Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

मानसिक हिंसामा मनोसामाजिक सहयोग

         सुशीला आचार्य ||   128 Views   ||   Published Date : 12th April 2019 |

१३ बर्षको छोरा र १० बर्षको छोरी भएकी ३० बर्षीया महिलासँग भेट्ने मौका मिल्यो । भेट भएको शुरुको दश मिनेट सम्झँदा अहिले पनि नमिठो लाग्छ । करीब दश मिनेट त उनको बोली नै आएन । मात्र पीडा महशुस गरिएका आँशुका धारा मात्र बर्षिए । त्यसपछि उनले आफ्ना कुरा गरिन् ।

बिहे भएको १३ बर्ष भएको रहेछ । विहे भागेर गरेको रे । प्रेम विवाह भए पनि विहे पछिका उनका दिन सुखद भएनन् । विहे पछि धेरै दुःख सहनु पर्यो । सबै दुःख पीडालाई दबाएरै उनको जीवन संघर्ष चलिरह्यो । उनी भन्छिन्, ‘अनेक संघर्ष गरी घर बनाए, व्यापार गरें । पढेकी छैन् । तै पनि व्यापार राम्रो चलाउँथे । त्यही व्यापारबाट नै घर बनाउन सकें । आर्थिक रुपमा सक्षम बनें । ।’

व्यापार गर्ने सिलसिलामा धेरै मान्छेसँग फोनमा कुरा गर्नुपर्ने । सामानको अर्डर लिनुपर्ने । उनको कामको सफलता प्रगती श्रीमान्लाई सह्य भएन् । उनीमाथि अनेक चारित्रिक आरोपहरु बर्सिन थाले । विरामी पर्दा अपहेलित हुन थालिन् । घरमा बस्न नसक्ने अवस्थामा पुगिन् । आफन्तकोमा बस्न बाध्य उनी भन्छिन्, औषधी उपचारलाई पैसा पाउँदिन । छोरा छोरीसँग भेट्न, कुराकानी गर्न पाउँदिन । आफै अस्वस्थ छु । कति दिन अर्काको घरमा बसेर पुग्छ र मलाई ?

यस्तै ४० बर्षीया अर्की महिला त्यस्तै सुनाउँछिन् । छोरा छोरीको बिहे भैसक्यो । श्रीमान्ले मार्छ । काट्छ । अर्काे बिहे गर्छु भन्दै धम्की दिन्छ । यो उमेरमा मिहेनत गरेर बनाएको घरबास छोडेर म कहाँ जाउँ ?

माथिका दुई उदाहरणले के प्रष्ट पार्छ भने गाउँ समाजमा हिंसा बढिरहेको छ । हिंसा धेरै प्रकारका हुन्छन् । शारीरिक, यौनिक, मानसिक, साँस्कृतिक, सामाजिक हिंसा । यहाँ कुरा मानसिक हिंसासँग जोडेर गर्न चाहन्छु । मानसिक हिंसा भन्दा व्यक्तिको आत्मसम्मान तथा स्वाभिमानमा आँच आउनेगरी अपमान गर्न, अपशब्द प्रयोग गर्नु, गाली, गलौज गर्नु, विभिन्न तरीकाले डर, धम्की दिनु, अपमानित गर्नु, भेदभाव गर्नु, स्रोत साधनमाथि बञ्चित गर्नु, अरुका अगाडी होच्चाउने, विरामी भएको अवस्थामा औषधी उपचार नगर्नु, खान, बस्न नदिनु, अपराधिक घटनाहरु हेर्न लगाउने, काट्छु, मार्छु भनी धम्की दिने, बुवा आमाको नाम जोडेर गाली गर्ने, कुनै कुरा प्रति आँखा चिम्लेर विश्वास गर्न लगाउने जस्ता क्रियाकलापले कुनै पनि व्यक्तिको व्यक्तिगत तथा सामाजिक विकासमा रोकावट आइ उसको दैनिक जीवन नै असहज भई भयभित जीवन विताउन बाध्य बनाउने क्रियाकलपा नै मानसिक हिंसा हो । जो बालबालिका, महिला, पुरुष सवैमा हुन्छ ।

