Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

रुपान्तरण

         स्नेह सायमी ||   40 Views   ||   Published Date : 9th July 2019 |

सहकारीको अर्थ सहकार्य, आर्थिक—सामाजिक रूपान्तरणको आधार । थोरै थोरै रकम नियमित रूपमा जम्मा गरेर सामूहिक कार्य गर्ने थलो । यस सहकारीमा तपाईं हामी सबैले सदस्यता लिनुपर्छ र हामी आफैँले आफ्नो रूपान्तरण गर्ने जग बसाल्नुपर्छ । जीवन सरले हामी सबैलाई नियाली नियाली मधुर मुस्कानसहित प्रस्ताव राख्नुभयो । जीवन सर कुनैबेला हाम्रा राजनीतिक नेता पनि हुनुहुन्थ्यो । जीवन सर हामीमध्ये कतिका स्कुलका गुरु पनि हुनुहुन्थ्यो । उहाँको प्रभावकारी प्रवचनलाई नकार्न र तर्क गर्ने हामीसँग हिम्मत र खुबी दुवै थिएन, हामीले जीवन सरको प्रस्ताव पारित ग¥यौं ।

सहकार्यका निमित्त स्वयंसेवा गरियो, घरघरमा सदस्यताका लागि अभियान चलाइयो । जीवन सरले जे भन्न सिकाउनुभयो, त्यही भनियो । हाम्रो सहकारी गाउँकै सबैभन्दा ठूलो सहकारी बन्यो । हाम्रो सहकारीमा साधारणसभा गर्ने दिन आयो । साधारणसभा गर्नुअघि जीवन सरले हामी केही सक्रिय सदस्यहरूलाई डाकेर भन्नुभयोे, हामी सबैको संयुक्त प्रयासमा हाम्रो सहकारी गाउँकै सबैभन्दा ठूलो सहकारी भएको हो । यसमा तपाईंहरूको ठूलो योगदान छ । अब हाम्रो सहकारीको साधारणसभा गर्ने दिन आएको छ । त्यस साधारणसभाका आगामी वर्षहरूमा गर्ने कामको प्रस्ताव पारित गर्ने, त्यसका लागि बजेट बनाउने र यी सबै काम राम्रोसँग सम्पन्न गर्न एक सक्षम कार्यसमिति निर्माण गर्नु आवश्यक छ ।

जीवन सरको कुराबाट हामी प्रभावित भयौँ, कस्तो दूरदर्शी ! हामी सबैले एकै स्वरमा भन्यौँ, हो, आवश्यक छ । अनि जीवन सरले भन्नुभयो, आगामी कार्यसमितिको छनोट साधारणसभाले नै गर्ने हो । तर, साधारणसभामा जानुभन्दा अघि अलिकति गृहकार्य गरियो भने एकमतले सर्वसम्मत व्यक्तिलाई प्रस्ताव गर्न सकिन्छ । र, तिनीहरूले अर्काे चार पाँच वर्ष राम्रोसँग नेतृत्व दिनेछन् । नेतृत्व राम्रो भए न सहकारी राम्रो हुन्छ ।

जीवन सरको कुरा सोह्रैआना ठीक थियो । नेतृत्व ठीक भए न सहकारी ठीक हुन्छ ।
अनि जीवन सरले हामीसँग सल्लाह गर्नुभयो । अध्यक्षबाट कुरा सुरु भयो, मेरो विचारमा अध्यक्ष श्रीदेवीलाई बनाउनुपर्छ । हुन त श्रीदेवी बिरामी छिन् । बेलाबखत सन्चो हुँदैन । तर, केही दिनदेखि उनको स्वस्थ्यमा सुधार हुँदै आएको छ । उनी महिला नै भएका कारणले बाहिर हेर्दा महिला नेतृत्वमा सहकारी चलाउन पनि राम्रो देखिने भयो ।

हामीसँग जीवन सरको कुरा काट्ने हिम्मत थिएन । मनमा अलिक चित्त नबुझे पनि टाउको हल्लायौँ । हामीबीच एक जना भाइ थियो, अत्यन्तै उत्साहित र जागरुक । सहकारीका लागि खटिरहने तर ऊ हामीजस्तो सहनशील थिएन । उसको नाम थियो, अनन्त । उसले भन्यो, ूजीवन सर मेरो विचारमा सहकारी त श्रीदेवी मिसले राम्रोसँग चलाउनु होला जस्तो लाग्दैन । त्यो सबैभन्दा कान्छो कार्यकर्ता थियो, अनन्तले जीवन सरको कुरा काटेको हामीहरूलाई राम्रो लागिरहेको थिएन । हामीले चुप लाग्न इसारा गर्यौं ।

जीवन सरले अनन्तको कुरा बुझ्नुभयो र भन्नुभयो, अनन्त भाइले भन्नुभएको कुरा नकारात्मक रूपमा नलिऊँ । श्रीदेवीले राम्रोसँग चलाउन नसक्ने कारण के होला त?

