Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

घरलाई हिंसामुक्त बनाउने दायित्व

         ||   201 Views   ||   Published Date : 3rd January 2017 |

samarekha-23-cover
महिलामाथि भएका हिंसाका अभिलेखहरुले उनीहरुमाथि सबैभन्दा बढी हिंसा घरभित्र हुने गरेको देखाउँदै आएका छन् । इन्सेकले प्रकाशन गर्दै आएको मानव अधिकार वर्ष पुस्तकमा अभिलेख भएका महिलामाथि भएका घरेलु हिंसाको आँकडामात्रै हेर्ने हो भने पनि सन् २०१२ मा ६ सय ४२ रहेकोमा सन् २०१६ मा आइपुग्दा यो संख्या ३ हजार ५ सय ४८ पुगेको छ । ओरेक नेपालको महिला हिंसा सम्बन्धी वर्ष पुस्तक अन्वेषाी र प्रहरीको सरकारी आँकडाले पनि महिलामाथि घरेलु हिंसा सबैभन्दा बढी रहेको देखाउँदै आएका छन् । घरभित्र, श्रीमान्बाट हिंसा खेप्ने महिलाहरुको तथ्यांक ७० प्रतिशतभन्दा माथि नै छ । यसरी श्रीमान्, परिवारका सदस्य र आफन्तबाट हिंसा खेप्नुपर्दा ती घटनाहरु सार्वजनिक गर्न, न्यायकालागि निरन्तर संघर्ष गर्न महिलाहरुलाई निकै अप्ठेरो पर्ने गरेको भनाई पीडितले नै भन्दै आएका छन् ।
त्यसो त घरभित्र हुने हिंसालाई व्यक्तिको पारीवारिक मामलाको रुपमा हेरिँदै आएकोमा घरेलु हिंसा कसूर तथा सजाय ऐन आएपछि त्यस्ता हिंसा कानुनको दायरामा आएका हुन् । तर कानुन कार्यान्वयन तहमा देखिएका अप्ठेरा र ऐनले नै घरेलु हिंसाको संवेदनशीलता संबोधन गर्न नसक्दा यो ऐन त्यति प्रभावकारी हुन सकेको छैन । घर हामी सबैको आश्रय स्थल । हामी सबैले सबैभन्दा सुरक्षित महसुस गर्ने स्थान । तर त्यही घरका महिला सदस्य त्यहाँ सुरक्षित छैनन् । यसको मतलब सबै परिवारका सबै पुरुष सदस्य महिलामाथि हिंसा गर्ने नै छन् त ? त्यसो पनि पक्कै होइन । हाम्रा घर परिवार हाम्रै परिवारका महिला सदस्यकालागि सुरक्षित छ्रैनन्÷ नहुन सक्छन् भन्ने कुरा बारम्बार सार्वजनिक भैरहँदा पनि यस्तो संवेदनशील विषयप्रति हामीले पर्याप्त चासो, चिन्ता र जागरुकता देखाउन सकेका छैनौं जुन चिन्ताजनक नै छ । व्यक्तिगत इगो, सामाजिक प्रतिष्ठा र इज्जतको नाममा घरभित्र पनि हिंसा भैरहेका छन् र त्यस्तो हुन नदिन हामी सबैले प्रयत्न गर्नुपर्छ ।
महिलामाथि हुने हिंसा रोक्न प्रथमतः हामी सबैको दायित्व भनेको हाम्रा छोरीहरुलाई आत्मविश्वास र स्वाभिमानपूर्वक बाँच्न सिकाउनु र बाँच्नकालागि आधार तयार गरिदिनु नै हो । अर्काको घरमा पठाउँदा दाइजो दिनु नदिनु जहिले पनि दोश्रो कुरा हो, पहिलो कुरा त आफ्नै घरभित्रको सम्पत्ति र दायित्व दुवैमा छोरीलाई बराबर हक दिनु हो जसले छोरीको सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेल्छ । सन्तानलाई सहनशील हुन सिकाउनु एउटा कुरा हो तर अन्यायबिरुद्ध जुरुक्क उठ्ने हिम्मत दिनु प्रथम आवश्यकता हो । विहे गरेर छोरी विदा गरेपछि आफ्नो दायित्व पूरा भएको ठान्ने सोंच त्यागेर छोरीकोलागि आवश्यक परे जहिले पनि पहिलेजस्तै साथ दिनुपर्छ भन्ने सोंच परिवारमा रहिरहने हो भने मात्रै छोरीहरुले हिंसित जीवन जिउनुको सट्टा हिंसाबिरुद्ध उभिने आँट गर्न सक्छन् । हिंसा गर्नेहरुको मनोबल कमजोर बनाउन यो निकै जरुरी छ ।
सवल सक्षम सशक्त बनाउन हामी सबैले आ आफना घर हिंसामुक्त बनाऔं । परिवारमा छलफल गर्ने, एक अर्काको कुरा सुन्ने, आमने सामने बसेर पारिवारीक समस्या भए हल गर्ने, परिवारका सबै सदस्यको आत्मसम्मानको ख्याल गर्ने, आत्मसम्मानमा चोट पुग्ने अवस्था आउन नदिन प्रयासरत रहने हो भने हिंसामुक्त परिवार बनाउने हाम्रो संकल्प पुरा हुन सक्छ । हिंसामुक्त घर नै सुख, शान्ति र समृद्धिको आधार हो । हाम्रो घर हिंसामुक्त भयो भने हाम्रो समृद्धि पनि कसैले रोक्न सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np