Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

आमा

         दीपक घिमिरे ||   305 Views   ||   Published Date : 10th July 2017 |

 

dipak ghimire
गाउँबाट शहर बसाइसराइ गरेर आएका रनेदाइ संसारमा सबैभन्दा खुशी मान्छेमा गनिन्छन् । उनीसँग चिनजान भएको दुई वर्ष भयो । उनको अनुहार मलिन अहिलेसम्म देखेको छैन । सधंै किच्च गर्दै बस्ने रने दाइले जोई पनि उस्तै हँसिली पाएका छन् । गीता भाउजू र रनेदाइको सन्तान अहिलेसम्म भएको छैन । सुन्छु ! बच्चा हँुदैन रे । गर्नुसम्म ओखतीमुलो गर्दा पनि भएन । सन्तानको माया मारेर बसेका छन् ।

सानो होटल छ । सिम्पानी बजारको सबैभन्दा नामुद होटल । लोकल रक्सीका लागि प्रख्यात हुनाले पनि उनको होटल मैले नामुद होटल मान्छु । बिहानैदेखि दारु चढाउनेहरुको भीडै हुन्छ उनको होटलमा । बजारमा मजदुरी गरेर बस्नेहरुको विश्रामस्थल पनि यही रनेदाइको होटल हो ।

मातातीर्थ औंसीलाई आमाको मुख हेर्ने दिनको रुपमा मान्ने चलन छ । मैले मेरी आमालाई फोन गरे । गाउँमा बस्ने मेरी आमा घाँस काट्न जंगल जानु भएको थियो । मैले सम्झिएँ । रने दाइलाई पनि यो दिनको बारेमा जानकारी गराएँ ।
मलाई थाहा छैन रनेदाइकी आमा कहाँ छिन् भन्ने । तर गफै गफमा भन्दिएँ– “आमाको मुख हेर्न जानु भएन ?”
उनी अनकनाए, उता चुलोमा राँगाको सुकुटी भुट्दै गरेकी भाउजूलाई पुलुक्क हेरेपछि मतिर फर्किदै भने– “ओ हो ! जानु पर्ने त हो । तर कसरी जानू, होटलमा यति धेरै काम छ ।”

आगोको रापले तात्तिएकी गीता भाउजूले प्याच्च भनिन्– “फेसबुकाँ पोष्टिनुस, आज्कालको जमानामा के जानु भेट्न । दुन्याभरको मान्छे भेट्ने फुर्सत हुनुपरेन ?”

रने दाइ चुप भए । मैले सोधें– “आमा हुनुहुन्छ ?”

“हुनुहुन्छ, तर बृद्धाश्रममा । घरै बस्नुस् भन्दा मान्नुहुन्न, यता ल्याउन सकिन्न ।” रनेदाइले मोबाइल निकाल्दै बोले ।
“अरु सन्तान, बुवा नि ?” मैले अचम्म मान्दै सोधें ।

“म जन्मेको छ मैनामा बा बित्नु भा’को रे । दाजुभाइ दिदीबैनी कोई छैनन् । सन्तानको नाममा म मात्र हँु”– रनेदाइले फेसबुक चलाउँदै उत्तर दिए ।
मलाई अचम्म लाग्यो । जीवनभर यिनै रनेदाइको लागि बाँचेकी उनकी आमालाई पाल्न नसक्ने हाम्रा रने दाइ । न अरु सन्तान, न बुढेसकालको सहारा बूढो ।

“पाप लाग्ला यार दाइ ! ल्याएर पाल्नुस् । खुशी दिनुस्”– म झनक्क भएँ ।
“एक दिन टिक्न सक्दिनन् ती बुढी यहाँ, गाउँमा उनलाई पकाएर खान दिने कोई छैन । आफ्ना हात पाखुरा चल्दासम्म गाउँमै बसिन्, अब बुढेसकालमा बृद्धाश्रममा नबसे काँ बस्चिन !” उताबाट गीता भाउजू कडकिइन् ।

उनको कड्काइ मलाई मन परेन । तर अर्कालाई कति अर्ति उपदेश दिनु । म चुप्प हेरिरहें दुबैलाई ।
“लौ यो पोष्ट कस्तो छ ?” मोबाइलको स्क्रीन मतिर फर्काउँदै रने दाइले देखाए ।
उनले लेखेका थिए– “आइ लभ यु मम्मी एण्ड मिस यु । यसपालि आमाको मुख हेर्न पाइनँ ।”