अनन्तले भन्यो, एक, उहाँ बिरामी हुनुहुन्छ । दुई, उहाँ बैठक सम्हाल्न सक्नुहुन्ना। आफैँ मात्र बढी बोल्नुहुन्छ । तीन, हिसाबमा पारदर्शी हुनुहुन्न । चार, आफ्ना नातागोता मात्रको हित हेर्नुहुन्छ । त्यस्तो मान्छेलाई कसरी अध्यक्ष बनाउने ?
जीवन सरले सम्झाउनुभयो, त्यस्तो सबै केही होइन, तपाईंलाई लागेको मात्र हो । तैपनि, कमी कमजोरी सबैका हुन्छन् । त्यसलाई सुधार गर्नका लागि म आफैं प्रमुख सल्लाहकारका रूपमा बस्छु नि त !

अनन्तले कुनै अभिव्यक्ति जनाएन, हुन्छ पनि भनेन हुँदैन पनि भनेन । हामीले जीवन सरको कुरामा समर्थन गर्यौँ ।
त्यसपछि उपाध्यक्षको कुरा आयो । जीवन सरले दिलबहादुर वा कर्णबहादुरमध्ये जसलाई बनाए पनि हुने प्रस्ताव राख्नुभयो । दिलबहादुर र कर्णबहादुर दुवै मिल्ने साथी थिए । उनीहरू मिलेरै कर्णबहादुरको प्रस्ताव पारित भयो । अनन्तको त्यसमा पनि विरोध रह्यो । उसले भन्यो, मेरो विचारमा उपाध्यक्ष सम्यकलाई बनाउनुपथ्र्याे । ऊ हाम्रो सहकारीमा सबभन्दा खट्ने मान्छे हो । र, सहकारी बुझेको मान्छे पनि हो ।

जीवन सरले भन्नुभयो, हो सम्यक अत्यन्तै राम्रो मानिस हो । यो सहकारी निर्माणमा सम्यकको साँच्चै राम्रो भूमिका छ । तर, उमेरमा कच्चै छ । भर्खर २२ वर्षको भयो सम्यक । अर्काे साधारणसभाका लागि सोचे के होला ?

अनन्तले प्रतिवाद गर्यो, सम्यक त अर्काे साधारणसभामा अध्यक्ष बनाउनुपर्ने मानिस हो । त्यसैले उसको खुबी, उमेर र सक्रियताको कदर गर्दै अहिले नै उपाध्यक्ष बनाएर नेतृत्व निर्माण गरिरहनुपर्छ । अर्को साधारणसभासम्म ऊ पनि २६ वर्षको भइसक्छ । कसरी उमेर सानो छ भन्ने र !

जीवन सरले भन्नुभयो, हामीभन्दा त कान्छो छ नि ! ऊ हामीसँग सल्लाह नगरी नयाँ काम गर्न खोज्छ । कर्णबहादुर हामीसँग नसोधी यताको रौँ उता सार्दैन । सहकारी भनेको त सल्लाहले चल्ने संस्था हो नि ! सल्लाह नै नगरी चलाउनु खोज्नु भएन नि ! त्यसैले यसपटक कर्णबहादुरलाई उपाध्यक्ष बनाऔँ । अर्काे चार वर्षमा सम्यकले पनि कुरा बुझिसक्छ अनि विचार गरौँला ।
यतिबेलै श्रीदेवीले चिया र जेरीस्वारी लिएर आइन् । जीवन सरले हाँस्दै भन्नुभयो, ल हेर ! यिनले हाम्रो कति माया गर्दिरहिछिन् त ? हा हा हा

अब सचिव र कोषाध्यक्ष पदका लागि प्रस्ताव गर्नु बाँकी थियो ।

सचिवमा जीवन सरले प्रस्ताव गर्नुभयो, तरिमाया । तरिमाया अत्यन्तै सुधी, लेखपढ नगरेकी, कुनै तर्क गर्न नसक्ने, आज्ञाकारी महिला थिइन् । यति राम्री महिलाप्रति हाम्रो कुनै विरोध थिएन । तर, अनन्तले तिनको पनि समर्थन गरेन । उसले हरिमायालाई प्रस्ताव गर्दै भन्योे, हरिमाया पढ्न, लेख्न, चिट्ठीपत्र पठाउन, कम्प्युटर चलाउन, हिसाब राख्न, कार्यक्रम सञ्चालन गर्न सक्ने महिला हुनुहुन्छ, असल पनि हुनुहुन्छ । सचिव त हरिमायालाई नै बनाउनुपर्छ । तरिमाया दिदी असल हुनुुहुन्छ तर सचिवका लागि योग्य हुनुहुन्न, तरिमाया दिदीबाट सचिवालय चलाउन गाह्रो होला । जीवन सरले अलिक रिसाएर जवाफ दिनुभयो, हैन अनन्त, तिमी त प्रत्येक कुराको विरोध गर्छाै । तरिमायाजस्तो महिलालाई विस्थापित गरेर यस समाजको रूपान्तरण कसरी हुन्छ ? तिमीहरू अलिकति पढेलेखेकाहरूले तरिमायाको विरुद्धमा लाग्ने ?

