Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

महिला वीरताको रक्त रञ्जित बृत्तान्त

         गोविन्द खड्का ||   537 Views   ||   Published Date : 1st March 2020 |

निशस्त्र महिलाहरुले शसस्त्र प्रहरीलाई पराजित गरेको कालिकोटको गतिलो नमूना पनि पुस्तकमा छ ।  महिलाहरुले राइफल खोसेर पार्टीलाई बुझाई दिए । नेकपा माओवादीले चलाएको जनयुद्धमा महिलाहरुले देखाएका विरताका गाथा धेरै छन् ।

govinda

 

 

 

 

 

 

 

 

लेखक

पुस्तक समीक्षा

khima_book_review

महिला पुरुष समान हुन् भनेर महिलाहरुले सबैले देख्ने गरेर प्रमाणित गरेको नेपालमा भएको दश वर्षे जनयुद्धका क्रममा हो । बन्दुक बोक्न, लडार्इंमा कमाण्ड गर्न सक्ने भएपछि पढ्न लेख्न त तुलनात्मक सजिलो हो । त्यतिबेला छोरीलाई पढाउनु हुन्न भन्ने मान्यता मात्रै भत्किएन, सबै काम गर्नुपर्छ गर्न सकिन्छ भन्ने सिकायो । खिमा रिजालको łउज्यालोको खोजीमा, संघर्षका पाईला संस्मरण संग्रहले पनि जनयुद्धको यही तथ्य पुष्टि गर्छ ।

उक्त पुस्तक पढ्न पनि मलाई ठूलै मानसिक शक्ति केन्द्रित गर्नुप¥यो । लेख्नेलाई कति सकस भयो होला ? अझ भोग्नेहरुका दुःखाई त कल्पना नै गर्न सकिँदैन । महिलाहरुले पनि त्यत्रो वीरता देखाउन सक्छन् ? भनेर कति पाठकलाई त पत्यारै नलाग्न पनि सक्छ । युद्ध मोर्चामा सहभागी भएको एक सिपाहीको नाताले म लेखक रिजाललाई सलाम गर्छु । महिला र पुरुष बीचको साहस, विवेक तथा बौद्धिकताको रेखा मेटाउन सफल भएकी छन् । उनको यो पुस्तक समाजमा रहेको लैंगिक विभेद, महिला शक्ति र क्षमता उजागर गर्न सफल छ ।

कालिटार चौकी देउघाट आक्रमण गर्न क. विना (बुन्दी राणामगर) ले पुलिससँग प्रेमको नाटक गरेकी थिइन् । चौकीमा रहेका जुत्ता गनेर दुश्मनको शक्ति पत्ता लगाई २०५५ जेठ १२ गते राती गरिएको आक्रमण सफल भएको थियो । त्यस्तै दिसा गर्छु भनेर प्रहरी नियन्त्रणबाट तारा कुमाल भाग्न सफल भइन् । सुन्दा सामान्य लागे पनि वास्तवमा यी र यस्ता थुप्रै रणनीतिक कौशलता जनयुद्धकालमा महिलाहरुले देखाएको कुरा पुस्तकमा उल्लेख छ ।

प्रहरीले घेरा हाली सकेपछि जुन घरमा बसेका थिए त्यहीँका पुस्तक हातमा समातेर उनीहरुले प्रहरीलाई झुक्याएका छन् । त्यहीँका महिलाका पोशाक लगाएर घाँस काट्न जाने बहानामा घेरा तोड्ने युद्धकला छ । त्यति मात्रै होईन एकै घरका पाँच जना शहीद भएको सुमित्रा घिमिरेको परिवारको साहस र धैर्यता पुस्तकमा उल्लेख छ । २०५८ पुस २९ गते सुमित्रालाई मेजर रवी विक्रम थापाको समूहले हत्या गरेको भनेर लेखकले पुस्तकमा स्पष्ट खुलाई दिएकी छन् । जनयुद्धका क्रममा देखे भोगेका यथार्थ तथ्य आजका दिनमा प्रस्तुत गर्न सक्नु युद्ध मोर्चाको भन्दा सानो हिम्मत होइन ।

त्यस बेलाका कम्युनिष्टहरु व्यवहारले चिनिन्थे । लेखकका श्रीमान् शिवहरी तिमल्सेना पढ्न जाने बेला खिमाको नजरमा परे । अरुको भन्दा फरक व्यवहार भएपछि विस्तारै चिनजान र नजिकिइन् उनी । प्रेम भयो र विवाह पनि ।

