Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

नारीवाद के हो

         ||   136 Views   ||   Published Date : 14th December 2016 |

03LR_KAMALA_2036090g
नारीवादको कुनै व्यापक र सर्वमान्य परिभाषा छैन । नारीवादको परिभाषा र यसको रुप समाज अथवा समय अनुसार बदलिरहन्छ । यसको रुप समाजको आर्थिक, सामाजिक स्थिती समझदारी र चेतनामा निर्भर गर्दछ । सत्रौं शताब्दिमा नारीवादको पहिलो प्रयोग भएको थियो । त्यसबेला यसको एउटा विशेष अर्थ थियो । पछि आएर यसको अर्थमा परिवर्तन हुँदै आएको छ । महिलाको वर्ग, पृष्ठभूमि, शिक्षा र चेतनाको स्तर आदिका अनुसार विभिन्न देशहरुमा अथवा एकै देशका विभिन्न भागहरुमा विभिन्न महिलाहरुले भिन्न भिन्न तरिकाबाट आ—आफ्नो अभिव्यक्ति प्रकट गर्न सक्दछन् । यहाँसम्म कि एकै किसिमका महिलाहरु बीचमा पनि अलग अलग धारणाहरु छन् । नारीवादका सम्बन्धमा पनि मतमतान्तरहरु छन् । तर पनि नारीवादको सम्बन्धमा एउटा परिभाषा यसरी गर्न सकिन्छ । ‘समाजमा, काम गर्ने ठाउँमा परिवारमा हुने महिलाको दमन एवं शोषणविरुद्ध चेतनाको विकास र महिला पुरुष एवं दुवैद्वारा यो अन्यायपूर्ण अवस्था बदल्ने दिशामा जागरुक सक्रियता नै नारीवाद हो ।
लिङ्गको आधारमा महिलाहरुप्रति गरिने भेदभाव, पुरुष अधिपत्य तथा पितृसत्ताको विरुद्ध आवाज उठाइन्छ भने त्यसलाई नारीवाद मान्न सकिन्छ । उदाहरणको लागि कुनै महिलाले यो निर्णय गर्दछिन् कि उनले पुरुषको या अरु कसैको अपमानलाई सहन गर्दिनन्, यसका बिरुद्ध अगाडि बढ्दछिन् र घरबाट बाहिर गई आत्मनिर्भर बन्न जागिर गर्दछिन अथवा पर्दाको बन्धनमा बस्न स्वीकार गर्दिनन्, बच्चाको आमा बन्ने या नबन्ने निर्णय आफ्नो हातमा लिन्छिन् भने यसलाई नारीवादी विचार भन्न सकिन्छ । नारीवादी बन्नका लागि कुनै संगठनको सदस्य बन्न आवश्यक छैन । प्रभावकारी ढंगबाट केही गर्नु परेमा मात्र संगठनको आवश्यकता पर्न सक्छ र यो सहायक पनि हुन सक्छ ।
पहिलेका महिला अधिकारका लागि लड्ने महिलाहरु तथा वर्तमानका नारीवादीहरु बीचको मुख्य अन्तर यही हो कि पहिले उनीहरु महिलाहरुका प्रजातान्त्रिक अधिकारकालागि संघर्ष गरिरहेका थिए । ती अधिकारभित्र पनि रोजगारीको अधिकार, सम्पत्ति सम्बन्धी अधिकार, मतदानको अधिकार, सम्बन्ध बिच्छेद गर्न पाउने या छोडपत्रको अधिकार आदि प्रमुख माग थिए । अर्को शब्दमा पहिले नारीवादी महिलाहरु कानुनी सुधारका लागि लडिरहेका थिए । कानुनले महिलालाई समान अधिकारको र समानताको हक प्रत्याभूत गरोस् भन्ने उनीहरुको माग थियो । आज महिलाहरु भेदभाव हटाउने कानुनी सुधारभन्दा धेरै अगाडि बढिरहेका छन् । तिनीहरु महिला मुक्तिको लागि काम गरिरहेका छन् । अतः नारीवाद घरभित्र महिलालाई पुरुषको शोषण र काम गर्ने ठाउँमा भेदभाव तथा परम्परा, संस्कृति एवं धर्मद्वारा उनीहरुलाई तल्लो दर्जामा राख्ने दृष्टिकोण बिरुद्ध संघर्ष गरिरहेका छन् । बच्चा जन्माउने र पालन पोषणको साथै उत्पादनको दोहरो बोझका बिरुद्ध संघर्षमा पनि नारीवादले सक्रिय भूमिका खेल्छ । महिला र पुरुष शारीरिक रुपले फरक भएको कारणले कार्य स्थिती, सत्ता, स्वभावमा पनि फरक र भेदभाव हुनु पर्दछ भन्ने परम्परागत मान्यताकाविरुद्ध पनि नारीवाद संघर्ष गर्दछ ।

