Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

बालयौन जिज्ञासा : सम्बोधन की सजाय

         आभास बुढाथोकी ||   103 Views   ||   Published Date : 1st April 2019 |

बढ्दो उमेरसँगै शारीरिक परिवर्तनका कारण यौन जिज्ञासा उठ्नु स्वाभाविक हो  ।  तर यस्ता कुरा अभिभावक वा कसैसँग भन्न नसक्दा उनीहरुले सही, गलत के हो छुट्याउन सक्दैनन् ।


घोराही । दुई वर्षअघि घोराही–५ धर्नाका नौ वर्षीय बालकलाई आमा अञ्जान पुरुषसँग ढोका लगाएर कोठाभित्र पस्दा अचम्म लाग्यो । उनले लुकेर बाहिरको प्वालबाट हेरे । भित्र जे देखे त्यो कुरा उनको कलिलो मस्तिष्क ठम्याउन सकेन ।

पछि उनले आमासँग पनि सोधे । जवाफमा खेल खेलेको भन्ने पाए । त्यसपछि उनले यो जिज्ञासा मेटाउन छिमेकी छ वर्षीया बालसाथीसँग यही कुरा दोहो¥याए, जुन उनले देखेका थिए । पछि बालिकाले आफ्नो यौनांग दुखेको आमासँग भनेपछि मात्र कुरा बाहिर आयो ।

एक वर्षअघि शान्तिनगर गाउँ पालिका श्रीगाउँकी १४ वर्षीया बालिकाले सात वर्षीय बालकमाथि करणी गर्दै आइरहेकी थिइन् । बालकले आमालाई आफ्नो यौनांग वरपर दुख्ने कुरा भनेपछि मात्रै घटना बाहिर आयो । उपचारका लागि बालक र बालिकाको परिवार साविक राप्ती उपक्षेत्रीय अस्पतालमा रहेको लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापनमा आइपुगे । फोकलपर्सन एवं मनोबिमर्शकर्ता राधा पौडेलले बालिकालाई एक्लै राखेर सोधपुछ र परामर्श दिएपछि ती बालिकाले उमेरसँगै शरीर परिवर्तनले यौन चाहना बढेपछि बालकमाथि बलात्कार गरेको कुरा खोलिन् ।

पछिल्लो समय प्रहरी र अदालतमा बालविज्याइका मुद्दाहरु बढ्दो देखिन्छ । जिल्ला अदालत दाङमा ०७२÷०७३ मा आठ, ०७३÷०७४ तीन र ०७४÷०७५ मा ६ वटा मुद्दा दर्ता भएका छन् । जसमा यौन अपराधका घटनाहरु बढी छन् । मुलुकी अपराध (संहिता ऐन) २०७४ को दफा ४५ बमोजिम करणीलगायत अन्य आपराधिक क्रियाकलापमा संलग्न भएमा १० वर्षमुनिका बालबालिकालाई सजाय नहुने , १० देखि १४ वर्षसम्मका बालबालिकालाई छ महिना कैद (बाल सुधारगृह) हुने , १४ देखि १६ वर्षमुनिकालाई उमेर पुगेका व्यक्तिलाई हुने सजायको आधा र १६ देखि १८ वर्षसम्मकालाई दुईतिहाइ सजाय हुने व्यवस्था छ ।

यौन जिज्ञासा बढ्नु स्वाभाविक
बढ्दो उमेरसँगै शारीरिक परिवर्तनका कारण यौन जिज्ञासा उठ्नु स्वाभाविक हो – मनोविमर्शकर्ता राधा पौडेल भन्छिन््–‘तर यस्ता कुरा अभिभावक वा कसैसँग भन्न नसक्दा उनीहरुले सही, गलत के हो छुट्याउन सक्दैनन् । आफूमा उठेको यौन जिज्ञासाबारे उनीहरु मेसो पाउँदैनन् । जसका कारण अञ्जानमा उनीहरुबाट यस्ता घटनाहरु हुनपुग्छन् ।’ मोबाइलमा अश्लील भिडियो , चित्र र प्रत्यक्ष यौन क्रियाकलापको देखासिकी र शारीरिक विकाससँगै यौन जिज्ञासा बढ्दा यस्ता घटना हुनपुग्ने उनले बताईन्

