Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

जनअपेक्षा पूरा गर्न प्रतिवद्ध छौं

         ||   61 Views   ||   Published Date : 5th April 2019 |

interview ka lagi

दाङका सबै स्थानीय तहमा उपप्रमुख तथा उपाध्यक्षको जिम्मेवारीमा महिला छन् । स्थानीय तहको प्रमुख तथा उपप्रमुखमध्ये एकजना महिला हुनुपर्ने कानुनी व्यवस्था अनुरुप महिलाहरुले उपाध्यक्षको जिम्मेवारी पाउन सफल भए । प्रमुख तथा उपप्रमुखमध्ये एकजना महिला हुनुपर्ने कानुनी व्यवस्था भए पनि सबै प्रमुख पद पुरुषको पोल्टामा पर्यो । अहिले स्थानीय तहमा पहिलेजस्तो उपाध्यक्ष पद कम महत्वको रहने अवस्था थिएन । अहिले उपाध्यक्षले अन्य कामको साथसाथै न्यायिक समितिको संयोजकको रुपमा जिम्मेवारी निर्वाह गर्नुपर्ने संवैधानिक व्यवस्था छ । स्थानीय तहको निर्वाचनपश्चात जिम्मेवारी सम्हालेको करीब डेढ वर्ष बढी समय व्यतित हुँदा उपाध्यक्षहरुका अनुभव के कस्ता रहे ? उपलब्धि र चुनौतीबारे बंगलाचुली गाउँपालिका उपाध्यक्ष यमुना घर्ती थापा, दंगीशरण गाउँपालिका उपाध्यक्ष पीमा खड्का, राजपुर गाउँपालिका उपाध्यक्ष धनपति यादव र गढवा गाउँपालिका उपाध्यक्ष शान्ति चौधरीसँग समरेखाकालागि गरिएको कुराकानीको प्रमुख अंश — सम्पादक

१. स्थानीय तहको निर्वाचनपश्चात जिम्मेवारी सम्हालेको डेढवर्ष पुन लाग्दा तपाईंहरुका अनुभव कस्ता रहे ?
धनपति यादव — राजपुर गाउँपालिकामा उपाध्यक्षको चुनाव जितेको डेढ वर्ष हुनलाग्यो । चुनाव जितेपछि धेरै हर्षित भयौं । धेरै खशी भयौं । साथसाथै धेरै चुनौती पनि थपिए । काम गर्दै आउँदा न्यायिक समितिमा विभिन्न किसिमका मुद्दा हेर्ने क्रममा समस्या आए । समस्यासँग जुझ्दै काम गरिरहेकी छु । त्यसो त महिलासँग जोडिएका विभिन्न विषयमा चुनाव जित्नुअघि पनि काम गर्थें । सहकारी संस्थामार्फत र हिंसाप्रभावित महिलाहरुकालागि सेवा केन्द्र सञ्चालनको काम गरिरहेकी थिएँ । तर पहिलेभन्दा अहिले काम गर्दाका फरक अनुभूति छन् । जनताको भावना बुझेर काम गर्नुपर्ने अवस्था छ ।
यमुना थापा — गाउँपालिकाको उपाध्यक्ष भएर काम गर्दा अहिलेसम्मको मेरा अनुभव भन्नु पर्दा हाम्रो भूमिका धेरैैछ । गाउँपालिकाको उपाध्यक्ष भनेको छ, न्यायिक समितिको संयोजक भनेको छ । जिम्मेवारी धेरै छ । न्यायिक समितिको संयोजक भएर काम गर्दा न्याय सम्पादनको विषयमा अनुभव राख्न चाहन्छु । पहिलो कुरा, हामीलाई न्याय दिनु पर्छ भन्ने त थाहा थियो तर न्याय कसरी दिँदा जनताले न्यायको अनुभूति गर्छन् भन्ने व्यवहारिक कुरा त्यति धेरै थाहा थिएन । काम गर्दा यो अनुभव भएको छ । अर्को, वास्तविक महिलाहरुले भोग्दै गरेका लैंगिक विभेद, घरेलु हिंसा जरैदेखि हटाउन कस्तो खालको कार्यक्रमले प्रभाव पार्न सक्ला, कस्ता कार्यक्रम ल्याउँदा महिलाले उचित न्याय पाउलान् भन्ने गरी काम गर्ने चुनौती अनुभूति भएको छ । अनुगमन मूल्यांकनका कुरा, योजना तर्जुमा, राजस्व परामर्श, न्याय सम्पादन गर्ने सबै विषयमा मेरा राम्रा नराम्रा दुवै अनुभव छन् । वास्तवमा यतिवेला मलाई महिलाभित्र लुकेका पीडालाई बाहिर निकालेर ती समस्या अन्त्य कसरी गर्ने होला भन्ने कुराको चिन्ता र चुनौती दुवै अनूभुति भएको छ ।
पीमा खड्का — जिम्मेवारी सम्हालेको यतिसमय ब्यतित हुँदा धेरै अनुभव भएको छ । कार्य सम्पादनमा समन्वय सहकार्यलाई बढाउने काम गरेकी छु । न्याय सम्पादनका चुनौती सहज रुपमा पार गर्ने समन्वय र सहकार्यको प्रयासले सहज भएको छ । न्यायिक समितिमा आउने मुद्दाका दुवैलाई जीतको अनुभूति हुने गरी न्याय सम्पादन गर्ने हाम्रो प्रयास छ । महिला जनप्रतिनिधि भएको हुँदा धेरै वर्ष अघिदेखिका समस्याहरु आउने गरेका छन् । यसले हामीलाई खुशी नै लागेको छ । अझ सहज रुपमा कसरी महिला दिदीबहिनीहरुलाई सेवा दिने भन्ने हाम्रो कोशिस हुन्छ ।
शान्ति चौधरी — उपाध्यक्ष जितेर आउँदा शुरुमा केही डर लाज लागेको थियो । अब त्यो डर लाज सबै हटिसकेको छ । कुनै एउटा राजनीतिक पार्टीवाट चुनाव जितेर आएको भए पनि गाउँपालिकाको उपाध्यक्ष भैसकेपछि सबैको जनप्रतिनिधिको रुपमा काम गर्नुपर्छ भन्ने राम्रोसँग बोध भएको छ । जिम्मेवार पदमा पुगेपछि काम गर्न सकिन्छ भन्ने विश्वास पनि भएको छ । गाउँपालिकाको उपाध्यक्षको नाताले यहाँका साझा सम्पत्ति संरक्षण गर्नुपर्छ भन्ने महशुस भएको छ । महिला, बालबालिका, ज्येष्ठ नागरिकका विषयलाई अलग रुपमा बजेट विनियोजन गरेरै जानु पर्छ भन्ने लागेको छ । पढेलेखेका छैनन् भनेर आशंका नगर्न म अनुरोध गर्छु । औपचारिक शिक्षा नलिए पनि काम गर्ने आँट छ । अविश्वास चिर्ने पनि हाम्रो चुनौती छ । गढवा गाउँपालिकामा भारतसँग जोडिएका कोइलाबास, मुसी नाका, खबरी नाकातिर महिलाहरुको अवस्था अझ दुःखद छ । सबैतिर घुमेकी छु । समस्या थाहा छ । समस्या हल गर्ने गरी काम गर्ने अठोट गरेकी छु ।

