Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

बालविवाहबाट बच्न घर छाडेकी शकुन्तलाको संघर्ष

         शिबराज पन्थी ||   55 Views   ||   Published Date : 8th July 2017 |

गढवा दाङ ।
आजभन्दा २६ बर्ष अगाडि लालमटियाकी शकुन्तला राना (नाम परिवर्तन) का बाबा आमाको क्रमशः १५ र १३ बर्षको उमेरमा वाल विवाह भएको थियो । विहे भएको १ बर्षमा १४ बर्षिया आमाको कोखबाट पहिलो सन्तानको रुपमा शकुन्तलाको जन्म भयो, उनी जन्मिएको १ बर्षमै अर्की बहिनी जन्मिइन, त्यसको अर्कोबर्ष फेरि अर्की बहिनीको जन्म भयो । एवं प्रकारले छोरा जन्माउने आसै–आसामा आफुसमेत शकुन्तलाका ७ वटी बहिनी पुगे र आठौं नम्वरमा भाई जन्मियो ।
गरीब परिवार, जागिर थिएन, सन्तान पाल्न शकुन्तलाका बाबालाई कठिन भएपछि बाध्यताले भारतमा पस्नु प¥यो । येनकेन धन कमाएर छोरीहरुलाई पढाउन भारत गएका बाबाको उतै सडक दुर्घटनामा परेर निधन भयो ।
शकुन्तला र उनका भाइ बहिनीहरुको बिचल्ली हुनथाल्यो । पढ्नमा अति लगनशील र शिष्ट रहेकी शकुन्तला कक्षा ५ मा पढ्दै गर्दा खर्चको अभावले अर्काको घरमा काम गर्न जानु प¥यो । परिवार पाल्ने र पढाई खर्चको जोहो गर्ने सम्पूर्ण जिम्मा शकुन्तला र उनको आमाको थियो । त्यहि काम गर्दा गर्दै उनको बिहे गरिदिने कुरा आमाले पक्का गरिन् । शकुन्तलाले बिहे गर्ने कुरालाई सिधै अस्वीकार गरिन् । अर्काको घरमा काम गरेर पढ्न शकुन्तलालाई निकै गाह्रो भयो । उनी जिम्दारको घरबाट भागेर आफ्नो घरमा फर्किइन् र हप्तामा ३ दिन मजुरी गर्ने र बाँकी समय स्कूल जाने गर्न थालिन् ।
कठिनताका साथ उनले कक्षा ९ पास गरिन् र भाई बहिनीहरुलाई पनि पढाउँदै गरिन् । यसै बीचमा १४ बर्षमा टेकेकी शकुन्तलाका लागि पुन बिहेको प्रस्ताव आयो तर उनले बिहेगर्न मान्दै मानिनन् । छोरीले भनेको मानिन भन्ने झोंकमा शकुन्तलालाई उनको आमाले घर निकाला गरिन् । केही दिन आफन्तकहाँ बसेकी शकुन्तलाले साँझ विहान राजमार्गमा मकै पोलेर बेच्ने र पढाई खर्चको जोहो गरी दिउँसो विद्यालयमा जाने गर्न थालिन् । यस बीचमा आमाको पनि निधन भयो । यस्तै कष्टपुर्ण जीवन ब्यतित गर्दै शकुन्तलाले अहिले बि बि एस को तेश्रो वर्षमा पढ्दै र पढाइ खर्च चलाउन बिकास बैंकमा क्यासियरको जागिर गरेकी छन् र आफ्ना भाइ बहिनीहरुलाई पनि पढाएकी छन् । कक्षा ५ मै सानै उमेरमा बिहे गरेको भए शकुन्तलाको हालत अहिले आफ्नै बाउआमाको भन्दा पनि दुखदायी हुन्थ्यो ।
