Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

नागरिकता ऐन छिटो ल्याउ

         ||   5 Views   ||   Published Date : 14th July 2019 |

आमाको नामबाट नागरिकताको विषय अझै टुंिगन सकेको छैन । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता भएको एक वर्ष पुगिसकेको छ । नौ महिनादेखि यो राज्यव्यवस्था समितिमा छ । २०६२/०६३ को जनआन्दोलनको क्रममा स्थापित भएको आमाको नामबाट नागरिकता पाउनुपर्ने विषय अन्तरिम संविधानले स्वीकार गरिसकेको विषय होे । आमाको नाममा नागरिकताको विषय गणतन्त्र घोषणापछिको पहिलो बैठकमा संकल्प प्रस्तावको रुपमा सांसदहरुले दुई मिनटसम्म ताली पडकाएर पारित गरेको विषय पनि हो । पछि नेपालको संविधान २०७२ ले आमा वा बाबुको नामबाट नागरिकता लिन सकिने गरी संवैधानिक व्यवस्थालाई निरन्तरता दिएको थियो । २०६३ जेठ १६ गते संसदबाट पारित भएको आमाको नामबाट नागरिकतासहितका विषय समेटेर संसदमा प्रस्तुत भएको संकल्प प्रस्ताव पारित भएको दिनको सम्झनामा यसैवर्षदेखि जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवससमेत मनाउन थालिएको छ । संवैधानिक मर्मको कुरा गर्ने हो भने आमाको नामबाट नागरिकता प्राप्त गर्ने सवालमा कहीँ कतै अवरोधको सामना गर्नुपर्ने अवस्था होइन तर संविधान अनुरुपको

कानुन नबन्दा आमाको नामबाट नागरिकता प्राप्त गर्ने सवाल अझै समाधान भैसकेको छैन ।
उसो त लैंगिक विभेदको अन्त्य र समानताको सिद्धान्तलाई आत्मसात गरेको संविधान भनिए पनि नागरिकतामा महिलाको समान हक संविधानले नै नकारेको छ । नेपाली छोराले जसरी विदेशी विवाह गर्दा श्रीमती र सन्तानलाई सजिलै नागरिकता दिन सक्छन् नेपाली छोरीले विदेशी विवाह गरे श्रीमान् र सन्तानलाई नागरिकता दिन सक्दैनन् । नेपाली छोराका सन्तानले बंशजको नागरिकता पाउन केहीले छेक्दैन भने नेपाली छोरीका सन्तानले यो राष्ट्रकालागि जतिसुकै योगदान गरे पनि बंशजको नागरिकता पाउन सक्दैन । यो बाहेक आमाको पहिचानको आधारमा सन्तानले नागरिकता दिने कानुनी व्यवस्था गर्न संविधानले कहीँ रोकेको छैन । यति हुँदाहुँदै पनि नागरिकता विधेयक लामो समयसम्म संसदमै अडकिनु दुःखद छ । जिल्ला प्रशासनले आमाको नामबाट सजिलै नागरिकता दिन स्पष्ट कानुन नबन्दा धेरैले समस्या भोगिरहेका छन् ।

हामीकहाँ एउटा अजिब मनोदशा छ । आमाको नाममा नागरिकता माग गर्दा बाबुको बिरोध नै गरेको होला भन्ठान्ने संकीर्णता छ । अर्को, आमाको नामबाट नागरिकता दिँदा मधेसतिर देखाउँदै नेपाली महिला बिहे गर्ने भारतीय सबै आएर नेपाली नागरिकता लिन्छन् र त्यसले राष्ट्रिय स्वाधिनतामा असर गर्छ भन्ने तर्क छ । आमाको नामबाट नागरिकताको आवाज उठाउनेहरु राष्ट्रियता बिरोधी लेबल लगाइदिन समेत बेर लाईंदैन । ख्याल राखौं, आफ्ना नागरिकलाई पहिचान विहिन बनाएर राष्ट्रियता बलियो हुँदैन । विदेशी रोक्न अरु उपाय अपनाउ तर यसैको आडमा आमालाई अपमानित गर्ने कानुन नल्याउ । आमाको नामबाट सजिलै नागरिकता दिनसक्ने स्पष्ट प्रावधान राखेर संसदमा लामो समयदेखि अड्किराखेको नागरिकता विधेयक पारित गराउन फेरी पनि सबैले आवाज उठाउनुको बिकल्प छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np