Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

सुत्केरीपछि खुल्यो बालिका बलात्कारको घटना

         लक्ष्मी आचार्य ||   146 Views   ||   Published Date : 29th July 2019 |

 

राजपुर गाउँपालिका वडा नम्बर ४ कै अन्दाजी ६०/६५ वर्षीय व्यक्तिको बलात्कारको शिकार बनेपछि  गर्भ रहेकोMinor
देउखुरी, १२ साउन ।
दाङको देउखुरी राजपुर गाउँपालिका वडा नम्बर ४ मा बालिका बलात्कारको घटना उनी सुत्केरी भएपछि मात्रै बाहिर आएको छ । सुस्त मनस्थितीकी १५ वर्षीया ती बालिका अहिले दुई हप्ताकी सुत्केरी छन् ।

बालिकाको परिवारले राजपुर गाउँपालिका वडा नम्बर ४ कै अन्दाजी ६०/६५ वर्षीय व्यक्तिको बलात्कारको शिकार बनेपछि छोरीको गर्भ रहेको वताउँछ । दैनिक ज्यालामजदुरी गरेर गुजारा चलाउँदै आएको परिवारले छोरी त्यस्तो पीडाबाट गुज्रेको छ महिनापछि मात्र थाहा पाएको पीडित बालिकाकी आमा बताउँछिन् ।

‘विस्कुट, चाउचाउ दिएर ग्वाला गएको बेला जर्बजस्ती गरेको रहेछ’ स्थानीय महिलाहरु भन्छन्, ‘अपराधीले सजाय पाउला तर अहिले सुत्केरी बालिका र नवजात शिशु दुवैको स्याहार सुसार र संरक्षणको आवश्यकता छ ।’

सानो उमेर, त्यसमाथि सुस्त मनस्थिती । ती बालिकाले प्रसव पीडा समेत व्यक्त गर्न सकिनन् । घरमा कोही थिएनन् । प्रसव पीडाले च्याँपेपछि उनी मकै बारीमा पुगिन् । त्यहीँ बच्चा जन्माइन् । शिशु रोएको आवाज सुनेपछि नजिकै काम गरिरहेका उनका दाजुले बल्ल थाहा पाए । ‘बच्चा रोएपछि छोराले थाहा पाएछ ।’ बालिकाकी आमा भन्छिन्, ‘उसले हल्ला गरेपछि बल्ल सबै जुट्यौं । हतार हतार अस्पताल पुर्याएर छोरी र बच्ची दुवैलाई बचाउन सक्यौं । सालनाल झरेको थिएन, ढिलो भएको भए बचाउन मुश्किल हुने रहेछ ।’

फुंग उडेको खरको छानो, बारेर पोतेको भित्ता, एक कोठामा आधा बारेर दुई कोठा बनाइएको घरमा पाँच जनाको परिवार बस्छ । चरम अभाव र गरिबीले पिरोलिएको परिवारको ध्याउन्न दैनिक गर्जो टार्नेमै ठीक्क छ । पीडित बालिकाको अवस्था सार्वजनिक भएपछि जुटेको सहयोगले अहिले उनीहरुको दैनिकी चलेको छ ।

आरोपी पक्राउ
सुस्त मनस्थितीकी ती किशोरीलाई बलात्कार गर्ने व्यक्ति पक्राउ परेका छन् । पीडित बालिका तथा स्थानीयहरुको बयानका आधारमा पक्राउ गरेको गढवा प्रहरीले जनाएको छ । अभियुक्त पीडित बालिकाको गाउँकै व्यक्ति रहेको प्रहरीले जनाएको छ । म्याद थप गरी मुद्दा प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख गिरीराज भण्डारीले वताए ।

बालिकालाई गाउँपालिकाको सहयोग
राजपुर गाउँपालिकाले पीडित बालबालिकाको संरक्षण तथा तत्कालीन आवश्यकता पूरा गर्ने वताएको छ । गाउँपालिका उपाध्यक्ष धनपति यादबले आइतवार पीडितको घर पुगेर विछ्यौना, ओढ्नेलगायतका लत्ताकपडा, चामल दाल तरकारी तेलसहितको खाद्यान्न उपलब्ध गराएको वताएकी छन् । सुत्केरी बालिकाको स्वास्थ्य ख्याल राख्न, स्याहार पुर्याउन परिवारलाई अनुरोध गरेको र त्यसकालागि गाउँपालिकाले सहयोग उपलब्ध गराउने जानकारी दिइन् । सुत्केरी र शिशुको स्याहार र संरक्षणकालागि गाउँपालिकाले सञ्चालन गर्दै आएको सेवा केन्द्रमा समेत ल्याउन परिवारलाई आग्रह गरेको उपाध्यक्ष यादवले वताइन् । गाउँपालिकाले पीडितको घरमा टिनको छाना लगाइदिने तथा खानेपानीकालागि ह्याण्डपाइप जोडिदिने समेत वताएको छ । उपाध्यक्षसहितको गाउँपालिका टोलीले पीडितको घर पुगेर यस्तो प्रतिवद्धता जनाएको हो ।

महिलाहरुको घटना अनुगमन

जिल्लामा महिला अधिकारको क्षेत्रमा पैरवी र सहयोगी वातावरण निर्माणकालागि काम गर्दै आएका संस्था महिला पुनस्र्थापना केन्द्र ओरेक नेपाल तथा महिला मानव अधिकार रक्षकहरुको सञ्जालले आइतवार राजपुर गाउँपालिका ४ पुगेर पीडित परिवार, स्थानीयबासी, गाउँपालिका, इलाका प्रहरी कार्यालय गढवा पुगी घटनाको समग्र अध्ययन अनुगमन गरेको छ । पीडित बालिकाको संरक्षण तथा न्यायकालागि निरन्तर आवाज उठाउने र आवश्यकता अनुसार आवश्यक पहल लिने पनि अनुगमनमा सहभागीहरुले जनाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np