Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

विभेदपूर्ण सोंच नहट्दै हिंसा रोकिँदैन

         डा. रेणु अधिकारी ||   226 Views   ||   Published Date : 4th January 2017 |

15032861_10154357901323751_7978648630900555861_n

 

 

नोभेम्बर २५, देखि डिसेम्बर १० तारिक सम्म १६ दिनलाई महिला हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत विश्वभर मनाउदै आएको २५ बर्ष भईसकेको छ । महिला माथि हुने हिंसा व्यक्तिगत रुपमा हुने अपराध हो, मानव अधिकार हनन्को परिणाम हो भन्ने मान्यतालाई स्थापित गर्दै सोहि अनुरुप कार्य गर्न देश तथा संयुक्त राष्ट्र संघिय निकायहरुलाई आह्वान गर्ने उद्देश्यले यो अभियान अन्तर्गत नोभेम्बर २५ (महिला हिंसा विरुद्धको दिवस) देखि डिसेम्बर १० (मानव अधिकार दिवस) सम्म विभिन्न कार्यक्रमहरु गर्ने गरिन्छ ।

संयुक्त राष्ट्र संघबाट पारित घोषणापत्र १९९३ अनुसार महिलालाई महिला भएकै कारणले गरिने सबैखाले त्यस्ता व्यवहारहरु जसले महिलाको अस्तित्व, आत्मसम्मानलाई खण्डित गर्छ, उनलाई शारीरिक, मानसिक, सामाजिक, यौनिक वा अन्य कुनै प्रकारले हानी नोक्सानी पु¥याउँछ वा पु¥याईने भनी डर, धम्की, त्रास देखाईन्छ भने त्यो महिला माथि हुने हिंसा हो । महिला हिंसाको यहि व्यापक परिभाषालाई नै महिला माथि हुने सवै प्रकारका भेदभाव उन्मूलन महासन्धिको न्च् १९ मा समेत आत्मसात गरिएको छ । त्यसैगरि १९९५ को बेजिङ्ग सम्मेलन, १९९४ को जनसंख्या तथा बिकास सम्वन्धि सम्मेलन जस्ता अन्तराष्ट्रिय सम्मेलनहरुबाट पारित दस्तावेजहरुद्वारा स्वीकारिएको छ ।

सैद्धान्तिक रुपमा भन्ने हो भने महिलामाथि हुने हिंसाहरुको विरुद्ध राष्ट्रियदेखि अन्तराष्ट्रियतहसम्म नै धेरै प्रतिबद्धताहरु जनाइएका छन् । तर व्यवहारमा महिलालाई महिला भएकै कारणले हुने गरिने विभेदहरु केही हदसम्म परिवर्तन भएको देखिएता पनि सारभूत रुपमा परिवर्तन हुन धेरै बाँकि छ । त्यसको ज्वलन्त उदाहरण भर्खरै मात्रै सम्पन्न अमेरिकी राष्ट्रपतिय निर्वाचनलाई लिन सकिन्छ । अहिले निर्वाचित राष्ट्रपतिले महिलाप्रति लक्षित गरि प्रयोग गरिएका शब्दहरु÷व्यवहारहरु असभ्यताको पराकाष्ठमा थिए तर पनि विजय उसैको भयो । यसले के देखाउँछ भन,े आफुलाई प्रणालीमा चल्ने देशका बासिन्दा भनेर चिनाउन चाहने कट्टरपन्थी अमेरीकीहरुलाई पनि महिलाको नेतृत्व सहज रुपमा स्वीकार्य छैन ।

