Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

चम्पा

         दीपक घिमिरे ||   452 Views   ||   Published Date : 3rd January 2017 |

deepak-ghimire

अन्त्यमा लाले मिस्त्री खाडी जाने फिक्स जस्तै भयो । गुडिया जस्ता दुई छोरी र फुल जस्ती चम्पालाई छाडेर लालबहादुर साउदी उडने टिकट च्याँपेर अन्तिम भेटका लागि गाउँ फर्कियो ।
जुम्ल्याहा छोरीहरुको राम्रो रेखदेख र पढाइको जिम्मा चम्पालाई सुम्पिँदै लालबहादुर बोल्यो ‘यिन्को ख्याल राखेस्, यिनको भबिष्यका लागि तीन बर्ष दुःख गर्छु ।’
चम्पा केही बोलिन, छोरीहरु सुतिसकेका थिए । सात बर्ष अघि अग्निलाई सात फन्को मारेर लालेकी हुँदा यसरी तीन बर्षका लागि अलग्गिनु पर्छ भनेर साेंचेकै थिईन चम्पाले । तर बाध्यता थियो । गाउँकै मनबिरे , शिबु अनि गोतामे जेठाहरु साउदी छिरेपछि लालेलाई पनि खाडीको नसाले सुस्त सुस्त छुन थालिसकेको थियो । मिस्त्री कामबाट आउने दैनिक तीनसय ज्यालाले घर चल्ने तर भबिष्य नचल्ने देखेपछि लालेले पासपोर्ट बनायो अनि गाउँकै सन्तवीर दलाल मार्फत साउदीको भिसा लगायो ।
धेरैबेर लालेलाई सुनेपछि चम्पाका आँखा रसाए । सहनै नसक्ने भएपछि लालेलाई अंगालो मारेर धित मरुन्जेल रोई । लालेले चम्पालाई अंगालो बाट छुट्ट्यायो, निधारमा चुम्यो अनि दुबै आँखामा तैरिरहेका आँसुका ढिक्कालाई बुढी औंलाको सहारामा पुछिदियो । बिझाएका आँखालाई चम्पाले कुर्ताको टुप्पोले पुछि अनि हिक्का छाड्दै भनि, ‘बरु एक छाक खाउँ, तर नजाउ ।’

सुतिरहेका दुईटा कोपिला जस्ताछोरीहरुलाई हेर्दै लालेले भन्यो, ‘हामी भोकै बसौला चम्पु , तर यिन्का लागि म परदेश जानै पर्छ । मलाई आँसुको धाराले नरोक ।’ एकछिन दुबै जना रोए । भोलि बिहानै शहर जानू थियो, रातभरी गफ गरे , निद्रै परेन ।

छोरीहरु नउठ्दै लाले शहर जान तम्सियो । चम्पाले भेटेर जानुस, सम्झाएर लिएर जानुस भन्दा पनि मानेन । छोरीहरुको आँखामा आँसु देख्न सक्दैन लाले । त्यसैले पनि सुतिरहेका छोरीहरुको पाउमा ढोग गरेर लाले बिदा भयो । अलि तल कान्लासम्म चम्पा पनि साथमा आई । तर घरमा छोरीहरु मात्र भएकाले बस स्टेन्ड सम्म आउन सकिन ।

बाध्यताले लाले बिदेसियो । बाजेबाट बाउमा अनि बाउबाट आफुमा आएको खरबारी बन्धकी राखेर निस्केको एक लाख रुप्पे तिरेर लाले साउदी उड्यो, सन्तानको भबिष्यका लागि ।
लाले उडेपछी चम्पा एक्लो महसुस गरी । लाले पनि उता धेरै दिन उज्यालो अनुहार बनाउन सकेन रे । प्रत्यक हप्ता हुने फोनमा उताबाट लाले रुन्थ्यो । यता चम्पा । चम्पा रुँदा नरोउ भनेर सम्झाउने लाले छोरीहरुसँग गफिँदा आफै रुन्थ्यो । लाले रुँदा छोरीहरु नरुनु बाबा भन्दै सम्झाउँथे । लालेको रुवाई सुनेर चम्पा दलिनमा अडेस लागेर झन बेस्सरी रुन्थी । फोन आएको दिन त्यो घरमा रुवाबासी नै चल्थ्यो । दिनभर अँध्यारो हुन्थ्यो तरपनि सबै लालेको फोनको पर्खाईमा बस्थे ।

