Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

नेतृत्वको अग्निपरीक्षा

         डा. रेणु अधिकारी ||   25 Views   ||   Published Date : 8th July 2017 |

renu adhikari

देश चुनावमय भएको बेला सामाजिक सञ्जालका भित्ता लेखिएका हाम्रो सबै राम्रो, अरू जति सबै नराम्रो भन्ने अर्थ बोकेका एकले अर्कालाई खुइल्याउन प्रयोग गरिएका धेरै पीडादायी वाक्य पढेपछि यो लेख लेख्दैछु । चुनाव हुन्छ कि हुँदैन भन्ने गहिरो शंका चिर्दै पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । दोस्रो चरणको निर्वाचन हुन बाँकी भएको कारण हुँदैछ भन्न पनि सकियो ।
धेरैले यसलाई बीस वर्षपछि हुन गइरहेको स्थानीय तहको निर्वाचन भने पनि यो देश लोकतान्त्रिक गणतन्त्र भएपछि हुन लागेको पहिलो निर्वाचन हो, त्यसैले यो पहिलाका निर्वाचनभन्दा भिन्न छ, यसलाई अरूसँग तुलना गर्न मिल्दैन । यसले ऐतिहासिक जिम्मेवारी बोकेको छ । यो निर्वाचनले देशको अबको बाटो कस्तो हुन्छ भन्ने निर्धारण गर्नेछ ।
विशेषतः यो निर्वाचनले २०६२÷६३ को जनआन्दोलन तथा मधेस आन्दोलनबाट स्थापित लोकतान्त्रिक गणतन्त्रामक व्यवस्था भनेको के हो भनी जनमानसले बुझ्ने आधार दिन सक्छ । त्यसैले यो निर्वाचनपछि आउने नेतृत्वले हालसम्म विभिन्न प्रकारका विभेदपूर्ण स्थितिमा बस्न बाध्य व्यक्ति समूहहरूको स्थितिमा परिवर्तन गर्न सक्ने हैसियत राख्नुपर्छ ।

देश लोकतान्त्रिक गणतन्त्रामक भएको दुई दसक भइसके पनि जनताले लोकतन्त्रको प्रतिफल प्राप्त गर्न सकेका छैनन् । अहिले पनि हिँजो विभेद खप्न बाध्य व्यक्ति समूहहरू सदियौंदेखि स्थापित विभेदको चक्रमै बाँचिरहेका छन् । आज पनि हिँजो सत्ता र स्रोतमा पहुँच भएका व्यक्ति समूहहरूको हालीमुहालीले नै निरन्तरता पाएको छ । यो निर्वाचनपछि आउने नेतृत्वले यो चक्र भत्काई घर, समाज र राष्ट्रमा नराम्रो गरी जरो गाडेर बसेको विभेदपूर्ण संरचनालाई रूपान्तरण गर्न सकेमा मात्र निर्वाचन सही अर्थमा सफल भएको मानिनेछ । अनि मात्रै लामो समयदेखि रहेको जनचाहनाअनुरूपको देश निर्माण हुने आधार तयार हुनेछ । त्यसैले अहिलेको नेतृत्वमाथि देश बदल्ने, विभेदले थिलथिलो बनाइएका व्यक्ति, समूहहरूको अनुहार बदल्ने जिम्मेवारी छ । यो हाम्रो र राम्रोको होडबाजीमा रुमलिएकाहरूबाट मात्र सम्भव छैन । यसको लागि आवश्यक छ, हाम्रो को जालबाट बाहिर निस्केर सबैको अनि राम्रो बन्नु ।

परिवर्तन धेरै ठाउँमा आवश्यक छ । त्यसलाई खुट्याउन संवेदनशीलता चाहिन्छ । सहानुभूति नभई समानुभूति गर्नु जरुरी छ । लामो समयदेखि विभेद खपेका व्यक्तिहरूभित्र एक प्रकारको के परिवर्तन होला र भन्नेजस्तो निराशाले घर बनाएको छ । त्यसलाई परिवर्तन सम्भव छ भन्ने सन्देश दिई आशामा रूपान्तरण गर्नु छ । परिवर्तनको लागि धेरै महत्वपूर्ण नलागे पनि व्यक्तिका जीवन घटना विश्लेषण हुनुपर्छ, परिवर्तन गर्ने क्षेत्रहरूको पहिचान सही हुनुपर्छ ।

