Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

महिला स्वास्थ्य, परम्परागत खानेकुरा र ज्ञान

         डा. अरुणा उप्रेती ||   295 Views   ||   Published Date : 21st December 2019 |

 

dr Aruna upreti
आजभोलि हामी केवल आधुनिक औषधी, डाक्टर, अस्पताल र स्वास्थ्यचौकीको मात्र कुरा गरिरहेका छौँ । तर महिलाको स्वास्थ्य यी कुरामा मात्र सीमित हुँदैन । महिलाको स्वास्थ्यमा समाज कस्तो छ, समाजमा कस्ता संस्कृति छन् जस्ता कुराले पनि प्रभाव पारिरहेका हुन्छन् । त्यसैगरी, महिलाले कस्तो खानेकुरा खाइरहेकी छिन्, अर्थात आहार–विहारको सन्तुलनको अवस्था कस्तो छ भन्ने कुराले पनि स्वास्थ्यमा ठूलो महत्व राखेको हुन्छ । अनावश्यक खानेकुराले स्वास्थ्यमा निकै असर पु¥याइरहेको हुन्छ ।

हामीलाई अत्याधुनिक औषधी पनि चाहिन्छ । आधुनिक औषधीको विवेकपूर्ण प्रयोगले महिलाको जीवनमा धेरै सकारात्मक सुधार पनि ल्याएको छ । तर, आधुनिक औषधीको प्रयोग गरिरहँदा मानव जीवनमा परम्परागत स्वास्थ्यको ज्ञान हराउँदै जानु राम्रो होइन । उदाहरणका लागि महिलालाई सुत्केरी भएको ५–६ महिनासम्म घाममा राखेर तेल लगाउने प्रचलन थियो र अझै पनि छ । यसले महिलाको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ । शरीरमा मसाज गरेपछि स्फूर्ति आउने गर्छ । यसखाले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने हाम्रा परम्परागत पद्दतिहरूलाई हामीले आजभोलि बिर्संदै गएका छौँ । स्वास्थ्यका लागि उपयोगी परम्परागत खानेकुरा, आचार–व्यवहार तथा उपचार पद्दतिको अध्ययन नै नगरी त्यसलाई बिर्सिंदै जानु कदापि राम्रो होइन ।

अहिले कतिपय ठाउँमा स्वास्थ्यकर्मीले बच्चालाई जन्मिनेबित्तिकै भिटामिन डी, क्याल्सियम दिने गरेका छन् । भर्खर जन्मिएको बच्चालाई भिटामिन डी र क्याल्सियम चाहिँदैन । यसले बच्चाको स्वास्थ्यमा पछि नराम्रो असर पार्छ । यो हामीले परम्परागत ज्ञान बिर्संदै गएको उदाहरण हो । क्याल्सियम हाम्रा खानेकुराहरूमै पर्याप्त मात्रामा पाइन्छ । ज्वानो, तिल, भटमास, राजमा, दही, दूध, चिज, हरियो सागपात क्याल्सियका राम्रा स्रोत हुन् । यस्ता प्राकृतिक वस्तुको सेवन नगरेर आजभोलि जेका लागि पनि औषधिकै सेवन गर्ने खराब बानी बसेको छ ।

त्यसैगरी, जंकफुडका कारण पनि महिला तथा बालबालिकाको स्वास्थ्यमा असर पर्दै गएको छ । आजभोलि खाजा भन्नेबित्तिकै जंकफुडलाई लिने गरिएको छ । हाम्रा हजुरआमाहरूले खाने गरेका रोटी, तरकरी, चिउरा–अण्डा, उसिनेको आलुजस्ता स्वस्थकर खाद्यवस्तु हामीले खानै छोडिसकेका छौँ । यसका कारण हाम्रो परम्परागत ज्ञान हराउँदै गएको छ र त्यससँगै स्वास्थ्य पनि क्रमिक रूपमा बिग्रिँदै गएको छ ।

त्यस्तै महिनावारीका समयमा किशोरीहरूमा रगतको कमी हुन्छ । तिलको लड्डु, मेथीको लड्डु खाँदा किशोरीहरू महिनावारी हुँदा रगतको कमी हुन पाउँदैन । तर, आजकल महिनावारीको समयमा किशोरीमा रगत कमी भयो भने तरुन्तै आइरनचक्की खुवाइन्छ । आइरनचक्कीले मात्र किशोरीको स्वास्थ्यमा राम्रो प्रभाव पार्दैन भन्ने कुरा हामीले बिर्संदै गएका छौँ ।

