Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

आत्महत्या रोकथाम गर्न सहकार्य गरौं

         ज्योत्स्ना डाँगी ||   266 Views   ||   Published Date : 21st December 2019 |

6231 Jyotsna

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक ३ सेकेन्डमा १ जनाले आत्महत्याको प्रयास गर्छन् र प्रत्येक ४० सेकेन्डमा १ जना, १ दिनमा ती हजारा र वर्षभरिमा ८ लाखले आत्महत्या गर्ने गरेको तथ्याङ्क छ । विश्वमा हरेक वर्ष अकालमा ज्यान गुमाउने १५ लाख मानिस मध्ये आधा जसोले आत्महत्या गर्ने गरेको विश्व स्वास्थ्य संगठनको अध्ययनले देखाएको छ । तथ्याङ्क अनुसार आत्महत्याको दर सबभन्दा बढी पूर्वी युरोपका देशहरू लिथुआनिया, रूस आदिमा छ भने आत्महत्याको सर्वाधिक कम दरमध्ये दक्षिण अमेरिकी मुलुकहरू पेरु, मेक्सिको, ब्राजिल र कोलम्बियामा रहेको छ । पश्चिम युरोप र एसियाका देशहरू मध्यममा पर्छन् । ७९ प्रतिशतभन्दा बढी आत्महत्या निम्न र कम आय भएका देशहरूमा हुने गरेको छ ।

नेपालमा ३ वर्षमा १६ हजार २ सय २४ आत्महत्या

नेपाल दक्षिण एसियामा श्रीलंकापछि दोस्रो बढी आत्महत्या हुने देशमा पर्छ । विगत ५ वर्षमा नेपालमा २५ हजार भन्दा बढी मानिसले आत्महत्या गरेको सरकारी तथ्याङ्क छ । नेपालमा गएको विनाशकारी भूकम्प पछि आत्महत्या गर्नेको संख्या करिब ४१ प्रतिशतले वृद्धि भएको सरकारी तथ्याङ्क छ । आर्थिक वर्ष २०७५÷०७६ मा नेपालमा आत्महत्याबाट ५ हजार ७ सय ५४ व्यक्तिको मृत्यु भएको तथ्याँक छ भने आर्थिक वर्ष २०७४÷०७५ मा नेपालमा आत्महत्या बाट ५ हजार ३ हजार ४६ व्यक्तिको मृत्यु भएको तथ्याँक छ । यो वर्ष ४ सय ८ जना वढीले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७३÷०७४ मा यो संख्या ५ हजार १ सय २४ रहेको थियो । नेपालमा एक दिनमा करिब १५ जनाले र प्रत्येक दुई घण्टामा एक जनाले आत्महत्या गरिरहेको दुःखद स्थिति रहेको छ तर नेपाली समाजमा आत्महत्यालाई अझै पनि कलंक र लान्छनाको रुपमा हेरिन्छ । नेपालमा प्रतिबर्ष १६ प्रतिशत मृत्युको कारण आत्महत्या हुने गर्छ ।

दाङमा आत्महत्या गर्नेहरुको संख्या

त्यसै गरी दाङमा आत्महत्या गर्नेहरुको संख्या बर्षेनी बढ्दै गएको छ । आर्थिक बर्ष २०७५÷०७६ मा दाङमा २ सय ९ जनाले आत्महत्या गरेका छन् । २०७४÷०७५ मा आत्महत्या गर्नेहरुको संख्या १ सय ८३ जना रहेको थियो । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार विष सेवन गरेर ७७ जनाले आत्महत्या गरेका छन् । जसमध्ये ३१ जना पुरुष र ४६ जना महिलाहरु रहेका छन् । झुण्डिएर मर्नेमा ३४ पुरुष र ९८ महिला रहेका छन् । आत्महत्या गर्ने मध्ये पुरुष ६५ जना र महिला १ सय ४४ जना रहेका छन् ।