विषयको शुरुआत आफैंबाट गर्छु । म सिरहा जिल्लाको एउटा सानो गाउँमा जन्में, हुर्कें । २०३१ सालमा एसएलसी परीक्षा राम्रै नम्बर ल्याएर पास गरेकी थिएँ । घरपरिवारको आर्थिक स्थिति त्यति साह्रै नराम्रो पनि थिएन । तर म छोरी भएकैले मलाई पढाउन मेरी आमाले ठूलो संघर्ष गर्नु प¥यो । मेरी आमाले छोरी पढाउने विचार गरेकैले परिवारका सदस्यहरूले उहाँलाई लगाएका वचन मेरो दिमागमा अझै ताजा छन् ।
मेरो आमाबुबा तराईमा बस्ने भएकाले काठमाडौं आउँदा उहाँहरूले हरेक पाइलामा भोग्नुपरेको विभेद, डेरा खोज्दा छिँडी कोठा मात्रै दिन मिल्ने, तिमीहरूलाई पनि भात खान आउँछ भनी भनेका भनाइहरू, घरपट्टिले बकुल्लाको गेडा निकालेर बोक्रा तिमीहरू तरकारी खान्छौ भनी हेपेर दिएको दृश्य, गरेको फरक व्यवहार मेरो आँखामा ताजै छन् । त्यसैगरी म आफैंले बीसबर्से बाहुनकी विधुवा बुहारीले नेवारसँग दोस्रो बिहे गर्ने हिम्मत गरेको पुरस्कारको रूपमा मैले पाएका तिरस्कार, सुन्नुपरेका वाक्य, गरिएको व्यवहार मेरो मानसपटलमा शिलालेखजस्तै गरेर लेखिएका छन् ।

पछि म जब डाक्टर भएर प्रसुति गृहमा काम गर्न थालें, त्यहाँ उपचार गराउन आउने महिला, जसको जीवन एक पोका रगत पाउने कि नपाउनेमा निर्भर हुन्थ्यो, छोरी पाएकै कारण रगत लिन भनेर गएका श्रीमान् नफर्किंदा वा गरीब भएकै कारण हामी त्यतिखेर अस्पतालमा काम गर्ने ठूला मानिस भनिनेहरूद्वारा लगाइने वचनबाट ती महिलाको अनुहारमा देखिने पीडा, भित्रैदेखि समाजप्रति रहेको वितृष्णाले भरिएको अनुहार, म कहिल्यै बिर्सन सक्दिनँ । ती महिलाका अनुहार र डाक्टर, नर्सले लगाउने वचनले मलाई त्यतिखेर पनि सुत्न दिँदैनथे, अहिले पनि दिँदैनन् ।
मेरो कथा एउटा प्रतिनिधि कथा मात्रै हो । मभन्दा धेरै पीडा खपेका विभेद भोगेका, अनुभव बटुलेका व्यक्तिहरू यो देशमा परिवर्तनको लागि लागिरहेका छन्, न्यायको लागि पर्खिरहेका छन् । त्यसैले म जस्ता धेरैलाई यो निर्वाचनपछिका नेतृत्वहरूले यस्तो स्थितिमा परिवर्तन ल्याउन सक्ने क्षमता राख्नुपर्छ भन्ने लाग्छ । नेतृत्व राम्रो हुन सके यो निर्वाचन देशमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संस्थागत गर्ने दरिलो आधार हुन सक्छ ।

अहिले नेपाली जनताले खोजेको उनीहरूको जीवन रूपान्तरण गर्न सक्ने साेंच, सीप र बुद्धिमत्ता भएका प्रतिनिधि हुन् । सीप र बुद्धिमत्ता विकसित गर्दै लैजान सक्ने कुरा हो, तर साेंच संरचनागत कुरा हो । त्यसरी प्रतिनिधित्व गर्ने व्यक्ति कुन वातावरणमा हुक्र्यो, के गर्यो त्यस्ता कुराले निर्धारण गर्ने कुरा हो । उसलाई कुनै पार्टीको बिल्ला लगाउँदैमा वा लामो समयदेखि परिवर्तनको लागि दिलोज्यान दिनेहरूको असफलतामा केन्द्रित अभिव्यक्ति दिँदैमा सही साेंच भएको मान्न सकिन्न । त्यसैले अहिलेको नेतृत्व, विशेषतः महिला, पछि पारिएका समूहबाट आएका प्रतिनिधिहरूको नेतृत्व भनेको अहिलेसम्म स्थापित शक्ति संरचनालाई थाम्न, त्यसैमा नेतृत्व गर्न आउने नभई त्यस्ता संरचनाहरूलाई पूर्णरूपले रूपान्तरण गर्नसक्ने क्षमतासहित आउनु जरुरी हुन्छ ।

