Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

महिलाबिरुद्धका हिंसामा शून्य सहनशीलता अपनाइएको छ-प्रहरी उपरीक्षक दुर्गासिंह चन्द

         ||   196 Views   ||   Published Date : 13th May 2018 |

20842210_1437440186332682_7547746797904110176_n

हरेक क्षेत्रमा महिलाको नेतृत्वदायी भूमिका बहस भैरहेको छ । ठीक यति नै बेला दाङ प्रहरी महिलाको नेतृत्वमा छ । प्रस्तुत छ – प्रहरी उपरीक्षक दुर्गासिंह चन्दले प्रहरी प्रमुखको जिम्मेवारीमा छन् । २२ वर्षअघि प्रहरी सेवामा रहेकी चन्दसँग समरेखा म्यागजिनकालागि गरिएको कुराकानी । सम्पादक

१. महिलाको न्यायमा पहुँचको अवस्थालाई कसरी हेर्नुहुन्छ ?
पछिल्लो तीन वर्षमा महिला भएकै कारण घरेलु हिंसा भोगेर न्यायकालागि प्रहरीसम्म आएका महिलाको उजुरीको संख्या ४ सय ८५ छन् । जिल्ला प्रहरी कार्यालयमा हिंसा प्रभावित महिलाहरुले उजुरी लिएर आउने क्रम बढ्दो छ । यसरी हिंसा बढ्नुमा महिलामाथि हुने हिंसा उजागर हुने क्रम बढ्दै जानु पनि हो । महिला अधिकार संरक्षण र सम्बद्र्धनमा सरकारी गैरसरकारी दुबै क्षेत्रबाट भैरहेको कामले महिलाको न्यायमा पहुँच बृद्धि हुँदै गएको छ ।

2. दाङमा कस्तो प्रकृतिको हिंसा हुने गरेको पाउनु भएको छ ?
जिल्ला प्रहरीमा आएका उजुरीको आधारमा हेर्दा यहाँ घरेलु हिंसा नै बढी हुने गरेको देखिएको छ । घरेलु हिंसामा पुरुष पीडित भएका घटना एकदमै कम आउँछन् । करीब ९९ प्रतिशत महिलाहरु पीडित भएका उजुरी आउने गरेका छन् । पुरुषबाट महिला पीडित भएका धेरै घटना आउँछन् । खासगरी श्रीमान् र घरपरिवारबाट भएका घरेलु हिंसाका घटनाहरु आउँछन् । कुटपिट गरेको, खानलाउन नदिएको, हेला गरेको, अर्को श्रीमती ल्याएकोजस्ता कुराहरुमा महिलाहरु धेरै पीडित देखिएका छन् । दाङमा बेचबिखनका मुद्दाहरु कम आउँछन् । म दाङका आएको साढे तीन महिना भयो, मैले यहाँ आत्महत्याका धेरै घटनाहरु हुने गरेको पाएकी छु । त्यसो त आत्महत्यता देशैभर बढ्दो छ तर पनि दाङमा आत्महत्याका घटनामा धेरै महिला छन् । किशोरभन्दा बढी किशोरी, पुरुषभन्दा बढी महिलाले आत्महत्या गर्ने बढी छ । पुरुषले आत्महत्या गरेको छैन भन्ने होइन तर महिलाको दर बढ्दो छ । यो पनि लैङ्गिक हिंसाको उपज नै हो । हाम्रो सामाजिक संरचना, पुरुषप्रधान समाज, पितृसत्तात्मक सोंच बदलिन नसक्दा नै लैङ्गिक हिंसाका घटनाहरु कम हुन सकेका छैनन् जस्तो लाग्छ ।
समाजमा अहिले पनि महिलालाई दोस्रो दर्जाको नागरिकको व्यवहार हुने गरेको छ । अहिले पनि छोरा जन्मे पार्टी दिने, छोरी भए कसैले पार्टी चाहियो भन्दैन । अहिले पनि छोराको चाहनामा धेरै छोरी जन्माउने, लिङ्ग पहिचान गरेर छोरी भए भ्रुण हत्या गर्ने धेरै किसिमको प्रचलन छँदैछ ।