आत्महत्याको प्रयास पुरुषको तुलनामा महिलाले २ वा ३ गुणा बढी गरेको देखिन्छ । विकसित देशहरूमा आत्महत्याबाट ज्यान गुमाउने संख्या महिलाको तुलनामा पुरुषको ३ गुणा बढी रहेको देखिन्छ भने कम विकसित देशहरूमा महिलाको तुलनामा पुरुषको डेढ गुणा बढी रहेको देखिन्छ । सन् २०१६ मा गरिएको एक अध्ययनले रुसमा प्रति एकलाखमा संसारमा सबैभन्दा धेरै पुरुष ४८ जनाले आत्महत्या गरेका थिए जुन महिलाको दाँजोमा छ गुणाले बढी हो ।
अमेरिकामा (२०१८) गरिएको एक अध्ययनले आत्महत्या गर्ने एकजना व्यक्तिको कदमबाट अन्य करिब १ सय ३५ जना मानिस प्रभावित हुन सक्छन् भन्ने देखाएको थियो । यस अनुसार प्रत्येक वर्ष १ सय ८ मिलियन जनसंख्या प्रभावित हुन आउँछ । आत्महत्या गर्ने मानिससँग पारिवारिक सम्बन्ध जति निकट हुन्छ तिनमा पर्ने मानसिक आघात त्यति नै चर्को हुन्छ । जस्तो मानिसको छोराछोरी, आमाबाबु, श्रीमान् वा श्रीमती, मित्रहरू वा सहकर्मीहरू समेत प्रभावित हुन्छन् ।

आत्महत्याको कारणहरु
मानसिक स्वास्थ्य समस्या वा विचलनका विशेषगरी डिप्रेसनको कारण आत्महत्या हुने गरेको पाईएको छ । आत्महत्याको घटना संकटका बेला आवेशमा आएर हुने गर्छन् । त्यस्तो समयमा मानिसहरू जिन्दगीका तनावपूर्ण अवस्थाहरूमा (आर्थिक समस्या, निजी सम्बन्धहरूमा अवरोध अथवा दीर्घ रोगका बेला) आफूलाई सम्हाल्न सक्दैनन् । नेपालमा पनि आत्महत्या रोकथाम चुनौतिपूर्ण बन्दै गएको छ । यहाँ गरिबी, पारिवारिक कलह, श्रीमान् श्रीमती बीचको असमझदारी, पे्रममा असफल, बेरोजगारी, अन्य विभिन्न तनाव जस्ता कारणले पनि आत्महत्या हुने गरेको छ । ग्रामीण क्षेत्रका बासिन्दाहरूमा आत्महत्या दर उच्च देखिएको छ र भेदभाव बेहोरेका जोखिमपूर्ण समूहहरू जस्तै शरणार्थीहरू र आप्रवासीहरू, आदीवासी, यौन अल्पसंख्यक र कैदीबन्दीहरूमा पनि यो दर उच्च देखिएको छ । सडक दुर्घटनापछि सबैभन्दा धेरै १५ देखि २९ वर्षका मानिसहरूले ज्यान गुमाउने आत्महत्याका कारण नै देखिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार द्वन्द्वको मारमा परेका, प्राकृतिक विपद, हिंसा, र्दुव्यवहारका पीडित, र आफूलाई एक्लो ठान्ने मानिसहरू पनि जोखिममा हुन्छन् ।

आत्महत्याको जोखिममा भएका व्यक्त्तिले देखाउने लक्षणहरुः

कुनै पनि कुरामा प्रतिक्रिया नदिने, आफ्नो सरसफाइमा वास्ता नगर्ने, संवेगात्मक रुपमा शून्य हुने, कुनै कुरामा पनि रुचि नदेखाउने जस्ता नैराश्यता झल्काउने लक्षणहरु उनीहरुमा देखिने गर्दछन् । आफूलाई अयोग्य महशुस गर्ने, एक्कासी धेरै खुशी हुने अनि एक्कासी शान्त हुने गर्दछन् । आफूले आफैंलाई हानी नोक्सानी तथा शारीरिक असर पार्ने व्यवहार गर्ने र आफू मर्नेबारे कुराहरु गरिहन्छन् । व्यक्तिले आत्महत्या गर्ने योजना बनाई त्यसको तयारी गरिसकेका हुन्छन् । आत्महत्या गर्ने प्रयास गर्नुपूर्व आफ्ना कार्यहरू सिलसिलाबद्ध तरिकामा मिलाउने, आफूलाई आत्महत्या गर्नबाट पहिले रोकेका वा रोक्न सक्ने सम्बन्ध तथा भूमिकाहरू टुङ्ग्याउने, भविष्यप्रति निराश हुनुका साथै आफू वा आफ्नो जीवनप्रति आउँदा दिनहरूमा राम्रो महसुस हुन सक्छ भनी विचार नगर्ने हुन्छ । मेरो कोही छैन, मलाई कसैले सकारात्मक दृष्टिकोणले हेर्दैनन्, अब म कसको लागि बाचूँ जस्ता निराशावादी कुराहरू गर्ने र आफूलाई असहाय महसुस गर्ने गर्छन् । जव व्यक्तिले समस्याको समाधान छैन भन्ने साेंच्न थाल्छ त्यसपछि उसको मनमा आत्महत्याको विचारहरु आउन थाल्छ । मनमा आउने यस्ता भावनाहरु व्यक्त गर्ने उपयुक्त माध्यम नपाउँदा आत्महत्या गर्ने योजना बनाउने र आत्महत्या गर्ने अवस्था सम्म पुग्छ ।

