Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

माण्डवीमा ‘सुत्केरी टेवा’ कार्यक्रम

         ||   102 Views   ||   Published Date : 21st April 2019 |

सागर रिजाल
प्युठान । माण्डवी गाउँपालिकाले संस्थागत सुत्केरी बढाउन ‘सुत्केरी टेवा’ कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष ०७५र०७६ को साउन महिनाबाट यो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

स्वास्थ्य चौकीमा सुत्केरी गराउन प्रोत्साहन गर्ने गरी गाउँपालिकाले सुत्केरी टेवा कार्यक्रम सञ्चालन गरेको जनाएको छ । गाउँपालिका भित्रका पाँचवटै वडाका सुत्केरी हुने महिलाले यो सेवा पाउने गाउँपालिकाका स्वास्थ्य संयोजक ध्रुव पोख्रेलले जानकारी दिए । पालिकाभित्र रहेका तिराम, मर्कावाङ, उदयपुरकोट, नयाँगाउ र रम्दी स्वास्थ्य चौकीमा गर्भ जाँच गर्ने तथा सुत्केरी हुने महिलालाई सुत्केरी टेवा कार्यक्रमअन्तर्गत सामग्री दिने गरिएको छ ।

गाउँपालिकाले सुत्केरी टेवा कार्यक्रममार्फत सुत्केरी हुने महिलालाई टावेल, टुथब्रस, टुथपेस्ट, काइयो, नेलकटर, साबुनलगायतका सामग्री झोलामा राखी प्रदान गर्ने गरेको स्वास्थ्य संयोजक पोख्रेलले जानकारी दिए । गाउँपालिकामा हाल संस्थागत सुत्केरी हुनेको प्रतिशत ४९ रहेको छ । संस्थागत सुत्केरीलाई बढाउनका लागि यो कार्यक्रम लागु गरिएको उनले बताए । उनले भने, ‘पालिकाका सबै स्वास्थ्य चौकीमा लागु गरेका छौं ।’ राज्यले दिएको प्रोत्साहन भत्ता दुई हजार, नियमित गर्भ जाँच गरेको आठ सय र गाउँपालिकाले सरदरका एक हजार रुपैयाँ बराबरको सरसफाई सामग्री वितरण गरेको उनले बताए ।

सरसफाइसँगै संस्थागत सुत्केरी बढाउन कार्यक्रम

गाउँमा अझै घरमै बच्चा जन्माउने प्रचलन यथावत छ । स्वास्थ्य संस्था भएर पनि स्वास्थ्य संस्थामा आएर बच्चा जन्माउन धौ मान्ने महिलाहरुलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरिएको हो । सुत्केरी महिलाहरु सरसफाइमा ध्यान नदिने हुनाले पनि यो कार्यक्रममार्फत सरसफाइका सामग्री प्रदान गरिएको स्वास्थ्य संयोजक पोख्रेलले बताए । उनले भने, ‘संस्थागत सुत्केरी गर्ने महिलाको दर बढाउन र सुत्केरी महिलालाई सरसफाइमा राख्न यो कार्यक्रम सञ्चालन गरिएको हो ।’
दुई लाख बजेट विनियोजन

यस आर्थिक वर्षमा ‘सुत्केरी टेवा’ कार्यक्रम सञ्चालन गर्न दुई लाख रुपैयाँ गाउँपालिकाले विनियोजन गरेको छ । संस्थागत सुत्केरी, गर्भवती तथा सुत्केरी आमाको स्वास्थ्य परीक्षण, आइरन चक्कीको उपभोग, पोषिलो खानेकुराको उपभोगलगायत क्षेत्रमा कार्यक्रमले सुधार ल्याउने गाउँपालिकाको अपेक्षा छ । स्वास्थ्य संयोजक पोख्रेलका अनुसार हालसम्म एक सय ४५ जना सुत्केरी महिलाले यो सेवा प्राप्त गरेका छन् ।

कार्यक्रम लागु भएपछि यसअघि गर्भ जाँच गर्न आउने महिलाले सुत्केरी टेवा कार्यक्रमको सामग्री लिएर घर जाने गरेका छन् । गर्भ जाँच गराउन आउने गर्भवतीलाई सामग्री दिने गरेको तिराम स्वास्थ्य चौकीका अनमी मोनिका श्रेष्ठले जानकारी दिए । उनले भने, ‘पहिले रित्तै फर्किने महिला अहिले सुत्केरी टेवाको सामन बोकेर फर्किन्छन् ।’ गाउँपालिकाले सञ्चालनमा ल्याएको यो कार्यक्रम ग्रामीण क्षेत्रमा प्रभावकारी भएको उनले बताए । उक्त सामग्री पाएपछि गर्भ जाँच गराउन आउने महिला खुशी हुने गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np