Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

बलात्कार रोक्न सबै गम्भीर बनौं

         ||   5 Views   ||   Published Date : 1st April 2019 |

कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपश्चात हत्या भएको पाँच महिनासम्म अपराधी सार्वजनिक भएको छैन । देशैभर दैनिक कतै सामूहिक त कतै एकल रुपमा बालिका तथा महिला बलात्कारमा परेको समाचार आउने गरेका छन् । नेपाल प्रहरीको तथ्यांक अनुसार गत आर्थिक वर्षमा मात्रै १ हजार ४ सय ८० बलात्कारका घटना दर्ता भएका थिए । नेपाल प्रहरीको यो तथ्यांकलाई आधार मान्ने हो भने हामीकहाँ हरेक दिन चार जना महिला तथा बालिकामाथि बलात्कार हुने गरेको छ । बलात्कार, बलात्कारपश्चात हत्या र यस्ता अति संबेदनशील विषयमा समेत प्रहरी प्रशासनलगायत न्याय क्षेत्रको गैरजिम्मेवार रवैया बिरुद्ध अहिले देशैभरबाट आक्रोश बढ्दै गएको छ, जुन स्वभाविक छ ।

यसरी बलात्कार बढ्नुलाई कतिपयले मोबाइल, फेसबुकजस्ता सञ्चारका माध्यमलाई दोष दिन्छन् । कतिपय यौन शिक्षा नहुँदा बलात्कार बढेको समेत जिकिर गर्छन् त कतिपय बलात्कार रोक्न ‘रेड लाइट एरिया’को समेत माग गर्न भ्याउँछन् । सञ्चार प्रविधिको विकाससँगै बलात्कारका घटना बढेको एउटा कारण हुन सक्छ तर बलात्कारका घटना बढ्नुका पछाडि समाज दोषी छ । हाम्रा सामाजक मूल्य मान्यताहरु दोषी छन् र हाम्रो न्याय प्रणाली दोषी छ । धेरै समाजशास्त्रीहरूले बलात्कारलाई एक जघन्य अपराध र महिलामाथि डर धाक देखाउने, अनादर गर्ने अस्वस्थ समाजको उपजको रुपमा लिने गर्छन् । महिलालाई अपमान गर्ने, होंच्याउने र यौनवस्तुको रुपमा गर्ने व्यवहारको प्रतिफलको रुपमा बलात्कारलाई लिने गर्छन् । अर्काे कुरा हाम्रो जस्तो समाजले यस्ता घटनालाई लुकाउन नै ठीक ठान्छ । बलात्कारका घटनालाई लुकाउने प्रवृत्तिका कारण बलात्कारीको मनोबल बढ्ने गर्छ । मनोवैज्ञानिक दृष्टिमा बलात्कारका अनेक कारण हुन सक्छन् । मानसिक विचलन, व्यक्तित्व विकारहरूका कारण पनि मानिसले बलात्कार गर्छन् । तीमध्ये पुरुषमा हुने पुरुषत्वको अहं एक प्रमुख कारण हो । अर्को बलियो तर्क के छ भने बलात्कार कामुकताका कारणले नभई नियन्त्रण र प्रभुत्वको मनोविज्ञानबाट प्रेरित हुन्छ ।

बलात्कार सामाजिक तथा कानुनी रूपमा पनि एक जघन्य अपराध हो । त्यसैले संसारभर नै बढ्दै गएका बलात्कारका घटनाहरू रोकथाम गर्न हरेक देशले कुनै न कुनै उपायहरू अपनाएका छन् । त्यसो त दण्डसजाय बलात्कारको एक मात्र समाधान होइन । तर पनि दण्ड सजायले केही हदसम्म भए पनि बलात्कारका घटना न्यूनीकरण गर्न सघाउ पुर्याउँछ । बलात्कारमा प्रायः पुरुष नै विशेष रूपले अपराधी देखिन्छन् त्यसैले यौन दुव्र्यवहारको न्यूनीकरण गर्न सबैभन्दा पहिला पुरुषमा महिलालाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन हुन जरुरी छ । यसका लागि नागरिक शिक्षा, समाजिक शिक्षा तथा यौन शिक्षा र मनोवैज्ञानिक परामर्श महत्वपूर्ण हुन सक्छन् ।

महिलाहरूले बलात्कारप्रति सचेत भएर बच्ने उपाय अवलम्बन गर्ने तथा आफू यौन दुव्र्यवहार र शोषणबाट पीडित भएको खण्डमा सम्बन्धित निकायहरूमा उजुरी गर्ने साहस देखाउने हो भने बलात्कारका घटनामा धेरै कमी आउने छ । बलात्कारजस्तो अपराधका घटना हुँदा न्याय खोज्न सडकमा पुग्नुपर्ने अवस्थाको अन्त हुनु जरुरी छ । बलात्कारजस्तो अपराधमा फितलो अनुसन्धान, असंवेदनशील कार्यशैली, घटनालाई हलुका रुपमा लिने प्रवृत्ति न्याय खोज्न जाने ठाउँसम्म देखिँदा निरन्तर बलात्कारका घटना दोहोरिने गरेका हुन् । बनेका कानुनको प्रभावकारी कार्यान्वयन गर्ने कुरा व्यवहारतः देखिन सकेको छैन । यो बिडम्बनापूर्ण वातावरण नबदलिँदै बलात्कार अन्त्य हुँदैन । महिलालाई यौन वस्तुको रुपमा हेर्ने, हेप्ने, अपमानित गर्ने, दोस्रो दर्जाको व्यवहार गर्ने हाम्रा गलत अभ्यासहरु बदल्ने तर्फ प्रशस्त काम हुनु जरुरी छ । हाम्रा व्यवहारहरु बदलयिुन, सोंच बदलियोस् र भएका अपराधमा कठोर दण्ड होस्, पीडित न्याय खोज्न सडक तताउनुपर्ने अवस्थाको अन्त होस् । सबै गम्भीर बन्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np