२. दाङका चार गाउँपालिकाका उपाध्यक्षहरु हुनुहुन्छ । भौगोलिक रुपमा भिन्न भिन्न क्षेत्रको प्रतिनिधित्व गर्छन् । तपाईंहरुले प्रतिनिधित्व गर्ने गाउँपालिकामा फरक फरक समुदायको बस्ती छ । क्षेत्रगत रुपमा तपाईंका गाउँपालिकामा महिलाहरुले भोग्दै आएका समस्याहरु के कस्ता छन् ?
धनपति यादब — राजपुर गाउँपालिका दाङ जिल्लाका गाउँपालिकामध्ये बिकट गाउँपालिका हो । गाउँपालिका केन्द्रबाट ६ घण्टा ८ घण्टासम्म समय लाग्ने गाउँहरु छन् । गाउँका समस्या चाहेर पनि न्यायिक समितिसम्म आइपुग्न पनि मुश्किल छ । महिलाले भोग्ने समस्या धेरै छन् । नाका क्षेत्रमा त महिलाहरु बेचिनेसम्मको अवस्था छ भन्ने सुनिन्छ । जनचेतनाको कमी छ । शिक्षा दिक्षाको कमी छ । सञ्चारको सुविधा छैन । घरेलु हिंसा धेरै छ । अन्धविश्वास उत्तिकै धेरै छ ।
यमुना थापा — बंगलाचुली गाउँपालिकाका महिलाले भोगेका विशेष समस्यामा मुख्य घरेलु हिंसा छ । जाँड रक्सी, जुवा तास, कुटपिटजस्ता मुद्दा धेरै आउँछन् । यसका साथै सम्बन्ध विच्छेदका मुद्दा पनि आउने गरेका छन् । बढीमा घरेलु हिंसाकै मुद्दा छन् । यहाँ आउने मुख्य समस्या आर्थिकसँग जोडिएका छन् । आर्थिक रुपमा परनिर्भरताले धेरै हिंसा बढाएको देखिन्छ ।
शान्ति चौधरी — यहाँ पनि घरेलु हिंसा धेरै छ । यी विषय निरुपण गर्न धेरै मेहनत गर्नुपर्ने अवस्था छ । आफ्नो क्षेत्राधिकारका मुद्दा हुन् कि होइनन् भन्ने बुझेर मात्र हामीले मुद्दा लिने गरेका छौं । न्यायिक समिति आइसकेपछि पीडित महिलाहरुले धेरै आसा गरेका छन् । त्यो आसा हामीले पूरा गर्नुपर्नेछ ।
पीमा खड्का — दंगीशरण गाउँपालिकाको न्यायिक समितिमा आउने उजुरीमा घरेलु हिंसा बढी छ । कतिपय दोश्रो विवाह गरेर श्रीमान् बाहिर बसिदिने । न महिलाले घरमा न अंश पाएको न स्याहार सुसार पाएको छ न बच्चाले पालन पोषण पाएको छ । यस्तो केसहरु छन् । कतिपय कस्तो छ भने आली साँधी, कुलो पानी, ऐलानी जग्गाका मुद्दा आउने गरेका छन् । क्षेत्राधिकार हेरेर मिलाउन सक्ने मिलाउने र नमिल्ने अदालत पठाउने गरिएको छ ।
३. चारै वटा गाउँपालिकाका महिलाहरुले भोग्नु परेका समस्याहरु उस्तै उस्तै देखियो । तपाईंहरुले बजेट, कार्यक्रम ल्याइसक्नु भएको छ । महिलाले खेप्दै आएका ती समस्याहरु हल गर्न तपाईंहरुले के कस्ता कार्यक्रम ल्याउनु भएको छ ?
धनपति यादव ः महिलाहरुले भोग्दै आएका समस्या हल गर्न हामीले महिला लक्षित बजेट छुट्याएका छौं । कतिपय वडामार्फत योजना ल्याउँदा टोलका महिलाका माग बमोजिम सीपमूलक कार्यक्रम, क्षमता विकास कार्यक्रमकालागि गाउँपालिकामार्फत बजेट छुट्टयाउने काम भएको छ । गाउँपालिकामा भएका नीति नियम, कसरी आउने भन्ने जनचेतना बढाउन पनि बजेट छ । महिलाको क्षेत्रमा काम गरेको हुनाले भौतिक विकास भन्दा पहिले लैंगिक हिंसा न्यूनिकरण गर्दै महिलाहरुलालई समावेशी रुपमा सहभागी गराएर विकासलाई अघि बढाउनुपर्छ भन्ने कुरामा म सचेत छु ।
यमुना थापा ः हामीले यो आर्थिक वर्षमा महिलाहरुकालागि आर्थिक रुपमा आत्मनिर्भर बनाउनका निमित्त सामूहिक रुपमा उद्यमी वनाउने खालका कार्यक्रमलाई हामीले प्राथमिकता दिएका छौं । जस्तो होजियारी, सिलाई कटाई, चुरापोते उत्पादन, व्यवसायिक रुपमा बाख्रा पालन जस्ता व्यवसायिक काम गर्ने योजना छ । त्यस्तै घरेलु हिंसा कसरी अन्त्य गर्न सकिन्छ भन्ने विषयमा पनि सचेतनामूलक, क्षमताअभिवृद्धि सम्बन्धी कार्यक्रम योजनामा छन् ।
पहाडी गाउँपालिका भएकोले पाठेघर खस्ने महिला स्वास्थ्यको समस्या जटिल छ । यो वर्ष पनि गाउँपालिकाका आठ वटै वडामा पाठेघर जाँच शिविर सञ्चालन गर्ने कार्यक्रम छ । गतवर्ष पनि हामीले यस्तो शिविर चलाएका थियौं । त्यो शिविरमा धेरै महिलाले नयाँ जीवन पाएको अनुभूति गर्नु भएको छ । अझै प्रभावकारी बनाउन द्वन्द्वपीडित, एकल महिला, विधुवा महिला, सम्बन्ध विच्छेद गरेर बसेका महिला, वहुविवाहको पीडा भोग्न बाध्य महिलाहरुलाई लक्षित गरेर कार्यक्रम बनाएका छौं । महिला कार्यक्रम भनेर एकमुष्ट रुपमा कुनैमा पाँच लाख, कुनैमा दुई लाख क्षेत्र हेरेर छुट्याएका छौं । यी कार्यक्रमले महिलालाई संबोधन गर्न सक्छ भन्ने हामीलाई लागेको छ ।
शान्ति चौधरी ः गाउँपालिकाको गत वर्षको महिला लक्षित कार्यक्रममा बंगुर पालन, च्याउ खेती कार्यक्रम थियो । हामीले १० लाख गाइपालनमा र १५ लाख सिलाई कटाई तालिमाकालागि छुट्याएका थियौं । सिलाई कटाई तालिमा लिनेहरुलाई प्रतिव्यक्ति एउटा सिलाई मसिन दिएर उनीहरुलाई स्वरोजगार बनाउने काम गरेका छौं । यो वर्ष पनि त्यस्ता योजनाले निरन्तरता पाउने छन् । त्यस्तै महिला हिंसा बिरुद्ध सचेतना कार्यक्रम पनि चलाउने योजना छ ।
पीमा खड्का ः हामीले पहिलो प्राथमिकता महिला सुरक्षा कार्यक्रम राखेका छौं । दुःख पाएको महिलालाई
सुरक्षित आवासको लागि बजेट छुट्याइएको छ । अर्को महिलाहरुको आर्थिक सशक्तिकरणकालागि साबुन बनाउने तालिम छ । कम्प्युटर तालिम छ । त्यस्तै सचेतनामूलक कार्यक्रमहरु पनि छन् ।

