Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

टियू टपर, गोल्ड मेडलिस्ट दाङकी डा. प्रतिभा

         निम्लेकी शेर्पा ||   7 Views   ||   Published Date : 14th July 2019 |

दाङको लक्ष्मीपुर घर भएकी प्रतिभा सुवेदीले एमविविएसमा टियू टप गरेकी छन् । उनले टियू टप मात्र होइन, चार वटा विधामा सर्वाधिक अंक ल्याएर चार गोल्ड मेडल प्राप्त गरेकी छन् ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्रअन्तर्गत एमबिबिएस तहको नतिजा गत बुधबार सार्वजनिक भयो । उक्त तहमा यस वर्ष ललितपुरस्थित किस्ट मेडिकल कलेजकी छात्रा प्रतिभा सुवेदी विश्वविद्यालय ‘टप’ भइन् । पाँच वर्षे एमबिबिएस तहको ३ हजार ३०० पूर्णाङ्कमा प्रतिभाले २ हजार ५५८ अंक ल्याएकी हुन् ।

प्रतिभाले विश्वविद्यालय प्रथम मात्र होइन, फार्मकोलोजी र कम्युनिटी मेडिसिनमा पनि सर्वाधिक अंकसहित गोल्ड मेडल प्राप्त गरेकी छन् । यस्तै, महिला विधा पनि उत्कृष्ट भइन् । यीसहित उनले एकैपटक चार वटा गोल्ड मेडल प्रारिन् ।

दाङको लक्ष्मीपुर स्थायी घर भएकी प्रतिभा कीर्तिपुरमा बस्दै आएकी छन् । उनले यहीँको राराहिल मेमोरियल स्कूलबाट एसएलसी सकिन् । उच्च माध्यमिक शिक्षा बबरमहलमा रहेको नेपाल मेगा कलेजमा लिइन् ।

सधैं प्रथम हुने प्रतिभाले चिकित्सा क्षेत्रमा आफ्नो करियर अघि बढाउन चाहन्थिन् । त्यसैले एमबिबिएसका लागि प्रवेश परीक्षा दिइन् । जहाँ उनले सरकारी छात्रवृत्ति कोटामा नाम निकालिन् ।

कुनै पनि विषय अध्ययनका लागि मिहिनेत आवश्यक पर्दछ । किनकि, अध्ययन सजिलो काम होइन । यसमध्ये एमबिबिएस अध्ययनका लागि त झन् निक्कै मिहिनेत गर्नु पर्दछ । प्रतिभा भन्छिन्, ‘स्कुल र प्लस टुमा भन्दा धेरै नै मिहिनत गरियो ।’

यही मिहिनेतले उनलाई चार चार वटा गोल्ड मेडल दिलायो । तर, प्रतिभा गोल्ड मेडललाई मात्र आफ्नो सफलताको मापक ठान्दिनन् । ‘गोल्ड मेडलभन्दा पनि हाम्रो अध्ययन बिरामीसँग जोडिएको हुन्छ । हाम्रो सानो लापरवाहीले कसैको ज्यान खतरामा पर्न सक्छ,’ उनले भनिन्, ‘त्यसैले अब झन् बढी मिहिनेतको खाँचो छ ।’ यस क्षेत्र राम्रो अंक ल्याउने गरी गरिने क्षणिकभन्दा निरन्तर मिहिनेत गर्नुपर्ने उनको बुझाइ छ । त्यसैले अहिले आफैंले पाएको उत्कृष्टताको ताज जोगाइराख्न चुनौती भएको उनको बुझाइ छ ।

गोल्ड मेडालिष्ट प्रतिभा आफू अन्य विद्यार्थीभन्दा भिन्न ठान्दिनन् । अध्ययनका बेला महत्त्वपूर्ण बुँदामा अन्डरलाइन गर्छिन् । जुन उनको विद्यालयदेखिकै बानी हो । यस्तै, परीक्षामा प्रश्नले जे खोजेको हो, त्यही लेख्ने गरेको उनले बताइन् ।

कुनै पनि विद्यार्थीले जति नै मिहिनेत गर्ने भए पनि सही बाटो देखाउन अभिभावक, शिक्षक र शैक्षिक संस्था महत्त्वपूर्ण हुने प्रतिभा बताउँछिन् । त्यसैले उनी आफ्नो सफलताको श्रेय अभिभावक, शिक्षक÷शिक्षिका, साथीभाइलाई दिन्छिन् ।

किस्ट मेडिकल कलेजमा डरमोटोलोजी विभागमा प्रशिक्षार्थीको रुपमा काम गर्दै गरेकी उनको केही समय दुर्गम क्षेत्रमा सेवा गर्ने योजना छ । उच्च शिक्षाका लागि नेपालबाहिर गए पनि उनी एक पटक दुर्गम क्षेत्रमा सेवा गर्ने बताउँछिन् ।

चिकित्सा क्षेत्रमा भविष्य बनाउँदै गरेकी प्रतिभा नेपालको स्वास्थ्य क्षेत्रमा केही सुधार गर्नुपर्ने बताउँछिन् । सबैभन्दा पहिले पूर्वाधार विकास गर्नुपर्ने उनको सुझाव छ । सानो स्वास्थ्य चौकी, आवश्यक पूर्वाधार नभएको ठाउँमा गएर जानु डाक्टरका लागि निक्कै कठिन हुने उनको भनाइ छ ।

नागरिकखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np