व महिला सम्मेलन मार्फत नेपाल लगायत विश्वका १ सय ८० देशले जनाएको प्रजनन स्वास्थ्य तथा प्रजनन अधिकार, पुरुषबर्ग तथा परिवारको भूमिका, लैंगिक मुलप्रवाहिकरण विकेन्द्रिकरण, संस्थागत संंयन्त्रहरुको विकास आदि क्षेत्रमा प्रशस्त लगानी बढाउन आवश्यक छ ।

विश्वस्तरको सन्देश लिई राष्ट्रियस्तरमा हाम्रा पञ्चबर्षिय तथा त्रिबर्षिय योजनाहरु मार्फत किशोरीहरुको शिक्षा, उनीहरुको सीप र अवसरमा पहुँच सुनिश्चित गर्ने नीतिहरु अवलम्वन गर्न, योजना तथा कार्यक्रमहरु तय गर्न तथा लगानी बृद्धि गर्नु अपरिहार्य छ । एकातिर भइरहेका नीति तथा योजनाहरुमा प्रभावकारीता ल्याउन आवश्यक छ भने अर्कोतर्फ किशोरीहरुलाई बहिस्करण, बञ्चितीकरण हिंसा र जोखिमबाट जोगाउनु आवश्यक छ ।

किशोरावस्थामा लगानी नगरिँदा अनि न्यून मात्र लगानी गरिँदा उत्पन्न हुने वाल विवाह, शिक्षाबाट बञ्चित तथा किशोरावस्थामै हुने गर्भाधानले निम्त्याएका आमा र शिशुको मृत्यु, असुरक्षित गर्भपतन, फिस्टुलाको समस्या, रक्त अल्पता, पोषणको कम र कम तौलको बच्चा आदि समस्याबाट उन्मुक्तिका लागि नेपाल सरकारले महिलाबिरुद्व हुने सबै प्रकारका विभेदको अन्त्य गर्ने महासन्धी १९७९, जनसंख्या र विकास सम्मेलन १९९४, विश्व महिला सम्मेलन १९९५ र सहश्राव्दी विकास लक्षको समिक्षा गर्दै दिगो बिकास लक्ष २०३० का लागि बार्षिक तथा आवधिक लक्ष निर्धारण गर्नु आवश्यक छ ।

किशोरावस्थामा गरिने न्यून लगानीले निम्त्याएका माथिका दुःखद घटनाहरु अबका दिनमा हामी कसैको परिवार समाजमा नदोहोरिउन भन्नका लागि किशोरीहरुका कुन कुन क्षेत्रमा लगानीलाई बढाउने र त्यसलाई लक्षित निम्न वर्गीय किशोरीको पहँुचमा कसरी पु¥याउन सकिन्छ भन्ने कुरामा घोत्लिनका लागि यस बर्षको बिश्व जनसंख्या दिवस अनि यसले अघि सारेको सुखद भबिष्यका लागि किशोरीहरुमा लगानी भन्ने नाराबाट प्रेरणा लिएर अघि बढ्न जरुरी छ ।

किशोरीहरुले व्यहोरेका पीडादायी घटनाबाट मुक्तिका लागि किशोरीहरुलाई शिक्षित बनाउने, स्वस्थ बनाउने, उनीहरुलाई आफ्ना अधिकारहरु दावी गर्न सक्ने बनाउने ढिलो विवाह र ढिलो गर्भाधानका लागि तयार गराउने र उनीहरुको भविष्य सुनिश्चित गराउने अभियान तर्फ हामी सबै लाग्ने जरुरी छ ।

नेपालका साढे ३२ लाख किशोरीहरु मध्ये
१३ लाख किशोरीहरुको १९ बर्ष अगावै विवाह भइसक्छ ।
साढे ५ लाख किशोरीहरु १९ बर्ष अगावै यात गर्भबति यात आमा भइसक्छन् ।
किशोरी आमाबाट जन्मने बच्चाको शिशुमृत्युदर प्रति हजार ६९ छ । जुन अन्य आमाबाट जन्मने बच्चाको प्रतिहजार ४६ मात्र छ ।
१३ प्रतिशत आमाहरुले आवश्यक २ हजार ५ सय भन्दा कम तौलको बच्चा जन्माउछन् ।
५८ प्रतिशत किशोरी आमाले घरमै बच्चा जन्माइरहेका छन् ।
७५ प्रतिशत किशोरी आमा कुनै एक स्वास्थ्य समस्या व्यहोरीरहेका छन् ।
११ प्रतिशत किशोरी आमाहरुले पूर्व प्रसुति सेबा लिएका छैनन् ।
किशोरीहरु आमाहरुको बच्चा जन्माउदाको औषत उमेर १७ बर्ष मात्र छ ।
श्रोत– नेपाल जनसांख्यिक स्वास्थ्य सर्बेक्षण २०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np