४. नाका क्षेत्रमा पुगेर त्यहाँको अवस्था बुझेको भन्नुभयो । नाकाबासी महिलाको लागि केही कार्यक्रम ल्याउनु भाछ धनपति जी ?
धनपति यादव —नाका क्षेत्रकालागि भनेर गत वर्ष सीमा बजेट भनेर ल्याएका थियौं । त्यसबाट हामीले तीन ठाउँमा सिलाई कटाईको तालिम दियौं । उहाँहरुको माग त्यही थियो । ६ महिनाको तालिम हो त्यो । हामीले सिलाई मसिन पनि उपलब्ध गराएका छौं जसले उहाँहरुलाई स्वरोजगार बन्न सघाउ पुग्ने आसा छ । त्यस्तै हामीले त्यहाँ दुई सेन्टरमा सावुन बनाउने तालिम चलिरहेको छ । यो वर्ष हामीले सातै वडामा डल्ला साबुन बनाउने तालिम दिने योजना बनाएका छौं । गतवर्ष दिएको यो तालिम लिएका महिलाहरुले आफैले सावुन बनाएर व्यापार गरेको अवस्था छ । सिकेका सीपलाई प्रयोगमा ल्याउन जागरुक बनाउने काम पनि हामीले गरिरहेका छौं ।