आँगनमै आएको दशैंलाई लत्याएर लाले बिदेसिए पनि छोरीहरुलाई भने जस्तो खुशी पार्नु चम्पाको कर्तब्य थियो । भएजति पैसा दलाललाई बुझाएर साउदी गएको लालेले गएको तीन महिना पैसा पठाउन सक्दैन भन्ने पहिल्यै थाहा थियो । यी तीन महिना जसरी तसरी चलाउनु थियो । यिनै तीन महिना भित्र दशैं थियो अनि तिहार पनि । चाडपर्व टार्नु चम्पाका लागि पहाड खने जस्तै थियो तर हिम्मति चम्पा डराईन, जे पर्ला टर्ला भन्दै हाँसीरही ।
दशैं नजिकै आउँदा घरमा चामल थियन । राम्रो लुगा तीजमा किने पनि मासु खाने पैसा कतैबाट जुरेन । उधारोमा बोइलर कुखुरो किनेर दशैं कटाउने योजना बुनेकी चम्पा रने साहुसँग सयकडा तीन ब्याजमा तीन हजार सापट लिएर चामल किनी । अनि दशैंको तयारीमा लागि ।
बोइलर कुखुराको मासुसँग भात खुवाएर यो पटकको दशैं सकियो । छोरीहरु बाबा ले टीका लगाईदिन आउनु भएन भनेर पीर माने तर चम्पा हाँसेरै छोरीहरुलाई खुशी पारी । टीका टालो सकिँदा लालेले फोन ग¥यो । फेरि एकछिन रुवाबासी चल्यो , खुशीका आँसु सबैका झरे ।

चम्पाले लाले बिनाको दशैं मनाई । लालेले चम्पाको फोटोमा टीका लगाईदिएर दशैं मनायो । पहिलो पटक चम्पा बिना दशैं बित्यो । छोरीहरु बिनै दशैं मनाउँदा निक्कै खल्लो महसुस ग¥यो ।
चौथो महिनामा जीबनकै पहिलो कमाई भन्दै लालेले तीस हजार नेपाली रुपैयाँ घर पठायो । नागरिकता बोकेर सुकेदह बजार झरेकी चम्पा तीस वटा हजार हजारका नोट देखेर दङ्ग परी । जीवनमा सयका नोट मात्र आफ्ना हुन् बाँकी ठुला नोट त साहुका मात्र हुन्छन भन्ने सोंच पालेकी चम्पाले आज आफ्नै लालेको कमाई बुझी । तीस हजारलाई तीन पटक गनि । कहिले औलामा थुक लगाएर गनि त कहिले प्रत्यक नोटलाई अलग अलग राखेर । अन्तमा मुसुक्क हाँसेर ब्यागमा कोची ।

बाटोभरी हिसाब गरी । दशैं मान्न काडेको ब्याजे तीन हजार सबैभन्दा पैला तिर्ने हिसाब लगाई । अनि लाले जाँदा लिएको ऋणको ब्याज मात्र भएपनि तिर्ने हिसाब लगाउँदै घर आई ।
पठाएको पैसा महिना दिन नपुग्दै लालेले अर्काे महिनाको तलब बुझ्थ्यो । बुझेकै दिन चम्पाको नाममा पठाउथ्यो । पैसा निकालेकै दिन समय मिलेसम्म ऋण तिर्दै खाली हात घर फर्कन्थी अनि औंला भाँचेर हिसाब निकाल्थी, अब कति ऋण बाकी रह्यो भन्दै । सुस्त सुस्त ऋण सकियो । पैसा जम्मा हुन थाल्यो ।
प्रत्येक हप्ता फोन गरेर रुने लाले र चम्पा आजभोली रुन छाडेका थिए । लालेले उताबाट जिस्काउँथ्यो । चम्पा छोरीहरु नभएको मौका पारेर मस्किन्थी । जिस्किनमा चम्पा पनि कम्तिकी थिईन । उनीहरु हल्का जिस्कन्थे , बढी त भबिष्यकै बारेमा गफिन्थे । परार साल खरले छाएको छानो यसपाली छाईएन भने बस्न नसकिने चम्पा बताउँथी । उता लाले हिम्मतका साथ भन्थ्यो ू अरे यार चन्ता नले , टिन लगाईदे ।अलिकती गारोमाथी उठायर लगायस । अलि अग्लो देखाउनु पर्च हाम्रो घर । लालेको कुराले चम्पा खुशी हुन्थी, अब घरमा टिन लाग्ने भो ।
हिम्मती लालेको कमाई राम्रै थियो । कमाएको पैसा आबश्यकता भन्दा बढी खर्च नगरेर चम्पाले जम्मा गरिरहेकी थिई । चम्पा अनावश्यक खर्च गर्दिन भन्ने लालेलाई पूर्ण बिस्वास थियो । तर पनि बेला मौकामा चम्पालाई सम्झाउँदै भन्थ्यो, ‘धनको आडमा ईज्जत नफाल्नु । पल्तिर साईंली जस्तो उत्ताउली नबन्नु ।’
हुन पनि समाज यति खराब भैसकेको थियो कि बिदेशियका लाउरेका श्रीमतीहरु बदनाम हुने क्रम जारी थियो । लाले बिचरो यिनै कुराबाट डराउँथ्यो । चम्पाले गलत बाटो पकड्ली अनि खाडीमा बगाएको पसिनाको मूल्य बालुवामा पानी हालेसरी होला भन्ने डर लालेलाई पनि थियो तर उ चम्पामाथि बिश्वस्त थियो । ‘चम्पा साईली जस्ती उत्ताउली जवानीमा त भैन, झन बुढेसकालमा झन के हुन्थी ।’

