Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

‘नारी’ शब्दको चमक

         अभय श्रेष्ठ ||   232 Views   ||   Published Date : 3rd January 2017 |

avaya-shrestha

 

 

राजधानीका आँखाले अलि मोफसल नै देख्छ दाङलाई । त्यही मोफसलबाट समरेखा द्वैमासिकले वितेको पाँच वर्षदेखि लैंगिक समताको सवाललाई राष्ट्रिय स्तरमा उठाउँदै आएको छ । यस अवसरमा समरेखालाई मेरो हार्दिक बधाई र शुभकामना । नयाँ संविधानमा महिलाको स्थान, बढ्दो बलात्कार प्रवृत्तिलगायत महिलासम्बन्धी अनेक मुद्दा उठाएर यसले राजधानीवासीको समेत ध्यान खिचेको छ । न्याय प्राप्तिको लडाइँमा राजधानीका पत्रपत्रिकालाई यो ठाडो चुनौती हो । यसै मेसोमा समतामूलक समाज निर्माणका क्रममा नारी अधिकार र अस्मिता स्थापनाका लागि समरेखाको दायित्व अझै थपिएको छ ।

१.नेपालमा नारी, दलित र पिछडिएका समुदायको अधिकारको सवाललाई उग्र विचार ठान्ने सामान्य प्रवृत्ति छ । यो समाजबोधमा आएको वैचारिक समस्याको परिणाम हो । तपाईँ न्यायप्रेमी हुनुहुन्छ भने पुरुष भए पनि नारी अधिकारका पक्षधर हुनैपर्छ जसरी मानवशास्त्री डोरबहादुर विष्ट जातले झर्रो क्षत्री भएर पनि दलित, अल्पसंख्यक, जनजाति, पिछडिएका समुदाय र क्षेत्रका पक्षपाती थिए । हामी समतामूलक राज्य निर्माणको चरणमा छौँ । यस्तोमा सकारात्मक विभेदका प्रावधान हुनु अनिवार्य छ । अर्थात् तल परेका, अवसरबाट वञ्चित समूह वा समुदायलाई विशेष प्रावधान गरिन्छ । यसलाई कतिपय लाभाविन्त समुदाय वा समूहले आफूमाथि अन्याय भएको भनी विरोध पनि गर्छन् । तर, समतामूलक समाज निर्माणका लागि समान प्रतिस्पर्धात्मक स्थिति नबनुन्जेल यस्तो प्रावधान हुनु अनिवार्य छ । महिलालाई आरक्षण वा विशेष प्रावधान यस्तै एउटा अभ्यास हो ।

यो कुरा, सर्वसाधारणलाई हामी यसरी पनि बुझाउन सक्छौँ । एउटा साझा घर छ । तपाईँ यो जाडोमा कौसीमा घाम ताप्न पाउनुहुन्छ । तर, अर्को कोही छ जो वर्षौँदेखि छिँडीको चिसोमा बस्न बाध्य छ । घाम ताप्न पाउनु उसको पनि अधिकार हो । त्यसका लागि उसले कौसीसम्म पुग्नुपर्छ । त्यहीँ हुनुभएकोले घाम ताप्न तपाईँले कुनै दुःख गर्नुपरेन । तर, कौसीसम्म पुग्न भ¥याङ छैन भने छिँडीमा बस्नेकै लागि भए पनि भ¥याङको व्यवस्था गरिदिनुप¥यो । बल्ल उसले पनि तपाईँले जस्तै घाम ताप्न पाउँछ । राज्य र सामाजिक संरचनाहरूमा महिलालाई दिइने आरक्षण छिँडीमा बस्ने समुदायका लागि कौसीसम्म पुग्न बनाइएको भ¥याङजस्तै हो ।

