Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

‘समरेखा’ म्यागजिन होइन, अभियान हो

         भानुसभक्त आचार्य ||   75 Views   ||   Published Date : 13th May 2018 |

Bhanu bhakta Acharya

नेपाली बृहत् शब्दकोश–२०६७ मा ‘समरेखा’भन्ने शब्द छैन । शब्दकोशले शब्द जन्माउने होइन, चलनचल्तीमा भएका शब्दहरुलाई दस्तावेजमा उल्लेख गर्ने हो । हरेक शब्द चलन चल्तीमा आइसकेपछि अथवा भनौं शब्दले कुनै खास अवधारणालाई ग्रहण गरिसकेपछि त्यो शब्दको अस्तित्व स्वीकार गरिन्छ र शब्दकोशमा स्थान दिइन्छ ।
शब्दकोशमा नभए पनि समरेखा शब्द अस्तित्वमा छ । ‘समरेखा म्यागजिन’त्यसको एउटा उदाहरण हो । जसरी मानवअधिकारको दृष्टिकोणबाट हरेक मान्छेको महत्व उत्तिकै बराबरी छ, ठीक त्यसैगरी लैंगिक दृष्टिकोणबाट महिला र पुरुष समान हुन् भन्ने दृष्टिकोणलाई स्थापित गर्न यो अखबार मोफसलबाटै भए पनि राष्ट्रिय रुपमा हुँंकार गरिरहेछ । अर्को शब्दमा लैंगिक समानताको लक्ष्मणरेखा बुझाउने अर्थमा यो शब्दको सिर्जना भएको छ । तर लैंगिक असमानताको खाडल यति गहिरो छ कि महिला र पुरुष समान हुन् भन्दा महिलाहरुले नै पत्याउँदैनन्, पुरुषको त कुरै छाडौं । तसर्थ, शब्दकोशले नचिनेको वा नअपनाएको शब्दजस्तै समरेखाको अवधारणा पनि हाम्रो समाजले पत्याइसकेको छैन, चिनिसकेको छैन र पचाइसकेको छैन । तर छलफल, बहस र वकालतको निरन्तरताले यो अवधारणा समाजमा स्थापित हुने क्रममा छ ।

यसरी यस शब्दले शब्दकोशमा, यसको अवधारणाले समाजमा र ‘समरेखा म्यागजिन’ले आमपाठकका बीचमा स्थापित हुन संघर्ष गरिरहेका छन् ।
हाम्रो पत्रकारितालाई ‘वाचडग’ भनिए पनि यो ‘अनलुकर’ जस्तो छ, जसले देखेको लेख्छ, खोजेर लेख्छ तर सम्बन्धित पक्षले सही दिशामा काम ग¥यो कि गरेन भनेर निरन्तर खबरदारी गर्न जाँदैन । अर्को शब्दमा भन्नुपर्दा नेपाली पत्रकारिताको ठूलो हिस्सा प्रायःऔपचारिक रिपोर्टिङमै चित्त बुझाएर बस्छ । नेपालजस्तो देशमा पत्रकारहरु कुनै न कुनै समूहका जनसम्पर्क अधिकृत जस्ता छन् । एउटा पक्षको सँधैं आलोचना र अर्को पक्षको सधैं चाप्लुसी गर्छन् । उनीहरु आफ्नो पक्षको गल्ती र अर्को पक्षको सही काम कहिल्यै देख्दैनन् र कदाचित् देखिहालेछन् भने पनि लेख्दैनन् । खोज्न पनि जाँदैनन् । बरु, उनीहरुलाई खोज्दै समाचार आफैं आउँछ । समाचार कक्ष बाहिरैबाट कसैले निर्देश गरेअनुसार समाचार बन्छ । पत्रकारले आफ्नो विवेकको उत्तम प्रयोग गर्न सक्दैन । यस्तो अवस्थामा ‘समरेखा’जस्ता म्यागजिनले वाचडगको भूमिका निर्वाह गरेका छन् । रिपोर्ट मात्रै लेखेका छैनन्, सम्बन्धित पक्षलाई झक्झक्याएका छन् र समाजका आवाजविहीनहरुका निम्ति काम गर्न बाध्य बनाएका छन् । यो पत्रकार मात्रै भएर सम्भव छैन । यसमा अधिकारकर्मीको भूमिका पनि मिसिएको छ । त्यसैले यहाँ पत्रकार घटनास्थलको पल्लो छेउमा उभिएर पर्यवेक्षकको रुपमा उभिएको छैन, पहिलो पंक्तिमा उभिएर आवाजविहीनहरुको आवाज बुलन्द गर्न पहलकदमी लिइरहेको छ ।