यता चम्पालाई पनि डर यही मात्र थियो । परदेशिएका लोग्नेहरु आधा आधी पुरानै माया बोकेर फर्किँदैनथे । उतै माया जालमा फसेर कति त नेपालै आउन छाडेका थिए त, कतिले उतै बाट अर्कीको माला भिरेर फर्किय । कति त काठको बाकसमा बन्द भएर फर्किएका थिए । साेंच्दा पनि झसङ्ग हुन्थी चम्पा ।
एक्कासी लालेको फोन आउन छाड्यो । चम्पाले फोन बिग्रियो भन्ने ठानी । गाउँकै सानो मोबाईल पसलमा मोबाईल देखाई । सबै ठिक छ तर लालेको फोन आउँदैन । डिउटीमा ब्यस्त होलान भनेर अलिक दिन कुरी । हरेक महिना जस्तो पैसा पठाउने दिन पनि आएर गयो तर न पैसा आयो न त फोन ।
गाउँकै रामलाल कहाँ कुरा बुझ्न गै चम्पा । रामलाल पैला छ बर्ष साउदी बसेर आएको थियो । उसले पनि आश्वासन मात्र दियो । भन्यो ‘कहिले काहीँ फोन नै नलाग्ने ठाउमा पठाउँछन मालिकहरु । सायद त्यतै गएका होलान लाले दाइ । आत्तिनु पर्दैन, ढुक्क भएर घर चलाउनु ।’

मन अलिकती भएपनि उकासियो चम्पाको । अनेकौ कल्पना गर्ने मनले आज हे भगवान मेरो लालेलाई केही नहोस बाहेक केही कल्पना गर्न सकेको छैन । छोरीहरु बाबासँग गफिन नपाउदाँ नुन खाएका भाले जस्ता न्यास्रा देखिन्थे । तर छोरीहरुका अगाडि मन बाँधेर चिन्ता देखाइन चम्पाले । बरु हसाईरही ।
दिन बित्दै जाँदा हप्ता बिते, हप्ता हप्ता गर्दै महिना बित्यो तर न लालेको फोन आयो न त खबर । कुर्दा कुर्दै चम्पा दुब्लाउन थाली । हँसिली चम्पा एकसुरे हुन थालि । पहिले आएका नम्बरमा फोन गर्दा अरबी भाषामा खै के बोल्ने तर उताबाट फोन नआउने हँुदा गाउँलेहरु पनि अनेक अडकल काटन थाले ।
लाले हरायो । पसिना बेचेर खुशी किन्न साउदी छिरेको लाले एक्कासी हरायो । साउदी पुगेको दुई बर्षमा लाले हरायो । झोला बोकेर गाउँ पस्ने टपरे ज्योतिषहरु लालेको बारेमा अनेक भबिष्यबाणी गरे । कसैले पत्थर बेचे कसैले माला बेचे । लालेको आशामा चम्पा ती ज्योतिषहरु लाई खुशी पार्दै बसी । तर लालेको पत्तो लागेन ।
दुई घण्टा टाढा बस्ने पुरेत खगराज नामी ज्योतिष थिए । उनी नाम र जन्ममितिबाटै भबिष्य हेर्न माहिर थिए । एक माना चामल र एक हजार दाम चढाएर लालेको बारेमा खगराजलाई सोध्दा पनि उस्तै खबर दिए । जिउँदै त छ तर दुःखमा छ । आउँछ एक दिन ।’
फेरि भेटिने झिनो आशा लिएर चम्पा गाउँ फर्की । तर महिनौं बित्दा पनि लाले आएन । जिउँदै छ या मरेको, कुनै खबर चम्पाको गाउँसम्म आएन । महिना महिना गर्दै बर्षा बिते तर लाले अझै फर्किएन ।
लालेलाई साउदी पठाउने दलाल शहरमा बस्ने थाहा पाएर उ बिहानै शहर गै । सात घण्टाको मोटर बाटो पार गरेर शहर पसेकी चम्पालाई न दलाल बस्ने ठाउँ थाहा थियो  न त लाले हराएको उजुरी दिने ठाउँ । उपलब्धी बिहीन भएर फेरि गाउँ फर्किई । अर्धपागल जस्ती भएकी चम्पा लालेको फोटोमा हेरेर हरदम रुन थाली । तर उसको रुवाई सुनेर न भगवानले लालेलाई घर पठाए न सम्पर्कमै ल्याए । आजसम्म लाले फर्केन । चम्पा एक्ली भएको पनि बर्षौ भयो ।
घोराही, दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np