Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

समरेखाको अबको बाटो

         टीकाराम उदासी ||   92 Views   ||   Published Date : 13th May 2018 |

tikaram udasi

नेपालमा नारी अधिकारमुखी आन्दोलनको प्रारम्भ इतिहासको कुन मोडबाट भएको हो भन्ने प्रश्नको तथ्यगत उत्तर सायद अझैसम्म कसैले दिनसकेको छैन, यद्यपि राणाकालीन समयमा योगमाया आदिको सुधारवादी अभियानसँगै यसले एउटा पृथक पहिचान मुखरित गर्न सक्षम भएको सन्दर्भ उल्लेखनीय रहेको विदित हुन आउँछ । राणाशासनको अन्त्यपछि भने शिक्षा, राजनीति र पत्रकारिताका माध्यमबाट नेपाली नारीहरुले आफ्ना अधिकारका बारेमा समयसमयमा आवाज उठाउँदै आइरहेका छन् । पत्रकारिता जगत्मा चाँहि २०१० सालपछि काठमाण्डौंबाट स्वास्नी मान्छे भन्ने पत्रिकाको प्रकाशन भएसँगै नारी अधिकारका विषयले प्राथमिकता पाउन थालेको इतिहास छ । यिनै ऐतिहासिक पृष्ठभूमिहरुका बीचमा राप्तीबाट २०६८ सालदेखि समरेखा द्वैमासिक पत्रिकाको प्रकाशन हुन पुगेको देखिन्छ ।
लैङ्गिक समानता र सामाजिक न्यायका लागि नयाँ युगबोध राष्ट्रि«य दैनिकको सहप्रकाशनका रुपमा प्रकाशित तथा लक्ष्मी आचार्यद्वारा सम्पादित समरेखा म्यागजिनको पहिलो अङ्क २०६८ सालको मंसिरमा निकै उत्साहका साथ सार्वजनिक गरिएको थियो । यो टिप्पणी छापिएको अङ्कसम्म गन्दा यसका हालसम्म २७ वटा अङ्कहरु प्रकाशित भएका देखिन्छन् । बीच बीचका केही अङ्कहरुलाई थाँती राखेर भन्ने हो भने समरेखा पत्रिका नियमितजसो नै पाठकहरुसमक्ष आइरहेको स्पष्ट हुन्छ । चालीस पृष्ठमा समेटिएर आउने यसभित्रका सबैजसो सामग्रीहरु नारीकेन्द्रित नै रहेका देखिन्छन् । विचारोत्तेजक सम्पादकीय, नारीसम्बन्धी कुनै आलेख, कुनै अगुवा नारीसँगको अन्तर्वार्ता, नारीसम्बन्धी स्थानीयदेखि राष्ट्रि«««य र अन्तर्राष्ट्रिय समाचारहरु, कुनै समसामयिक सन्दर्भ वा कुनै विवादास्पद संस्कृतिक प्रचलनमाथिको बहस, महिला सहभागिताबारेका लेखरचना अनि साहित्य विशेष यसका नियमित सामग्रीहरु रहेका देखिन्छन् । त्यसबाहेक महिलामाथि बेलाबखत भएगरेका उत्पीडनहरुको विश्लेषण, महिला जागरण, आयआर्जन र सशक्तीकरणका क्षेत्रमा भएका प्रयासबारेका समाचार वा फिचर, महिलाबारे लेखिएका पुस्तकहरुको समीक्षा, मनोविमर्श, स्वास्थ्य टिप्स, सन्देशमूलक तस्बिरहरुको प्रकाशनले पनि समरेखालाई स्तरीय र विविधतायुक्त बनाउन उत्तिकै सहयोग गरिरहेका छन् ।
