Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

दिदी

         दिल महरा ||   237 Views   ||   Published Date : 4th January 2017 |

dil-mahara_c

जुम्ल्या भाइहरुले बटुकाको भात छोडेर थालमा भात खानका लागि झगडा गर्ने भए । अनि, एक दिन कालो सुँगुरको एउटा पाठो बेच्नुभो बाले । दुइवटा सिलबटको नयाँ थाल किन्न भनी ।
बा, अर्को दिन बिहानै गुजुरे बजार जानु भो । थानाभन्दा उत्तरतिरको ढक्कल पसलबाट । हाम्रो घरमा सिलबटको दुइवटा नयाँ थाल आयो । जुम्ल्या भाइहरु धेरै खुसी भए ।
०००
म आठ÷नौ बर्षकी हुँदी हुँ । हाम्रो घरमा बाआमा, बाजेबज्यै, दिदी, दुइटा भाइ र म थियौं । डेक्चीमा साँझ बिहान दुइपटक मात्र भात पाक्थ्यो हाम्रो घरमा । कराइभरि झोल हुने तरकारीमा पिरो बढी हुन्थ्यो । हामी सबैले मीठो मानी खान्थ्यौं । कुनै–कुनै दिन खाइ नसकेको जुठो भात । थालसँगै लुकाएर राख्थें मैले । भोक लाग्दा खाने भनी ।
तर, लुकाएको भात भोक लाग्दा हुन्थेन । कहिल्यै पनि थालमा । लुकाएको ठाउँ वरिपरि खोजिरहन्थें मैले । भात भेट्दिनथें । थाल रित्तै हुन्थ्यो । त्यसपछि खुब रुन्थें म । आमाको हात समाउँदै । चिच्चाइ–चिच्चाई । आमाले मेरो आँसु पुछि दिदै भन्नुहुन्थ्यो ।
“भुट्वा भात खाइस्याकल । जिन रोओ । जिन रोओ ।”
म भूत भनेसी खुब डराउँथें । अनि मनमनै भूतले नसुन्ने गरी भूतलाई गाली गर्थें ।
“भुख लागि ट खइम कहिके ढैलक म्वार डुठा भात । खइया भुट्वा मर्जाइस ! आबह् मरजाइस ।”
त्यहीबेला आँगनमा भाइहरु पनि कराइरहेका हुन्थे ।
“डाई हमन भुख लागटा ! भुख लागटा ।”
(एक दिन । अधिकारी बाजे हाम्रो घरमा आएका थिए । हामीहरुले सुँगुरको मासु खाने भएकोले घरभित्र बस्न मानेनन् उनले । सिसौको रुखमुनि बासँग के–के कुरा गरेर आधा घण्टापछि अधिकारी बाजे गए । जाने बेला अधिकारी बाजेको खुट्टामा बाले घप्लक्क टाउको राखेको देखेको हुँ मैले । त्यसरी बाले कसैलाई ढोगेको देखेको थिएन कहिल्यै पनि । अधिकारी बाजे गएपछि बा हाँस्दै घरभित्र आउनु भो । त्यो दिन बाको अनुहार बढी नै उज्यालो देखिन्थ्यो ।)

चार घोंगा मकै
हाम्रो घरमा धानको भकारी रित्तिएको पाँच दिन पुगेको थियो । अधिकारी बाजेको घरमा बाआमा चार पटक धान लिन भनी गइरहे । चारै पटक फर्केर रित्तै आइरहे । आज पनि बिहानै बाआमा धान लिन गएका थिए । चामल सकिएकोले दिदीले आगो बालिनँ चुलामा । मैले एउटा घैंटोमा पानी भरें । दुइटामा भरिनँ । भान्सामा नआएरै बाजेबज्यै ग्वाला हिड्नु भो ।
