Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

किन कमजोर भयो मातृशक्ति ?

         रामेश्वरी पन्त ||   577 Views   ||   Published Date : 3rd January 2017 |

rameshori-panta

या देवी सर्व भूतेसु मातृ रुपेण संस्थिताः
नमः तस्यै नमः तस्यै नमः तस्यै नमो नमः

यही स्तुतिगानबाट नवरात्र प्रारम्भ हुन्छ । मातृ र शक्ति रुपमा नवदुर्गाहरूको पूजा र आराधना गर्दै नौ दिनसम्म धूमधामले दशैं उत्सव मनाइन्छ । दशैं हिन्दू संस्कृतिको एउटा महत्वपूर्ण चाड हो जसले बहुआयामिक सामाजिक पक्षहरूलाई समेटेको छ । हिन्दु संस्कृतिमा मातृशक्तिको निकै महत्वपूर्ण स्थान छ । हिन्दु धर्म र संस्कृतिले समाजमा नारीहरूको इज्जत र सम्मान होस् भनेर नै प्रायः हरेक धार्मिक अनुष्ठानमा मातृपूजनको आवश्यकता औल्याएको पाइन्छ ।

संसारको सृष्टि मातृ अर्थात् आमाहरूबाट नै भएको र यसलाई निरन्तरता दिन, पालन र संरक्षण गर्न पनि मातृशक्तिहरूकै महत्वपूर्ण भूमिका रहेकोले मानव समाजले आदिम कालदेखि नै मातृशक्तिको पूजा गर्दै आएको कुरा हाम्रा विभिन्न धार्मिक ग्रन्थहरूको अध्ययनबाट मात्र होइन हाम्रा विविध धार्मिक सांस्कृतिक पर्व र प्रथाहरूले प्रष्ट्याउँछन् ।

नेपाल बहुधार्मिक एवम् बहुसांस्कृतिक मुलुक भएको र प्रायः हरेक धर्म वा हरेक संस्कृतिमा कुनै न कुनै रुपमा मातृशक्तिको पूजा गर्ने चलन रहेको छ । हिन्दु धर्मले नारीलाई आदिशक्तिको रुपमा मानेको छ । आदिम कालमा महिषासूर, शुम्भ निशुम्भ आदिजस्ता भयंकर पराक्रमी दैत्यहरूलाई परास्त गर्न देवताहरूले शक्तिस्वरुपा देवीको आराधना गरे । तब नारीको एकिकृत शक्तिले दैत्यहरूको विनाश भयो र देवता विजयी भए । विजयको यही उत्सवसँगै मातृशक्तिको पूजा र आराधनाले निरन्तरता पाउँदै आयो । आज पनि शक्ति उपाशनाको निमित्त नवरात्रका नौ दिन विभिन्न शक्तिपीठहरूमा गई नारीशक्तिका विभिन्न नौ रुपको पूजा र उपाशना गरिन्छ । यस अवसरलाई हिन्दु धर्मावलम्बीहरूले नवरात्र भनेर मान्दै आएका छन् र दशौं दिन शक्तिस्वरुपा देवी भगवतीको प्रसाद स्वरुप उल्लासमय रुपमा मान्यजनहरूबाट टीका र जमरा ग्रहण गर्ने चलन छ ।

नारीपूजनको अर्को अनुपम संस्कति हो कुमारी पूजा । प्रायः हिन्दू र बौद्ध धर्मावलम्वीहरूले पुज्दै आएकी जीवित देवी कुमारी पनि नारीशक्तिकै रुप हो । यसरी नारीको सजीव रुपमा पूजा गरेर नारीप्रतिको आस्था र सम्मानलाई समाजले जीवन्त राखेको छ । यतिमात्र होइन, नारीका अनेक रुपको पूजा गर्दै विभिन्न व्रत र अनुष्ठान गर्ने परंपरालाई हिन्दु धर्मले निरन्तरता दिएको छ । विद्या, बुद्धि, धन र शक्तिका रूप नारी नै मानिएको छ । सरस्वती, लक्ष्मी र दुर्गालाई यिनको रुप मानिन्छ । विभिन्न धार्मिक पर्वहरू जस्तै तीजमा शिवसँगै पार्वतीको पूजा गरिन्छ । दशैंमा नवदुर्गाको अर्थात् नारीका विभिन्न नौ रुपको पूजा गरिन्छ । तिहारमा लक्ष्मीको पूजा हुन्छ । प्रायः तराइवासीले मनाउने छठ पर्वमा छठी देवीको पूजा हुन्छ । सुदूर पश्चिममा मनाइने गौरा पर्वमा पनि देवी पार्वतीको पूजा हुन्छ । त्यस्तै माघ महिनाभर स्वस्थानी माताको पूजा आराधना हुन्छ । त्यस्तैगरि विविध धर्म र संस्कृतिमा कुनै न कुनै रुपमा मातृशक्तिको पूजा गर्ने नेपाली परंपरा छ ।

प्राचीन मातृसत्ताको झल्को दिलाउने यस्ता मातृपूजनका संस्कृतिले प्रतिकात्मक रुपमा त नारीलाई सम्मान गर्दै आएको मान्न सकिन्छ नै । अझै पनि कतिपय धार्मिक अनुष्ठानमा सर्वप्रथम मातृका पूजा गर्ने चलन छ । यसबाट नारीको शक्तिलाई समाजले स्वीकार गर्दै तिनको सम्मान गर्दै आएको मान्न सकिन्छ । तर के समाजमा अहिले वास्तविक रुपमा मातृशक्तिहरू सम्मानित छन् त ? के साँच्चीनै नारीहरू आज पनि दुर्गा र कालीजस्तै शक्तिशाली छन् त ? प्रश्न उब्जिन्छ मनमा ।

