Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

जीवन भोगाइका पीडाहरु

         ||   206 Views   ||   Published Date : 14th March 2013 |

समयको खेल भनु या भाग्यको खेल । जीवन जीउने क्रममा विभिन्न किसिमका दुःख पीडाहरु सँगै जुध्नुपर्दो रहेछ । कसैलाई थाहा हुँदैन कुन बेला कस्तो मोड आउँछ भन्ने । मानिसको जीवनमा दुःख र सुखको क्षण चक्र झैं घुमिफिरी आउँछ भन्छन् । समयको खेलसँगै सुख र दुःखसँगै बाच्नु पर्छ । दुःख पछि सुख आउँछ कि भन्ने आशामा मान्छे बाँचेको हुन्छ भन्ने गरेको पनि सुनेकी थिएँ । तर मेरो जीवनमा त्यो सुख कहिल्यै आउँदैन जस्तो लाग्छ । सँधै पीडैपीडामा बाँच्नुपर्ने अवस्थाले मन अत्तालिँदो रहेछ कहिलेकाहीँ ।
मेरो घर घोराही नगरपालिका वडा नं. १० मा पर्दछ । म निम्न वर्गको परिवारमा हुर्केकी हुँ । हाम्रो परिवारमा नौ जना सदस्य छौं । एउटा छोरा, छ छोरी र बाबा आमा छौं । दाजु र दिदी दुई सन्तान हुनुहुन्थ्यो । चार जनाको परिवार सुखी अनि खुशी पनि थियो रे । तर एउटा अर्को छोरा चाहिन्छ भन्ने गाउँ समाज र घरका सासु ससुराको दबाबपछि आमा, बाबाले छोराको आशमा अरु पाँच बहिनी छोरी जन्माउनु भयो । एउटा थप छोराको आशामा पाँच बहिनी छोरी गरी नौं जनाको परिवार भयौं ।
छोराको आशामा धेरै सन्तान भएको र घरको आर्थिक अवस्था कमजोर भएको कारणले ठूली दिदी स्कूल जाने उमेरमा अरुको घरमा कमलरी बस्नु भयो । सन्तान धेरै भएकाले खान लाउन धेरै गाह्रो हुन्थ्यो । यहीकारण बाबा आमाले ठूली दिदीलाई नजिकैको मुखियाको घरमा कमलरीको रुपमा पठाउनुभयो । दिदी मुखियाको परिवारसँग पोखरा काम गर्न जानुप¥यो । बाबा आमा पनि मुखियाको घरमा कमैयाको रुपमा काम गर्न थाल्नुभयो । दिन रात दुःख गरी काम गर्दा पनि खान नपुग्ने र भनेको जस्तो श्रमको ज्याला नदिने अवस्था थियो । घरको आर्थिक अवस्था साह्रै कमजोर भएकाले दाइले पनि राम्रोसँग पढ्न पाउनु भएन । आठ कक्षासम्म पढेर स्कूल पढ्न छोडिदिनुभयो ।
बाबाले दाइलाई त पढाउनु भयो तर हामी छोरीलाई त्यही पनि पढाउनुभएन । छोरीलाई पढाउनु हुँदैन, छोरी अर्काको घर जाने जात हुन् भन्ने साेंचाईले गर्दा पाँच बहिनी छोरीलाई स्कूल पठाउन भएन । जब ठूली दिदी काम गर्न गएको मुखियाको घरबाट फर्कनुभयो त्यसपछि बल्ल हामी बहिनीहरुले स्कुल देख्न पायौं । स्कूल जाने उमेर भइसकेका बहिनीलाई स्कुल पढ्न नगएको देख्दा दिदीले बाबा आमासँग रुँदै सम्झाउनु भएको थियो । म घरकी साहिंली छोरी । मलाई अपाङ्ग अशक्त देख्दा दिदी झनै रुनुभयो । दिदीले भनेको कुरा आज पनि मेरो आँखा अगाडि छ । ‘म त सानै उमेरमा पढ्न पाइन । अरुको घरमा कमलरी बसें । मैले नपढे पनि मेरा बहिनीहरुलाई पढाउनुपर्छ । त्यसैमाथि सुमन बहिनी कमजोर भईछ । उसलाई नपढाएमा उसको भविष्य अन्धकार हुन्छ । यसरी बाबा आमालाई सम्झाएको याद गर्दा आज पनि मेरो मन भक्कानिएर आउँछ ।