भाइहरु खै कहाँबाट खेलेर आए ? हात–हातमा थाल समाएर भात माग्न थाले । दिदीले चामल छैन भनी । बाआमाले धान लिएसी भात खाम्ला भनी । भाइहरुले मानेनन् । दिदीको केही कुरा सुनेनन् । जेठो भाइले दिदीलाई थालले हिर्कायो । कान्छो चाहिँ भूइँमा सुतेर रुन थाल्यो । दुबै भाइ भोक लाग्यो भनेर खुब रुन थाले ।
घरबाट निस्केर कहाँ हिडिहाली दिदी ? भाइहरु भोक लाग्यो भनेर रोकोरोइ थिए । मलाई नि खुब भोक लागेको थियो । तर म रोइनँ । भाइहरु रोएको देखेर खुब टीठ लाग्यो । थाकिसकेका थिए भाइहरु रोइ–रोइ । सानो भाइ बैठक कोठामा लम्पसार थियो चुप लागेर । ठूलो भाइ भान्साकोठामा घुक्क–घुक्क गरिरहेको थियो उत्तानो परेर । एकछिनपछि दिदी आइछे । दिदीले मलाई आँगनबाटै बोलाई ।
“जुनु आगी बार ट । हाली बार ट ।”
दिदीले चारवटा मकैको घोगा छोपछाप पारेको रुमालबाट झिकी । मैले निधारमा पसिना आउने गरी आगो फुके । पुत्ताउँदै गरेको गुइठाबाट धिपधिप गरेको आगो बल्यो । दिदीले दुइ÷तीनवटा सिसौको साना–साना दाउरा भाँचेर जोरी । आगो घन्कियो ।
मकै पड्किन थालेपछि सानो भाइ आयो । कराइबाट उछिट्टिएर भूइँमा खसेको पहिलो मकै सानो भाइले नै मुखमा हालेर चपायो । अर्को गेडा ठूलो भाइले खोसेर घुरुम पा¥यो । एउटा मैले नि चपाए । कस्तो मीठो भयो । सानो भाइले म धेरै खाने हुँ भनेर दिदीलाई हेर्दै हाँस्यो ।
मकै भुटेर सकेपछि दिदीले आठ भाग लगाइ भूइँमा । सानो भाइले रोजेर लग्यो आफ्नो भाग पहिले । अनि ठूलो भाइले रोज्यो । दिदीले मलाई रोज्न भनी । मैले नि रोजेर लगें ।
साँझ घरमा भात पाक्यो । सबैले भात खाँदै थिइम् । बुझौनाको बा सरासर घरभित्र आए । दिदीलाई दुई झप्पु हिर्काए । बोल्दै नबोलेर । दिदीले मुखभित्रको भात हुलहुलु वाकी । कोही बोलिनम् हामी । जाने बेला बुझौनाका बाले बातिर फर्केर भनेका थिए–“टै गरिब ! त्वार छाइ म्वार गठ्वमसे चार ठ्वाठा क्वक्न्नी चोरडिहल । टै सस्सुर । टै गरिब ।”
०००
त्यो दिन हाम्रो घरमा सबैले थालको भात अलि–अलि खाएर फालिम् । रातिसम्म बा सिसौको रुखमुनि घुक्क–घुक्क गरेको मैले सुनेको हुँ । त्यस दिन बा धेरै रुनु भो ।
दिदी कमलरी बस्न जाने दिन
अधिकारी बाजेको घरबाट लिएको चार कोसा मकै । आमाले बिहानै बुझौनाको बालाई लग्दिनु भो । त्यसदिन बाले सुँगुरको सानो चाहिँ पाठा काट्नु भो । भाइहरु मासु खाने कुराले निकै खुसी थिए । पराल बालेर सँुगुर पोल्नु भो बाले । दिदी घाँस काट्न बारीमा गएकी थिइ । मैले दुइ घैंटो पानी बोकें । बाजेबज्यै भेडाको ऊनमा मिसिएको कुरो छुट्टाउँदै हुनुहुन्थ्यो ।