त्यसो त यतिबेला नेपाली पत्रकारिता क्षेत्रमा अनेक थरिका नारीप्रधान पत्रिकाहरु प्रकाशित भइरहेका छन् । प्रकाशन प्रति, रङ्गीन कलेवर वा साजसज्जा र पाठक अनुपातका दृष्टिले अन्य ठूला सञ्चारगृहबाट प्रकाशित भइरहेका नारीप्रधान व्यवसायिक पत्रिकाहरुसँग समरेखाले प्रतिस्पर्धा गर्न नसक्ला तर नारीसम्बन्धी उपयोगी तथा उद्देश्यमूलक सामग्रीहरुको संयोजनका दृष्टिले समकालीन नेपाली पत्रकारिता क्षेत्रमा समरेखाले आफ्नो पृथक र विशिष्ट पहिचान बनाउन सफल देखिएको छ । समाचार र फिचर संयोजनका दृष्टिले मूलतः राप्ती क्षेत्रलाई नै आफ्नो आधारभूमि बनाइरहेको यस पत्रिकाले बेलाबखत समसामयिक राष्ट्रिय विषय र सन्दर्भहरुलाई पनि उत्तिकै प्राथमिकतामा राखेर प्रकाशन गर्दै आइरहेको देखिन्छ । यसभित्र प्रकाशित अधिकांश सामग्रीहरुले आजको नेपालको राजनीति, पत्रकारिता, कानुन, संस्कृति आदि क्षेत्रमा नारीहरुको स्थितिलाई नै प्रस्तुत गरिरहेका देखिन्छन् । यस अर्थमा समरेखा आजको नेपाली समाजमा विद्यमान नारीहरुको स्थिति र भूमिका दुबैलाई एकैसाथ देखाउने एउटा विश्वासिलो आँखीझ्याल हो भन्दा अतिशयोक्ति हुँदैन । समग्रमा समरेखाको आजसम्मको यात्रा जनपक्षीय पत्रकारिताकै एउटा महत्वपूर्ण उपक्रमका रुपमा स्थापित भएको देखिन्छ ।
मैले माथि उल्लेख गरेका विषयहरु नै सायद समरेखा म्यागजिनका सकारात्मक पक्ष वा यसले आजसम्म गरेका यात्राका मूल प्राप्तिहरु हुन् । स्वाभाविकै रुपमा यसका केही आफ्नै सीमाहरु पनि अवश्य छन् । यसको समग्र प्रकाशन यात्राक्रम र दृष्टिगोचर भइरहेको गतिलाई अवलोकन गर्दा यसका केही सीमाहरुका बारेमा पनि समयमै गम्भीर बन्न जरुरी छ भन्ने मलाई लाग्दछ । यसले मूलतः सार्वजनिक भइसकेका वा चर्चामा आइसकेका विषयवस्तुहरुलाई नै आफ्नो प्राथमिकतामा राखिरहेको वा पछ्याइरहेको देखिन्छ । तीबाहेक समाजमा कतिपय नारीबारेका यस्ता विषयहरु पनि विद्यमान छन्, जसको उत्खनन अझै हुनसकिरहेको देखिदैन । यसतर्फ पनि अब समरेखाले आफ्नो ध्यान केन्दित गर्नु पर्दछ । यस्तै, प्रकाशित कतिपय समाचार, लेख वा फिचर महत्वपूर्ण हुँदाहँुदै पनि तिनको विस्तृत चर्चा वा विश्लेषण बाँकी नै रहेको पाठकहरुलाई आभास हुने गर्दछ । अब यसतर्फ पनि ध्यान जानु पर्दछ । साथै समाजका दलित, जनजाति र सीमान्तीकृत समुदायका महिलाहरुबारे अझै खोज र अनुसन्धान गरी समरेखाले सार्वजनिक गर्नुपर्ने अनेकौं विषयहरु रहेका छन् । यसैगरी राज्यका हरेक तहमा नारीहरुको सार्थक पहँुच, सहभागिता र हस्तक्षेपका बारेमा पनि अझै गतिला विमर्श चलाउन आवश्यक देखिएको छ । समाजमा स्थापित र परिचित नारीहरुलाई मात्रै आफ्नो केन्द्रभागमा राख्ने गर्नाले यसको पवित्र उद्देश्य सायद प्राप्त गर्न सकिदैन । निश्चय नै हाम्रो सामाजिक संरचना र संस्कृतिकै कारण नारीहरु पछाडि परेका छन् तर सामाजिक न्याय र समानताका लागि चालिने नारीहरुका सबै अभियानहरुमा समाजका सचेत पुरुषहरुको सक्रिय र सहयोगी भूमिका अनिवार्य छ भन्ने सिद्धान्तबाट भने समरेखा कहिल्यै विचलित हुनेछैन भन्ने विश्वासका साथ यो छोटो टिप्पणीलाई अहिले अन्त्य गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np