3. हिंसा बढ्नुका कारण के देख्नुहुन्छ ?
समाजमा रहेको विभेदका कारण नै हिंसा भैरहेको हो । विभेदबिरुद्ध पर्याप्त सचेतना छैन ।छोराछोरीलाई समान व्यवहार गर्ने बानीको बिकास अझै भएको छैन । अहिले पनि छोरीलाई पढाउन त पठाईन्छ तर आत्मनिर्णयको अधिकार अहिले पनि दिइएको देखिँदैन । करियर निर्माण गर्न नदिएरै विवाह गरिदिने प्रचलन अहिले पनि उस्तै छ । समाजले के भन्ला ? बढीरहेका छोरी छिट्टै विवाह गरिदिनुपर्छ , केही गरी आफै विवाह गरे परिवारको नाक काटिन्छजस्ता कुराहरु अहिले पनि महत्वकासाथ हेरिन्छन् । छोरीको हकमा परिवारले पहिलो प्राथमिकता विवाहलाई दिँदा पनि महिलाहरु हिंसित हुने अवस्था आउन पुग्छ ।
सानै उमेरमा विवाह, परिपक्व नहुँदै आमा बन्ने क्रमले पनि हिंसा हुने अवस्था सिर्जना भैरहेको छ । समग्रमा भन्दा समाजमा रहेको लैङ्गिक विभेद नहट्दा हिंसा हुन छाडेको छैन । अर्को यसरी हिंसाको तथ्यांक धेरै देखिनुमा केही हदसम्म महिलाहरुमा आएको हिंसा सहनु हुन्न भन्ने चेतना पनि हो ।

4. हिंसा न्यूनिकरण गर्न तपाईंहरुले के गरिरहनुभएको छ ?
हिंसा न्यून गर्न मूल नै सफा गर्नुपर्छ जस्तो लाग्छ । पानी फोहोर भयो भन्नुभन्दा मूल कस्तो छ भनेर हेर्नुपर्छ । तपाईंको, मेरो हामी सबैको परिवारदेखि नै छोरा र छोरीमा भेदभाव गर्नुहुन्न भन्ने चेतना आउनुप¥यो । छोरा छोरी जो सुकैको होस्, उनीहरुको विकासमा बाधा पु¥याउने कुनै पनि किसिमको भेदभाव गर्ने कुरीति, कुसंस्कार छ भने त्यसलाई हटाउँदै जाने, हरेक कुरामा छोरा छोरीलाई समान अवसर दिने गरेमा लैङ्गिक हिंसा कम हुँदै जान्छ भन्ने हाम्रो विश्वास छ । समाजमा जब समानताको अवस्थामा आउँछ, लैङ्गिक हिंसा कम हुँदै जान्छ ।
नेपाल प्रहरी आफैले पनि रेडियो कार्यक्रम सञ्चालन गरिरहेको हुन्छ । प्रहरीलाई लैङ्गिक संवेदनशील बनाउन तालिम दिने, तालिमप्राप्त प्रहरीबाट समुदायमा सचेतना अभिवृद्धिका कार्यक्रमलाई पनि निरन्तर सञ्चालन गर्ने गरिएको छ । कानुनी रुपमा अघि बढ्न लैङ्गिक हिंसाको सवालमा शून्य सहनशीलता अपनाउने नेपाल प्रहरीको नीति नै छ ।
5. जिल्लामा लैङ्गिक हिंसा न्यूनिकरण गर्न सहकार्य समन्वय के कस्तो छ ? महिलाबिरुद्ध भैरहेका विभेद अन्त्य गर्ने उपाय के देख्नुहुन्छ ?
घर परिवार, समाज, विद्यालयदेखि नै लैङ्गिक हिंसालाई निरुत्साहित गर्नुपर्छ । परम्परावादी सोंच भएका शिक्षकले बालबालिकालाई सोही अनुसार पढाउँछ । परम्परागत लैङ्गिक भूमिकालाई टेवा पुग्ने शिक्षा दिने हुन्छ । छोरी मान्छेले यस्तो गर्नुहुन्छ यस्तो गर्नुहुँदैन भन्ने खालका मान्यताले निरन्तरता पाउँछन् । यस्तो हुनु हुँदैन । विद्यालय, परिवार, सरकारी गैरसरकारी लगायतका सरोकारवाला सबै पक्ष र प्रहरीबीचमा सहकार्य र समन्वय जरुरी देख्छु म । सबैले आ आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । कानुन छन्, तिनको कार्यान्वयनमा सबैले सहयोग पु¥याउनु पर्छ । नीतिनिर्माण तहमा पुग्ने राजनीतिक दलको भूमिका पनि उत्तिकै हुन्छ । आवश्यक कानुन निर्माण, सबै पक्षबीच सहकार्य हुनुपर्छ । समयानुकुल समाज परिवर्तन गर्न, महिला पुरुष दुबैको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने अग्रगामी सोंच राखेर काम हुनुपर्छ । सबैले सहकार्य गरेर लैङ्गिक विभेदको पर्खाल भत्काउनु सकिन्छ ।