आमाले सुँगुरको रगत भुट्नु भो । दिदी नि घाँस लिएर आइपुगी । घाँस देखेर काली गाई फनफनी किलामा घुमी । काली गाईजस्ती अरु गाई नि घुम्न थाले । भेडाहरु तनतनी तानिए । उल्टी माउले चल्ला जति खेरेर दिदीले लिएको घाँसतिर लगी । सेती गाईको बाच्छा दिदीलाई हेरेर ड्वाँ ड्वाँ करायो । दिदीले एकमुठो घाँस सबैलाई बाँडिदिई । आमाले सुँगुरको रगत आठ भाग लगाएजस्तै । थोरै–थोरै ।
रमाउँदै हामीले सुँगुरको रगत खाइम् । बाले दिदीलाई आफ्नो भागको रगत थप्दिनु भो । आमाले नि थप्दिनु भो । बाजेबज्यैले पनि दिदीलाई “ल” भन्दै हुनुहुन्थ्यो । दिदीलाई भाइहरु र मैले चाहिँ दिएनम् । बरु दिदीले हामीलाई दिनु भो । डेक्चीभरि भात पाक्यो । कराइभरि मासु पाकेको थियो । धेरैपछि मासु र भात थपी–थपी खायौं हामीले । खुसी मनले ।
०००
दिउँसो दिदीले आफ्नो सबै कपडा बोराको झोलामा कोची । घुँडामा फाटेको हरियो रङको एउटा मेक्सी । धरधरी च्यातिएको टाउको छोप्ने एउटा रुमाल । बैठक कोठाको एक कुनामा झुन्डाएर छोडी । मलाई दिदीको फोटोजस्तै लाग्यो । ती दुबै दिदीको कपडा । तुर्लुङ झुन्डिएको ठूलो फ्रेमजस्तो भित्तामा । त्यो मेक्सी । त्यो रुमाल । अनि मैले दिदीको मेक्सी र रुमाल एक–एक पटक छोएँ । फेरि दिदीको मेक्सी हेरें । रुमाल हेरें । दिदीको माया एकाएक धेरै लागेर आयो । माया लागेर दिदी भनें ।
हाम्रो घरको सबै ठाउँ ! कोठा बढारेर पिंढीसम्म पुगेकी थिइ दिदी । पिंढीबाट दिदीले घरभित्रको धूलो उडाउँदै परपर पु¥याई । मैले हेरिरहें । दिदी नि धूलोजस्तै परपर जान लागेको जस्तो लाग्यो मलाई । मैले फेरि दिदी भनें । दिदी हाँस्दै मतिर आई । म खुसीले चङ्गा बनें ।
दिदी र म कुवामा पुगिम् । कुवाको पश्चिमतिर मेवाको रुख थियो । दिदी र म त्यसैको छायामा बसेर मुख धोइम् । तीन पटक मैले । दुई पटक दिदीले । कुवाबाट भरि–भरि जर्किन पानी तानिम् । मेवाको रुखमा भँगेरा आए । चिरचिर गरेर गए । भँगेरा भन्दा नि मेरो ध्यान दिदीमाथि थियो । भँगेरा उर्दा मैले दिदीको हात चपक्क समाउँथें । भँगेराको शरीर कस्तो थियो खै । मलाई के थाहा ? दिदीको चाहिँ तातो थियो । न्यानो थियो ।
आँगनमा सँगै पुगिम् दिदी र म । भेडाको सानो पाठा बज्यैको काखमा थियो । सिसौको रुखमुनि लम्पसार परेर उत्तरदक्षिण फर्किएर सुत्नुभएको थियो बा । भाइहरु आफ्ना दौतरीसँग थिए । बाजेको आँखा रुखबाट झरिरहेको सिमलको पाततिर एकतमास थिए ।
बोराको झोला बोकेर आमा आँगनमा आउनु भो । छिटो–छिटो सबैको आँखा दिदीमाथि लागे । आमाले दिदीलाई छोड्न जानु भो अधिकारी बाजेको घर । आमा अघि–अघि । दिदी पछि–पछि । सबैको आँखा दिदी गएतिर थियो । मैले हाम्रो घरको झ्यालबाट देखिदासम्म दिदीलाई हेरिरहें ।