समरेखा म्यागजिनमा पत्रकारितामात्रै छैन, यसमा मानवअधिकारको आगो पनि सँगै मिसिएको छ । यसलाई नाफाघाटाको परवाह छैन । मेरो विचारमा आर्थिक नाफा यसको ध्येय होइन । कति विज्ञापन आयो वा कति प्रति म्यागजिन बिक्यो भन्ने कुरामा भन्दा कस्तो मुद्दा उठाउन सकियो, समाचारका विषयहरुले कसैलाई न्याय दिन सके कि सकेनन् भन्नेमा समरेखाको ध्येय छ । महिलाअधिकारलाई पुरुषकै दाँजोमा स्थापित गर्ने हुटहुटीले यसलाई चलायमान बनाएको छ । पत्रकारिताको परम्परागत बुझाइमा पाठकको काम पत्रपत्रिका किन्ने र पढिदिने हो । तर, सामाजिक रुपान्तरणको मिसन बोकेका समरेखाजस्ता म्यागजिनमा पाठकले पत्रिका किनेर पढिदिएर मात्रै पुग्दैन । समाजमा भइरहेका अन्यायकालागि सँगसँग हातेमालो गरेर अघि बढ्नु पर्दछ । यस्तो अखबारले पत्रकारलाई मात्रै प्रो–एक्टिभ बनाउँदैन, पाठकहरुलाई पनि सँगै लिएर अघि बढ्छ । त्यसैले ‘समरेखा म्यागजिन’ चलाउनु भनेको पत्रकारिताको मात्रै पनि कुरा होइन । यो सामाजिक रुपान्तरणको एउटा मिसन हो ।

Bhanu bhakta Acharyaमहिलाअधिकार, समानता र समतामूलक समाजका कुराहरु पनि प्रायःमहिलाले उठाउने गर्दछन् । नेपालमा यो संस्कार नै बनिसकेको छ । महिला हिंसासम्बन्धी समाचार लेख्ने ठेक्का प्रायःमहिला पत्रकारलाई छ । महिलाका अधिकारकाबारेमा बोल्नु पर्दा रेडियो÷टेलिभिजनमा महिला नै अघि सर्नुपर्ने प्रचलन नियतिजस्तै बनेको छ । नेपाल टेलिभिजनकी आरती चटौत, सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्मा, घटना र विचार साप्ताहिककी सम्पादक बबिता बस्नेत लगायत केही परिचित नामहरु महिलाअधिकारलाई पुरुषहरुकै समरेखामा स्थापित गर्न केन्द्रबाट तल्लीन छन् । त्यसैगरी लक्ष्मी आचार्यजस्ता कतिपय पत्रकार एवम् अधिकारकर्मीहरु मोफसलबाट यही आन्दोलनमा होमिएका छन् । तर, महिलामात्रै अघि सरेर यो समरेखा कोर्न सकिन्न । यो रेखा कोर्नकालागि पुरुषको पनि उत्तिकै सक्रियता र सहभागिता आवश्यक पर्दछ । यो यस्तो सामाजिक रेखा हो, जसमा दुवै पक्षको हैसियत बराबरी हुनुपर्दछ । निगाहमुखी सम्बन्ध होइन अधिकार र कर्तव्यमुखी सम्बन्ध स्थापना गर्नुपर्दछ ।
आशा गरौं, समकक्ष, समकोण, समकालीनशब्दहरु जस्तै नेपाली बृहत् शब्दकोशमा अब छिट्टै ‘समरेखा’शब्द स्थापित हुनेछ । साथै, यसको मर्मलाई पनि दैनन्दिन जीवनमा कार्यान्वयन गर्न सकिने छ । त्यसकालागि यो समरेखा अभियानमा पत्रकार, लेखक, पाठक लगायत सबै पक्षहरु होमिनु पर्दछ । सम्बन्धित सबैलाई अग्रीम शुभकामना ।

भानुसभक्त आचार्य
ओटावा विश्वविद्यालय, क्यानडा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np