हाम्रै वरिपरि त्यस्ता धेरै खानेकुरा छन् जुन आइरनको पर्याप्त स्रोत हुन् । पहिलेको समयमा फलामको भाँडामा पकाउने चलन थियो । खाना पकाउन वा चलाउन फलामको भाँडा प्रयोग गर्दा त्यसबाट आइरनतत्व खानेकुरामा आउने गर्छ र त्यसको सेवन गर्दा भिटामिन सीका कारण आइरन राम्रोसँग सोसिन्छ । पहिले–पहिले मकै, भटमास र मही खाने चलन थियो, जसमा ठूलो विज्ञान छ । मकै, भटमासमा भएको प्रोटिन राम्रोसँग सोस्न महीमा भएको अमिलोले मद्दत गर्छ ।

चाडपर्व मनाउँदा हाम्रो स्वास्थ्यमा धेरै प्रभाव पारिरहेको हुन्छ । उदाहरणका लागि अक्षय तृतीयाका दिन हामी सातु र सर्वत खाने गर्छाैं । सातुमा धेरै मात्रामा भिटामिन र क्याल्सियमहरू पाइन्छन् । कागती हालेको सर्वतसँग सातु खाँदा शरीरमा चाहिने सम्पूर्ण तत्वहरू प्राप्त हुन्छ भने गर्मीको समयमा शरीरमा पानी कम हुन पाउँदैन ।

हाम्रा परम्परागत खानेकुरा खाँदा कुपोषण, रगतको कमी, भिटामिन तथा क्याल्सियमजस्ता तत्वको कमी हुँदैन । अहिले महिलाको स्वास्थ्यमा अति चिकित्साकरण भएको छ । औषधी, चिकित्सक, स्वास्थ्यकर्मी चाहिन्छन्, तर हाम्रा परम्परागत खानेकुराको प्रयोग गरियो भने धेरै स्वास्थ्य समस्याबाट मुक्त रहन सकिन्छ ।

बुढ्यौली स्वस्थ बनाउन बेलैमा ध्यान किन नदिने ?
बुढ्यौलीलाई रोक्न सकिन्न तर स्वस्थ रहन केही उपाय गरियो भने ज्येष्ठ नागरिक स्वस्थ भएर बाँच्ने सम्भावना बढ्छ । विशेषगरी महिलामा जब उमेर ढल्कँदै जान्छ, अनेक किसिमका शारीरिक समस्या थुप्रिन्छन् । शरीरमा रहेका हर्माेनले महिलालाई प्रजनन उमेरमा मुटुका कतिपय समस्या देखिन सक्छन् । प्रजनन उमेर (नेपालमा १५ देखि ४० वर्षसम्म) छिप्पिएपछि महिलाको हर्मोन रक्षा शक्ति बिस्तारै हराउँछ । त्यसैले महिलाले २५–३० वर्षको उमेरमै भविष्यको ख्याल राखेर जीवनचर्यादेखि खानपिनमा ध्यान दिए यस्ता चुनौती कम हुन सक्छन् । विदेशतिर ज्येष्ठ नागरिक महिला हिँड्ने, दौडने, योग आदि युवावस्थामै गर्नुपर्छ भन्ने विचारले जिम जान्छन् । दौडन, हिँड्न, योगासन गर्न कुनै पनि सामान किन्नै पर्दैन ।

महिनावारीका बेला हुने दुखाइ कम गर्न र सुत्केरी अवस्थामा पनि सहज रुपले गरिने योगले स्वस्थ रहन र तंग्रिन धेरै मद्दत गर्छ । पहिले गाउँघरका महिलाको ढिकी, जाँतो गर्नेदेखि लिएर पानी लिन जाँदासम्म हिँडाइ हुन्थ्यो । उनीहरुको खाना पनि मकै, भटमास, कोदो र फापरको रोटी हुन्थ्यो । त्यसले उनीहरुको शरीरलाई स्वस्थ राख्न र हड्डी बलियो बनाउन सहयोग गथ्र्याे । तर अहिले त्यो सबै चलन हराइसक्यो ।

पहिले–पहिले मधुमेह रोग सुनिँदैनथ्यो गाउँमा । अहिले गाउँमै समेत यो रोग देखिएको छ । समयमै ध्यान नदिने हो भने चिनी रोगका जटिलताले महिलामा अनेकौँ समस्या देखिन सक्छन् । उमेर नपुग्दै घुँडा दुख्ने, उच्च रक्तचाप, मधुमेह, ढाड दुख्ने, अनेक समस्याले गाँजेपछि ज्येष्ठ नागरिक भइसक्दा त अस्पतालमा डाक्टर र औषधी सेवन गर्नुपर्ने अवस्था आउने नै भयो । औषधीकै कारण कतिपय ज्येष्ठ नागरिकको मनमा अशान्ति थोपरिन्छ । पैसा र समयको क्षति पनि त्यत्तिकै हुन्छ । आफ्नो काम र सामाजिक जीवनमा पनि व्यवधान हुने गर्छ । जतिसुकै पैसा कमाए पनि मन र शरीर स्वस्थ छैन भने त्यसको केही अर्थ रहन्न ।