मनोविमर्शकर्ता सुशीला आचार्य पनि यस्तै तर्र्क राख्छिन् । भन्छिन्–‘स्वभावैले बालबालिकाहरु बढी जिज्ञासु हुन्छन् । गलत कुरा छिट्टै देखासिकी गर्छन् । सही गलत छुट्याउन सक्दैनन् । त्यस्तै बढ्दो उमेरमा शारीरिक विकासका क्रममा बालबालिका तथा किशोरकिशोरीमा जिज्ञासा, विपरीत लिंगीप्रति आकर्षण हुनु सामान्य र जैविक प्रक्रिया हो भन्ने कुरा सबैले बुझ्नुपर्छ ।’

बालमनोविज्ञ माधव गौतम किशोरावस्थातर्फ उन्मुख बालबालिकाहरुमा शारीरिक विकाससँगै पश्चिमी संस्कारको प्रभाव र प्रविधिको दुरुपयोगले यौन जिज्ञासा बढ्नु प्रकृतिक भएको बताउँछन् ।
‘एकातिर पश्चिमी संस्कारको गलत प्रभाव पर्दैगएको छ । अर्काेतिर सञ्चारको बढ्दो पहुँचले अश्लीलताजस्ता गलत यौनजन्य गतिविधिबारे उनीहरुले सिको गरिरहेका छन् । यसले उनीहरुमा यौनप्रतिको जिज्ञासा बढाएको छ– उनी भन्छन्– ‘तर हाम्रो समाजले यौनको विषयलाई गोप्य र संकोचको विषय बनाएर राख्ने गर्दा उनीहरुको यौन जिज्ञासा कतै सम्बोधन हुनसकेको छैन । जसका कारण उनीहरुले आफ्नो यौन जिज्ञासा मेट्ने समाधानको बाटो नपाउँदा यस्ता घटना हुनपुग्छन् । तर बालबालिकालाई कानुनी उपचारभन्दा मनोविमर्श उपचारबाट सुधारको बाटोमा बढी जोड दिनुपर्ने उनी बताउँछन् ।
‘बालबिज्याइका घटनाहरुमा कानुनी प्रक्रियादेखि सुधारगृहहरु पूर्ण बालमैत्री छैनन् । जसले उनीहरुको मनोविज्ञानमा झन् ठूलो असर पर्छ । समाजमा पुनःस्थापना हुन पनि गाह्रो पर्छ । जसका कारण भोलिका दिनमा उनीहरु झन् अपराधको बाटोतिर जानसक्छन्– मनोविज्ञ गौतम भन्छन्– ‘त्यसकारण उनीहरुलाई कानुनी उपचारको बाटो भन्दा पनि निरन्तर मनोविमर्श उपचारबाट र समयमै यौन शिक्षा दिन सके भविष्यमा असल नागरिक बनाउन सकिन्छ ।

लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्रकी फोकलपर्सन एवं मनोविमर्शकर्ता पौडेल पनि बाल अपराध अञ्जानमै हुने हुँदा दण्ड सजायभन्दा उचित परामर्श दिइनुपर्ने बताउँछिन् ।
‘बाल अपराधलाई ठूलो विषय बनाउन आवश्यक छैन । बरु उचित परामर्श दिएर सही बाटोतिर लाग्न प्रेरित गर्नुपर्छ । कानुनी सजायमा मात्रै जोड दिने हाम्रो अभ्यासले अञ्जानमै बालबालिकाहरु कानुनको शिकार हुनपुग्छन्– उनी भन्छिन्– ‘यसले भोलि झन् ठूलो अपराध जन्माउने डर रहन्छ । अभिभावकत्व, यौन शिक्षा र नैतिक शिक्षा दिनसके उनीहरुलाई गलत बाटोमा जान रोक्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np