आत्महत्या रोकथाम गर्न के गर्ने ?
नेपालमा मात्रै नभएर विश्वमै आत्महत्या गर्ने बढ्दो क्रमले यसको रोकथाममा चुनौति थपिंदै गएको छ । १० सेप्टेम्बरलाई विश्व आत्महत्या रोकथाम दिवसका रुपमा मनाउन थालेको १७ वर्ष भयो । १० सेप्टेम्बरलाई आत्महत्या रोकथाम सम्बन्धि अन्तराष्ट्रिय संस्था आइएएसपी र बिश्व स्वास्थ्य संगठनले संयुक्त रुपमा १७ औं विश्व आत्महत्या रोकथाम दिवस विश्व भरी विभिन्न कार्यक्रम गरी मनाए । नेपालमा पनि मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने द स्कुल अफ साइकलोजी नेपाल लगायत विभिन्न संघ संस्थाहरुले विभिन्न कार्यक्रम गरी मनाएका छन् । यस दिवसको नारा ‘आत्महत्या रोकथाममा सवैको सहकार्य’ रहेको थियो ।
आत्महत्याको साेंच बारम्बार मनमा आइरहने र आत्महत्या गर्न खोज्नेहरुको बारेमा थाहा पाए उसलाई नजिकको आफन्त वा मन मिल्ने साथीहरुले हौसला दिएर जीवन बचाउन सकिने अध्ययनले देखाएका छन् । आत्महत्या रोकथाम दिवसले लाञ्छना उल्मूलनको लागि समाज र व्यक्तिहरुलाई काम गर्न उत्प्रेरित गर्ने महत्वपूर्ण दिनको रुपमा प्रयोग गर्न सकिन्छ । यस सम्बन्धि अज्ञानता कम गर्नको लागि समुदायमा आधारित मनोशिक्षा सम्बन्धि कार्यक्रम समाजका विभिन्न समुदाय जस्तैः शिक्षा, उमेर, लिङ्ग, धर्म, सस्कृति आदिमा दिनु आवश्यक छ ।

द स्कुल अफ साईकलोजि नेपाल नामको आत्महत्या रोकथाम र मनोपरामर्श प्रदान गर्ने संस्थाका अध्यक्ष एवं मनोविद डा. नरेन्द्र सिह ठगुन्नाका अनुसार, “मनमा आत्महत्या गर्ने विचार आएका मानिसहरूसँग सबैभन्दा महत्त्वपूर्ण त यस्तो विषयमा कुराकानी गर्नु नै ठूलो हो । कुराकानी गर्ने सही वा गलत तरिका छैन तर विना कुनै पूर्वाग्रह उसको कुरा सुनिदिनु पर्ने सीप अपनाएर आत्महत्या रोकथाम गर्न सकिन्छ । किनकि आत्महत्याको प्रयास भनेको सहयोगको लागि क्रन्दन या चित्कार हो । तपाई हाम्रो एक मिनटले समस्यामा रहेको व्यक्तिको जीवन परिवर्तन गर्न सकिन्छ । हाम्रो कारणले अवस्था यो भन्दा खराब हुन सक्ला भनेर चिन्ता गर्नु पर्दैन किनकी यो पहिले नै निकै कमजोर अवस्था हो । आत्महत्या रोकथामको लागी तपाई हामी सवै हेल्पलाइनको रुपमा सहयोग गर्न सक्छौ ।”