मुखभरीको थुक थुइक्क भनेर उनकै अनुहारमा थुकी दिन मन थियो । त्यो पनि सक्दिन । किन कि रनेदाइ छिमेकी दाइ हुन्, आफन्ती दाइ हैनन् ।
दगुर्दै मोबाइल हेर्न आइपुगेकी गीता भाउजूले फेसबुकमा पोष्टिन तयार पारेको पोष्ट पढिन् । दुबै गलल टोलै थर्काउने गरी हाँसे, अनि पोष्टिए । एउटा स्टाटस आमाको नाममा पोष्टेपछि रनेदाइले आफूलाई असल छोराको रुपमा पाए होलान् । मख्ख परे ।
आमा साथमा हुन्थिन् भने छोराबुहारीको हाँसोमा कति हाँसो मिसाउँथिन् होला, कति खुशी हुन्थिन् होला । मैले कल्पना मात्र गरें । रनेदाइले त्यतिसम्म सोचे जस्तो लागेन ।
रने दाइको बा बितेपछि आमाले पाएको दुःख मैले कल्पना गरेरै महसुस गर्न सक्छु । रने दाइले आमाको दुःख देखे होलान् तर महसुस गरेनन् । त्यसैले होला सन्तानप्रतिको माया थाहा नदिन भगवानले समेत रने दाइको भागमा सन्तान लेखेनन् ।
गाउँको घरमा खेतीपाती गर्दै रने दाइलाई हुर्काउनु कम्ता सकसको कुरा थिएन तर आफ्नो कर्तब्य पूरा गरिन् आँबैले । कहिले खाइन् होला, कहिले भोकै बसिन् होला तर रने दाइलाई कहिल्यै रुवाइनन् होला । किन भने सन्तानप्रति बा आमाको माया रने दाइलाई के थाहा । उनका सन्तान भए पो महसुस गर्थे ।
रने दाइ आफ्नै दुनियाँमा मस्त छन् यतिबेला । फूल जस्ती राम्री गीता भाउजू छिन् तर मन काँडा जस्तै रैछ । उनलाई पनि के थाहा आमा हुनुको पीडा र खुशी । आफ्नो सन्तानको हाँसोमा संसार भुल्ने आमाको मन उनले पाइनन्, पाएको भए रने दाइको आमालाई आफ्नै आमा ठान्थिन् र भगवानले पनि उनलाई आमा बन्ने शौभाग्य दिन्थे । उनले रने दाइकी आमालाई ठगिन्, भगवानले दुबैलाई ठगे ।

“माया लाग्दैन दाइ आमाको ?”– उनको पोष्टमा लाइक गर्दै सोधें । सोध्नु ठीक हो या बेठीक छुट्याउन चाहिन ।
“लागेर के गर्नु ! बानी गतिलो हुनुपरेन ?”– उनी काउण्टरबाट पैसा निकालेर गन्न थाले ।
“आमा भन्ने जस्तो बानी हुनप¥यो । जन्माउँदैमा कोही आमा हुँदैनन् बाबू”– उताबाट भाउजू कराइन् ।
“जस्तो भए नी आमा आमै हो । आमा भन्दामाथि अरु हुँदैनन् भाउजू”– मैले आदर्श छाँटें । फेरि भने– “जन्म मात्र दिएकी पक्कै हैनन् । रने दाइको खुशीका लागि आफ्नो खुशीको बलिदान दिएकी हुन् ! बुझ्नुस् तपाइँहरुले ।”
रने दाइले नाक बटारे, गीता भाउजूले आँखा तरिन् । म उनीहरुलाई बेष्ट अफ लक भन्दै बाहिरिएँ ।
साच्चै ! संसार स्वार्थी छ । रने दाई र गीता भाउजुको कुरा अनि व्यवहारले आज म अचम्म पर्दैछु । उनीहरुको आमाप्रतिको सम्मान देखेर कथा लेख्दैछु । आफ्नो सन्तान प्राप्तिको लागि हजारौ खर्च गरेका रने दाईका दुई जनालाई भगवानले ठगेका हैनन्, आमाको आँसुले सरापे जस्तो महसुस गरें ।
बिधुवा बनेकी आमाले कहिले बोक्सीको आरोप खेपिन् त कहिले ‘पोइ टोकुवा’को आरोप । तर डगमगाईनन् । लडिन् त्यो समाजसँग । हुर्काइन रने दाईलाई । अनि इज्जतिलो बिहे गराएर सुख पाउने आशामा बसिन् । बुहारीको हातले पकाएको मीठो खाने आशामा बसेकी आमा तब झसङ्ग भइन् जब रने र गीता होटल गर्ने बहानामा सिम्पानी बजार झरे ।
हात पाखुरा चल्दासम्म आमा गाउँमै बसिन रे । हात खुट्टा लाग्न छाडेपछि छोरासँगै बस्न सिम्पानी झरिन् । तर अफसोच ! रनेदाई र गीता भाउजूले कमैया कम्लहरीको भन्दा तुच्छ व्यवहार देखाए । सकी नसकी भए पनि दिनभर होटलका भाँडा माझेर बस्ने आमालाई कुकुरको भन्दा तल्लो दर्जा दिन थालेपछि आमा हिँडेकी रे ।
रने दाई र गीता भाउजुको हर्कत मातातिर्थ औसिका दिन देखें । त्यसपछि मेरै घरबेटीले पनि भन्थे “पापी हो रने, आमाको आँसुले पोल्छ त्यसलाई ।”
अलि पल्तिर तरकारी पसल गर्ने सुष्मा काकीले भन्थिन् “खानै नदिएर लखेटेका हुन् आमालाई । अलच्छिना हो रनेकी जोई । मर्ने बेला दागबत्ती दिने जन्मेनन् तिनैको श्रापले ।”
आखिर मान्छेको हाँसोले उसको व्यवहार देखाउँदो रहेन छ । रने दाई र गीता भाउजूप्रति मेरो सम्मान टुट्यो । हँसिला देखिने ती दुई मलाई दानव लाग्न थाले । आजैदेखि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np