यसरी हेर्ने हो भने हामी नेपालीले गर्व गर्ने ठाउँ छ । देशको लोकतान्त्रिकरणको छोटो अवधि मै देशको प्रमुख तीन स्थानमा महिलाको नेतृत्व स्थापित भएको छ । बिधायिका संसदमा करीब ३० प्रतिशत महिलाको सहभागिता छ । भनेको जस्तो हुन नसकेको भए पनि राज्यका सबै निकायहरुमा महिलाको सहभागिता प्रगतिउन्मुख छ । तर महिलामाथि हुने हिंसा भने घटेको छैन । यो वढ्दो स्थितीमा छ । समय र सन्दर्भ अनुसार रुपहरु फरक भएका होलान् तर स्थितीमा भने परिवर्तन भएको छैन । चाहे त्यो देशको प्रथम महिला राष्ट्रपति, सभामुख तथा प्रधानन्यायाधिश नै किन नहुन्, उनीहरु पनि हिंसाको शिकार भइरहनु परेको छ । उनीहरुलाई हेर्ने दृष्टिकोण, उनीहरुलाई लक्षित गरी प्रयोग गरिएका शब्दहरु हुन् वा व्यवहारहरु, लाग्दछ उनीहरुको नेतृत्ववाट कुण्ठित हुने समुहहरुको कमी छैन । प्रधानन्यायाधिश वाहेक अन्य दुई महिला सेरेमोनियल प्रकृतिको स्थानमा छन् । उनीहरुको निर्णायक भूमिका छैन । तर पनि यिनीहरु दुवैले गरेको कामहरुलाई नियालेर हेर्ने हो भने उनीहरु भन्दा अगाडि सोही ओहोदा सम्हालेर बसेकाहरुले भन्दा बढी संवेदनशिल तवरले काम भएको छ । आफूलाई संविधानले दिएको दायरालाई पहिचान गर्दै शालिनताका साथ केही क्षेत्रमा उनीहरुले परिवर्तनको शुरुवात पनि गरेका छन् । सभामुखले प्रतिनीधि सभाको सुधारका लागि गरेको काम तथा राष्ट्रपतिको पहलमा गरिएको किशोरी लक्षित कार्यक्रमलाई उदाहरणको रुपमा लिन सकिन्छ । निर्णायक भूमिकामा रहनुभएकी प्रधानन्यायधिशले शुरु गरेको न्यायालय सुधारका कार्यक्रमहरु र गरिएका उद्घोषहरुमाथि पुर्वाग्रह नराख्ने हो भने गर्व नगर्ने विरलै होलान् । तर यिनका कामहरुजति चर्चित हुनुपर्ने हो त्यति छैनन् जसको कारण समाजका हरेक तह र तप्का भित्र रहेको कुण्ठा नै हो । यदी यी महिलाहरुलाई समेत यो समाजले हिंसा गर्न छाडेको छैन भने अरु आम महिलाहरुको स्थिती के होला ? सजिलै अनुमान गर्न सकिन्छ ।

आज हामीले महिला हिंसाको बारेमा बोल्दा, कार्यक्रमहरु बनाउँदा होस वा कार्यक्रमहरु कार्यान्वयनको तहमा पु¥याउने सम्ममा कार्यहरु गर्दा होस्, प्रमुख रुपले गर्नुपर्ने कार्य हो यी कुण्ठा ल्याउने मानसिकतामा परिवर्तन गर्नु । यसमा परिवर्तन नहुन्जेलसम्म कहिले नाटकको पात्र त कहिले तरकारीवाली, कहिले घाँसवाली, कहिले लालिवाली वा यस्तै यस्तै धेरै वालीहरुको संज्ञा दिदै शब्द, अक्षर, वाक्य र हरफहरुमा यी कुण्ठाहरु पोखिन छाड्ने छैनन् । सोही अनुरुपका व्यवहारहरु घर, कार्यालय, पार्टी, सदन र सडकमा देखिन छाड्ने छैनन् । तर यसरी कुण्ठा पोख्नेहरुले यो पनि हिंसा हो भन्ने पत्तो समेत पाउने छैनन् । यस्ता शब्द, हरफ, र अक्षरहरुले कति मानसिक पीडा दिन्छ, लेखिने, बोलिने व्यक्तिका लागि मात्र नभई समग्र समुदाय कै लागि भन्ने बारे बुझ्ने त झन कुरै भएन । यो अवस्थामा संबोधन आवश्यक छ । देश भित्र, घर परिवारदेखि राष्ट्रका सबै निकायसम्म स्थापित संरचनात्मक असमानताहरुमा संबोधन आवश्यक छ ।

१६ दिने अभियानको शुरुवातमा यो वर्ष कति हिंसाका घटना भए र कतिले न्याय पाए भनि आँकडामा ल्याउनु असम्भव छ । तर पनि माथि लेखिएका परिस्थितिहरुलाई हिंसा नमान्ने हाम्रो समाज र देशमा पैरवीका लागि पनि आँकडाहरु बाहिर ल्याउनु एउटा बाध्यता छ । यो बाध्यतालाई आत्मसाथ गर्दै निरन्तरता दिँदै लेख्दा यो वर्ष ओरेक नेपालमा मात्रै १ हजार ७ सय ७५ (२०१५ जुलाई देखि २०१६ जुलाईसम्म) घटनाहरु अभिलेखीकरण गरिएका छन् । तीमध्ये करीब ५२ प्रतिशत घटना तराई क्षेत्रका छन् भने २१ प्रतिशत पहाडी तथा १९ प्रतिशत हिमाली क्षेत्रका घटना छन् । हिंसाका प्रकारलाई हेर्ने हो भने करीब ७३ प्रतिशत घरेलु हिंसा, ७८ प्रतिशत आफ्नै श्रीमान्वाट २१ प्रतिशत घर परिवारका अन्य सदस्यवाट पीडित बनेका छन् । त्यसैगरी २ सय १८ जना महिलाहरु विभिन्न खाले सामाजिक हिंसावाट प्रताडित भएकाछन् । त्यसरी सामाजिक हिंसा गर्नेमध्ये ७० प्रतिशत छिमेकी छन् । ७६ जना वलात्कार भएका महिलाहरु, २७ जना वलात्कारको प्रयासमा परेका महिलाहरु ओरेकको सम्पर्कमा आए । यी मध्ये पनि ६१ प्रतिशत महिलाहरु त्यसमा पनि करिब आधाको संख्यामा १६ वर्ष मुनिका बालिका छिमेकीवाट पीडित बने भने १६ प्रतिशत परिवारको सदस्यवाट । त्यसैगरी ८४ जना महिलाहरुमाथि वलात्कार वाहेकका यौनिक हिंसा भएको थियो । ती मध्ये ३५ प्रतिशत महिलाहरु आफ्नो आत्मिक सम्वन्ध भएकाहरुबाट प्रताडित भएको देखियो । यो एक वर्षमा ओरेकमा २६ जना बेचबिखनवाट प्रभावित महिला सम्पर्कमा आए तिनीहरुमध्ये पनि ३८ प्रतिशत महिलाहरु छिमेकीबाट तथा ३५ प्रतिशत महिलाहरु परिवारका सदस्यहरुबाट बेचबिखनमा पारिएका थिए । ११ जना हत्या तथा ९ जना हत्याको प्रयास भएका महिलाहरु पनि प्रमुखतः परिवारको सदस्य र छिमेकीवाट पीडित भए । त्यसैगरी ९ जना परिवारका सदस्यहरुबाट अलपत्र वनाईएका महिलाहरु थिए ।