6. फेरी प्रसंग बदलौं, प्रहरी प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ । महिला भएकै कारण कुनै अप्ठ्यारो भोग्नु परको छ ?
म्हिला भएकै कारणले मैले कुनै अप्ठ्यारो महशुस भएको छैन । महिला भएको कारणले मलाई सहयोग गरेनन्, पुरुष भएको भए सहयोग पाउँथे भन्ने कुनै पनि सन्दर्भमा महशुस भएको छैन । कार्यसम्पादनमा महिला भएकै कारणले त्यस्तो कुनै फरक अनुभूति भएको छैन । बच्चाहरु सानो हुँदा व्यक्तिगत रुपमा केही हुन्थ्यो । ओहो, यिनीहरुलाई छिट्टै हुर्काउनु पाए हुन्थ्यो भन्ने लाग्थ्यो तर बुझ्ने भएपछि त्यस्तो कुनै अनुभूति छैन । सेवामा प्रवेश गरेदेखि नै यू एन मिसनमा जानेहरुको मरिहत्ते देख्दा अजीब लाग्थ्यो । विदेश जान मरिहत्ते गर्ने, आफ्नै देशमा किन अप्ठ्यारो मानेको होला भन्ने पनि लाग्थ्यो । त्यतिबेला म आफूलाई जहाँ खटाए पनि जान्छु भन्ने लाग्थ्यो । कार्यक्षेत्रको रुपमा पोखरासम्म त आइयो । सशष्त्र द्वन्द्वको बेला थियो । त्यतिबेला रोल्पा, रुकुम भनेपछि असहज मानिन्थ्यो । अहिले दाङ आउँदा रोल्पा रुकुम यहीँ नजिकै त रहेछ भनेजस्तो अनुभूति भयो । जहाँ जस्तो परिस्थितीमा पनि काम गर्न सकिन्छ । महिला भएको कारणले असहज लागेको अनुभव छैन ।

7. कसरी प्रहरी सेवामा आकर्षित हुनुभयो ? कहिले प्रहरी सेवामा प्रवेश गर्नुभयो ?
म जन्मेको बझाङमा र हुर्केको महेन्द्रनगरमा । त्यतिबेला कर्णाली पुल थिएन । काठमाडौ धेरै टाढा कहाँ हो कहाँ जस्तो लाग्ने बरु भारतको नैनीताल, दिल्ली नजिक त्यहाँबाट । हिन्दी पत्रिकाहरु आउँथे । हिन्दी बढी पढिन्थ्यो । पाठ्यक्रम बाहिरका धेरै पुस्तक हिन्दी नै आउँथे । त्यतिबेला पत्रिका पढ्दा केही गर्नुपर्छ भन्ने भावना प्रबल थियो । पछि पढ्न भारतको केरला गएँ । त्यहाँ महिलाहरु निकै सशक्त । महिलाहरुको सबैठाउँमा पहुँच । त्यहाँ म निकै प्रभावित भएँ ।
संयोग, मेरो ग्रयाजुएशेन सकिनु र प्रहरी निरिक्षक पद खुला प्रतिस्पधाबाट आउने मौका जु¥यो । महिला इन्स्पेक्टर भनेपछि बेग्लै सान महशुस हुने त्यो बेला । केही गरौं भन्ने सोंच, हिन्दी फिल्म हेर्दाको युनिफर्मको चार्मजस्ता कुराहरुले म निकै प्रभावित भएँ । परिवारले पनि साथ दियो । माइती, घर दुबैतिर मैले साथ सहयोग पाएँ जसले मलाई मेरो काममा निकै सहज भएको छ । प्रहरी सेवामा मेरो २२ वर्ष बित्दैछ । २०५१ साल चैत ५ मा इन्स्पेक्टरमा भर्ना हो मेरो । १६ महिनाको तालिमपश्चात २०५३ सालदेखि सेवामा छु ।

