Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

महिला जागरणको उत्कृष्ट नमूना

         नारायणप्रसाद शर्मा ||   85 Views   ||   Published Date : 13th May 2018 |

narayan prasad sharma

‘समरेखा’ पत्रिकाको उदय समयको उपज हो । यो दाङबाट कसरी टुसाउन सक्यो ? यसको पनि सानोतिनो इतिहास छ । जसरी धानको बाला झुल्न माटो, पानी, बिऊ, श्रमशक्ति (हलो, कोदालो, हली आदि) परिबन्द मिल्नुपर्छ र मान्छे भोकमरीबाट बच्न सक्छ त्यसरी नै दिमागी खुराक लिन श्रुति स्मृति पुराण हुँदै भाषा लिपी छायाको सहारा लिएर ‘समरेखा’हरु झुल्किन्छन् ।
पक्कै पनि विस्मृतिको गर्भमा हराउन नदिन केही इतिहास बनिसकेका कुरा खोतल्नुपर्ने हुन्छ । संभवतः यो खोतल्ने पात्र म नै हुनुपर्ने थिएन कि ? किनकि यसो गर्दा आफ्नै गाथा आफै गाएको न सुहाउने पनि हुनसक्छ । तर पनि यस पत्रिकाका सम्पादक लक्ष्मी आचार्यले समरेखाका ३ प्रति अंक दिएर केही लेख्न अनुरोध गरेकोले समरेखाकै उदयको इतिबृत्त खोजेको जस्तो लाग्यो । त्यसैले दुईचार अक्षर कोर्न बसें ।
राती ३ बजे निद्रा भङ्ग हुनासाथ समयको सदुपयोग गर्ने बानी बसाल्ने प्रयत्नमा हुने गर्छु । यही मौका छोपेर यसो यताउती गर्दा मोवाइलतिर आँखा लाग्यो । खोल्नासाथ युट्युबमा इतिहास पुरुष सत्यमोहन जोशीको कला संस्कृति, भाषा, साहित्य र सभ्यताबारे अन्तर्वार्ता आइरहेको थियो । झण्डै एक घण्टा त्यसैमा भुलेछु । उहाँले त्यसरी कुरा गर्दा उहाँको गाथाभरी अरुअरुको गाथासँग अटुट ढङ्गले गाँसिएको अनुभूति गरें । त्यसले समरेखाबारे लेख्न अप्ठ्यारो ठहर्यो ।
समरेखा युगबोधको सहप्रकाशन हो । यो सँग युगबोधको सम्बन्ध गाँसिएको छ । युगबोधले चालिस वर्ष पार गरिसकेको छ । युगबोधले जनस्तरमा पहिलो प्रेस दाङ्गमा देखायो । पञ्चायती प्रशासनले प्रेसमाथि ताल्चा लगाईदिँदा अर्को प्रेस खुला आँगनमा खडा गर्नुपरेको त्यस बेलाको तपस्याको सम्झना हुन्छ । आज युगबोध रङ्गीन छपाईमा आइपुग्नु र उसकै सह प्रकाशनमा समरेखा झुल्कनुमा युगबोधको उध्र्वोन्मुखी विकास ठान्छु म । यो एउटा नयाँ सन्तानको उदय पनि भन्न सकिन्छ ।
युगबोधको एउटै उद्देश्य थियो समाजमा जागरण फैलाउनु । यसमा कति सफलता, असफलता के के भयो ? त्यसको मूल्यांकन हुँदै जाला । मैले बुझेसम्म समरेखाका सबै अंक आफै बोल्छन् । यो साङ्गोपाङ्ग महिला जागरणमा केन्द्रीत भेटिन्छ । उद्देश्यमा खोट लगाउने ठाउँ छैन किनकी आदिम युगभित्रको मनुष्य हुँदै पितृसत्ता भोग्दै समरेखाकाल अर्थात् महिला पुरुष जीवनका दुई जोडामा देखिने विषमता हटाउनुपर्ने जस्तो चोखो चाहनामा खोट लगाउने ठाउँ देखिन्न ।
आजभन्दा ८५ वर्ष अघिको कुरा, म ठूली आमाको काखमा निदाएको बेला उठ भाले बास्यो भन्दा निद्रा भंग भएको सम्झन्छु । उसबेला हाम्रो परिवार हिउँदमा दांग र वर्खामा औलो छल्न कोट लाग्ने गर्दथ्यो । दांगमा उठ भाले बास्यो को अर्थ हुन्थ्यो– उठेर धान कुट । चाकी पिस । घर लिपपोत गर आदि आदि । कोटमा बस्दा सवारीकोटदेखि एकघण्टाको दुरीमा रहेको कुँडापानी पुगेर पानी बोकेर ल्याउनु आदि आदि । बुहारीहरुलाई यस्तो बुहार्तन थियो भने सासूआमाहरुलाई घरभित्रको रेखदेख गर्ने जिम्मा ।