एकातिर, शारीरिक रूपले पुरुषका तुलनामा महिला कमजोर हुन्छन् । प्राकृतिक रूपले पनि तिनका केही बाध्यता र दायित्व बढी छन् । १० महिनासम्म गर्भ वहन, ३ महिनासम्म प्रसूति र दुई वर्षसम्म स्तनपान र महिनैपिच्छे पाँच दिनको रजश्वला तिनका अनिवार्य बाध्यता र दायित्व हुन् । यसले प्रतिस्पर्धाको भूमिमा तिनलाई पछाडि पारिरहेको हुन्छ । अर्कातिर हाम्रो संरचना नै यस्तो विभेदी छ जसले तिनलाई स्वतः पुरुषको तुलनामा पछाडि पार्छ । बसमा, जागिरमा, विभिन्न समिति र संरचनामा महिलालाई दिइएको आरक्षण त्यही दायित्व, त्यही बाध्यता र त्यही विभेदको क्षतिपूर्ति हो । समतामूलक समाज निर्माणको यो गाँठी कुरा हामीले हाम्रा दाजुभाइ, दिदीबहिनी, आमाबुबा, हजुरबा, हजुरआमा, सासूससुरा, बुहारी, नन्द र आमाजूहरूलाई राम्ररी बुझाउनुपर्छ ।

२. सत्ता शक्तिको स्रोत हो । परिवर्तन त यही शक्तिले ल्याउँछ । राज्य तथा सामाजिक संरचनामा महिलाको अनिवार्य सहभागिता यही परिवर्तनका लागि हो । हाम्रो समाज संस्कारका हिसाबले सामन्ती र संरचनाका हिसाबले पितृसत्तात्मक हो । त्यसैले यहाँ बिहेपछि महिलाले आफ्नो थर थाती राखी श्रीमान्को थर ग्रहण गर्छिन् । यो, सर्वसाधारणको हकमा हुने कुरा भयो । तर, कुनै थापा वा बस्नेतले शमशेर राणाकी छोरी बिहे गरे उसको नामको बीचमा पनि शमशेर जोडिन्छ । जस्तो ः युधीर शमशेर थापा, रत्न शमशेर थापा । यो कसरी भयो ? सत्ताले । अहिले पनि हाम्रो सामाजिक सत्ता राणा र शाहहरूमै छ । सत्ताले कसरी सामाजिक परिवर्तन ल्याउन सक्छ भन्ने यो एउटा उदाहरण हो । यसरी राज्यसत्तामा महिलाको समानुपातिक सहभागिता कति महत्वपूर्ण छ भनी सर्वसाधारणलाई बुझाउन सकिन्छ ।

३. नारीवाद, नारी अधिकार, नारी संवेदना र अस्मिताका कुरा पुरुषविरोधी होइनन् । उन्नत, समतामूलक, मानवीय गरिमायुक्त समाज निर्माणका लागि पुरुषसरह नारीको अधिकार र आत्मसम्मानको रक्षा गर्नु पुरुषको पनि उत्तिकै दायित्व हो । (पुरुष हुँदैमा सम्पूर्ण पुरुष नारीविरोधी हुँदैनन् जसरी नारी हुँदैमा सम्पूर्ण नारी नारीवादी हुँदैनन् ।) नारी र पुरुष हाम्रा दुई आँखा हुन् । एउटामात्र आँखा कमजोर हुँदा पनि अनुहार अपूरो, अधुरो र कुरूप हुन्छ ।
(मेरा दुई दिदी मेरो आदर्श र प्रेरणाका स्रोत हुन् । बाल्यकालमै आमाको निधनपछि हामी दाजुभाइको पढ्ने अधिकार सुरक्षा गर्न तिनले आफ्नो पढ्ने र ज्ञान आर्जन गर्ने अधिकार सजिलै त्यागिदिए । आज हामी दाजुभाइको जुन सानोतिनो सामाजिक पहिचान छ, त्यो तिनकै प्रतिदानरहित प्रेम र स्नेहको परिणाम हो । मेरा दिदीहरूको कथा यो देशका थुप्रै दिदीबहिनीको कथा हो । तिनले हाम्रो अधिकार सुरक्षा गर्न आफ्नो अधिकार त्यागे भने हामीले पनि तिनको अधिकार र आत्मसम्मानको सुरक्षा गर्न योगदान गर्नुपर्छ ।)

