Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

अभिशाप नबनोस् चिकित्सा प्रविधि

         अरूण क्षेत्री ||   237 Views   ||   Published Date : 22nd September 2016 |

arun chhetri

 

 

हामीहरू सानैदेखि सुन्दै, पढ्दै र बोल्दै आएका छौ महिला र पुरुष एक रथका दुई पाङ्ग्रा हुन् । प्रकृतिदेखि घर परिवारसम्ममात्र होइन, दुनियाँले पुज्ने हिँजोका महान् प्रेमकथादेखि आजका आधुनिक प्रेमलिला सबैमा नारी पुरुष एक अर्का बिना अपुरा छन्, अझ भनौं उनीहरुको एकल अस्तित्व नै सम्भव छैन । हाम्रो जस्तो धार्मिक प्रभाव र अन्धविश्वासले जकडिएको पितृसत्तात्मक मुलुकमा लैङ्गिक विभेद देख्दै, कहिले लैङ्गिक विभेदविरुद्ध पढ्दै, बोल्दै त कहिले आफैं सो संकीर्णतामा जेलिँदै हुर्केका हामीहरू विभेदका श्रृखंलाहरुको स्वयं साक्षी छौं । महिलाहरू चुलोचौको र घरायसी काममा मात्र सीमित हुनुपर्छ भन्ने धारणा सुनेका र देखेका हामीहरूले एउटै कार्यकालमा राष्ट्र प्रमुख, व्यवस्थापिका संसद प्रमुख र न्यायपालिका प्रमुखको रूपमा महिलाहरूलाई देख्ने ऐतिहासिक अवसर पाएका छौं । जुन लैङ्गिक समानता, सन्तुलन र महिला सशक्तिकरणको आन्दोलनमा हाम्रालागि मात्र होइन, समग्र विश्वका लागि उदाहरण बन्ने निश्चित छ ।

राष्ट्रिय जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगट्ने महिलाहरूको प्रतिनिधित्व गर्दै महामहिम राष्ट्रपति, माननीय सभामुख तथा सम्माननीय प्रधानन्यायाधीशज्यूहरूले राष्ट्रको नेतृत्व गरिरहँदा अझै पनि लैङ्गिक समानता, सशक्तिकरण र सन्तुलनमा आशातित प्रगति हुन सकिरहेको छैन । शिक्षा, स्वास्थ्य, रोजगारी आदिका क्षेत्रमा महिलाहरूको सहभागिता बढ्दै गएको भए पनि महिलाहरू पुरुषसरह क्षमतावान हुन सक्दैनन् भन्ने भ्रम व्याप्त नै छ । घरपरिवार, वंश र राज्य महिलाहरूले सम्हाल्न सक्दैनन्, उनीहरू पुरुष सरह सक्षम हुँदैनन् भन्ने मानसिकता हाम्रो धार्मिक र सांस्कृतिक प्रभाव एवम् पुरानो पितृसत्तात्मक राज्य व्यवस्थाको उपज हो भन्न मिल्ने अवस्था रहे पनि यो विषयलाई हल्का रूपमा लिएर समय सापेक्ष परिवर्तनको अपेक्षा गर्नु लैङ्गिक समानता र सन्तुलनका दृष्टिकोणले घातक सिद्ध हुन सक्दछ । शिक्षा, स्वास्थ्य र विज्ञान प्रविधिको द्रुततर गतिमा विकास र विस्तार भइरहेको वर्तमान विश्वमा लैङ्गिक विभेदकारी मानसिकता र प्रविधिको समागम भयो भने विज्ञान वरदान मात्र होइन अभिशाप पनि बन्न सक्दछ भन्नेतिर सरोकारवालाहरू सम्पूर्णको ध्यान पु¥याउनु जरुरी छ ।