अर्को दिन दिदी आफै स्कूल गएर मेरो र माइली दिदीको नाम लेखाई दिनुभयो । स्कूल नजिकै थियो । मैले पढेको स्कूलको नाम श्री मा.वि. रझेना हो । त्यस बेलाको उमेर माइली दिदीको सात वर्षको थियो भने मेरो ६ वर्षको थियो । त्यसपछि अरु तीन बहिनीहरु पनि पढ्न पाए, दिदीले गर्दा । समय बित्दै जाने क्रममा म कसरी अपाङ्ग भएँ हुँला भन्ने कुराले धेरै सताउँथ्यो । बाबा आमा भन्नुहुन्थ्यो, म जन्मँदा राम्रै जन्मेकी थिएँ रे । स्कूल पढ्ने उमेरमा एक्कासी बिरामी परेको रे । विरामी भएपछि मेरो दुबै खुट्टा नलाग्ने भएको रे । हात पनि नलाग्ने भएको र उपचार गर्ने पैसा नभएकोले र झारफुक गर्दा निको हुन्छ भन्ने साेंचाईले गर्दा झारफुक गर्न तिर लाग्नुभएछ । झारफुक गर्दा पनि निको नभएपछि उपचार गर्न नजिकैको स्वास्थ्य चौकीमा लग्नु भयो । डाक्टरले प्यारालाइसिस भएको भनेपछि औषधि गर्न तिर लाग्नुभयो । औषधि गर्दा दुबै खुट्टा लागे पनि हात निको हुन सकेन । दाहिने हात सुक्दै गयो पछि डाक्टरले काठमाडौं उपचार गर्न लग्ने सल्लाह दिएपछि उपचारको लागि काठमाडौं लग्नुभयो । समयमा उपचारको लागि ल्याएको भए हात निको हुने थियो तर उपचार गर्न ढिलो गरेकोले निको नहुने भनेर डाक्टरले भनेपछि बाबा धेरै रुनुभयो । यसरी समयमा उपचार नपाउँदा म शारीरिकरुपमा म अपांग भएँ । परिवारमा एउटा सन्तान कमजोर भएपछि बाबा आमाले जीवन भरको क्लेस भएको भन्नुहुन्थ्यो । त्यो शब्द सुन्दा मेरो मन धेरै रुन्थ्यो ।
मेरो मनले भन्ने गर्दथ्यो शारीरिक रुपमा कमजोर भएपनि मैले राम्रोसँग पढ्नुपर्छ । यही सोंचाई राखेर पढाईलाई निरन्तर अगाडि बढाउँदै गएँ । मिति २०६२ सालमा एसएलसी पास गरें । एसएलसी पछि उच्च शिक्षाको लागि घोराहीमै रहेको महेन्द्र बहुमुखी क्याम्पसमा २०६३ सालमा भर्ना भएँ । अपांगलाई क्याम्पसमा निः शुल्क पढ्ने व्यवस्था गरेकोले म आफ्नो पढाई अगाडि बढाएकी छु । शुल्क तिरेर पढ्ने व्यवस्था भएको भए शायद म उच्च शिक्षा पढ्न पाउँदिन थिएँ । किनभने मेरो घरको आर्थिक अवस्था कमजोर थियो र त्यसैमाथि म शारीरिक रुपमा अपांंग पनि भएँ ।
म अपांग हुनुको पीडा त छँदैछ । त्यसैमाथि मेरी कान्छी बहिनीको जीवनमा भएको दुःख पीडाले मेरो सम्हालिएको मन फेरि विथोलिएको छ । सानै उमेरमा विवाह गरेकी मेरी बहिनीको जीवनमा धेरै ठूलो दुःख पीडाले छोयो । सानै उमेरमा विवाह गरेकी बहिनीलाई उनको श्रीमान् र घरपरिवारले हेला गरेपछि मानसिक बिरामी परिन् । बिरामी बहिनीलाई घरबाट निकाली दिए उनको परिवारले । गर्भवती भएकी बहिनी घरबाट निकालिइन् । घरबाट निकालिनुपर्दाको पीडाले बिथोलिएकी बहिनीको बच्चा जन्मेपछि खेर गयो । उनलाई निको पार्न हामीले धेरै कोशिस ग¥यौं । उनको उपचारको लागि सहयोग माग्दै हिँडेयौं । तर बहिनीलाई बचाउन सकेनौं । १७ बर्षकै उमेरमा उनले ज्यान गुमाइन् । उनले अकालमै ज्यान गुमाउनुप¥यो । जीवन भोगाइका थोरै वर्षमै मैले अनुभव गरेको धेरै सन्तान जन्माउनु, सानै उमेरमा विवाह गर्नु र छोरा छोरीमा विभेद गर्नु हुन्न भन्ने हो । छोराको आशामा धेरै सन्तान जन्माउने चलन आज पनि गाउँघरमा छँदैछ । सानै उमेरमा विवाह गरेर धेरै बहिनीहरुले धेरै समस्या भोगिरहेका छन् । हामी सबै मिलेर यस्ता चलन हटाउन कोशिस ग¥यौं भने धेरै दिदीबहिनीको जीवन सहज बन्न सक्छ ।

सुमन चौधरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np