Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

ज्यालामा विभेद कहिलेसम्म ?

         आभास बुढाथोकी ||   51 Views   ||   Published Date : 1st April 2019 |

नेपालको संविधानले समान कामका लागि लैंगिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव नगरिने कुरा मौलिक हकमा उल्लेख गरिएको छ । तर श्रममा महिला र पुरुष वीचको भेदभाव अहिले पनि कायमै छ । महिलालाई एउटै कामका लागि पुरुषको तुलनामा कम पारिश्रमिक दिने गरिन्छ ।
घोराही ।
५१ वर्षीया फुलमाया विक र उनका भाई ४६ वर्षीय कमल वि.क ज्याला मजदुरी गर्छन् । श्रमथलो एउटै, मेहनत उस्तै । तर फरक ज्याला ।

९ वर्षदेखि ज्याला मजदुरी गर्दै आएकी फुलमायाले दिनको साढे चारसय पाउँछिन् भने कमलले ९ सय पाउँछन् । उनले काम शुरु गरेदेखि नौं वर्षमा ज्याला दुई सयबाट ४ सय ५० सम्मपुगेको छ भने कमलको बढेर नौं सयसम्म पुगिसक्यो । ‘हामीले पाउने र पुरुषले पाउने ज्यालाबीच आधा फरक छ’, फुलमाया भन्छिन्, ‘काममा लाग्ने श्रम एउटै भए पनि ज्यालामा विभेद गरिन्छ ।’

३१ वर्षीया बसन्ता पाण्डेयले तीन तलामाथि बालुवा र सिमेन्टका बोरा काँधमा बोकेर पु¥याउँछिन् । भवन निमार्णमा चाहिने सबै समान उनले नै बोकेर मिस्त्री कहाँ पु¥याईदिनुपर्छ । सम्भवतः भवन निमार्णमा उनले जतिकै श्रम अरुले नगर्लान् । तर ठेकेदारबाट पाउने पारिश्रमिकमा भने पुरुषको तुलनामा उनलाई करिबन आधा दिईन्छ । पुरुषले दिनको आठ सयदेखि एक हजार पाउँछन् भने उनले मात्र पाचँ सय रुपैया पाउँछिन् । भन्छिन्–‘हाम्रो मेहेनत पुरुष सरह छ तर पारिश्रमिक छैन ।’ पारिश्रमिकमा भएको भेदभावबारे धेरै पटक उनले बोल्न चाहिन् । तर ठेकेदारले उल्टै कामबाट निकालिदिने भनेपछि उनले बुझ्दै आएको पारिश्रमिकमै चित्त बुझाउनु प¥यो ।

२८ वर्षीया सीता चौधरीले पनि चारवर्षदेखि घर बनाउने काममा मजदुरी गर्छिन् । पुरुष सरह उनले पनि उतिकै काम गर्छिन् । घर बनाउँदा चाहिने ढुङगा, गिट्टी, वालुवा सबै बोक्छिन् । पुरुष सरह पसिना बगाउँछिन् । तर उनले पाउने पारिश्रमिक भने पुरुषको तुलनामा ठूलो अन्तर छ ।

यी हुन् घोराही उपमहानगरपालिकाभित्र श्रमिक महिलाहरुले खेपेका ज्यालामा विभेदका पीडा । तर अवस्था अन्यत्र पनि फरक छैन । घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिन श्रमिक अधिकार र समृद्धिका लागि समान कामको समान ज्यालालाई कडाइका साथ लागू गर्न पहल गरिरहेको बताए । उनले सोही अनुसारका योजना, कार्यक्रम बनाएर अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे । यी प्रतिवद्धता व्यवहारमा लागू हुन जरुरी छ ।

नेपालको संविधानले समान कामका लागि लैंगिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव नगरिने कुरा मौलिक हकमा उल्लेख गरिएको छ । त्यस्तै संविधानले ३४ अन्तर्गत श्रमको हकको उपधारा १ मा प्रत्येक श्रमिक (पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्ने कामदार वा मजदूरलाई ) उचित श्रम अभ्यासको हक हुने, उपधारा २ मा प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने तथा उपधारा ३ मा प्रत्येक श्रमिकलाई कानून बमोजिम ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने तथा सामूहिक सौदाबाजी गर्न पाउने हक हुने उल्लेख छ ।

त्यस्तै श्रम ऐन २०७४ ले समान कामको लागि पारिश्रमिकमा भेदभाव गर्न नहुने व्यवस्था गर्दै लिङ्गको आधारमा श्रमिकबीच समान मूल्यको काम (इक्वयल भ्यालु अफ वर्क) को लागि पारिश्रमिकमा भेदभाव गर्न हुँंदैन भनेको छ । तर श्रममा महिला र पुरुष वीचको भेदभाव अहिले पनि कायमै छ । महिलालाई एउटै कामका लागि पुरुषको तुलनामा कम पारिश्रमिक दिने गरिन्छ । रोजगारदाता कम्पनीहरूले महिलालाई दोस्रो प्राथमिकतामा राख्दै आएका छन् । निर्माण क्षेत्रमा दैनिक आठ घन्टा काम गर्दा पनि महिला मजदुरले पुरुषको तुलनामा २ सय देखि २ सय ५० रुपियाँ सम्म कम पारिश्रमिक पाउँदै आएको छ । संविधान तथा ऐन कानुन विपरीत भैरहेका यस्ता व्यवहार बदल्न सरकारले प्रभावकारी कदम चाल्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np