४. मिडिया पुँजीवादको गाडी हो । सम्पादक त्यसको ड्राइभर हो भने पत्रकारहरू खलाँसी । यसको ‘हेराइ’ पुरुष हेराइ हो । पुँजीवादले जे बिक्छ, त्यही बेच्छ । यसले नारीका चिल्ला गाला, चिल्ला पिँडुला, उन्नत वक्ष र बान्की परेका क्लिभेजलाई महत्व दिन्छ । आज संसारकै ब्रोडसिट अखबारका कानमा सधैँ नारीका यिनै चिल्ला अंगले किन स्थान पाइरहेका छन् भन्ने तपाईँ सजिलै बुझ्न सक्नुहुन्छ । टेब्लोइड अखबारको त कुरै गर्नुपरेन । एकातिर, हामीले यिनै अखबार, टेलिभिजन र विज्ञापनका व्यापारिक नियतको नकाब खोलिदिनु जरुरी छ । अर्कातिर आदर्श पात्र र प्रतीकको छनोटमा पनि उत्तिकै ध्यान दिनुपर्छ । जस्तो कि ः हामी रेखा थापालाई उदाहरणीय महिला मान्छौँ कि उमा बादीलाई ? म त उमा बादीलाई नै मान्छु । २०६४ सालमा उमा बादीको नेतृत्वमा मध्यपश्चिम र सुदूर पश्चिमका बादी महिलाले काठमाडौँमा अनुपम राजनीतिक आन्दोलन गरे । तिनले सिंहदरबारको मूल ढोकामा उभिएर नांगो प्रदर्शन गरे । रेखा थापाले पनि सिनेमा लुगा खोल्ने र शरीर देखाउने नै हो । बादी महिलाले पनि त्यही गरे । तर, यी दुईमा आकाश–जमिनको अन्तर छ । एउटामा अस्मिता बेच्ने कुरा छ, अर्कोमा अस्मिता रक्षाको आह्वान छ । रेखा आफ्नो सिनेमा बिकाउन शरीरका चिल्ला अंग प्रदर्शन गर्छिन् । बादी महिला शरीर बेच्नुपर्ने बाध्यताबाट मुक्ति चाहन्छन् । ती ‘हामीलाई वेश्यावृत्ति गर्न बाध्य पार्ने व्यवस्था स्वयं नांगो छ’ भनेर सन्देश दिन्छन् । हाम्रा लागि त संसार सुन्दरी मार्लिन मुनरोभन्दा कालीमैली उमा बादी नै उदाहरणीय पात्र हुन् ।