महिला भेदभावको बिरुद्ध मात्र नभई सरकार, समाज र पुरुषद्वारा गरिएको सबै किसिमका दमनबाट मुक्ति प्राप्तिका लागि लड्नु या संघर्ष गर्नु पनि नारीवादको मान्यताभित्र पर्दछ । महिलाहरु शोषण, असमान तलब, दबा र दमनबाट पीडित छन् । यस्तो प्रतिकुल परिस्थिती बदल्नका लागि संघर्षको बिगुल महिलाहरुले फुक्नु पर्दछ ।

वास्तवमा नारीवाद घरभित्र र घर बाहिर महिलाले समानता र सम्मान पाउनका लागि आफनो जीवन र शरीरका बारेमा स्वयं निर्णय र नियन्त्रण गर्ने अधिकारको लागि गरिने संघर्ष हो ।
यसप्रकार नारीवादीहरु महिलाका लागि समानता र स्वतन्त्रताको माग मात्र गरिरहेका छैनन् । पुरुषहरुको लागि न्यायिक समाज स्थापनाका लागि उनीहरु लडिरहेका छन् । महिलाहरुलाई न्याय तब मिल्दछ, जब समाजमा समानता र न्याय स्थापित हुन्छ । नारीवादी संघर्षले वर्ग संघर्षसँग नजिकको सम्बन्ध राख्दछ । यसैले हामी नारीवादीहरु पूरा समाजको ढाँचामा परिवर्तन चाहन्छौं । हामी लिङ्गको साथसाथै वर्ग, जाती, समुदायको आधारमा भइरहेको शोषणको पनि विरोध गर्दछौं ।

नारीवाद एउटा विचारधारा हो । एउटा धारणा हो । यसले महिलालाई पुरुष समान सामाजिक र राजनीतिक अधिकार प्रत्याभूत गर्ने सिद्धान्तको प्रचार गर्छ । यो नारीवादी बिचारक, लेखक, शिक्षाविदआदिबाट पितृसत्तात्मक बिचारधारालाई चुनौती दिन प्रतिपादित सिद्धान्त वा बिचारधारा हो । डच् नारीवादी सास्कीया वीरागांका अनुसार नारीवाद लिङ्गमा आधारित प्रदर्शनलाई समाप्त गरी सामूहिक हितलाई अगाडि ल्याउने बिचारधारायुक्त एक प्रक्रिया हो । उनले आफ्नो पुस्ताक सबभर्सिव विमेनमा भनेकी छन् कि नारीवाद बहुअर्थी छ, जो आजको संघर्ष र पश्चिमी सीमाभित्र मात्र सीमित छैन यो विविध आवरण भएको परिवर्तनशील राजनीतिक, सामाजिक र नैतिक प्रक्रिया हो ।
महिलावादी दृष्टिले समाज, सामाजिक संस्था र सम्बन्धको विश्लेषण गर्ने नारीवादी अध्ययनहरुले नारीवादलाई परिवर्तनको दिशामा सहयोग पु¥याउँछन् । यी अध्ययनहरुले महिलालाई एक विशेष वर्गको रुपमा चिन्हाएको छ । यीनले महिलाहरुलाई अध्ययनको विषय र उद्देश्य दुवै मान्दछन् । महिलाहरुले आफ्नो अर्थ खोजी गर्ने, ब्याख्या गर्ने, परिभाषित गर्ने अधिकार पाएका छन् । महिलाहरुले परिवार, यौनिकता र सामाजिक अन्तरसम्बन्ध आदि जस्ता विषयहरुलाई पनि अध्ययनका विषय बनाएका छन् जो पहिले अध्ययनका विषय मानिँदैनथे । नारीवादी अध्ययनले समाज र सामाजिक सिद्धान्तहरुको पुनः निरीक्षण गरी यिनमा रहेका पुरुषप्रतिको झुकावलाई स्पष्ट पारेका छन् । नारीवादी अध्ययन अनुसार सामाजिक विज्ञान, इतिहास, साहित्य आदि आधामात्र सत्य हो, किनकी यसमा महिला तथा महिला दृष्टिकोणलाई राखिएको छैन । त्यसकारण आधा सत्यलाई सत्य मान्न सकिँदैन ।

