Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

महिलालाई दोष दिएर समस्या समाधान हुँदैन

         ||   17 Views   ||   Published Date : 8th July 2017 |

आजभोलि सबैभन्दा धेरै चर्चा विदेशमा श्रीमान्ले दुःख गरेर पठाएको पैसासहित श्रीमती अन्यत्र भाग्ने गरेको, परिवार बिचल्लीमा पारेको जस्ता कुरामा धेरै चर्चा सुनिन्छ । यससम्बन्धी यति धेरै नकारात्मक कुरा फैलिएको छ कि विदेशिएका श्रीमान्का श्रीमतीलाई हेर्ने दृष्टिकोण नै फेरिएको अनुभूति गर्दै कतिपय श्रीमान् विदेश गएका कतिपय श्रीमतीहरु श्रीमान् विदेश भएको भन्न समेत हिच्किचाउँछन् । यो उनीहरु स्वयंले गरेको अनुभूति हो । एकाधले कतै गरेको अपराधलाई यसरी बढाई चढाई गरिएको छ कि विदेशिने श्रीमान्का श्रीमती सबै खराब गर्दैछन् ।
सम्बन्ध बिच्छेद गर्नेहरु बढ्दै गएका छन् । धेरैले के अर्थ लगाएको सुनिन्छ भने श्रीमान् विदेश गएका श्रीमतीहरुले नै सम्बन्ध बिच्छेद गर्दै अर्को बिहे गर्दै हिँड्ने गरेका छन् । यहाँ लाखौं महिलाहरुले गरेको त्याग तपस्या देख्ने कोही छैन । महिलाबाट पुरुष पीडित भएका घटनाहरु मात्र होईन, पुरुषबाट महिला पनि बैदेशिक रोजगारका नाममा ठगिएका छन् । विदेशमा रहेर स्वदेशमा श्रीमान्लाई पैसा पठाउने महिलाहरु पनि नठगिएका हैनन् । अर्को कुरा हाम्रो समाजमा पुरुषले परस्त्री गमन गर्नुलाई सामान्य मानिने र महिलाले परपुरुष गमन गर्नु अपराधका रुपमा लिइने भएका कारण पनि स्वदेशमा भएका महिलामाथि यौनसँग जोडिएर यस्ता घटना भएका हुन सक्छन् । तर यसो भनेर गलत कामलाई समर्थन गर्न खोजेको होइन, गलत काम चाहे महिलाले होस् या पुरुषले त्यो गलत नै हुन्छ । यहाँ भन्न खोजेको एउटै कुरामा दोहोरो मापदण्ड राख्नुभएन भन्ने मात्र हो ।
विश्वासमा अडिएको बैवाहिक सम्बन्धलाई विश्वासकै वातावरणमा टिकाइरहन श्रीमान् तथा श्रीमती दुबैको उत्तिकै भूमिका हुनुपर्दछ । एकअर्काबाट अलग रहँदा पनि कसरी विश्वासको वातावरण टिकाईरहन सकिन्छ भन्ने कुरामा दुबै पक्ष सजग हुनुपर्छ । भोलि अरुका कुरामा लागेर वा शंकाकै भरमा मात्र परिवारमा विखण्डन नआओस् भन्ने कुरामा श्रीमान् श्रीमती दुबैजना चनाखो हुन सक्नुपर्छ । श्रीमान् श्रीमतीको मात्र जीवन नभई उनीहरुका बालबालिकाको झनै संवेदनशील अवस्था रहन्छ । त्यसैले यस्ता विषयहरुमा महिलालाई मात्रै दोष दिएर समस्या समाधान हुँदैन । महिलालाई मात्रै दोष दिन छाडौं, समस्या हल गर्न सक्ने सही दृष्टिकोण बनाऔं ।
विन्दु नेपाली
तुलसीपुर, दाङ

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np