यी सवै घटनाहरुलाई केलाएर हेर्ने हो भने महिला माथि हिंसा गर्ने व्यक्तिहरु बाहिरका छैनन् । आफन्त छन् । घरभित्रका छन् । छिमेकी छन् । आफ्नो पार्टीभित्रका सदस्य छन् । आफ्ना कार्यालयका सहकर्मी छन् । महिलामाथि हुने हिंसाको सबैभन्दा ठूलो पीडादायी पक्ष पनि यहि नै हो । पीडकहरु परिवार आफन्तहरु हुँदा महिलाहरुले हिंसा बाहिर ल्याउन चाहँदैनन् । ल्याए पनि के गर्ने ? आफ्नो नजिकको व्यक्ति छ ! समाजले आफूलाई नै दोष दिन्छ ! घरवाट निस्क्यो भने अस्तित्व छैन । बस्ने ठाउँ छैन, खाने चारो छैन । सम्मान छैन । हरेक पाईलामा विभेद, सीमान्तिकरण गर्ने नजरहरुको सामना गर्नु पर्दछ । यो यथार्थता हो ।

यी यथार्थताहरु जन्माउने मुख्य कारक तत्वको रुपमा रहेको असमान संरचनालाई खोज्ने, विश्लेषण गर्ने अनि परिवर्तनका लागि योजना वनाउनु आवश्यक छ । यसका लागि देशको प्रमुख ओहोदामा भएका महिलाहरुदेखि घरभित्र थुनिएर बस्न वाध्य महिलाहरु भित्र मुद्दामा गम्भिर विश्लेषणको खाँचो छ । अन्यथा कोही ओहोदाको सीमित आत्मरतिमा रमाउने र कोही पीडाबाट थिल्थिलिएर आत्मग्लानीमा हराउने मात्र हुन्छ । यो स्थितिमा परिवर्तन आवश्यक छ । सो परिवर्तनका लागि जति महिलाहरुको अगुवाई आवश्यक छ त्यति नै महत्वपूर्ण छ सामाजिक न्याय, समानता र मानव अधिकारका ठूला–ठूला भाषण दिएर नथाक्ने समूहहरुको भूमिका आवश्यक छ । जबसम्म समाजमा रहेका असमान संरचना, सोंच, शब्द र व्यवहारमा परिवर्तन हुँदैन, तबसम्म महिलामाथि हिंसा हुने क्रम जारी रहन्छ । यसका लागि प्रथमतः महिला र पुरुष देशका समान नागरिक हुन् भन्ने मान्यता स्थापित गर्नु र सोही अनुरुपका व्यवहार हुन आवश्यक छ । यो यथार्थतालाई बुझ्दै देशमा लोकतन्त्रलाई संस्थागत गराउने कार्यमा अगुवाई गरिरहेका व्यक्तिहरु, सजग, सचेत र सहज हुन जरुरी छ । सरकारका लागि अन्तराष्ट्रिय परिवेशमा भरखर मात्रै अनुमोदित दिगो बिकासका लक्ष्यहरुले संरचनागत परिवर्तन गर्न सकिने आधार दिएको छ । इमान्दारिता र परिवर्तन गर्ने प्रतिबद्धता हुने हो भने संरचनागत परिवर्तन गर्न सकिन्छ । तर सरकारद्वारा नीतिगत परिवर्तनहरु गरेर मात्रै मानिसको मानसिकतामा परिवर्तन हुन्न । संरचनागत परिवर्तन मानिसहरुको मानसिकतामा परिवर्तन बिना हुनसक्दैन, त्यसैले मानिसहरुको मानसिकतामा परिवर्तनका लागि नागरिक समाज लगायत समाजका हरेक तह र तप्कामा रहेका व्यक्तिहरुको भूमिका आवश्यक हुन्छ भन्ने यथार्थता पनि बुझ्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np