हाम्रा पुर्खाको जीवनशैली गहिरिएर हेर्दा पूजा, व्रत, मन्दिर धाउने, चाडपर्व मनाउने विधिलगायतले स्वास्थ्य राम्रो हुने रहेछ भन्ने मलाई अनुभूति हुन थालेको छ । सायद ती नियम पालना नगरेर नै हामीले समयभन्दा चाँडै बुढ्यौली निम्त्याएका हौँ कि ? मेरी हजुरआमा ७५ वर्षमा ४ दिनको ज्वरोले बित्नुभयो । उहाँ मृत्यु हुनु ४ दिनअघिसम्म हाम्रो पुरानो घरको ४ तला दैनिक ५–६ चोटि तलमाथि गर्नुहुन्थ्यो । म ६ वर्षसम्म स्कुल भर्ना नहुन्जेल दिनभर उहाँको साथमा रहेर ४ तला ओहोरदोहोर गर्थें । त्यतिबेला हजुरआमाले घुँडा दुखेको, ढाड दुखेको गुनासो कहिल्यै गर्नुभएन ।

उत्तर प्रदेशको लखिमपुर गाउँमा हजुरआमा कहाँ ८ कक्षा पढ्ने बेलासम्म म हरेक वर्ष जाडो विदामा दुई महिना जान्थेँ । उहाँसँग खेतमा गएर पानी लगाएको, काम गरेको हेर्थें । दिनभर खेतमा काम गरेर बेलुकी आँगनमा बसेर पुराना दिनका सुख–दुःखका कथा सुनाउनुहुन्थ्यो । जीवनका अन्तिम वर्ष मेरा दुई मामाको मृत्युले हजुरआमा नै मानसिक रुपमा गल्नुभयो र ओछ्यान पर्नुभयो ।

मेरो मावली हजुरआमा ९९ वर्षको उमेरमा बित्नुभएको हो । वृद्धावस्थामा समेत हजुरआमाको स्वास्थ्य समस्या कम थियो । त्यसको कारणचाहिँ उहाँको जीवनशैली, शारीरिक काममा व्यस्त, समय–समयमा लिने व्रत र वरपर सन्तानले घेरिएकाले पनि होला, हजुरआमालाई भिटामिन डीको समस्या थिएन । किनभने खेतमा बसेर काम गर्दा भिटामिन डी पाइन्थ्यो । शाकाहारी भएकाले दाल र तरकारी पर्याप्त खानुहुन्थ्यो । हरेक महिनामा २–३ वटा व्रत गर्दा सावदाना र फलफूल मात्रै खाने गर्नुहुन्थ्यो । ती दिनले मलाई कसरी स्वस्थ रहने भन्ने सिकायो । ६० वर्षको उमेरमा पनि म ४० वर्षभन्दा बढी स्वस्थ महसुस गर्छु । छोरीलाई भन्ने गरेकी छु– ६० र ७० वर्षपछि पनि स्वस्थ भएर बाँच्न चाहन्छौ भने अहिलेदेखि नै आफ्नो स्वास्थ्यमा लगानी गर ताकि भविष्यमा घुँडा र ढाड दुख्ने समस्या, मधुमेह, उच्च रक्तचाप आदिबाट सकेसम्म बच्न सकियोस् । मलाई जीवनशैलीमा ध्यान दिने विचार २५ वर्षमै आएको थियो ।

सात वर्षअघि अफगानिस्तानमा काम गर्दा मलाई एक्लोपनका कारण डिप्रेसनजस्तै भएको थियो । त्यसबेला बाहिर एक्लै हिँड्न नपाइने हुँदा घरभित्रै दुई घन्टाजति योगासन थालेँ । त्यसले मेरो मानसिक र शारीरिक स्वास्थ्यमा सघायो । त्यसैले महिलाले आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर पछिसम्म स्वस्थ भएर बाँच्ने हो भने युवावस्थाबाटै ध्यान दिनुपर्छ । बुढ्यौलीलाई भनेर बैंकमा पैसा जम्मा गर्ने हामीले शरीरको स्वास्थ्य सुरक्षित राख्न युवावस्थामा लगानी गर्न किन हिचकिचाउने ?
डा. अरुणा उप्रेतीको फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np