कुनै पनि ठाउँ वा देशको लैङ्गिक अवस्था नियाल्ने हो भने त्यो ठाउँको जनसंख्याको बनोट र वितरणलाई नियमित अवलोकन र विश्लेषण गर्नु आवश्यक हुन्छ । जनसंख्याले महिला र पुरुषको संख्यालाई मात्र चित्रित गर्दैन, समग्रमा देशको मानसिकता, प्रवृत्ति र सम्भावित खतराहरूको समेत सङ्केत गर्दछ । नेपालको राष्ट्रिय जनगणना २०६८ का केही तथ्य र तथ्याङ्कलाई नियाल्दा लैङ्गिक सन्तुलनको अवस्था केही चिन्ताजनक र खतरामुलक देखिन्छ । केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्क अनुसार नेपालको कुल जनसङ्ख्या २,६४,९४,५०४ रहेकोमा पुरुषको सङ्ख्या १,२८,४९,०४१ अर्थात् कुल जनसङ्ख्याको करीब ४८.५० प्रतिशत र महिलाको सङ्ख्या १,३६,४५,४६३ (५१.५० प्रतिशत) रहेको देखिन्छ । लैङ्गिक अनुपातलाई हेर्ने हो भने प्रति सय जना महिलामा ९४.१६ जना पुरुष पर्न आउने यो तथ्याङ्कले देखाउँछ । यो जनसङ्ख्यालाई उमेर समुहमा टुव्रmाएर लैङ्गिक अनुपात नियाल्ने हो भने ०–४ वर्ष उमेर समूहको लैङ्गिक अनुपात १०४.९४ अर्थात् प्रति सयजना महिला बराबर १०४.९४ पुरुष रहेको देखिन्छ । त्यस्तै, ५–९ वर्ष उमेर समुहमा १०४.१७, १०–१४ वर्ष उमेर समुहमा १०३.१४, १५–१९ वर्ष उमेर समुहमा ९६.९३, २०–२४ वर्ष उमेर समुहमा ७९.४४ तथा २५–२९ वर्ष उमेर समूहमा ७८.९२ लैङ्गिक अनुपात रहेको देखिन्छ ।
यो तथ्याङ्कले बितेको एक दशकमा नयाँ जनसङ्ख्याको लैङ्गिक अनुपात उल्टिएको देखाउँछ । अझ उमेर समूहमा आधारित जनसङ्ख्या वितरणको रोचक पक्ष त के छ भने १५ वर्ष र सोभन्दा कम उमेर समुहमा १४ वर्ष बाहेकका हरेक उमेर समूहमा पुरुषको सङ्ख्या महिलाको भन्दा बढी छ । जबकी १६ वर्षदेखि ४९ वर्षसम्मको उमेर समूहमा हरेक उमेर समूहमा महिलाको सङ्ख्या पुरुषको भन्दा बढी देखिन्छ । तसर्थ, उमेर समुहहरूको फराकिलो बन्दै गएको लैङ्गिक अनुपातका कारणहरू के के हुन सक्दछन् र यसले के सङ्केत गरिरहेको छ, एकपटक गम्भीर भएर विश्लेषण गर्नु आवश्यक छ ।

विद्यमान लैङ्गिक विभेद र बंशको निरन्तरताका लागि छोरा नै चाहिन्छ भन्ने मानसिकताका कारण छोरा नपाएसम्म बच्चा जन्माइरहने प्रवृत्ति पछिल्लो दशकमा पक्कै पनि कम भएर गएको छ । बढ्दो जनचेतना, शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर एवं सुधारिएको जीवनस्तरका कारण छोराछोरी जे भए पनि बढीमा दुई सन्तान मात्र जन्माउने मानसिकता नेपालले जनसङ्ख्या नीतिमा पाएको उल्लेखनिय सफलता हो । हुन त, गर्भधारणको क्रममा लिङ्ग निर्धारण आफैमा एक प्राकृतिक प्रव्रिmया र विज्ञानमा आधारित सम्भाव्यता हो । तर पछिल्लो १०, १५ वर्षमा नेपालको नयाँ जनसंख्यामा देखिएको असमान लैङ्गिक अनुपात सम्पूर्ण रूपमा स्वाभाविक, प्राकृतिक र जनचेतनाबाट प्रभावित देखिँदैन । जुन तथ्यले लैङ्गिक समानता र सशक्तिकरणमा मात्र होइन, लैङ्गिक सन्तुलनमार्फत् राष्ट्र विकासमा समेत दीर्घकालिन महत्व राख्दछ । तसर्थ, जनसंख्याको यो वितरणलाई प्राकृतिक प्रव्रिmया र राष्ट्रिय जनसङ्ख्या नीतिको सफलतासँग मात्र जोडेर हेर्नुभन्दा पछिल्लो समयमा चिकित्सा विज्ञानको क्षेत्रमा भित्रिएका प्रविधि र तिनको प्रयोगको प्रवृत्तिलाई पनि विश्लेषणमा समावेश गर्नु बुद्धिमत्ता र प्रभावकारी ठहर्ला ।