8. जीवन फर्केर हेर्दा प्रहरी सेवामा आएकोमा सन्तुष्ट हुनुहुन्छ ?
हो, म सन्तुष्ट छु । इमान्दार भएर सेवामा खटिन पाउँदा खुशी लाग्छ । जानी जानी गल्ती गरेको अहिलेसम्म जानेर गल्ती गरेकी छैन । कतिपय काम गर्दै सिक्दै जाने हो । प्रहरी सेवामा म आफैले त्यस्तो कुनै हिंसा महशुस गर्नु परेको छैन । प्रहरीभित्र मुश्किलले आठ प्रतिशत महिला छन् । आगामी तीन वर्षभित्र महिला प्रहरी कम्तीमा १० प्रतिशत पु¥याउने भनिएको छ । महिला कहीँ कतै कम छैन । पहिले महिला चाहिँदैन भन्ने थियो, अहिले महिला नभै हुँदैन भन्ने भैसकेको छ ।

9. कुनै पनि कामलाई लिएर महिला पुरुषप्रति फरक सोंच राख्नु कति सही कति गलत ?
कुनै पनि कामलाई लिएर महिला र पुरुषबीच भिन्न मान्यता राख्नु पुरै गलत कुरा हो । किनभने मान्छेले शक्ति (पावर)ले होइन, ईच्छाशक्ति (विलपावर)ले जित्छ भनिन्छ । पावरमात्रै भएर पुग्दैन । पुरुष र महिलाको तुलना गरेको होइन, तर मेरो बिचारमा पुरुषभन्दा महिलाले अझ प्रभावकारी काम गर्न सक्छन् । महिला संवेदनशील हुन्छन् र हरेक विषय उनीहरुले स्वअनुभूति गर्न सक्छन् । त्यसैले महिलाले प्रहरीमात्रै होइन, जुनसुकै पेशामा पनि अझ राम्रो सेवा दिनसक्छन् । यसमा सबभन्दा बढी सहयोग परिवारको चाहिन्छ । परिवारको सहयोग छैन भने सजिलो हुँदैन । आमाबुवा, श्रीमान्, सासुससुरा जो सबभन्दा पारीवारिक सम्बन्धमा नजिक छ उसको सहयोग चाहिन्छ । परिवारले साथ दिए बाँकी सबै चुनौती सजिलै सामना गर्न सकिन्छ । क्षमताको हिसाबले महिला पुरुष कुनै बलियो कुनै कमजोर हुँदैन, मात्रै कसमा कति ईच्छाशक्ति छ भन्ने हो ।
१0. अन्तमा थप केही भन्न चाहनुहुन्छ ?
समाजमा रहेको लैङ्गिक विभेदले हामीलाई पछाडि पारेको बुझेर हरेक परिवारले आफनै परिवारबाट छोराछोरीबीचको विभेद हटाउनु पर्छ । महिलामाथि हुने हिंसाबिरुद्ध हामी सबैले शून्य सहनशीलता अपनाऊँ । हिंसा सहेर नबसौं, हिंसा अन्त्य गर्न सबै मिलेर अघि बढौं भन्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np