जबाफको खोजी
समय सँगसँगै आएका
छन् मसँग
केही थान प्रश्न
तर तिनको जबाफ
छैनन् मसँग
यदि छन् भने
तपाइँसँग
तिनका गतिला जवाफ
कृपया
मलाई
पठाइदिनु होला
मेरो हुलाकी ठेगानामा ।
एक दिन
स्कुलको ड्रेस लगाएर
स्कुल जादै गरेको आफ्नो दाजुलाई देखाउँदै
मलाई मेरी छोरीले भनी–
बाबा, म पनि दाजुसँगै स्कुल जान्छु ।
मैले मेरी छोरीलाई पनि
आफ्नो दाजुसँग स्कुल पठाइदिएँ
ऊ रमाउँदै स्कुल गई
केही वर्षपछि
छोरो डाक्टर पढ्न सहर गयो
मलाई उही मेरी छोरीले भनी–
बाबा, म पनि डाक्टर
वा इन्जिनियर पढ्न सहर जान्छु
मैले उसलाई पनि दाजुसँगै सहर पठाइदिएँ
ऊ रमाउँदै दाजुसँग सहर गई
केही वर्षपछि
एक दिन छोरोले आफै श्रीमती लिएर घर आयो
मैले विवाह गरिदिएँ र घरमा आफूसँगै राखेँ
नयाँ बुहारीसँगै घरमा उज्यालो फैलियो
केही महिनापछि
मलाई उही छोरीले भनी –
बाबा, म पनि अब
आफैले रोजेको श्रीमान् लिएर आउँछु हैै
उसको आग्रहसँगै घरमा अँध्यारो फैलियो
म अचानक नाजबाफ भएँ
मैले छोरीलाई केही जबाफ दिन सकिनँ
त्यसको केही वर्षपछि –
छोरो मबाट छुट्टिएर गयो
उही छोरीले मलाई फेरि भनी –
बाबा, मलाई पनि दाजुलाई झैँ अंश दिनुस्
म पनि अबदेखि यो घरमा बस्दिन
म फेरि गजबसँग नाजबाफ भएँ
मैले छोरीलाई हुन्छ वा हुन्न भन्न सकिनँ
मैले छोरीलाई कुनै जबाफ दिन सकिनँ ।
समय सँगसँगै आएका
छन् मसँग
केही थान प्रश्न
तर तिनको जबाफ
छैनन् मसँग
यदि छन् भने
तपाइँसँग
तिनका गतिला जबाफ
कृपया
मलाई
पठाइदिनु होला
मेरो हुलाकी ठेगानामा ।
घोराही, दाङ ।