Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

जहाँ भत्ताका लागि जन्माइन्छ, धेरै सन्तान

         कुमार श्रेष्ठ ||   43 Views   ||   Published Date : 1st April 2019 |

मधेसी समुदायमा परम्पराका नाममा बालविवाह र पहाडी समुदायमा प्रेमविवाह गरेर बालविवाह गर्नेको जमात ठूलो छ ।

बाँके । ‘सर, मेरो यो छोराको नाम राखिदिनु न ।’ काखमा च्याँपेको छोरालाई देखाउदै ननकैया कुचबधियाले भनिन्, तिहार अघि जन्मेको हो । राम्रो नाम सोंच्न नसकेर अहिलेसम्म यसको नाम राख्न सकेका छैनौ ।’
ननकैयालाई बच्चा जन्मेको दिनसम्म थाहा छैन । भन्छिन, ‘तिहार आउन ५÷७ दिन बाँकी थियो, यो जन्मिँदा । ननकैयाको काखमा रहेको बालक उनको छैठौं सन्तान हो । रोशन, आशा, गुडिया, अन्जु र ज्योती उनका छोराछोरी हुन् । ननकैयालाई आफ्नो नाबालक छोराको नाम टोलमा कसैसँग नमिल्ने चाहिएको छ ।
‘तपार्इं कति वर्ष हुनुभयो ?’ ननकैयालाई त्यो पनि थाहा छैन । हेर्दा ३० वर्ष आसपासकी ननकैयाले ६ सन्तान जन्माइसकेकी छन् । ‘अर्को पनि बच्चा जन्माउने होला नि ?’ लाज मान्दै ननकैयाले भनिन्, अब जन्माउँदिन, पुग्यो । ६ सन्तान त यहाँ सबैका छन् ।’

जानकी गाउँपालिका–३, इन्द्रपुरमा लोपोन्मुख जाती कुचबधियाको ४६ घर छन् । सरकारले यो जातीलाई प्रति टाउको मासिक दुई हजार रुपैया भत्ता दिने गर्दछ । भत्ताकै लागि यी जातीले सन्तान बढाइरहेका छन् ।
नेपालगञ्ज बजारसँग जोडिएको इन्द्रपुरमा ६÷७ सन्तान त सामान्य नै मानिन्छ । ‘धेरै सन्तान किन जन्माउनु हुन्छ ?’ ६ सन्तानकी आमा फुलमाता भनिन्, ‘धान रोपेपछि त फल्छ नि ।’
लैंगी कुचबधियाका सात सन्तान छन् । सन्तान धेरै भएकाले उनी पैसावालामा गनिन्छिन् । किनकी, उनले धेरै भत्ता बुझ्छिन् । लैंगीका ५ छोरी र दुई छोरा छन् । गीता कुचबधियाका चार छोरा र दुई छोरी छन् । सोना, मिना, नन्दवाका पाँच÷पाँच सन्तान छन् ।

इन्द्रपुरमा रहेका कुचबधिया प्रति ऐलानी जग्गामा बसेका छन् । सिलौटा, जाता, सनपाटको डोरी बेचेर यी जातीले गुजारा चलाउने गर्दथे । बजारमा मिक्चर, प्लाष्टिकका डोरी आएपछि आफ्नो व्यवसाय धरापमा परेको पटवारी कुचबधिया वताउँछिन् । ‘अहिले त व्यवसाय हुन छाड्यो, सरकारले दिने भत्ताले जीविका चलेको छ, पटवारीले भनिन् ।

बाँकेको इन्द्रपुर, नेपालगञ्जको फुल्टेक्रा र मनिकापुरमा कुचबधियाको बसोबास रहेको छ । सरकारले लोपोन्मुख जातीमा राखेर भत्ता दिने व्यवस्था गरेपछि यी जाती सन्तान बृद्धिमै लागेका छन् । ‘अझै बच्चा जन्माउने विचार छ कि छैन ?’ ६ सन्तानकी आमा गीता कुचबधियाले भनिन्, अब जन्माउँदिन । पाँच वर्षे औषधी नरप्लान्ट राखेको छु ।’ कुचबधियामा बालविवाह हुने गर्दछ । ५÷६ वर्षमै मग्नी (टीकाटालो) गर्ने र १२÷१३ वर्ष भएपछि विवाह गरिदिने गरिन्छ ।

घरमै जन्माउँछन् बच्चा
नेपालगञ्ज बजारसँगै जोडिएको गाउँ भए पनि इन्द्रपुरका कुचबधियाले घरमै बच्चा जन्माउँछन् । दुई÷तीन दिनसम्म जन्मिँदै जन्मिएन भने बल्ल अस्पताल लैजान्छौ, नामसमरिया कुचबधियाले भनिन् ।
कुचबधियामा महिला स्वयंसेविका कोही छैनन् । ब्यथा लागेपछि सुत्केरी गराउन जान्ने भनिएका केही महिला छन् । उनीहरुले नै घरमै सुत्केरी गराउन सहयोग गर्छन् ।

‘अहिलेसम्म अस्पतालमा गएर कसैले बच्चा जन्माएका छैनन् ?’ गाउँका अगुवा नन्दवा कुचबधियाले भने, एकजनाले मात्रै अस्पतालमा बच्चा जन्माएकी छन् । तीन दिनसम्म बच्चा नजन्मेपछि उनलाई अस्पताल लगिएको थियो । अप्रेसन गरेर बच्चा निकालियो ।’