मानिसिक हिंसाका प्रभावहरुः
मानसिक हिंसामा परेका व्यक्तिहरुले आफूलाई एक्लो महशुस गर्ने, रुने, लाज धक, हीनताबोध, महशुस, चिन्ता, निस्कृय हुने, खाना खान मन नलाग्ने, संवेगात्मक रुपमा शून्य हुने, लागु पदार्थ प्रयोग गर्ने, आत्महत्याको साेंच, डर मान्ने, मुर्छा पर्ने, शरीर तातो पिरो भई हातमा पसिना आउने, असहायपन महशुस गर्ने, अरुको विश्वास नगर्ने, परिवारदेखि टाढा जान मन लाग्ने, आफू अगाडि भएका अन्य क्रियाकलापलाई नकारात्मक रुपमा बढी लिने, आत्महत्या गरिहाल्ने जस्ता व्यवहारहरु देखा पर्छन् । यस्ता समस्या धेरै दिन दुई हप्ता बढी निरन्तर दैनिकरुपमा देखा पर्न थालेमा प्रभावित उदासनिता तिर जान सक्छ ।

सहयोग : प्रभावित व्यक्तिहरुको उपचारमा चार क्षेत्रमा ध्यान दिनुपर्छ । शारीरिक, मानसिक, सामाजिक र कानुनी । जसमध्ये हिंसा प्रभावितको व्यक्तित्व सामाजिक सहयोग र असहयोग परिवेश व्यक्तिको पूरा व्यक्तित्व हेरेर कार्य गर्नुपर्छ । यस्तो वेलामा सहयोगको खाँचो पर्छ । मानसिक रुपमा परेका नकारात्मक असरहरु लामो समयमसम्म पनि निको हुँदैनन् । मनमा आएका नकारात्मक सोंचलाई बढी आत्मसाथ गर्ने हुनाले उनीहरुमा देखिएका बढी समस्या कम गर्नुपर्छ । जसरी शारीरिक चोटलाई मलम पट्टी लगाईन्छ ।

त्यसैगरी नै उनीहरुमा मनमा रहेका कुराहरुलाई सुनिदिनु पर्छ । अनुभूति दिँदै उनीहरुकै परिवेशमा रही सहयोग गर्नुपर्छ । उनीहरुमा रहेका सकारात्मक पक्षलाई उजागर गरिदिनुपर्छ । साेंचाइ र भावनालाई अभिव्यक्त गर्नकालागि सामाजिक क्रियाकलापमा सहभागी हुन लगाउनुपर्छ । संरचनात्मक डर हटाउनु पर्छ । त्यसकालागि कानुनी रुपमा ढुक्क बनाउन सहयोग गर्नुपर्छ । नागरिकता, जन्मदर्ता, बिहे दर्ता गर्नुपर्छ । मनो बैज्ञानिक चिकित्सकीय उपचारात्मक सेवा, मनोविमर्श सेवा प्रदान गरिनुपर्छ । समन्वयको सुदृढिकरण गर्नुपर्छ । सहयोगी सञ्जालबट स्रोत र सहयोग सेवा विच साटासाट गर्ने वातावरण सृजना गर्नुपर्छ । जुन सहयोग घर, परिवार, समुदाय, साथीभाई हरेक सरोकारवाला निकायले गर्न सक्छन् ।

समस्या रहेका व्यक्तिले समयमा नै मनोसामाजिक सहयोग पाएमा स्वस्थ सामाजिक सम्वन्ध कायम हुन्छ । त्यस्तो सहयोग पाएमा आफ्ना जीवनमा आईपर्ने बाधा अड्चन र भावनात्मक तनावलाई सही तरीकाले सामना गर्दै आफ्ना स्रोत तथा समाधानलाई सही रुपमा परिचालन गरी मनोसामाजिक तथा सामाजिक रुपमा आफूलाई स्वस्थ राख्दै सामाजिक विकास गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np