Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

जब शोक शक्तिमा बद्लियो

         ||   70 Views   ||   Published Date : 14th July 2019 |

अहिले घटना भएको तीन वर्ष पुगिसक्यो । गाउँमा उनलाई हेर्ने दृष्टिकोणमा ठूलो फेरबदल आएको छ । गत वर्ष मात्रै उनलाई घोराही उपमहानगरपालिकाले सम्मान ग¥यो ।Basu devi chaudhari
समरेखा डेस्क, घोराही । २०७१ साल बैशाख २८ गते । अपरान्ह १० बजे । लमही–२ बनघुस्रीकी बासुदेवी चौधरी भर्खरै छोराछोरी स्कूल पठाएर सधैझै घरको काममा जुट्दै थिइन् । गाउँका एक हुल महिला उनी भएतिर आए । पहिले त उनले मेसो पाइनन् । जब बोक्सीजस्तो कथित शब्द र हातपात उनीमाथि एकसाथ बज्रियो अनि पो उनले टेकेको जमिन अचानक भासिन थाल्यो । टाउको भन्न रिगांयो ।

थारु समुदायकी वासुदेवी धेरै पढेलेखेकी छैनन् । एक छोरा, एक छोरी छन् । दुबै स्कूल पढ्थे । उनका श्रीमान् दाङको घोराहीमा दिनरात मजदुरी गर्थे । श्रीमान्कै भरमा नून तेलको जोहो र चुलो बल्थ्यो । घटना हुनु केही समयअघि गाउँकै एक पुरुषसँग नजिकिएको भन्दै उनीमाथि आरोप लगाएका थिए । ती पुरुषले आत्महत्या गरेछन् । त्यसपछि हो सारा गाउँ उर्लिएर उनीलाई बोक्सीको आरोपमा निर्घात कुटपिट गरेको ।

‘मैले बोल्न पाउँदा नपाउँदै सबैले कुट्न थाले । कालोमोसो दले । कपाल काटिदिए । लुगा च्यातिदिए । जुत्ताको माला लगाएर गाउ डुलाए ।’ सम्झन्छिन् उनी, ‘रुन त रोइन, तर धेरै विन्तीभाउ बिसाए । पीडा सहन नसकेपछि मागेको पानीसम्म दिएनन् ।’ बोक्सी जस्तो कुप्रथाले एउटी महिलामाथि कुटपिट हुँदा सिँगो गाउ रमिते बन्यो । तिनै कुटपिट गर्ने महिलाहरुका पक्षमा गाउँ उभियो । उनी एक्लै परिन् । दिनभर सही रहिन् चोट र पीडाहरु । यता पढेलेखेका र शिक्षित भनिनेहरु त्यै भीडमा रमिते बनेर उभिएका थिए ।

घटनाको केही दिनपछि दोषीमाथि कारवाही शुरु गरियो । उपचारका क्रममा तत्कालीन राप्ती उपक्षेत्रीयको अस्पतालमा रहेको ओसीएमसीमार्फत फोकलपर्सन राधा पौडेलले उनलाई मनोविमर्शसहित उपचार गराइदिइन् । थुप्रै महिला अधिकारकर्मी उनी कहाँ पुगें । ‘राधा मेडम र अरु अधिकारकर्मीहरु पुग्नुभयो । मलाई हौसला दिनुभयो’– उनले भनिन्– ‘प्रहरी र उहाँहरुकै सहयोगमा ममाथि कुटपिट गर्नेहरुलाई माफी माग्न लगाइयो । र, गाउँमा स्वागत गरियो ।’ लैंगिक हिंसापीडितलाई उपचारमा खटिरहेकी राधा पौडेल लगायत केही महिला अधिकारकर्मीहरुको सहयोगमा उनलाई आयआर्जनको लागि हाते ट्रेक्टर थमाइदिए ।

हाते ट्रेक्टरले फर्काएको खुशी

त्यो घटनाले लामो समय ठूलो प्रभाव पा¥यो । आफूलाई त जेनतेन सम्हालेकी थिइन् । उता श्रीमान् पनि विक्षिप्त बने । छोराछोरी समेत उनीसँग बोलेनन् । घटनापछि गाउँमा गरिने व्यवहार फरक थियो । ‘हिम्मत हारिन ।’ बरु श्रीमान् र छोराछोरीलाई सम्झाएँ’उनले भनिन्, ‘समय त लाग्यो । तर विस्तारै उनीहरुले पनि बुझ्दै गए ।’

यता उनले हाते ट्रेक्टर चलाउन थालिन् । श्रीमान्लाई पनि सिकाइन् । ‘टे«क्टरले खेतबारी जोत्न थालेपछि टाढिएका पनि नजिकिन थाले’ उनले भनिन्, ‘सबै कुरा बिर्सिएर टे«क्टरबाट उनीहरुको खेत जोतिदिन थालें।’ विस्तारै गाउँमा उनको हाते टे«क्टरको माग बढ्यो । घटनामा संलग्न नै कतिपय उनको घर पुगेर बोलाउन थाले । ‘हिँजो मलाई पिट्नेहरु नै आफूलाई खोज्दै आएको देख्दा खुशीले मन भरिएर आउँछ’– उनले भनिन् ।

हाते ट्रेक्टरले उनको जीवनमा खुशी मात्रै फर्किएन । आयआर्जनको गतिलो माध्यम बन्यो । ‘खेतमा टे«क्टरले जोतेवापत धेरथोर पैसा आउँथ्यो । परिवार चलाउन सजिलो भयो’ उनले भनिन्, ‘जीवनमा खुशी फर्किए जस्तो लाग्यो ।’

आत्मसम्मानको जीवन

अहिले घटना भएको तीन वर्ष पुगिसक्यो । गाउँमा उनलाई हेर्ने दृष्टिकोणमा ठूलो फेरबदल आएको छ । गत वर्ष मात्रै उनलाई घोराही उपमहानगरपालिकाले सम्मान ग¥यो । आर्थिक आयआर्जनको बाटो बलियो बन्दै गएको छ । हाते टे«क्टरसँगै पानी तान्ने मेसिन पनि किनेकी छन् उनले । ‘छोराले टे«क्टर चलाउन थालेको छ । श्रीमान् पनि यतै छन्’ उनले भनिन्, ‘सिजनमा ट्रेक्टर र पानी तान्ने मेसिनबाट राम्रै घर खर्च चल्छ ।’

यतिमात्रै हैन उनी गाउँकै नेता पनि भएकी छन्, अहिले । लमहीमा आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि निर्माण गरिएहको खेल मैदानमा उनले आफ्नो नेतृत्वमा गाउँकै महिलाहरुलाई काम दिलाइ दिईन् । ‘गाउँमा धेरैले कमाण्डर बासु भनेर पनि बोलाउन थालेका छन्’– खिस्स हाँस्छिन् उनी । ‘हिँजो ममाथि त्यस्तो व्यवहार गर्नेहरु अहिले मलाई खोज्दै घर आइपुग्छन् ।’ कतिले भने अहिले पनि आफ्नो मुहारमा हेर्न सक्दैनन् । उनीहरुका आखामा पश्चाताप झल्किन्छ । तर पनि उनी सबैलाई समान व्यवहार गर्छिन् उनी । भन्छिन्, ‘वितेको कुरामा अल्झिएर बस्नु हुँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np