Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

समानता, समृद्धि र श्रमका कुरा

         ||   6 Views   ||   Published Date : 1st April 2019 |

लैङ्गिक समानताको चर्चा गर्दै यसवर्षको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आठ मार्च मुलुकभर मनाइयो । समान कामको समान पारिश्रमिक, सुरक्षित कार्यस्थल, समान राजनीतिक अधिकार, अत्यधिक कामको समय कम गराउनुपर्ने, मातृशिशु स्याहार, सुरक्षाजस्ता विषयमा माग राखेर औद्योगिक क्षेत्रका श्रमिक महिलाहरुले शुरु गरेको संघर्ष आच मार्च संसारभर बिस्तारित छ । महिलाले खेप्दै आएका तमाम विभेदको अन्त गरी समानतामा आधारित समाज निर्माणको विषय आठमार्च उठ्ने प्रमुख विषय हुने गरेको छ । विश्वव्यापी रुपमा समानताको चर्चा हुन थालेको निकै लामो समय बितिसकेको छ । नेपालमा पनि संवैधानिक र कानुनी रुपमा महिलाको समान वंशीय हक बाहेक धेरै हदसम्म समानतामूलक प्रावधानहरु संस्थागत भएका छन् । संविधान तथा कानुनको प्रभावकारी कार्यान्वयन र तिनको व्यवहारिक अभ्यासको चरणमा हामी छौं । समृद्धिको नारामा अघि बढेको मुलुकमा यो वर्ष आठमार्चको नारा लैंगिक समानताकालागि समान सोंच र व्यवहार समृद्धिको आधार तय गरियो । नारालाई लक्ष्यमा पुग्ने मार्गका रुपमा लिने हो भने समृद्धि हासिल गर्न सबैले समानतामूलक व्यवहार देखाउनु नै पर्छ ।

देशको जनसंख्याको आधाभन्दा बढी महिला छन् । समानताको कुरा गर्दा आधाबढी जनसंख्याको प्रत्यक्ष सरोकारको विषयको रुपमा प्राथमिकताकासाथ हेरिनु पर्छ । विकास, उन्नति या समृद्धि त्यसै हुँदैन । त्यसका पनि विश्वमा विभिन्न प्रकारका मोडेल, मान्यता, र सूत्र हुन्छन् । एकदुइटा सुरुङमार्ग, फास्टट्रयाक, रेल, उद्योग कलकारखाना व्यापार, उत्पादन, विद्युत गृह, अग्ला भवन निर्माण गर्दैमा मुलुक समृद्ध भैहाल्दैन । अहिले राजनीतिक दलहरूले आश्वासन दिने स्मार्ट सिटीको सपनाले मात्रै पुग्दैन । जनताको दैनिक जीवनस्तर, जनजीविका रहनसहन, शिक्षा, स्वास्थ्य, पौष्टिक आहार, वास, सुरक्षा, न्याय, समानता, सम्मानजस्ता सवालमा बद्लाव आउनैपर्छ । यो भौतिक विकासको कुरा मात्रै पक्कै होइन, मानवीय विकासको सवाल पनि हो । समृद्धिकालागि श्रम जरुरी छ र सबै श्रमलाई मर्यादित श्रमको रुपमा स्थापित हुने वातावरण वनाउन पनि उत्तिकै जरुरी छ ।

श्रम क्षेत्रको बहुसंख्यक महिला अझै पनि अनौपचारिक क्षेत्रमा छन् । अन्तर्राष्ट्रिय तथ्यांक हेर्ने हो भने पनि महिलाको सहभागिता उद्योग व्यवसायमा १३.५, पारिश्रमिकसहितको कृषिमा २५ र सेवा क्षेत्रमा ६१.५ प्रतिशत रहेको पाइन्छ । यसको अर्थ अझै पनि महिलाको ठूलो हिस्सा पारिश्रमिकविनाको जीविकोर्पाजनमुखी कृषि, घरआधारित सेवामूलक श्रम र स्वरोजगार क्षेत्रमा संलग्न छ । नयाँ संविधानले सबै क्षेत्रका श्रमिकका लागि उचित श्रम अभ्यास, आधारभूत श्रमिक अधिकार र सामाजिक सुरक्षा व्यवस्था गरेको छ । राज्यको नीतिअन्तर्गत घरआधारित कामलाई समेत आर्थिक योगदानका रूपमा गणना गरिने उल्लेख छ । तर बहुसंख्यक श्रमिक महिलाहरु संलग्न रहने कृषिश्रम, घरेलु श्रमजस्ता अनौपचारिक क्षेत्रको काम कामको रुपमा गणना हुन सकेको छैन ।

जीविकोपार्जनका लागि गरिने कृषि, साना व्यापार व्यवसाय, घर आधारित श्रमका क्षेत्रमा लगायतमा काम गर्ने श्रमिकलाई श्रमिकका रुपमा पहिचान गरिएको छैन । अझ मानव जीवनको लागि नभै नहुने र आम रुपमा महिलाहरु संलग्न हुदै आएका घरभित्रको सेवामुलक कामलाई त कामको रुपमा नै हेरिँदैन । जवसम्म यी क्षेत्रमा लगानी हुने श्रमलाई श्रमका रुपमा हेर्ने र श्रम लगानी गर्ने व्यक्तिलाई श्रमिकका रुपमा मर्यादित दृष्टिकोण राखिँदैन, महिला श्रमको मुल्यांकन, गणना र सम्मान हुन सक्दैन । समानताको कुरा गर्दा श्रमको परम्परागत लैंगिक कार्य विभाजनमा परिवर्तन पनि जरुरी छ । त्यस्तै घरभित्र गरिने सबै कामदेखि करेसावारी हुँदै श्रम वजारका सवै क्षेत्रमा गरिने कामलाई कामको रुपमा स्वीकार गर्ने र श्रमको परिभाषाभित्र ल्याउने काममा नीतिगत रुपमा गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np