५.पहिलो संविधानसभाका कामलाई दोस्रो संविधानसभाले निरन्तरता दिने सहमति दलहरूबीच भएको थियो । यस क्रममा राज्ययन्त्रका हरेक अंगमा अन्तरिम संविधानको ३३ प्रतिशतबाट बढाएर पहिलो संविधानसभाले ५१.५ प्रतिशत महिला हुने व्यवस्था पारित गरेको थियो । यो प्रावधान महिला जनसंख्याकै अनुपातमै थियो । संविधान बनेर आउँदा कृष्ण सिटौला नेतृत्वको मस्यौदा समितिले त्यसलाई ३३ प्रतिशतमै सीमिति ग¥यो । कतिपय संरचनामा त्यही आरक्षण पनि निश्चित गरिएको छैन । जस्तो कि ः पहिलो संविधानसभाले मन्त्रिपरिषद्, व्यवस्थापिका र राज्यका सर्वोच्च पदाधिकारी एउटा लिंगको भए दोस्रो पदाधिकारी अर्को लिंगको हुने व्यवस्था गरेको थियो । पुरुष प्रधानमन्त्री भए महिला उपप्रधानमन्त्री, महिला प्रधानमन्त्री भए पुरुष उपप्रधानमन्त्री । यही कुरा राष्ट्रपति, सभामुखमा पनि लागू हुने प्रावधान थियो । पहिलो संविधानसभाका विषयगत समितिले सर्वसम्मतिले टुंग्याएका यस्ता धेरै परिवर्तनकारी प्रावधान थिए जुन न्यायमूलक समाज निर्माणका लागि अनिवार्य हुन्छन् । संविधान बनेर आउँदा यीमध्ये कतिपय पदमा महिला सहभागिताको सुनिश्चिता छैन । प्रस्ट छ, यसमा मेरिटोक्रेसीको सवाल उठाइएको थियो । कुनै पनि पदका लागि न्यूनतम योग्यताको प्रावधान राख्ने हो भने महिलाबाट मात्र मेरिट प्राप्त गर्न सकिन्न भन्ने मानसिकता कसरी विकसित भयो ? यसमा महिला सभासदहरू नै कसरी विश्वस्त हुन पुग्नुभयो ?

६. पैतृक सम्पत्तिमा लैंगिक भेदभावबिना समान हक, समान कामका लागि महिला–पुरुष दुवैलाई समान ज्याला, समान वंशीय हक, सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हक, आमाको नामबाट पनि नागरिकता आदि नारी अधिकार आन्दोलनका उपलब्धिहरू हुन् । तर, आमाको नामबाट नागरिकता पाउने व्यवस्था भए पनि पाइला–पाइलामा तिनका आत्मसम्मानमा प्रहार हुने स्थिति साक्षात्कार हुन्छ । नागरिकतासम्बन्धी अझै थुप्रै विभेद छन् । नागरिकताका मामलामा तिनले आधा लडाइँ लड्न अझै बाँकी छ ।

७. विद्यादेवी भण्डारी राष्ट्रपति हुनुभयो । ओन्सरी घर्तीमगर सभामुख र सुशीला कार्की प्रधान न्यायाधीश । मुख्य पदहरूमा महिलाको सहभागिता हुनु खुसीको कुरा हो । तर, त्यसभन्दा महत्वपूर्ण कुरा, ती ठाउँमा नारी अस्मिता, संवेदना र समताप्रति सचेत महिला पुगे कि पुगेनन् भन्ने हो । (परम्परागत पितृसत्ताकै प्रतिनिधि महिला त्यहाँ पुग्नु र नपुग्नुमा तद्वेशिक अन्तर हुँदैन ।)

८. अलिअघि काठमाडौँमा हेनरिक इब्सेनको ‘पुतलीको घर’ र भीष्म साहनीको ‘माधवी’ नाटक मञ्चन भयो । ‘पुतलीको घर’ की नायिका नोरा श्रीमान्को असीम अपमानपछि घर छाडेर हिँड्छिन् । कहाँ हिँड्छिन् नाटकले केही भन्दैन । यता माधवीचाहिँ प्रेमी गालबप्रति आफ्नो प्रेम एकतर्फी रहेछ भन्ने थाहा पाएपछि प्रेमको मोह त्यागेर जंगल जान्छिन् । स्वाधीनताको खोजीमा दुवैले साहसिक कदम चालेका हुन् । तर, यो यात्रा परिणाममूलक र अर्थपूर्ण हुने सम्भावना कम छ । नेपाली नारीवादी आन्दोलनको नियति पनि यस्तै भइरहेको त छैन ? नोराको सम्बन्धमा चिनियाँ साहित्यकार लु सुन भन्छन्, ‘नोरासामु दुई मात्र विकल्प छन् । झन् खराब हुनु वा पतिकै घर फर्कनु ।’ माधवीको हकमा पनि लुसुनको यही भनाइ लागू हुन्छ । लुसुनको जोड आर्थिक अधिकारमाथि थियो जसले नारीलाई आत्मनिर्भर बनाउँछ । आत्मनिर्भरताबिनाको स्वतन्त्रता लहडमात्र हुन्छ ।