यो मां जयति संग्रामे यो मे दर्प व्यपोहति ।
यो मे प्रतिवलो लोके स मे भर्ता भविष्यति ।।

दुर्गा सप्तसति, अध्याय पाँचमा उल्लेखित शुम्भ निशुम्भ जस्ता महापराक्रमी दैत्यलाई हाँक दिने यो अभिव्यक्तिले प्राचिन नारीको शक्तिलाई आँकलन गर्न सकिन्छ । यदि दुर्गा सप्तसतिको कथालाई केवल मिथक मात्र मान्ने हो भने किन यस्ता मिथकहरूले धार्मिक आस्थाको रुपमा निरन्तरता पाइरहेछन् त ? भन्ने प्रश्न उठ्नु स्वाभाविक हुन्छ । यदि, होइन, यसलाई तत्कालिन प्राचीन सामाजिक वास्तविकता मान्नेहो भने यत्रो हाँक दिने नारीशक्ति आज किन र कसरी शक्तिविहीन बन्न पुगि त ? भनेर सोच्नु पनि त्यत्तिकै स्वाभाविक हुन्छ ।

संपूर्ण देवता र दानव भन्दा शक्तिशाली नारी, स्वाहाको रुपमा देवतालाई तृप्ति दिने र स्वाधाको रुपमा पितृलाई तृप्ति दिने नारी आजको समाजमा केवल प्रतिकात्मक रुपमा पुजिएकी छ । विभिन्न शक्तिपीठमा मूर्तिरुपमा विराजित छ । नारीसम्मानको लागि सनातन परंपराले स्थापित गरेका यी मान्यता आज केवल कर्मकाण्डीय बनेका छन् । आज नारीको सम्मान शक्तिपीठहरूमा हुन्छ, मन्दिरहरूमा हुन्छ, घरघरका पूजाकोठामा हुन्छ तर यही समाजलाई निरन्तरता दिने, जीवनको मूल आधार रहेकी त्यही नारी भने वास्तविक रुपमा व्यवहारमा पुजिन्न । उसलाई सम्मान दिनु भनेको आफू तल पर्नु ठान्छ समाजको अर्को पक्ष ।

‘यत्र नार्यस्तु पुज्यन्ते
रमन्ते तत्र देवता ।’
अर्थात् जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ देवता पनि रमाउँदै वास गर्छन् भन्दै हाम्रा धर्मशास्त्रले नारीको सम्मान गर्न भनिदिए तर त्यही धर्मको आडमा रचिएका केही धार्मिक कथा र पुराँणहरूले नारीलाई केवल पुरुषको सेविका र भोग्याको रुपमा मात्र प्रस्तुत गरे र समाजलाई यही मान्यतामा डो¥याउन अहम् भूमिका खेले । नारी केवल सन्तान जन्माउने माध्यम र पुरुषको भुक्ति र मुक्तिको साधनको रुपमा समाजमा स्थापित हुँदैगए । कालान्तरमा उसको स्थान पति(पुरुष)को चरणमा तोकियो । चरणकी दासी ऊ पतिको मृत्युपछि उसको चितामा ज्यूँदै जल्न बाध्य भई । नारीलाई भोग्याको रुपमा हेर्ने समाजमा ऊ केवल मन्दिरमा पुजिईरही निरन्तर रुपमा तर वास्तविकतामा ऊ त यतिसम्म शक्तिहीन बन्दै गई कि उसको अस्तित्व भनेकै पुरुष हुन गयो । उसको भाग्य निर्माता पनि पुरुष नै हुन पुग्यो चाहे जुनसुकै रुपमा किन नहोस् । कुनै युगमा नारीशक्तिको आडमा पुरुषले आफूलाई सुरक्षित देख्थ्यो भने आज एकातिर उसको सुरक्षाको ठेक्का पुरुषले लिएको छ भने अर्कोतिर पाइला पाइलामा नारी त्यही पुरुषबाटै असुरक्षित बन्दै गएकी छ । चाहे आमाको दूध चुस्दै गरेकी बालिका होस् वा लट्ठी टेक्दै हिंडेकी बृद्धा, चिलले जस्तै झम्टिन्छ पुरुषयौनचरित्रले र तृप्त हुँदै डकार्छ गर्वले ।

फेरि पनि, देवी पुजिने पर्व या शक्ति उपाशनाका यी नौ दिन अर्थात् नवरात्रमा नारी धूमधामले पुजिन्छे तर मन्दिरमा मात्र । मान्छेले मन्दिरभित्रका नबोल्ने मूर्तिको सामू टाउको झुकाउँछ, शक्तिको लागि टाउकै ठोक्छ तर आफ्नै घरभित्रकी ‘जितीजागती देवी’ जसले उसको संसार चलाएकी छ, जो उसको वास्तविक शक्ति हो उसलाई चिन्न सक्दैन र उसमाथि शासन जमाउँछ । आफ्नो मालिक्याईँ प्रदर्शन गर्छ । उसलाई घरभित्रकी ‘बोल्ने देवी’ मनै पर्दैन । यो एउटा कटू सत्य हो । यति हुँदाहुँदै पनि प्रतिकात्मक रुपमै भए पनि नारीशक्ति पुजिएकी छ । हामी नारीले यसलाई गौरबको रुपमा लिँदै आफ्नो सामाजिक र पारिवारिक दायित्व गर्वका साथ पूरा गरिरहेछौं र गर्नेछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np