जत्तासम्म फर्केर हेर्दा हाम्रो घर देखिन्थ्यो, हामी देखिन्थिम् । दिदी बेला–बेला पछि फर्केर घरतिर हेर्थी । एकछिन उभिन्थी । सिमलको रुखले दिदीलाई छेक्यो । दिदी देखिन छोडी त्यसदिन ।

कालो भालेको मासु
दिदी कमलरी बसेको एक बर्षपछि हो । दिदीसँग म पनि एकदिन अधिकारी बाजेको घरमा गएको थिएँ । दिनभरि दिदी र मैले दुइटा भैंसी र दशवटा गाईका लागि घाँस काटिम् । भकारोको मल बोकेर बारीमा लगिम् । पूर्वतिर फर्किएर दुइटा ठूल–ठूला काला ड्रमभरि पानी भरिम् । मैले त्यतिका जुठा भाँडा कहिल्यै देखेको थिएन त्यो भन्दा पहिले । थाल, प्लेट, कचौरा, चम्चा, कराइ, डेक्ची, पराट । दिदी र मैले माझिम् । ग्वाला जानुभन्दा पहिले दिदी र म । पेटीमा बसेर चिसो भात, दाल । थोरै–थोरै मोही जस्तो दही खाइम् ।
साँझ म घर फर्किने कुरा हो । तर अधिकारी बाजेले नै आज दिदीसँगै बस । भोलि जालिस् भने । म दिदीसँगै बसें ।
अधिकारी बाजेको बास र सिसौले पश्चिमको घाम छेकिदियो साँझको । बाँसको रुखमा सारौंहरु च्याङच्याङ गर्न लागे । अधिकारी बाजेले दुइ–चारवटा कागती टिप्न अराए मलाई । म कागतीको बोट पछाउँदै हिडें । आमा ! कस्तो फलेको कागती । मैले दुइटा कागती टिपें ।
अर्को दिन बिहानै एउटा कालो भाले लिएर म घर फर्किएँ । बाले घरमा पाल्नलाई भाले लिन पठाउनु भएको थियो मलाई ।
०००
अधिकारी बाजेको घरमा कमलरी बसेदेखि अठार महिनामा चारपटक हाम्रो घरमा आई दिदी । एकपटक माघीमा अधिकारी बाजेले नै पठाएका रे । बाँकी तीन पटक भने भागेर ।
(दिदी धेरै सोझी थिइ । दायाँ गालामा दिदीको कालो दुइटा कोठी थियो । बायाँ खुट्टामा दुइटा नै कालो कोठी । त्यही भएर बज्यैले भन्नुहुन्थ्यो । फहरियाले जिन्दगीमा धेरै दुःख पाउँछे ।)
बाले तिनै पटक दिदीलाई पु¥याउन जानु भो । अधिकारी बाजेको घरमा । त्यसपछि दिदी छ महिनासम्म, एकपटक नी आइनी हाम्रो घर ।
एक दिन हाम्रो कालो भाले म¥यो । आँखा पाक्ने रोगले । बाआमा, बाजे, बज्यै सबैले भालेको मासु दिदीलाई लगेर पठाए मलाई । म मासु बोकेर अधिकारी बाजेको घर हिडें । दिदीले कमलरी बस्न जाने दिन । हाम्रो घरको बैठकमा झुन्डाइ छोडेको दिदीको मेक्सी र रुमाल सम्झिदै हिडें । म बाटाभरि । घरि सम्झिएँ दिदीले के गर्दै होली यतिबेला ? घरि सम्झिए काँ गाकी होली यो समय दिदी ? म पुगें भने कत्ति खुसी होली । बिचरी दिदी । म बाटामा खुसी भएर भन्दा नि दुःखी भएर पो हिडें । लुखुर लुखुर ।