हैन जीवन सर, तपाईंले छलफल गर्न बोलाउनु भयो र आएँ । छलफलमा आफूलाई लागेको कुरा राख्दा व्यक्तिगत विरोधमा उत्रिएको भन्ठान्नुहुन्छ भने ठान्नूस्। मैले त सहकारीको नेतृत्व लिने मान्छे पद अनुसारको योग्यता भएको होस् भन्ने चाहेको मात्र हुँ । तरिमायाप्रति मेरो आदर छ, तपाईंले भन्नुभएजस्तो म उहाँको विरोधीचाहिँ होइन ।

जीवन सर अलि कड्किए, त्यसो भए तरिमायालाई सचिवमा उठाऊँ र हरिमायाले सहयोग गरून् । तरिमायालाई नै विस्थापित गरेर हरिमायालाई सचिव बनाउने कुरा नगरौँ । अनन्तले हामी पाका मान्छेहरूको अनुहार हेर्यो, हामीमध्ये कसैबाट पनि जीवन सरको कुरा काट्ने सम्भावना नदेखेपछि ऊ चुप लाग्यो ।

अब पालो आयो कोषाध्यक्षको, कोषाध्यक्ष पद आफैं महत्त्वपूर्ण पद हो । आर्थिक योजना बनाउनुपर्ने र सहकारीलाई समृद्ध पनि बनाउनुपर्ने । जीवन सरले कोषाध्यक्षको पनि प्रस्ताव गर्नुभयोे, यसका लागि निरिमायाको प्रस्ताव गर्छु । निरिमाया आफैंले केही गरहिाल्लिन् भनेर उनको नाम प्रस्ताव गरेको होइन । उनले हाम्रो कुरा काट्न सक्दिनन्, कमसेकम मेरो भनाइ त अक्षरशः पालना गर्छिन् । त्यसो भएपछि बाँकी योजना र कार्यक्रम हामीले बनाइदिन सक्छौँ । बस्, उनले चेकमा सही गरिहाल्छिन्, आर्थिक विवरण पनि बनाइहाल्छिन् ।

हामीलाई जीवन सरको कुरा ठीकै लाग्यो । अनन्तले त्यसमा पनि आफ्नो कमेन्ट राख्यो, होइन जीवन सर ! कोषाध्यक्ष त आर्थिक व्यवस्थापनको विषयमा अध्ययन गरेको अनुभवी र हाम्रो हिसाब दुरुस्त राख्न सक्ने, कर्मचारीको काम चेक गर्न सक्ने मान्छे राख्ने होइन ?

त्यसो होइन अनन्त, जीवन सरले भन्नुभयो, त्यस्तो जान्ने मान्छे त कर्मचारीका रूपमा राखौँला नि, सबै कुरा पदाधिकारीले नै जान्नुपर्छ भन्ने के छ र ?

लौ अब यी चार पद र प्रमुख सल्लाहकार टुंगो लाग्यो । यो हाम्रो भित्री सल्लाह भयो । क कसलाई कसले प्रस्ताव र समर्थन गर्ने भन्ने कुरा साेंचिराख्नुहोला । साधारणसभामा कसैले अर्कैलाई मनोनयन गर्यो भने सम्झाएर नाम फिर्ता गराउनुपर्छ र साधारणसभा सर्वसम्मतिबाट प्रजातान्त्रिक ढंगले सम्पन्न गराउनुपर्छ । जीवन सरले यति भन्दै कुरा टुंग्याउनुभयो ।
हामी ढुक्क भयौँ । सहकारीको त्यत्रो काम जीवन सरले सुल्झाउनु भएकामा हामी खुसी थियौँ ।

तर, अनन्तको चित्त बुझेको रहेनछ । फर्कंदा अनन्तले गनगन गरिरह्यो । हैन तपाईंहरू कस्तो मान्छे हँ ? जीवन सरले जे भने पनि तपाईंहरूको समर्थन । जीवन सरले आफ्नो श्रीमतीलाई अध्यक्ष बनाएर बाँकी सीधासाधा मानिसलाई पद बाँडेर आफैँले मात्र हालीमुहाली गर्न खोजेको कुरा कस्तो नबुझेको हँ ? यति धेरै मानिसलाई सदस्य बनाएर सामाजिक आर्थिक रूपान्तरणको नारा दिएर घरघरमा गएर सदस्य बनाउने हामी । अनि, त्यसको नेतृत्व लिने जीवन सर र उनकी श्रीमती ? मैले त यो रूपान्तरणमा विश्वास गर्न सकिनँ है दाजुहरू !

अनन्तको आवाज बाटोमा कहिले सुनिने, कहिले नसुनिने, कहिले मोटरको हर्न र आवाजमा दबिने हुँदै थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np