रेखा कुचबधियाले मात्रै अस्पतालमा गएर सन्तान जन्माएकी थिइन् । ब्यथा लागेको तीन दिनसम्म बच्चा नजन्मेपछि रेखालाई भेरी अञ्चल अस्पतालमा लगिएको थियो । रेखाले भनिन्, अस्पताल लगेकै दिन अप्रेसन गरर छोरा निकालियो ।’ डाक्टरले किन ढिला गरेको भनेर गाली गरेनन् ? रेखाले थपिनन्, ‘तीन दिनसम्म घरमा राखेको कुरा कसैले भनेनांै ।’

रेखाको अस्पतालमा जन्मिएको छोराको नाम सूर्या राखिएको छ । ‘ओ हो, अस्पतालमा जन्मिने शौभाग्य पाएछ । यसको नाम त भेरी राख्नु पथ्र्यो नि ? रेखालगायत कुचबधिया मज्जाले हाँसे । कुचबधियामा बालविवाह गर्ने र धेरै सन्तान जन्माउने होड नै रहेको छ । नियमित गर्भ जाँच, अस्थायी साधनको प्रयोग कम नै हुने गरेको छ ।

बच्चाको उमेर थाहा छैन, विहेकै हतारो
फोटोमा खाना खाइरहेका छोरालाई देखाउदै गीता कुचबधियाले भनिन्, मेरो जेठो छोरा विस्मासको अमाजको यत्रै छोरीसँग मग्नी भएको थियो । पछि उनीहरुले छोरी अति नै सानो भएको भन्दै मग्नी तोडिदिए ।’
गीताले देखाएको छोरा दश वर्षमाथिका छैनन् । अमाजुले मग्नी तोडेपछि दिदीको छोरी खुश्बुसँग मग्नी गरेको गीताले बताइन् । ‘मग्नी गरिसक्यौं । अब छिट्टै विवाह गर्छौं, गीताले अगाडि नै बसेकी खुश्बुलाई देखाउँदै भनिन्, यही हुन्, मेरो हुनेवाला बुहारी ।’
गीतालाई आफ्ना ६ छोराछोरी कतिकति वर्षका भए थाहा छैन । गाउँतिर कतै गएका जेठो छोरा विस्मासको उमेर सोध्दा उनले आफ्नो काँध देखाउदै भनिन्, यत्ति नै अग्लो भइसकेको छ ।’
झुप्रो घरमा जीवन गुजारेकी गीताले जनता आवास कार्यक्रमबाट पैसा पाएर पक्की घर बनाएकी छन् । चार छोरामध्ये तीन छोराको मग्नी भइसकेको छ । हेर्दा उनका छोराहरु दशदेखि १५ वर्षका देखिन्छन् ।
हुनेवाला बुहारी गीतासँगै आएर खटियामा बसिन् । कति वर्षको भयौ, विहे कहिले गर्ने ? खुश्बुले भनिन्, मग्नी भइसक्यो । अब विहे गर्ने हो । १५ वर्ष भइसकें ।’
कुचबधियालाई शहरका राउटेको रुपमा हेरिन्छ । राउटेको घर छैन । उनीहरुको प्रति ऐलानी जग्गामा घर छ । खेती त दुवैले गर्दैनन् । हस्तकला बनाउने कला दुवै जातीसँग छ । बाँकेको इन्द्रपुर, नेपालगञ्ज र मनिकापुरमा रहेका कुचबधियामा बालविवाह व्यापक छ । शहर बजारका होटलमा बालविवाह रोक्न गोष्ठी, सेमिनार, अन्तरक्रिया गर्नेहरु कुचबधिया बस्तीमा पुगेका छैनन् ।
सरकारले प्रतिव्यक्ति मासिक दुई हजार भत्ता दिने भएकाले सन्तान बृद्धिकै लागि कुचबधियामा बालविवाह हुने गरेको छ । ‘२० वर्ष नपुगी विवाह गर्नु हुँदैन नि भन्ने थाहा छैन ? गीताले भनिन्, खै हामीलाई कसैले भनेका छैनन् ।’
बस्तीको नजिकै स्कूल छ । कुचबधियाका बालबालिकाहरु पढ्न जाँदैनन् । केहीले भने छोरालाई नीजि स्कूलमा पढाएका छन् । ‘हाम्रो गाउँमा स्कूलमा हामीलाई मास्टरले जानी जानी फेल गराइदिन्छन्,’ गीताका छोराले भात खाँदै भने ।
कुचबधियामा श्रीमतीले श्रीमान्को नाम काढ्दैनन् । हुनेवाला श्रीमानको नाम बताउन जति नै कर गरेपनि खुश्बुले भनिनन् । ‘मग्नी भइसकेछ । कुरा त हुन्छ नि ?’ खुश्बुले लजाँउदै भनिन्, घरै यहीँ छ । भेट भइरहन्छ । कुरा पनि हुन्छ ।’
कुचबधियामा ८\१० वर्षको उमेरमै मग्नी हुने गर्दछ । मग्नी भएको केही वर्षपछि विवाह हुन्छ । २० वर्ष पुगेर विवाह भएका त कोही छैनन् होला भन्छन्, स्थानीय अगुवाहरु । त्यसै पनि बाँके जिल्ला बालविवाह बढी हुने जिल्लामै पर्छ । मधेसी समुदायमा परम्पराका नाममा बालविवाह र पहाडी समुदायमा प्रेमविवाह गरेर बालविवाह गर्नेको जमात ठूलो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np