यसको लागि पक्कै पनि उनीहरू हाम्रो भन्ने साेंचबाट बाहिर निस्कँदै हाम्रो भनिएको स्थिति प्रयोग गरी राम्रोमा रूपान्तरण हुन सक्ने हुनुपर्छ । अब महिला र पछाडि पारिएका समूहलाई सीमित अधिकार दान र बक्सिसको रूपमा दिएर मात्रै पुग्दैन । अबको नेतृत्व त्यस्ता समूहको अधिकार अझ भनौं सबैको समानताको अधिकार सुनिश्चित गर्न अहिलेसम्म स्थापित सामाजिक, आर्थिक, राजनीतिक सोंच र संरचनालाई विश्लेषण गर्दै त्यस्ता समूहहरूको आवाजलाई मूल प्रवाहमा ल्याउँदै रूपान्तरण गर्ने जिम्मेवारी बहन गर्न सक्ने हुनुपर्छ ।

यो निर्वाचनमा केही महत्वपुर्ण पक्षहरू सतहमा आएका छन् । जनतामाझ केही महत्वपुर्ण सन्देश पुगेको छ । मैले देखेको सबैभन्दा सकारात्मक सन्देश भनेको यो निर्वाचनमा राजनीति भनेको फोहोरी खेल हो भन्दै राजनीतिप्रति वितृष्णा राख्ने युवाहरूले राजनीति भनेको परिवर्तनको आधार हो भन्ने मानेर वा भन्दै स्थानीय तहको निर्वाचनमा सक्रिय रूपमा समावेश हुन गरेको निर्णय, २१ देखि ४० वर्षका युवा महिलाले वर्षोंदेखि राजनीति गर्नेहरूसँग प्रतिस्पर्धा गर्न गरेको हिम्मत, नयाँ योजना र प्रतिबद्धतासाथ देश बनाउँछु भन्ने परिकल्पना गर्ने समूहहरूको संलग्नता, विदेशमा पैसा कमाएर मात्र पुग्दैन आफ्नो देश बनाउन जिम्मेवारी पनि लिनुपर्छ भन्ने मान्यताका साथ राजनीतिमा होमिएका नयाँ समूहहरूबाट जनमानसमा पुगेको सन्देश । यसले राजनीतिप्रति सकारात्मक र ठूलो सन्देश छोडेको छ ।
हाम्रोजस्तो मुलुक, जहाँ सामन्तवाद, पितृसत्तात्मक सोंच, राम्रो मानिसभन्दा पनि हाम्रो मानिस र हाम्रा सधैं राम्रा भन्ने सोंच छ । त्यहाँमाथि उल्लेखित समूहहरूले अहिल्यै निर्वाचन जित्छन् वा जित्नुपर्छ भन्ने मलाई लागेको छैन । तर, यिनले सबैलाई एउटा दबाब सिर्जना गरेका छन् भन्नेमा कुनै दुविधा भने छैन । त्यसैगरी यो निर्वाचनले दिएको अर्काे महत्वपूर्ण पक्ष हो, पितृसत्तात्मक सोंच बोक्ने नेतृत्वद्वारा महिलाको स्थान दोस्रो नै हो भनी उप मै चुप लगाउन खोजे पनि, सूर्यलाई हत्केलाले छेक्न सक्दैन भने झैं आउँदा दिनमा सबै तह र तप्कामा विकसित हुने महिलाको नेतृत्व । यी सकारात्मक परिवर्तनलाई अब कसैले छेक्न सक्दैन । त्यसैले यो निर्वाचनले मजस्ता धेरै प्रकारका विभेद खपेर बाँच्न बाध्यहरूभित्र नयाँ ऊर्जाको सञ्चार गराएको छ ।