दिदीले सबभन्दा पहिले बाजे र बज्यैको हालखबर सोधी । बा, आमा र भाइहरुको नि सोधी । अनि काली गाई, भेडाहरु, पोहोर सिसनियाँबाट लिएको सँुगुर पाठा । घरको उल्टे माउ । कुवा छेऊको मेवाको रुख । दिदीले पोहोर आफै रोपेको गुलाबको खबर नि सोधी ।
आकाशमा झलमल्ल ताराहरु आए । दिदी र मैले थोरै थोरै चिसो भात, मुसुरोको दाल । मोहीजस्तै दही । सुरुप सुरुप पारेर सुत्न हिड्यौं ।
कोठामा पुगेपछि दिदीले टुक्की सल्काई । टुक्कीको उज्यालोमा दिदीको अनुहार धित मर्ने गरि हेरें मैले । दिदीको गालाको कोठी उस्तै कालो कालो थियो । दिदीका आँखा उस्तै लागे मलाई । नाकमा भने खै के भएछ दिदीको । कालो–कालो धब्बा थियो ।
मैले दिदीलाई घरबाट लगिदिएको मासु झोलाबाट झिकेर खान भने । दिदी निकै खुसी भई । पोहोर यहींबाट लगेको कालो भाले मरेको कुरा गरें मैले । दिदीले उदास भएर मलाई हेरी । मैले आँखा पाकेर मरेको घटना भने । दिदी सुस्तरी बोली ।
“उह मुरघक शीकार हो ?”
मैले टाउको हल्लाएर हो भने । दिदीले मासुको पोका परतिर सारी । फेरि मसिनो स्वरमा दिदीले भनी–“मै नि खइम यी शीकार ।”
दिदी र म सुत्न भनी पल्टिइम् ओछ्यानमा । म खुब खुसी खुसी थिए । धेरैपछि दिदीसँग सुत्न पाएकोमा ।
(दिदीले घरमा हुँदा कहिलेकाहीं भन्ने गर्थी । म जो पायो त्यहीसँग बिबाह गर्दिनँ जुनु । तेरो भेनाजु यस्तो होऊन्, धेरै मेहनती होऊन् । तितो मिठो जे पाक्छ घरमा खुसी मनले खाऊन् । रक्सी खाए नि झगडा नगरुन् । माइतीलाई सहयोग गरुन् । घरमा बाआमाले भनेको मानून् । अनि सुन जुनु, अरुको भेनाजुजस्तो । तँ साली होस् भन्दैमा जे पायो त्यै व्यवहार नगरुन् ।)
टुक्की निभेपछि अँध्यारो भो । हामी सुत्ने कोठा । म दिदीको नजिक–नजिक सुत्न चाहन्थे । तर दिदी त रुन पो थाल्नु भो । सुक्क–सुक्क । घिक–घिक ।
रात रोएर बित्यो । आँसु पुछेर बित्यो । दिदीले आफ्नो जीवन फुकाउँदै गई । तातो दुई जोर आँखाको आँसु बर्षाको राप्ती बन्यो । कल्पनामा कैयन् खेतहरु बनेका थिए होलान् दिदीको । ती खेतहरुमध्ये कुनैमा बडेमानका पत्थर राखिदिएछ राप्तीले । कुनै ती खेतहरु कटान गरेर लगेछ राप्तीले । मैले केही भन्नै सकिनँ । बोल्नै सकिनँ ।
“डिडी । डिडी ।”
रातभर दिदीलाई समाएर रोइरहें मात्र । त्यही रात मलाई थाहा भो । मान्छेको आँखामा आँसु धेरै हुँदोरहेछ । समुन्द्रको पानीभन्दा धेरै । धेरै–धेरै ।

धनीका कुरा
बाआमालाई सुनाउनु थियो दिदीको डरलाग्दो हालखबर । छिटोभन्दा छिटो मैले । अनि म बिहानै घर फर्किएँ । हतार–हतार ।