९. सैनिक अधिकृत श्रीमती संघ, इन्जिनियर श्रीमती संघ, न्यायाधीश श्रीमती संघ, डाक्टर श्रीमती संघ, प्रहरी अधिकृत श्रीमती संघ जस्ता संस्था गठन, तिनका गतिविधिलाई महत्व नदिनुहोस् । तपाईँ आफ्ना श्रीमान् वा पार्टनरको उन्नतिमा खुसी हुनुहोस् । आफू पनि उन्नति गर्नुहोस्, तर कसैको पनि छायाँ बन्नमा गर्व नगर्नुस् । सैनिक अधिकृत श्रीमान् संघ, प्रहरी अधिकृत श्रीमान् संघ, अधिवक्ता श्रीमान् संघ किन गठन हुँदैनन् ? किनभने श्रीमान्हरू श्रीमतीका नामबाट चिनिन र तिनका छायाँमा रहन जरुरी ठान्दैनन् । विधवा, बोक्सीजस्ता शब्द विशेष र अनिवार्य परिस्थितिमा बाहेक प्रयोग नगर्नुस् ।

१०. नारीलाई कोमल, लजालु, कमनीय, सुन्दरताकी प्रतीक मानिएकोमा हाम्रा नारीवादीहरू आक्रामक देखिन्छन् । म चाहिँ यसमा विरोध गर्नुपर्ने खास कारण देख्दिनँ । यी त नारीका प्राकृतिक गुण हुन् जुन पुरुषमा हुँदैन । यिनै गुणले नारी अस्मितालाई विशिष्ट बनाउँछ । ओशोले विज्ञानलाई पुरुष र प्रकृतिलाई नारीका रूपमा तुलना गर्नुको कारण पनि यही हो । मुख्य कुरा, नारीलाई पूर्ण मानवका रूपमा स्वीकार गरिएको छ कि छैन भन्नेमा ध्यान केन्द्रित हुनुपर्छ । आर्थिक अधिकार र ज्ञानको अधिकार पाए यिनै कोमल, लजालु, कमनीय र सुन्दर नारीहरू विश्वस्त, निर्भिक, वाचाल र विदुषी हुन्छन् । तिनैले नारीलाई आत्मनिर्भर बनाउँछन् ।

११. कानुनी रूपमा जे भनिए पनि ज्ञान र आर्थिक अधिकारमा नारीमाथि अझै विभेद छ । नेपालमा आर्थिक अधिकारको सबैभन्दा भरपर्दो स्रोत पैतृक सम्पत्ति नै हो जसमा महिलाको पनि समान हक छ । तर, संसद्मा यही अधिकार पनि हनन गर्ने विधेयक विचाराधीन छ । त्यो विधेयक पारित भए बाबुआमाले इच्छाएको व्यक्तिलाई आफ्नो सम्पत्ति दिन पाउँछन् । प्रस्ट छ, यस स्थितिमा अधिकांश नेपाली बाबुआमाले छोरालाई नै आफ्नो सम्पत्तिको भरपर्दो रक्षक ठान्छन् ।

१२. अन्त्यमा, सम्पूर्ण न्यायप्रेमी पुरुषलाई म गोपालप्रसाद रिमालका शब्द सापटी लिएर आह्वान गर्न चाहन्छु–
‘नारी’ शब्द बोल्दाखेरि देखिएको तिम्रा
आँखाको चमकलाई
मेरो हृदयको गहिराइमा नहराउने गरी छाड्न नबिर्से
किनभने त्यो चमक नभए नारीउपरको हरेक विचार
रुखो हुँदो रहेछ, त्यो चमकबिना
नारी ‘नारी’ शब्दमा अटाउन पनि अटाउन्न

avaya.writes@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np