Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

अल्लो धागोबाट आर्थिक उपार्जन गर्दै गामका महिलाहरु

         देवी गुरुङ ||   41 Views   ||   Published Date : 8th July 2017 |

devi ko ma rakhne
रोल्पा  ।
जिल्ला सदरमुकाम लिबाङदेखि २८ कोष पूर्वमा रहेको गामका महिलाहरु अल्लो धागोबाटै मनग्य आय आर्जन गरिरहेका छन् । हातमा अल्लो धागो, ढाडमा गादो भिरेका गामका महिलाहरु सँधैजसो व्यस्त देखिन्छन् ।
अल्लो काढ्नु उनीहरुको पुख्र्यौली पेशा नै हो । दिनहुँ अल्लो धागो काढ्ने गामका महिलाहरुले घरको जोहो यही धागो बेचेरै गर्छन् । पुरुषको तुलनामा महिलाहरु अल्लोको काममा बढी क्रियाशील देखिएको घरेलु तथा साना उद्योग विकास समिति रोल्पाका उद्योग अधिकृत बालकृष्ण आचार्य बताउँछन् ।

‘जिजु बाजेले सिकाएको काम हो, हामीलाई त सजिलै लाग्छ ।’ गाम–४, हारबाङकी २३ वर्षीया बिमला घर्तीले कामको सहजताबारे भन्छिन् । गाममा युवा, बृद्धा, बालबालिका जोसुकैले पनि सहजरुपमा अल्लो धागोलाई काढ्ने र डल्लो बनाउने काम गर्छन् । पुख्र्यौली पेशालाई निरन्तरता दिन सकिने र आय आर्जन पनि राम्रो गर्न सकिने भएपछि धेरैजसोले यही पेशा अंगाल्ने गरेको गामका स्थानीय अगुवा देउसिंह घर्तीमगर बताउँछन् ।

झन्झटिलो अल्लोको काम हेर्दा सहजजस्तो लाग्ने भएपनि यो काम निकै झन्झटिलो हुने अल्लो सम्बन्धी काम गर्दै रोल्पा अल्लो धागो कपडा उद्योग लिबाङका भूमिका थापा बताउँछिन् । अल्लोको बुटाहरु काटेर त्यसको बोक्रा काढेर सुकाउने र रातभरी पकाउने अनि कमिरो लगाएर सुकाएपछि फेरी एक पटक त्यसलाई सफा गरेर बल्ल बोक्रालाई धागोमा परिणत गर्दै रेसा काढ्न शुरु हुन्छ । कसैले हाते चर्खेबाट पनि धागो काढ्ने गर्दछन् । सबै धागोहरु एकै नासको हुँदैन । थापाका अनुसार फरक मुल्य र फरक प्रकारका धागोलाई बर्गीकरण पनि गर्ने गरिन्छ । उनका अनुसार गाम लगायतका क्षेत्रबाट ल्याइएका अल्लोको धागोहरु फरक फरक मूल्यमा बिक्री हुन्छन् ।

गाम–४, की चन्द्री घर्तीले यो काम गर्न निकै झन्झटिलो हुने बताइन् । उनी भन्छिन्, ‘धेरै दिनपछि बल्ल बल्ल धागो डल्ला पार्ने काम हुन्छ ।’ स्थानीय स्वास्थ्य स्वयंसेविका समेत रहेकी चन्द्री घर्तीले आय आर्जन गर्ने पाटो अल्लो धागो भएता पनि श्रम निकै गर्नुपर्ने बताइन् । ‘रातभरि पकाउने र ठटाउने काम गर्छम् ।’ घर्तीले भनिन् ‘दिनभरि डल्ला पार्ने काम गर्छम्, आङ दुखेर हैरान हुन्छ ।’
गामको भित्रीगाम र बाहिरी गामका विभिन्न स्थानमा अल्लोको बारी नै छ । जुट, अल्लो, भाँगोको रेशाबाट नै धागो बनाउने गर्छन् त्यहाँका स्थानीयहरु । त्यस क्षेत्रको लेकमा ठूला ठूला बारीहरुमा अल्लो भाँगो रोप्ने गरिन्छ । असोज महिनामा यसलाई काट्न शुरु गर्छन् । स्थानीयहरुले पुवाबाट अल्लो धागो निकाल्छन् भने भाँगोको रेसाबाट हेमधागो निकाल्छन् । हाल यसलाई प्रति किलो ६ सय देखि ७ सयसम्म ग्रामीण भेगबाट ब्यापारीहरुले खरिद गर्छन् तर व्यापारिक क्षेत्रमा यसलाई महङ्गो मूल्यमा किनबेच गर्ने गरिन्छ ।
‘बोल्ला’ बुन्न नसक्नेको बिहेनै नहुने

पहिले पहिले बोल्ला अथवा अल्लोबाट बनाइएको कपडा बुन्न नसक्ने केटीहरुलाई केटा पाउनै मुस्किल हुन्थ्यो । स्थानीय उदिमा बुढा भन्छन् ‘उहिले त बला बुन्न नसक्ने आईमाईको कामै छैन बिहे नगरेनी हुन्छ भन्थे ।’ स्थानीय बृद्धा उदिमा बुढाले भने, ‘बुनेर पनि कोइलाबास बेच्न जानुपथ्र्यो ।’ तर अहिलेका पुस्ताले धेरै चासो नदिएको बुढाले बताए । अल्लो उत्पादनलाई सरकारले प्रोत्साहन गर्ने गरेको भए पनि स्थानीयको कम चासो हुने गरेको घरेलु उद्योग अधिकृत बालकृष्ण आचार्यले बताए ।
अल्लोका कपडा ‘पक्का’
अन्य कपडाका तुलनामा अल्लोबाट निर्मित कपडा धेरै टिक्ने उपभोक्ताहरु बताउँछन् । ‘यो कपडा लगाउँदा सस्तो र टिकाउ हुने भएकोले डबल फाइदा हुन्छ’ गामका देउसिंह घर्तीले भने, ‘कुनै केमिकल नमिसाएर धागोलाई जस्ताको तस्तै जोडिने भएकोले यसबाट निर्मित कपडाहरु स्वास्थ्यका लागि समेत फाइदाजनक छ ।’ पछिल्लो समय नेपालमा पनि यसको माग बढिरहेको भए पनि विशेषतः विभिन्न माध्यमबाट देशबाहिर निर्यात हुने गरेको घर्तीले बताए । अल्लो उत्पादनका लागि सम्भावित क्षेत्रका रुपमा लिइएको गाममा घरेलु तथा साना उद्योग विकास समितिले समेत लगानी गर्दै आएको छ । अल्लो प्रशोधनका लागि भवन निर्माणका साथै तालिम तथा विभिन्न औजारहरु समेत कृषकहरुलाई प्रदान गरिएको उद्योग अधिकृत बालकृष्ण आचार्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np