आत्महत्या रोकथाममा सवैको सहकार्य कसरी हुन सक्छ ?
आत्महत्याको जोखिम भएको व्यक्तिको साथमा हर हमेशा आफन्तजन वा कोही न कोही रहनु पर्छ । किनकी त्यस्तो व्यक्तिले भावनात्मक रुपमा आफूलाई निकै असहाय, कमजोर, एक्लो र निराश अनुभव गरिरहेका हुन्छन् । साथै उनीहरुले त्यस्ता भावनाहरु आफूमा आउन दिएका भित्रभित्रै ग्लानी र पछुतो महशुस गरिरहेका हुनसक्छन् ।
आत्महत्या गर्ने विचार मनमा आएको देखिएमा मनोविज्ञ वा परामर्शदाताहरुको सहयोग लिनु पर्छ । त्यस्तो वातावरण बनाउन अभिभावक तथा साथीहरुले भूमिका निर्वाह गर्नुपर्छ । आत्महत्याको सोंच देखिएकासँग कुराकानी गर्दा परामर्शदाताहरूले सहज अनुभव गर्न सकिने कुनै शान्त ठाउँ रोज्नुपर्छ र दुवैजनासँग कुराकानीका लागि पर्याप्त समय मिलाउनुपर्छ । परामर्शदाताहरुले आफ्नो पूरा ध्यान दिएर उनीहरुसँग कुरा गर्नुपर्छ । उसले भनेको कुरा आफूले बुझे नबुझेको यकिन गर्ने बीचैमा कुरा नकाट्ने वा समाधानको उपाय सुझाउने गर्नुपर्छ । ब्यक्तिको मनोवैज्ञानिक पक्षलाई घर परिवार र साथीहरुबाट प्रोत्साहन, हौसला, एवं मनोवैज्ञानिक, मनोचिकित्सक, मनोविमर्शकर्ता र मनोसामाजिक कार्यकर्ताको उचित मनोविमर्श, मनोचिकित्सा एवं उपचारबाट समयमै आत्महत्याको बढदो क्रम लाई रोकथाम गर्न सकिन्छ ।

छोराछोरीमा आत्महत्याको जोखिम देखिएमा उनीहरुलाई एक्लै छाड्नुहुँदैन । हरहमेशा उनीहरुको साथमा रहने कोशिश गर्नु, छोराछोरीलाई अपठ्यारो परेको बेला उनीहरुको दुखको साथी बन्नु, आफ्ना भावनाहरु व्यक्त गर्नको लागि प्रेरित गर्नुपर्छ । त्यस्तै शिक्षकहरुले पनि आत्महत्याको जोखिम कम गर्न भूमिका खेल्न सक्छन् । आत्महत्याको जोखिम देखिएका विद्यार्थीलाई एक्लै नछोड्ने, एक्लै घर नपठाउने, विद्यार्थीलाई आत्महत्या ठीक वा बेठीक भन्ने जस्ता व्याखान नसुनाउने, विद्यार्थीले व्यक्त गरेको कुरालाई यो केही पनि भएको होइन भन्ने किसिमले बेवास्ता गर्नु हुँदैन । विद्यार्थीको नाम, ठेगाना, अभिभावकलाई सम्पर्क गर्न सकिने नम्बर थाहा पाइ राख्नुपर्छ । उसलाई तुरुन्त सहयोग को बाट मिल्न सक्छ त्यो थाहा पाउनुपर्छ । अभिभावकलाई जिम्मा लगाउनु अघि उनीहरुलाई यस्तो बेला के गर्नुपर्छ भन्ने जानकारी दिनुपर्छ ।

आत्महत्याका कारण प्रभावित परिवारलाई सहयोगी वातावरण बनाउनु पर्छ । उनीहरुसँग समन्वय, सहकार्य, संवाद र हेरचाह गरेर यस्तो वातावरण बनाउन सकिन्छ । उनीहरुलाई स्वहेरचाहका लागि प्रोत्साहन गर्ने, कानूनी प्रकृयामा सहयोग, पारिवारीक र सामाजिक सहयोग प्रणालीको खोजी र समन्वय गर्नुपर्छ । समान किसिमको समस्याबाट गुज्रेकाहरुको आपसी सहायता समूह गठन गर्न सकिन्छ । धार्मिक र पारिवारीक चालचलनहरुको अनुसरण गर्ने, मृत्यु पछिका संस्कार आदिको पालना र दैनिक जीवनयापनको पुनस्र्थापनामा मद्दत गर्नुपर्छ ।

त्यस्तै मनोशिक्षा दिने ः आत्महत्या, प्रतिक्रिया र सामनाका उपायहरुको बारेमा सुझाउने गर्नुपर्छ । आत्मआलोचना, दोषारोपण, र पछुतोपनका भावना घटाउन मद्दत गर्नुपर्छ ।
(लेखक राजर्षि गुरुकुल, द स्कुल अफ साइकलोजी नेपालका मनोविमर्र्शकर्ता हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np