चिकित्सा विज्ञानको क्षेत्रमा रोगहरूको निदान र उपचारमा सहयोगी सिद्ध प्रविधि र उपकरण हो अल्ट्रासाउण्ड, नेपाली जनबोलीमा भन्नुपर्दा भिडियो एक्स–रे । अल्ट्रासाउण्ड अर्थात् विशेष ध्वनि तरङ्गमार्फत् विभिन्न रोगहरू, अवस्था र गडबडी निदानका लागि प्रयोग गरिने यो प्रविधि नेपाली जनबोलीमा भनिए जस्तो एक्स–रे सँग कतै सम्बन्धित छैन । विशेषगरी पेट र रगतका नलीहरूको परीक्षण र विभिन्न रोगहरू, अवस्था र गडबडीको निदानमा वरदान सावित भएको यो उपकरण एक्स–रे जस्तो जोखिमयुक्त नहुने भएकाले गर्भावस्थामा आमा तथा पेट (गर्भाशय)को बच्चा दुवैको परीक्षणका लागि पनि उत्तिकै महत्व राख्दछ । गर्भवती महिलाको परीक्षणका अलावा गर्भाशयमा रहेको बच्चाको अवस्था, सम्भावित खतरा र बच्चामा देखिन सक्ने वंशाणुगत गडबडीहरूको परीक्षण गर्न सकिने र यसको कुनै उल्लेखनिय जोखिम तथा हानी नोक्सानी नहुने भएकाले गर्भवती महिलाहरूमा यसको प्रयोग अत्यन्त बढी हुने गरेको छ । बढ्दो सर्वसुलभता र थेग्न सकिने शुल्कका कारण आजभोलि स्वास्थ्यमा पहुँच पुगेका लगभग हरेक महिलाले गर्भावस्थामा कम्तीमा एक वा दुई पटक अल्ट्रासाउण्ड गराउने गरेको पाइएको छ । जसले गर्भावस्थाका जोखिमहरूको पहिचान र व्यवस्थापन तथा आमा र बच्चा दुवैको स्वास्थ्य अवस्थामा सुधार गरी मातृ शिशु मृत्युदरलाई कम गर्न उल्लेखनीय योगदान पु¥याएको छ ।

चिकित्सा विज्ञानको क्षेत्रमा अभिन्न र महत्वपूर्ण अङ्गको रूपमा स्थापित भएको अल्ट्रासाउण्ड प्रविधि उचित नीति नियमको अभाव र केही स्वास्थ्य व्यवसायीहरूको गैर व्यावसायिक चरित्रका कारण वरदान मात्र होइन लैङ्गिक असन्तुलन र मानवतामाथिको अपराधको माध्यम पनि बन्ने गरेको छ । गर्भधारणको निश्चित अवधिपछि अल्ट्रासाउण्डमार्फत भ्रुणको लिङ्ग पहिचान गर्न सकिने भएकाले यो प्रविधि लिङ्ग पहिचान गरी गैरकानुनी गर्भपतन गराउनेहरूको हतियार पनि बन्ने गरेको छ । पछिल्लो समयमा नेपाल लगायतका लैङ्गिक विभेद व्याप्त विकासोन्मुख एवं अल्पविकसित मुलुकहरूमा अल्ट्रासाउण्ड लगायतका विभिन्न परीक्षणहरूबाट भ्रुणको लिङ्ग पहिचान गरी छोरी भएमा भ्रुण हत्या गर्ने प्रवृत्ति बढ्दो छ । सेवाग्राहीहरूको मानसिकता, आकांक्षा र बाध्यताका कारण बढी पैसा असुल्न पाइने भएकाले भ्रुणको लिङ्ग पहिचान गरिदिने र गैरकानुनी गर्भपतन गराइदिने चिकित्सक तथा स्वास्थ्यकर्मीको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ । जसको फलस्वरूप हाम्रै छिमेकी मुलुक भारतका केही राज्यहरूमा लैङ्गिक अनुपात र सन्तुलन चिन्ताजनक अवस्थामा पुगेपछि केन्द्र तथा राज्य सरकारहरूले भ्रुणको लिङ्ग पहिचान र लिङ्गमा आधारित भ्रुण हत्यालाई नियन्त्रण गर्न विशेष ऐन, नियम र नीतिको विकास गरी गर्भावस्थामा गरिने अल्ट्रासाउण्ड लगायतका संवेदनशील परीक्षणहरूलाई निगरानी, नियन्त्रण र व्यवस्थापन गर्ने गरेका छन् ।

