Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

महिलाको आफ्नो एजेण्डा खै ?

         रीता लामा ||   50 Views   ||   Published Date : 8th July 2017 |

दाङ । नेकपा एमालेको तर्फबाट घोराही उपमहानगरपालिकामा उपमेयरकी उम्मेदवार सीता न्यौपानेसँग आफ्नो छुट्टै एजेण्डा छैन । उपमेयरमा पार्टीको टिकट पाउनु अघि उनको इच्छा मेयर बन्ने थियो । तर पार्टीले उनलाई उपमेयरको टिकट थमाइदियो र त्यही पार्टीले दिएको जिम्मेवारी र एजेण्डा बोकेर उनी चुनावी प्रचारमा छिन् ।
‘टिकट पनि पार्टीले दियो र एजेण्डा पनि पार्टीकै बोकेर हिँडेको छु ।’ उनले भनिन्, ‘आफ्नो नयाँ खासै केही छैन । जे छ पार्टीकै एजेण्डामा छ ।’ उनको पार्टी नेकपा एमालेले आफ्नो २८ वटा शिर्षकको लामो चुनावी घोषणापत्रमा एउटा मात्र महिला सहभागिताको कुरा उल्लेख गरेको छ । महिलालाई नेतृत्व विकास, उद्यमशीलता, स्वास्थ्य स्वयंसेवीलाई प्रोत्साहन भत्ता, विपन्न महिलाको सशक्तिकण लगायतका कुराहरु एमालेको घोषणापत्रमा छ तर दलित, अपागंता भएका र द्वन्द्व पीडित महिलाहरुको लागि एमालेको घोषणापत्रमा कहीँकतै उल्लेख गरेको छैन । लैगिक हिंसा न्यूनिकरणका लागि शून्य सहनशीलताको कुरा गरेको एमालेले हिंसापीडितहरुलाई तत्काल न्यायको अनुभूति दिलाउन के गर्ने भन्ने कुरा कहीँ कतै भनेको छैन ।
नेकपा माओवादीको तर्फबाट घोराही उपमहानगरपालिकामा उम्मेदवारी दिएकी सीता चौधरीको पनि आफ्नो त्यस्तो छुट्टै योजना छैन । तर चुनाव जितिसकेपछि भने आफूले विशेष गरी महिलाको क्षेत्रमा काम गर्ने इच्छा रहेको उनले सुनाइन । उपप्रमुखको मुख्य जिम्मेवारी न्याय सम्पादन हो । यसै जिम्मेवारीको सेरोफेरोमा रहेर न त उपमेयरकी प्रत्याशी चौधरीले केही बोलेकी छन् न त उनको पार्टी नेकपा माओवादी केन्द्रले केही कुरा प्रष्ट्याएको छ । उसो त नेकपा माओवादी केन्द्रले आफ्नो घोषणापत्रमा महिला सहभागिता र अधिकारको कुरा कहीँ कतै पनि उल्लेख गरेको छैन । नेकपा माओवादीले जिल्लामा हालै सार्वजनिक गरेको तीस ओटा शिर्षकका प्रतिवद्धताहरुमा एउटा पनि महिलाको सवाल नपर्नु आफैमा दुर्भाग्य हो । घोषणापत्रमा महिलालाई कुनै ठाउँ नदिनुलाई सिंगो पार्टीको कमजोरी मान्न सकिन्छ । तर उपमेयरकी उमेद्वार सीता चौधरी भने आफूले पिछडिएका महिलालाई न्याय दिने, रोजगार दिने सवालमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्छिन् । आफूले पहिलेदेखि उठाउँदै आएको महिला सशक्तिकरणको कुरा, द्वन्द्वपीडितहरुलाई राहतका कुरामा जोड दिएर काम गर्ने बताउँछिन ।

नेकपा माओवादी केन्द्रको घोषणापत्र पनि एमालेको जस्तै दलित महिला, अपांगता भएका र द्वन्द्वपीडित महिलाहरुको लागि के कस्ता रणनीति अपनाउने भन्ने सवाल कहीँकतै उल्लेख गरेको छैन ।

घोराही उपमहानगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट उपमेयर पदकी उम्मेदवार पुष्पा श्रेष्ठले पनि जित पछि आफुले न्यायिक विषयमा काम गर्ने बताउँछिन । उसो त नगर उपप्रमुखको मुख्य जिम्मेवारी न्यायिक समितिको संयोजक भई कानुनले तोके बमोजिम न्याय सम्पादन गर्ने हो । तर उनको पार्टीको घोषणापत्रमा यी र यस्ता कुरा कहीँ कतै उल्लेख गरिएको छैन ।
नेपाली काँग्रेसको घोषणापत्रमा महिला सहभागिताका कुरा उल्लेख गरिएको छ । जसमा बेरोजगार गृहिणीलाई गृहिणी भत्ताको कुरा अन्य दलको घोषणापत्रको तुलनामा नयाँ मान्न सकिन्छ । तर माओवादी र एमाले जस्तै कांग्रेसको घोषणापत्रमा पनि दलित, अपांगता भएका, द्वन्द्वपीडित महिलाको बारेका कहीँ बोलिएको छैन ।

अन्य दलका उम्मेदवार महिलाजस्तै कांग्रेसकी उपमेयरकी प्रत्याशी श्रेष्ठ आफूले दलकै चुनावी एजेण्डालाई अगाडि बढाउने बताउँछिन । ‘मैले आफूले छुट्टै घोषणापत्र बनाएको छैन ।’ उनले भनिन् ‘पार्टीकै घोषणापत्र अनुसार मैले काम गर्ने हो ।’ पार्टीकै घोषणापत्रमा उल्लेख गरिएका कुरालाई आफूले अगाडि बढाउने उनको भनाई छ ।

यी तीन ठूला दलका महिला उम्मेदवारसँग महिलाको सवालमा छुट्टै एजेण्डा नभए जस्तै साना दलहरुसँग पनि आफ्नो छुट्टै एजेण्डा छैन । नेकपा मालेको तर्फबाट उपमेयरकी उम्मेदवार लीला वि.क.ले पनि आफूले दलकै एजेण्डा बोकेर चुनावी प्रचारमा हिँडेको बताइन् । जिल्लामा क्रियाशील र सबै क्षेत्रमा उम्मेदवारी दिएका राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति पार्टी लगायतका साना दलबाट उम्मेदवारी दिएका महिला उम्मेदवारहरुसँग पनि आफ्नो त्यस्तो छुट्टै योजना कसैसँग छैन ।

दुई दशक लामो प्रतिक्षापछि स्थानीय तहको निर्वाचन हुँदैछ । त्यसमा पनि महिलाको लागि त अधिकारसम्पन्न स्थानीय तहको संरचना बनेको छ । जसमा महिलालाई प्रमुख उपप्रमुखदेखि वडास्तरमा समेत अनिवार्य भनिएको छ । महिलाहरुले अवसर त पाएका छन् । तर त्यसलाई सुनमा सुगन्ध बनाउन आफ्नो सशक्त भूमिका प्रस्तुत गर्न सकेका छैनन् । महिला उम्मेदवारहरुले आफूलाई अब्बल सावित गर्न चुनावी मैदानबाट केही खास नयाँ योजना सहित अगाडि आउन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np