Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

नफेरिएको मानसिकता

         ||   24 Views   ||   Published Date : 8th July 2017 |

स्थानीय तह निर्वाचनमा नेता, कार्यकर्तामात्रै होइन, आम नागरिकको निकै लोभलाग्दो उत्साह देखिएको छ । लामो समयदेखि निर्वाचन नभैरहेको अवस्था र संविधान जारी भैसकेपछिको नयाँ संरचना अनुरुपको पहिलो निर्वाचन भएकोले पनि यसले धेरै अर्थ राख्छ । संविधानसभाबाट जारी भएको यो संविधानले मुलुकका सबै नागरिकको भावना समेट्न नसकेको भनिए पनि बहुसंख्यक नागरिकहरु संविधानप्रति निकै सकारात्मक नै छन् । संविधान खासगरी महिला लगायत सीमान्तकृत समुदायको हक स्थापित गर्ने सवालमा प्रगतिशील भएको नै मानिएको छ । संविधानले गरेको सबैभन्दा राम्रो व्यवस्था भनेर यो समुदायले मानेको भनेको समानुपातिक समावेशी सहभागिताको सवाल नै हो । राजनीतिक दल स्वयंले स्थानीय तह निर्वाचनले संविधान कार्यान्वयनमा फड्को मार्ने भनिरहेका बेला उम्मेदवार उठाउने सवालमा भने समानुपातिक समावेशी सहभागिताको त्यो सवालमा दलहरुले पुरानै मानसिकता देखाए । महिलाहरुको निरन्तरको संघर्षपछि संवैधानिक रुपमा स्थापित गरिएका सवाललाई नकार्न नसके पनि महिलालाई उम्मेदवारको रुपमा अघि सार्दा उनीहरुको मानसिकता अझै नफेरिएको नै देखियो ।

स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकाबाट १३ जनाले मेयरमा उम्मेदवारी दर्ता गराए । १३ जनामा २ जना महिलाले मात्रै मेयरमा उम्मेदवारी दर्ता गराए, त्यो पनि साना र निर्वाचन चिन्ह नै नपाएका पार्टीबाट । प्रमुख भनिएका कुनै पनि दलले महिलालाई घोराहीमा पत्याएनन् । जिल्लाभरकै स्थानीय तहको कुरा गर्दा लमही नगरपालिकामा माओवादी केन्द्रकातर्फबाट मात्रै मेयरमा महिलाको उम्मेदवारी दर्ता भयो । जिल्लामा दस स्थानीय तह रहेकोमा प्रमुख भनिएका कुनै पनि पार्टीले प्रमुख पदमा महिला उम्मेदवार उठाएनन् । निर्वाचनबारे चर्चा गरिरहँदा कुनै न कुनै स्थानीय तहमा महिलालाई प्रमुख पदमा उम्मेदवार बनाउने भनिरहे पनि गर्ने बेला पछि हच्किए । महिलालाई उपप्रमुखमा सीमित बनाए । निर्वाचन ऐनले बाध्यकारी ब्यवस्था नगरेको भए उपमा पनि महिलाको यो उपस्थिति संभव हुने थिएन भन्न सकिने अवस्था रह्यो ।
पहिलो चरणको स्थानीय निर्वाचनमा पनि महिलालाई उपमा सीमित गरिएको विषय निकै चर्चामा रहेको थियो । दोस्रो तहको निर्वाचनमा त्यसमा सुधारको अपेक्षा गरिएको भए पनि त्यस्तो देखिएन । महिला उठाए हारिन्छ भन्ने दलीय मानसिकतालाई पहिलो चरणमा निर्वाचित भएका महिलाले पुष्टि गरेका पनि हुन् । निकै कम महिलालाई मात्रै प्रमुख पदमा उठाएको भए पनि जित्ने महिलाले ठूलो मत अन्तर देखाएर जितेकै हुन् । तर सँधै महिलाको क्षमतामाथि मात्रै प्रश्न गर्ने, सँधै दोस्रो स्थानभन्दा माथि उठ्न अवरोध सिर्जना गर्ने प्रवृत्ति अझै हावी रहेको देखाउँछ । त्यसैले महिलाप्रतिको दलीय अनुदार प्रवृत्तिकाबिरुद्ध महिला जाग्नुको बिकल्प छैन । निकै साँघुरो घेरामा बसेर होइन, बृहत रुपमा महिला सहभागिताको सम्मानजनक अवस्था सिर्जना गर्न महिला स्वयं नै थप दरिलो हुनुको बिकल्प छैन । आज पनि महिलालाई हेर्ने दृष्टिकोण सच्चिएको छैन । चुनौती बढी छ । तर चुनौतीसँगै अवसरहरु पनि छन् । परिवार, समाज र देशलाई समृद्ध बनाउने हो भने महिला पुरुष सँगसँगै हिँड्नु पर्छ । हिँड्न सक्ने वातावरण बनाउनुपर्छ । कानुनले बाध्य नबनाउँदै राज्यसत्ताका सबै अवसर आफ्नो एकलौटी विर्ता ठान्ने पुरुष मानसिकताको अन्त्य नगर्दै जतिसुकै ठूला कुरा गरे पनि परिवर्तन कागजमा मात्रै सीमित हुने पक्का छ । परिवर्तनको अगुवाई गर्ने राजनीतिक दलहरुले जति छिटो यी कुरालाई आत्मसात गर्छन् उति छिटो हाम्रो समृद्धिको ढोका खुल्ने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np