नेपालका सन्दर्भमा २०६८ को जनगणनामा २०–२४ वर्ष उमेर समुहमा ८० को हाराहारीमा देखिएको लैङ्गिक अनुपात ५–९ वर्ष उमेर समुहमा १ सय ४ सम्म पुग्नु र सोही अवधिमा चिकित्सा क्षेत्रमा अल्ट्रासाउण्डको प्रयोग बढ्नु पक्कै पनि संयोग मात्र होइन । ०–४ वर्ष उमेर समुहमा १ सय ५ को हाराहारीमा पुगेको लैङ्गिक अनुपात छिट्टै प्रभावकारी कदम नचालिए अर्को जनगणनासम्म चिन्ताजनक अवस्थासम्म पुग्ने निश्चित प्रायः छ । तसर्थ, नेपालले पनि यो मुद्दालाई गम्भीरताका साथ ग्रहण गरी उचित कदम चाल्नु जरुरी छ ।

जनसङ्ख्यामा देखिएको लैङ्गिक असन्तुलन र समाजमा व्याप्त लैङ्गिक विभेद अन्त्य गर्न जनचेतना, शिक्षा र रोजगारीमार्फत् लैङ्गिक सशक्तिकरण गर्नु अत्यावश्यक छ । तर सँगसँगै भुल्न नहुने तथ्य के पनि हो भने समाज हरेक प्रकारका मानिसहरूको सङ्ग्रह हो, जहाँ अशिक्षित व्यक्ति मात्र हुँदैनन्, सचेत र शिक्षित भएर पनि आफ्नो ज्ञान, सीप र विशेषज्ञतालाई दुरुपयोग गरेर लुट मच्चाउने चरित्र पनि हुन्छन् र संकुचित मानसिकता बोकेका अटेरी व्यक्तिहरू पनि । मानिसहरूको साँघुरो साेंच, अटेरीपन, नाजायज र अनैतिक महत्वाकांक्षा एवं स्वार्थहरूलाई सँधैं शिक्षा र जनचेतनाले मात्र निर्मूल पार्न सक्दैन । अझ व्यक्तिको पेशा, व्यवसाय र पदका आधारमा कुनै पनि व्यवसाय वा व्यवसायीलाई स्वतः सेवामुखी, निष्कलंक र प्रतिष्ठित ठान्ने हाम्रो मानसिकताले समाजमा असन्तुलन मात्र होइन दण्डहीनता र तथाकथित प्रतिष्ठाको खोल ओढेर कालो धन्दा गर्नेहरूलाई प्रोत्साहन गरेको छ । कुनै पनि व्यक्ति वा व्यवसायीको पेशा, पद र प्रतिष्ठाका भरमा उसको देवत्वकरण गर्ने हाम्रो प्रवृत्तिले गलत काम गर्नेहरुले प्रश्रय पाइरहेका छन् । तसर्थ व्यक्तिले अंगालेको पेशा, व्यवसायले उसले गर्ने कामलाई मात्र इगिंत गर्दछ, उसको मानसिकता र महानतालाई होइन भन्ने वास्तविकतालाई सरोकारवाला सबैले मनन गर्दै सबै व्यक्ति, व्यवसायी र पेशा व्यवसायलाई आवश्यक ऐन कानुनले बाँध्नु र निगरानीमा राख्नु जरुरी छ । हुन त ऐन कानुन र दण्ड सजायले सबै समस्या निर्मूल पार्छ भन्ने छैन तर कानुनी राज्यमा यो एउटा अपरिहार्यता हो र एउटा अकाट्य विकल्प पनि । कतिपय अवस्थामा शिक्षा र जनचेतनाले ठेगान लगाउन नसकेको मानसिकता र महत्वाकांक्षालाई ऐन कानुन र दण्ड सजायको डर र प्रतिष्ठा गुम्ने भयले काबुमा ल्याउन सक्दछ । त्यसकारण भ्रुणको लिङ्ग पहिचानसँग सम्बन्धित अल्ट्रासाउण्ड लगायतका परीक्षणहरू एवं सम्बन्धित व्यवसायीहरूलाई ऐन कानुनको दायरामा ल्याई उचित निगरानी, नियन्त्रण र व्यवस्थापन गर्नु अपरिहार्य देखिन्छ ।