५. कामका दौरानमा भोग्नु भएका चुनौती के कस्ता रहे ?
यमुना थापा — चुनौती त धेरै छन् । चुनौतीसँग संघर्ष गरेर नै हामी यहाँसम्म आइपुगेका छौं । न्याय सम्पादनका चुनौतीका कुरा गर्दा कानुनी जानकारीकालागि सम्बन्धित विषयगत कर्मचारीको अभाव छ । समयमै न्याय सम्पादन हुनकालागि पनि कर्मचारी अभावले असहज हुँदो रहेछ । सबै आफै गर्नुपर्ने समस्या । न्यायिक समितिलाई सहयोग गर्ने कानुनी सल्लाहकार राख्न पाए छरितो न्याय सम्पादनमा सहयोग पुग्ने थियो भन्ने लागेको छ । न्यायिक जिम्मेवारीसँग जोडिएका चुनौती यिनै मुख्य हुन् । अरु कुरा गर्दा घरदेखि समाज र सिंगो गाउँपालिकासम्म आउँदा भोग्नुपर्ने चुनौती त छँदैछन् । तर चुनौती चिर्नकालागि हामी मानसिक रुपमा तयार छौं ।
धनपति यादब
नीति नियम कानुनका अप्ठ्यारा थिए । कानुनी सल्लाहकार, हामीलाई सहयोग गर्ने कर्मचारी कानुन पढेको चाहिन्छ । जति राम्रो काम गरे पनि समाजमा आइपर्ने चुनौती त छँदैछ । मेलमिलापकर्ता सूचीकृत गरेर वडास्तरसम्म केन्द्र बिस्तार गर्यौं भने न्यायिक समितिको काम अलि सहज हुनेछ । व्यवहारिक अप्ठ्यारा त छन् नै । तर ती अप्ठ्यारा जति ठूला भए पनि हल गर्न हामी तयार नै छौं ।
पीमा खड्का — चुनौती त हरेक हुन सक्छ । चुनौतीलाई अवसरमा परिणत गरेर एक वर्षे कार्यकाल विताइयो । कानुन सम्बद्ध कर्मचारी न्यायिक समितिमा भए हामीलाई न्याय सम्पादनका क्रममा प्रक्रियागत रुपमा जान अलि सजिलो हुन्छ भन्ने लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np