महिला पुरुष दुवैको लागि नारीवाद एउटा व्यक्तिगत भित्री संघर्ष पनि हो । यो एक सामाजिक संघर्ष पनि हो । महिलाको अधिकार प्राप्तिको लागि व्यक्तिगत पहल र योजनाबद्ध प्रयास अथवा संघर्ष दुवै हो । नारीवादप्रति आलोचना, पूर्वाग्रह या आरोप लगाउनेहरुले यसलाई पश्चिमी धारणाको रुपमा उठाउने गर्छन् । यस्तो आरोप लगाउने महिला या पुरुष आफै स्वयं पश्चिमी धारणाबाट प्रभावित छन् । आफ्नो संस्कृतिलाई ठूलो सम्झनेहरु र महिलाको शोषणमा आधारित संस्कृतिलाई परिवर्तन गर्ने आवश्यकता नदेख्नेहरु यस्तो आरोप लगाउने गर्छन् । चाखलाग्दो कुरा यो छ कि यसप्रकारको आरोप आधुनिक विज्ञान अथवा आधुनिकीकरणलाई लगाइन्न । तर ती सबै पश्चिमी सभ्यताका देन हुन् अथवा पश्चिमीकरणको परिणाम पनि हो । उदाहरणकालागि यिनै व्यक्तिबाट हामी कहाँको संसदीय व्यवस्था, पूँजीवादको बिकास आदि कुरा पश्चिमी मूलको भएको बारेमा कुनै प्रश्न उठाउँदैनन् । नारीवाद शब्दको जन्म दक्षिण एशियामा भएको होइन । औद्योगिक क्रान्ति, माक्र्सवाद, समाजवाद र यहाँसम्म कि धेरैजसो धर्मको पनि यहाँ जन्म भएको थिएन । आइन्सटाइन लाहोरमा जन्मिएका होइनन् । माक्र्स कलकत्तामा, लेनिन ढाकामा जन्मेका होइनन् । पश्चिमी मूलका भए पनि उनीहरुको विचार हामीहरुलाई सान्दर्भिक भएका छन् । वस्तुतः कुनै पनि विचारलाई राष्ट्रिय अथवा भौगोलिक सीमामा सीमित गर्न सकिन्न र त्यसो गर्ने दुष्प्रयास गर्न पनि हुँदैन ।

हाम्रो समाजमा महिलाहरु शोषणको शिकार छन् । शोषण तथा दमनका बिरुद्ध आवाज उठाउनेलाई म कसरी पश्चिमी अथवा विदेशीको नक्कल गर्ने भनेर लान्छना लगाउन सक्छु ? जुन ठाउँमा अथवा जुन देशमा महिलाहरुलाई समानताको दर्जा प्राप्त हुँदैन, त्यहाँ नारीवादको विजारोपण भएको हुन्छ । अवसर पाउनासाथ अंकुरण हुन्छ र विरुवाको रुपमा बढ्न शुरु गर्दछ । नारीवाद शब्द विदेशी हुनसक्छ, यसको सारतत्व र भावना विदेशी होइन । यसलाई ग्रहण गर्दैमा पश्चिमी या विदेशी बनिदैन । दक्षिण एशियामा महिला शोषण र दमनको बिरुद्ध संगठित हुने काम उन्नाईसौं शताब्दिमा नै शुरु भएको थियो । यसप्रकार नारीवाद बाहिरबाट ल्याएर कसैद्वारा लादिएको कुरा होइन, न कि यो धारणा विदेशी हो । एशियामा नारीबाद तथा नारीवादी संघर्षको जन्म त्यतिखेर भएको थियो जब लोकतान्त्रिक अधिकारप्रति आमजनताको चेतनाको विकास भयो । मौलिक अधिकारको उपभोगबाट बञ्चित राख्न खोज्दा अन्यायको बिरुद्ध जनजागरण पैदा भएको थियो । वास्तवमा एशियामा नारीवादी चेतना, राजनीतिक जागरुकताको विकास ऐतिहासिक आवश्यकताको रुपमा उदय भएका थिए । विशेषतः उन्नाइसौं तथा बिसौं शताब्दिको प्रारम्भमा बिदेशी शासन र सामन्ती शासकहरुको बिरुद्धमा भारतमा जागरण पैदा भयो । आन्दोलनको सिलसिलामा नारीवादी धारणा पनि विकसित हुन थाल्यो । महिला शोषणको विरुद्धमो उठेको यो आवाजले धेरै चर्को रुप लिँदै गयो । दक्षिण एशियामै यसको विस्तार हुन पुग्यो । विधवाको पुनर्विवह, बहुविवाह प्रथा, सति एवं पर्दा प्रथाप्रति रोक तथा महिला शिक्षा र कानुनी या संबैधानिक स्वतन्त्रता आदिका सम्बन्धमा सशक्त आवाज उठेका थिए ।

( प्रसिद्ध नारीवादी हस्ती कमला भासिनको नारीवाद के हो भन्ने पुस्तकबाट )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np