भ्रुणको लिङ्ग पहिचान र लिङ्गमा आधारित गर्भपतनलाई मानवता विरुद्धको अपराधको रूपमा परिभाषित गरी संलग्न दोषी चिकित्सक, स्वास्थ्यकर्मी तथा सेवाग्राही समेतलाई अधिकतम दण्ड जरिवाना र जेल सजायसहित चिकित्सकीय अनुमति पत्र खारेज हुने प्रावधानको विकास गर्नु आवश्यक छ । नेपालमा गर्भपतन सम्बन्धी केही ऐन नियम र मापदण्ड भए पनि गर्भावस्थामा गरिने अल्ट्रासाउण्ड लगायतका लिङ्ग पहिचान गर्न मिल्ने परीक्षणहरूलाई नियन्त्रण गर्नेतर्फ सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । त्यसकारण गर्भावस्थामा सेवाग्राहीको उचित पहिचान पत्र र चिकित्सकीय सिफारिस विना अल्ट्रासाउण्ड लगायतका लिङ्ग पहिचान गर्न मिल्ने अन्य परीक्षणहरू गर्न÷गराउन नपाइने, गर्भावस्थामा गरिने अल्ट्रासाउण्ड लगायतका परीक्षणहरूको रेकर्ड राखी सम्बन्धित सरकारी निकायमा पठाउनुपर्ने, लिङ्गसँग सम्बन्धित रोग तथा वंशाणुगत गडबडी बाहेकका अन्य अवस्थामा भ्रुणको लिङ्ग निर्धारण र पहिचान गर्न नपाइने, लिङ्ग पहिचान पश्चात् आमा र बच्चाको स्वास्थ्यमा प्रतिकुल असर र जोखिम पर्ने देखिएको खण्डमा बाहेक अरू अवस्थामा गर्भपतन गराउन नपाइने जस्ता आधारभूत प्रावधान र सख्त कारबाही एवं नियमन निकायको व्यवस्था सहितको ऐन नियमावलीको तर्जुमा गर्नु अत्यावश्यक भइसकेको छ ।

यसका अलवा देशभरिका सम्पूर्ण अल्ट्रासाउण्ड मेसिनहरूको दर्ता, नियमित अनुगमन र छड्के जाँचहरू गरिरहनु जरुरी देखिन्छ । त्यस्तै जनचेतना र चेतावनीका लागि “भ्रुणको लिङ्ग पहिचान गर्नु÷गराउनु जघन्य अपराध हो ।”, “यहाँ भ्रुणको लिङ्ग पहिचान गरिँदैन ।” “छोराछोरी नसोध्नुहोला ।” लेखिएका जानकारी एवम् चेतावनीमूलक साइनबोर्ड र पम्प्लेटहरू हरेक अस्पताल र अल्ट्रासाउण्ड सेन्टरमा टाँस्नु राम्रो हुन्छ । यसका साथै यी विषयहरूमा सम्बन्धित व्यवसायीहरू, सरोकारवाला व्यक्ति र सरकारी निकायहरू बीच नियमित छलफल र अनुभव आदानप्रदान कार्यक्रम राखिनु आवश्यक छ ।
स्वास्थ्य क्षेत्र र चिकित्सा प्रविधिसँग सम्बन्धित विषय भएकाले यी विषयहरूमा पहलकदमी लिनु स्वास्थ्य मन्त्रालय र सम्बन्धित अधिकारीहरुको दायित्व हो । तर स्वास्थ्य ऐनसम्म बनाउन नसकेको स्वास्थ्य मन्त्रालयले यी विषयहरूलाई यति सजिलै सम्बोधन गर्ला भनेर अपेक्षा गर्नु सायद सकारात्मक साेंचको अधिकतम सीमा ठहर्ला । त्यसकारण लैङ्गिक समानता, महिला सशक्तिकरण एवम् जनसंख्याको लैङ्गिक सन्तुलनसँग समेत उत्तिकै महत्वपूर्ण रूपमा जोडिएका यी विषयहरूमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, महिला अधिकारकर्मी, मानवअधिकारवादी, जनसंख्याविद्, स्वास्थ्यविद् एवम् सरोकारवाला सम्पूर्ण व्यवसायी र सेवाग्राहीहरूले ध्यान दिनु जरुरी छ । अझ राष्ट्र प्रमुख, व्यवस्थापिका प्रमुख एवम् न्यायपालिका प्रमुखको रूपमा राष्ट्रको नेतृत्व गरिरहनु भएका आदरणीय अग्रणी महिला व्यक्तित्वहरूले यी विषयहरूमा महत्वपूर्ण र निर्णायक भूमिका खेल्नु आवश्यक छ । अन्यथा, महिला भएकै कारण बेकसुर हत्या गरिएका महिला भ्रुणहरूले हामी र हाम्रो मानव सभ्यतालाई धिक्कार्ने मात्र होइन, यी चिकित्सा प्रविधि हाम्रो लागि अभिशाप बन्ने छन् ।
(लेखक मेडिकल इमेजिङ्ग टेक्नोलोजिष्ट हुन् ।)

peaceful.ak47@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np