बिभिन्न संघर्षका आरोह अवरोह झेल्दै पढ्न सफल भएकी शकुन्तलाले आफ्नो कथा राजपुरको साधारण माध्यमिक बिद्यालयको फिल्डमा लाईन लागेका कक्षा ५ देखि ९ सम्मका विद्यार्थीहरुलाई सुनाइन् । शकुन्तला एक पात्र मात्रै हुन्, उनले मात्र होईन जादु, कथा, ड्रामा र मनसँग मन जोड्ने नृत्य अभियानका माध्यमबाट मिना, हेमन्त, स्वतन्त्र, शक्ति, नरेश, पुष्पा, सृजना र विन्दु लगायतका पात्रहरुले परिवर्तन गर्न सक्छौं, लिन्छौं जिम्मेवारी, वालवालिकाको इच्छा, विवाह हैन शिक्षा, भन्ने जस्ता वालविवाह न्युनीकरणका सन्देशहरु विद्यार्थीमाझ प्रस्तुत गरे । कथा सुनिरहेका र नृत्य तथा जादु हेरिरहेका लाइनवद्ध बिद्यार्थीहरु र बिद्यालयका शिक्षकहरु कार्यक्रम हेरिरहँदा मन्त्रमुग्ध मात्र भएनन् आँखाबाट पिलपिल आँशु समेत झारे ।
प्रसंग हो, देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्रले रेष्टलेस डेभलपमेण्ट नेपालको समन्वयमा देउखुरी क्षेत्रका विभिन्न बिद्यालयहरुमा वालविवाह न्यूनिकरण गर्न सञ्चालन गरिरहेको सेभ द डेट कार्यक्रमको । कार्यक्रमले बिद्यार्थीहरुमाझ रोचक प्रस्तुति पस्किदै उत्प्रेरणा जगाएर यौन तथा प्रजनन शिक्षा, असुरक्षित गर्भपतन र वाल विवाह न्यूनिकरणको सन्देश दिइरहेको आफूलाई लागेको साधारण माध्यमिक विद्यालय गङ्दी राजपुरका प्रधानाध्यापक पुर्णबहादुर चौधरीले बताए । जिल्ला शिक्षा कार्यालयसँग समन्वयगरी दाङ जिल्लाका सौडियार, हापुर विजौरी, त्रिपुरका निघुवार, सिद्धरत्न, घोराहीका रझेना, काठेकोहल, देउखुरीका सर्वोदय, वालजनता, मौरीघाट, लालमटियाको आदर्श, देउपुरको आदर्श, कालाकाटेको जनता, सतवरियाको राप्ती, फल्कापुर, गोवरडिहाको सरस्वती, चैनपुर, गढवाको जनता, बेलाका जनज्योती र शंकर तथा राजपुरको साधारण मावि गरी २० वटा माध्यमिक तहका विद्यालयहरुमा यो कार्यक्रम लागु भएको पुस्तकालय श्रोतले जनाएको छ । जसमध्ये देउखुरीका १२ वटा विद्यालयमा एक चरणका कार्यक्रमहरु सम्पन्न भैसकेको पुस्तकालय तथा स्रोतकेन्द्रका अध्यक्ष हरि पोखे्रलले बताए । जसकालागि बिसवटै बिद्यालयहरुमा एक–एक दौंतरी शिक्षक राखी कक्षा ५ देखि ९ सम्मका बिद्यार्थीहरुलाई पाठ्यक्रम मार्फत यौन तथा प्रजनन् र वालविवाह न्यूनिकरणको पढाई समेत सञ्चालन गरिने भएको कार्यक्रम अधिकृत वसन्त देवकोटाले जानकारी दिए । यो कार्यक्रम देशका दाङ, कैलालि, बर्दिया, सुनसरी, दोलखा, ललितपुर र काठमाडौ गरि १ सय २० वटा विद्यालयमा सञ्चालन गरिएको रेष्टलेस डेभलपमेण्ट नेपालका कार्यक्रम सहायक सुगम रेग्मीले जानकारी दिए ।
वालविवाह हुने देशमध्ये नेपाल दक्षिण एशियामै तेश्रो स्थानमा पर्छ । सेभ द चिल्ड्रनले हालै विश्वका १ सय ७२ देशहरुमा गरेको अध्ययन अनुसार यो तथ्यांक पत्तालागेको हो । अझ त्यसमा पनि वालविवाहको चुनौति रहेको देउखुरी उपत्यकामा यस कार्यक्रमले बालविवाह रोक्नेतर्फ योगदान गर्ने बिद्यालयका शिक्षकहरुले बिश्वास लिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np