घर पुगेर आमालाई सबै कुरा भनिदिएँ । दिदी र म भन्दा नि बढी रुनु भो आमा । साँझपख बालाई आमाले पठाउनु भो अधिकारी बाजेको घर । बालाई पर्खेर बसिरह्यौं हामी । दिदीलाई कुरेर बसिरह्यौं हामी । राती बा एक्लै पो आउनु भो ।
ओहो ! जब बालाई एक्लै देखें । मनमुटु दुखेझैं भयो । खुत्रुकै भयो । दिदीले चाँडै उन्मुक्ति पाउली भन्ने आस गरेको थिएँ । अच्चम । बा त घरभित्र पसेर रुन पो लाग्नु भो ।
बा केहीबेर धर्धरी रुनु भो । बाजेबज्यै, आमा, भाइ र म हेरेको हे¥यै । बिस्तारै बाको आँसु थामियो । बाको थामिएर के गर्नु । अब आमाको खस्दै थियो । बाजेको खस्दै थियो । बज्यैको खस्दै थियो । मेरो अघि नै भूइँ पुगिगयो । भाइहरु पिलपिल गर्न सिक्दैथे कुनामा ।
बाले निसाना ताकेरै हिर्काउनु भो । हाम्रो मुटुमा आँसु झार्ने तीर । अचानक बिहानबाट दिदी हराइ रे । रिसाउँदै अधिकारी बाजेले बालाई भने रे । दिदीले खै कुन अधियारा थारुको भूँडी बोकी थिइ रे । घरमा देखिने लाजले दिदी भागेकी हो रे । खै कहाँ पो भागी रे ?
(राती दिदीले मलाई भनेकी थिइ । अधिकारी र उसका दुई भाइ छोराले निकै सताउँछन् मलाई । बारीमा घाँस काट्न जाँदा । गाईको गोठ पुग्दा । बाहिर सर्दा । कहिल्यै छोड्दैनन् पापीहरु । म मर्छु कि भन्ने कत्ति डर लाग्छ मलाई । पेट बोकेदेखि त झन अधिकारी रक्सी खाएर आउँछ । मारदिन्छु भन्छ । राती उसको दुई भाइ छोराहरुले उस्तै व्यवहार गर्छन् । यस्तो कष्टकर जीवन कसरी बाँचू म । छिट्टै यो नरकबाट कुलेलम ठोक्न चाहन्छु । टाढाको बाटो । धेरै टाढाको बाटो । भोकभोकै मर्न तयार छु म । तर बाँच्नकै लागि कसरी बाँचू म एउटा दासताको जुनी । म निर्दोष छु । मेरो निर्दोष पेटभित्र अधिकारीको अहङ्कारजन्य पुरुषत्व भयङ्कर ठूलो हुँदैछ । दिनदिनै । अब म के गर्न पो सक्छु ।)
हामी सब्बै धेरै रोयौं । दिदी हराएको कुरा सुनेर । बा, बाजे, गाउँका अरु मानिस त्यस रात हराएकी दिदी खोज्न गए । म दिदीको अनुहार सम्झी–सम्झी रोएँ । धर्धरी रोएँ । त्यो रात नि । रातभर रोएँ ।

मान्छेको आश
भेटिदै भेटिइन दिदी । कतै पनि भेटिइन । हामीले काँ–काँ खोजिनम् ? जताततै उधुम गरिम् । अझै नि खोजिरा’छम् । काँ भेटिली दिदी ? कहाँ देखिली दिदी ? आँखाको नानीअघि ठिङ्ग उभिएर हाँसेको हेर्न मन छ अझै । देख्न मन छ अझै । दिदी कहाँ भेटिएली ? कहिले भेटिएली । एउटा आकाशे बेलीको त्यान्द्रो छ हाम्रो मनभित्र । धेरै पहेंलो । न त सुक्छ । न त जाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np