तर यो ऊर्जाभित्र पनि कताकता मन उकुसमुकुस भएको छ, डराएको छ । यसरी डराउनुको पछाडि अब आउने नेतृत्वले कस्तो काम गर्ला र त्यसमा आम मानिसले चाहेको परिवर्तनको लागि आधार तयार हुन्छ कि हुँदैन भन्ने चिन्ता हो । हाम्रोजस्तो गरिबी, विभेद र कुसंस्कारको चपेटामा सदियौंदेखि बाँच्न बाध्य भएका व्यक्तिहरू कहिलेकहीं नेतृत्वमा पुगेपछि बरालिन थाल्छन् । आफ्ना पीडा र सिद्धान्त बिर्सन्छन् । यो तथ्यलाई अनुभूत गर्न धेरै टाढा जानु पर्दैन । लोकतन्त्र प्राप्तिपछि हाम्रै नेताहरूको व्यवहार हेर्दा पुग्छ । केन्द्रीय तहमा रहेका नेतृत्वहरू जिम्मेवार नहुँदा अहिले देश परिवर्तन हुने कुरो त परै जाओस्, भुइँचालोबाट थिलथिलिएका गरिबहरूले छानासम्म पाउन सकेका छैनन् । सबै दलका नेताको देशलाई भन्दा हाम्रोलाई कसरी माथि पु¥याउने भन्ने होडबाजी छ ।

यी सब हुँदाहुँदै पनि संविधान प्रगतिशील भएकाले अहिले स्थानीय निर्वाचनमा परिवर्तन गर्न सक्ने व्यक्ति समूहहरूको संलग्नता हुँदैछ । यो स्थिति संविधानले एकपटक देश बनाउनको लागि जनतालाई दिएको अवसर हो । त्यसैले स्थानीय तहमा विजयी हुने नेतृत्व त्यसमा पनि पाखा लगाइएका समूहबाट आएका नेतृत्वले आफूले पाएको सीमित भए पनि शक्तिलाई कसरी प्रयोग गर्ने त्यसमा जिम्मेवार हुन जरुरी छ । यो गहन जिम्मेवारी हो ।

यस्तो गहन जिम्मेवारी बोक्न सक्ने नेतृत्वको छनोट गर्ने गहन जिम्मेवारी अहिले हामी जनताले एक तहमा पुरा गरेका छौं । भर्खरै पहिलो चरणको मतदान सकियो । यो मतदानको लागि भएको होडबाजीले हामीलाई अझै पनि हामी राम्रा भन्दा हाम्रालाई अगाडि सर्ने प्रवृत्तिबाट ग्रसित छौं भन्ने पनि देखियो । तर अहिलेसम्मको इतिहास हेर्दा जहिले पनि नेपाली जनता नेताहरूभन्दा बुद्धिमान देखिएका छन् । नतिजाले के भयो भन्ने त प्रस्ट्याउनेछ । यहाँनेर सम्झनैपर्ने कुरा अहिले हामीले जम्मा तीन प्रदेशमा मात्रै मतदान ग¥र्यौं । अब मतदान गर्न चार प्रदेश बाँकी छन् । यो पहिलो चरणको मतदानबाट पाठ सिकेर हामीले दोस्रो चरणको मतदानलाई अझ बढी उपलब्धिमूलक बनाउन सक्छौं ।
माथि भने झैं यो निर्वाचनले हामी सर्वसाधारणलाई देश परिवर्तन गर्ने मौका दिएको छ । हामीलाई संसारभर छोरी चेली बेच्ने, सस्तो मूल्यमा आफ्नो नागरिकलाई विदेशमा काम गराई उनीहरूको रगत र पसिनाले प्राप्त पैसाले अनावश्यक मात्रामा नेतृत्व पाल्ने, गरिबको झुपडी बनाउन नसक्ने, गरिबलाई सिटामोल ख्वाउन नसक्ने तर राष्ट्रको ढुकुटीबाट करोडौं रुपयाँ खर्च गरेर नेताको विदेशमा औषधी गर्न सक्ने भनेर चिन्ने गर्छन् । त्यो पहिचानलाई चुनौती दिँदै हामी भनेको सुन्दर शान्त देशका वासिन्दा हौं, हामीसँग हाम्रो देश बनाउने, गरिबीलाई चिर्ने, लामो समयदेखि सामन्तवादी, पितृसत्तात्मक सामाजिक संरचनाद्वारा स्थापित विभेदकारी मूल्यमान्यताका कारण सृजित कुसंस्कार, कुरीति र विभेदपूर्ण मूल्यमान्यता चिर्न सक्ने क्षमता हामीसँग छ भन्ने बोलेर होइन, गरेर देखाउनुपर्ने बेला आएको छ, अन्यथा मजस्ता धेरै न्यायको पर्खाइमा बसेका भुक्तभोगीहरू फेरि एकपटक भन्न बाध्य हुनेछन्–जुन जोगी आए पनि कानै चिरिएका ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np