Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

महिला नेतृत्व विकासको सुनौलो अवसर

         ||   67 Views   ||   Published Date : 8th July 2017 |

संविधान र निर्वाचन ऐनको बाध्यकारी व्यवस्थाकै प्रतिफल प्रत्येक वडामा हुने ५ जना जनप्रतिनिधिमा २ जना महिला पुग्ने ढोका खुलेको छ । यो हिसाबले गाउँसभा र नगरसभामा ठूलो संख्यामा महिलाहरु उपस्थित हुनेछन् । नगर कार्यपालिकामा ५ र गाउँकार्यपालिकामा ४ जना महिला चुनिएरै जानेछन् । यो अवसर स्थानीय तहबाटै महिलाको नेतृत्व विकासमा कोसे ढुंगा बन्नेछ ।

20170613_153918

 

 

 

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन सकियो । यो निर्वाचनमा आम नागरिकको लोभलाग्दो उत्साह देखिएको छ । निर्वाचनमा महिलाहरु पनि निकै उत्साही छन् । संविधान कार्यान्वयनपछिको पहिलो निर्वाचन भएकोले पनि उनीहरुले पहिलो पटक स्थानीय तहमा उल्लेख्य संख्यामा प्रतिनिधित्व गर्नेछन् । संविधान र निर्वाचन ऐनको बाध्यकारी ब्यवस्थाले स्थानीय शासनसत्ता सञ्चालनमा महिलाको सहभागिताको सुनिश्चितता गरेको हुनाले पनि यो निर्वाचन महिला नेतृत्व विकासको सुनौलो अवसर बन्नेमा दुई मत छैन ।

आजसम्मको अवस्था हेर्दा मुलुकमा भएका हरेक ऐतिहासिक राजनीतिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरिरहेका महिलाहरु आन्दोलनको उपलब्धि प्राप्त भैसकेपछि पनि त्यसका समान हिस्सेदार हुन पाइरहेका थिएनन् । आन्दोलनको सफलतापछि आफ्ना आवाज उठाउन आन्दोलनकै सहयात्री बिरुद्ध फेरि सडक तताउनुपर्ने अवस्था भोग्दै आएका थिए । चाहे त्यो अन्तरिम संविधान मस्यौदा समितिमै महिलाको प्रतिनिधित्वका लागि होस् या संविधानमा महिला अधिकारका सवाल संस्थागत गर्ने सवालमा होस् । महिलाहरुले पटक पटक आन्दोलन गर्नुपरेको छ । महिलामाथि हिंसा भयो, हिँसामुक्त भएर बाँच्ने हक खोज्दै कानुन बनाउ भन्न पनि सडकमै पुग्नुपर्ने अवस्था भोग्नु परिरहेकै छ ।

खासगरी दोस्रो संविधानसभाले संविधान जारी गरेपछि भने महिलाले यसमा केही फरक अनुभूति गर्ने मौका पाए । मुलुकको सर्वोच्च तीन तहमा महिलाको उपस्थितिले नयाँ उत्साहको सञ्चार भयो । आम महिलाको जीवनमा तत्काल खासै केही परिवर्तन नआए पनि त्यो एउटै सुखद संयोगलाई महिलाहरुले पूँजीको रुपमा अनुभूति गरे । राष्ट्रपति र उपराष्ट्रपति तथा सभामुख उपसभामुखमा दुईमध्ये एक महिला हुनुपर्ने संवैधानिक व्यवस्थाले कहीँ न कहीँ टेवा पु¥याएकै हो ।

नेपालमा सामन्ती राजतन्त्रको अन्त्य भैसके पनि सामन्ती सोंचको अन्त्य भएको छैन । देशमा गणतन्त्र स्थापित भएको छ तर गणतान्त्रिक संस्कृति विकास भएको छैन । अहिले पनि राजनीतिक दलहरु विभिन्न तहमा महिलाको सवालमा देखावटी कुरा गर्छन् । उनीहरुसँग महिला सहभागिता र नेतृत्व विकासको कुनै योजना छैन भन्दा फरक पर्दैन । यो उनीहरुको व्यवहारले नै पटक पटक देखाउँछ । परम्परागत लैंगिक भूमिका करीब करीब उस्तै छन् । बच्चा जन्माउँदै हुर्काउँदै घरव्यवहार सम्हाल्दै राजनीतिमा होमिनु सानो कुरा होइन तर महिलाले निर्वाह गर्दै आएको यो दोहोरो तेहोरो भूमिकाको कदर कसले गर्ने ? किनभने महिलाले गर्दै आएका यी भूमिकालाई महत्व नदिने, झिना मसिना कामको रुपमा लिने गरिन्छ अझै पनि । यो मानसिकता राजनीतिक नेतृत्वमा अझै बलियो देखिन्छ । यो मानसिकता परिवर्तन गर्दै गराउँदै सिंगो समाजको पितृसत्तात्मक चिन्तन बदल्न पनि निर्वाचित महिला प्रतिनिधिहरुले महत्वपूर्ण भूमिका खेल्न सक्नेछन् ।

स्थानीय तहको निर्वाचनमा महिलाले वडाबाटै पहलकदमी लिँदैछन् । दलीय अनुदारता यहाँ पनि उस्तै छ । दाङ जिल्लाका स्थानीय तहमा दलहरुले महिलालाई उम्मेदवार बनाएको हेर्दा पनि यो थाहा हुन्छ । माओवादी केन्द्रले एउटा नगरपालिकामा मेयर उठाएको बाहेक नेपाली कांग्रेस, एमाले कुनै पनि ठूला भनिएका दलले एउटा पनि प्रमुखमा उम्मेदवार बनाएनन् । यसबाट ठूला भनिएका दलको सानो साँघुरो मानसिकता प्रष्ट हुन्छ । नगर गाउँपालिकाको प्रमुखको कुरा मात्रै होइन, वडाअध्यक्षमा पनि दलीय अनुदारता प्रष्टै देखियो । निर्वाचन ऐनले बाध्य बनाएको बाहेकका पदमा महिलाले नगण्य मात्रामा टिकट पाएका छन् । अन्यत्र पनि अवस्था यस्तै नै हो ।

संविधान र निर्वाचन ऐनको बाध्यकारी व्यवस्थाकै प्रतिफल प्रत्येक वडामा हुने ५ जना जनप्रतिनिधिमा २ जना महिला कुनै पनि राजनीतिक दलले नचाहे पनि पुग्ने ढोका खुलेको छ । यो हिसाबले गाउँसभा र नगरसभामा ठूलो संख्यामा महिलाहरु उपस्थित हुनेछन् । नगर कार्यपालिकामा ५ र गाउँकार्यपालिकामा ४ जना महिला चुनिएरै जानेछन् । यो अवसर स्थानीय तहबाटै महिलाको नेतृत्व विकासमा कोसे ढुंगा बन्नेछ । मात्र अब जरुरी छ त निर्वाचित हुने महिलाले दलीय घेराभन्दा माथि उठेर महिला सवाललाई सही ढंगले बुझ्ने र कानुन बनाउने सवालमा, बनेका कानुन कार्यान्वयन गर्ने सवालमा एकमत भएर जान सके भने त्यसले आम महिलाको जीवनमा सहजता ल्याउनेछ । जसको सकारात्मक प्रभाव समाजमा अझै जब्बर रहेको सामन्ती चिन्तन, पितृसत्तात्मक मानसिकतालाई बदल्न मार्गप्रशस्त हुनेछ ।

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np