त्यो समय नै त्यस्तै थियो । पढाई लेखाईको कुरा गरौं भने सयघरमा एकजना साक्षर मान्छे पाउने बेला हो त्यो । खासगरी दांग उपत्यकामा थारुहरुको संख्या ह्वात्तै बढी थियो । मेरो आफ्नै गाउँमा समेत थारुहरुले लेप्चे लगाउँथे । हामी अल्पसंख्यक ब्राम्हणहरु करी करीब सबै साक्षर थिए भने बाहुनी बज्यैहरु सबै निरक्षर । बाँकी क्षत्री र अन्य जातिमा शिक्षा अति नै पातलो थियो । २००७ सालको क्रान्तिपछि मात्रै शिक्षाको हावा चल्यो । सबैमा अधिकारको खोजी हुन थाल्यो । त्यसमा पनि महिला जागरणको अत्यधिक खाँचो छ । समरेखाले यो भारी बोक्न लागेकोमा म मा साह्रै सन्तोषको अनुभूति छ ।
त्यो बेला श्रमिक महिलाहरुमात्रै होइन, खानदानी महिलाहरु पनि दिनमा १८ खण्टा का गर्थे । मातृसत्ताको युग समाप्त भएर शासनको बागडोर पुरुषहरुमा आईपुग्दा महिलाहरुको श्रममा रजाईं गर्ने प्रवृत्तिको विकास हुँदै गयो । समयको किटान गर्न गाह्रो परे पनि प्राचीनकालमा बैदिक सभ्यताको वरपर युद्धमा समेत महिलाहरुको योगदानको ठूलो बर्चश्व थियो । –देव दानवको युद्धमा रणचण्डी शक्ति स्वरुपा दूर्गाको महिमामण्डित बर्णन पाईन्छ । त्यसैको प्रतिफल पछिसम्म ‘यत्र नार्यष्तु पूज्यन्ते रमन्ते तत्र देवता ः’ भनेर नारी सम्मान गरेको भेटिन्छ । त्यसपछि त नारी जीवन अधिकारको दृष्टिले दयनीय बन्दै गयो । छिमेकमा भारतीय स्वतन्त्रता संग्राम चल्ने बेलासम्म पनि ‘अबला जीवन हाय तुम्हारी, यही कहानी आँचल में दुध आँखों में पानी’ भन्न थालियो । त्यसबेलाभन्दा अघि नै त्यहाँ ‘ढोल गवाँर शुद्र पशु और नारी, ये सब ताडन के अधिकारी’ भन्न थालियो । त्यसभन्दा अघि बुद्धकालीन सभ्यता समाप्त गर्नेताका शंकराचार्यले महिलाहरु अविश्वसनीय भन्न थाले । मुगल आधिपत्यबाट महिलाहरुलार्ई जोगाउन राजपरिवारका महिलाहरुलाई बाहिर हिँड्न निषेधै गरेर ‘असूर्यं पश्या राज द्वारा’ अर्थात महिलाहरु बाहिर निस्कनै हुन्न भन्न थालियो ।
पूर्वमा महिलाहरुको यो अवस्था थियो भने पश्चिममा पनि महिलाहरुको अवस्था दयनीय थियो । परिवार, नीजि सम्पत्ति र राज्यसत्ताको उत्पत्ति भन्ने पुस्तकमा एंगेल्सले आजभन्दा डेढसय वर्ष अघिसम्मको संक्षिप्त तर भरपर्दो इतिबृत्त प्रस्तुत गरेका छन् । पूर्वमा होस् वा पश्चिममा महिलाहरुलाई हेर्ने दृष्टिकोण नै अत्यन्त संकीर्ण छ । प्रजातन्त्रको जननी मानिने मुलुकमा समेत सन् १९२५ देखि मात्रै महिलाहरुले मतदानको अधिकार हासिल गरेका थिए । आजको बजारु पूँजीवादी उपभोक्तावादी समाजमा महिलाहरुलाई बिज्ञापनको बस्तुमा झारिएको तितो सत्य सबैका सामू छँदैछ ।
यति हुँदाहुँदै पनि आजको महिला जागरण ल्याउनुमा पश्चिमको ठूलो भूमिका पनि स्वीकार गर्नैपर्ने हुन्छ । कारण लोकतन्त्रको शंघनाद बिना महिला अधिकारको शंघनाद पनि संभव छैन । यसरी ढिलै भए पनि समरेखाले सशक्त ढंगले बडो सुझबुझसाथ महिला जागरणमा सहयोग पु¥याएको कुरा यसका हरेक अंक पढ्दा प्रमाणित हुन्छ ।
नेपालको सन्दर्भमा भन्नुपर्दा महिलाहरु पछाडि पर्नुमा थुप्रै कारणहरु छन् । ती मध्ये पुरुषप्रधानता पितृसत्तात्मक सोंच पहिलो तगारो छ । जानी नजानी अचेतन मनमा घुसेको तगारो हटाउन आर्थिक, राजनीतिक, सामाजिक, धार्मिक एवं साँस्कृतिक परिवर्तनको खाँचो छ । यो पनि अकस्मात प्राप्त हुने होइन । क्रमशः जीवनमा देखिने परिवर्तनका सम्पूर्ण सम्बाहक शक्तिको शतत् जागरुकताको खाँचो छ । यसमा समरेखाको सशक्त भूमिका बनिरहोस् हार्दिक शुभेच्छा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np