युद्ध सफल बनाउन महिलाहरुले देखाएका रणनीतिक कौशलतासँगै कतिपय गद्दारी गरेका कुरा समेत पुस्तकमा छन् । ‘त्यहाँ रेखा शर्मा, कृष्णध्वज खड्कामात्र भेटिए, वादलको कोठा देखाउन लगेको त्यहाँ रहेनछन्,’ भनेर यमा बञ्जाडेले भनेको कुरा पुस्तकमा छ । उबेला कसले र कसरी सुराकी गर्थे भन्ने खुलस्त गर्ने काम पुस्तकले गरेको छ । पुस्तकमा जनयुद्धका क्रममा भएका घटनाहरु असाध्यै मसिनो गरी केलाएकी छन् लेखकले । पुस्तकमा उल्लेख भए अनुसार यमा बञ्जाडेले गद्दारी गरेर सेनाको व्यारेकमा बसेर आफूले खाए वसेका घरहरुमा सुराकी गरेकी रहिछन् । उनकै सुराकीमा जोगिकुटीकी राधा पौडेललाई खुवाएको बसालेको आरोपमा लछारपछार पार्दै लेखकलाई सेनाले गिरफ्तार गरेको छ । ‘आत्मसमर्पण गर तिमीले पनि उनीहरु बस्ने ठाउँ सिकाउ’ यमाले फकाएको उल्लेख छ ।

२०६१ बैशाख २६ गते वावुराम खनाललाई निर्दयी ढंगले गरिएको हत्या पढ्दा आङ सिरिङ्ग गर्छ । डेड गाउँबाट गिरफ्तार गरिएका खनाललाई खसी काट्न तताएको पानीमा चोबल्दै निकाल्दै कुट्दै गरी दर्दनाक तरीकाले हत्या गरिएको छ । मलामी नपाएर मीना ज्ञावालीले एक्लै खाडल खनेर लतार्दै लगेर सतगत गरेको निकै दर्दनाक उदाहरण छ । मलामसमेत जान नहुने भनिने समाजमा महिलाहरु सबै काम गर्नसक्ने हिम्मत गरेका छन् ।

शहीद चुनु गुरुङलाई यातनापछि जिउँदै गाडिएको छ । शारदालाई २०६१ असार ३१ गते तनहुँको भिमादबाट गिरफ्तार गरी हत्या गरेर काली नदिमा बगाईदिएको प्रसंग उल्लेख छ । कालीवर्षा भन्ने ठाउँमा लक्ष्मी खनाल सहित चार जनालाई प्रतिकार समितिका गुण्डाहरुले लखेटी लखेटी हत्या गरेका छन् । तर कुनै पनि घटनामा महिलाहरु वीरता प्रदर्शन गर्न चुकेका छैनन् ।
घरमा टोपी बुन्दै वसेकि साविक रुकुम महत ५ गुनामका धनमाया श्रेष्ठलाई खोलामा लगेर गोली हानी हत्या गरिको छ । उहाँका श्रीमान् मनप्रसाद श्रेष्ठ माओवादी नेता हुनुहुन्थ्यो धनमायाको कुनै गल्ती थिएन । श्रीमान्को रिस साँध्न धनमायालाई हत्या गरे । उनी जनयुद्धको पहिलो महिला शहीद बनिन् । त्यसैगरी २०५३ मंसिर एक गते रोल्पाको राना गाउँमा कुमारी वुढाका दुवै आँखा निकालेर यातना दिएको छ । त्यससँगै आफन्तकै अगाडि बलात्कार गरेको र जिउँदै आगोमा हालेर विभत्स हत्या गरेको जस्ता गम्भिर प्रसंग पुस्तकमा छन् ।

निशस्त्र महिलाहरुले शसस्त्र प्रहरीलाई पराजित गरेको कालिकोटको गतिलो नमूना पनि पुस्तकमा छ । नेता प्रकाण्डलाई खोज्न गएको प्रहरीले २०५४ चैत २६ गते उनको श्रीमतीको टाउको फुटाली दिए । रगत बगेको स्थानीय अरु महिलाहरुले देखे र सहन सकेनन् । त्यो याताना देख्न नसकेका महिलारु एकजुट भएर प्रहरीलाई घरेलु औजार लिएर प्रतिकार गरे । प्रहरीले थप महिलाहरुलाई पनि घाईते बनायो । त्यसले महिलाहरुलाई झनै आक्रोसित बनायो । अनि ठूलै समूह बनेर लखटे । प्रहरीहरु भागेर ओढारभित्र लुके । महिलाहरुले त्यहीँ खर बालेर आगो लगाईदिएपछि निसास्सिएर निस्किय र एक जना प्रहरी त्यही मरे । बाँकी दुईजना उपचारको क्रममा मरे । महिलाहरुले राइफल खोसेर पार्टीलाई बुझाई दिए । नेकपा माओवादीले चलाएको जनयुद्धमा महिलाहरुले देखाएका विरताका गाथा धेरै छन् ।
चितवनका चेपाङ महिलाहरुलाई ढिकीले हात कुच्याई पिसी दिएको छ । देवी खड्कालाई हिरासतमा गरेको डरलाग्दो यातना छ । भात खुवाएको तथा सहयोग गरेको आरोपमा वुटवलकी मेजर्नी आमालाई दिएको यातना चानचुने मान्छेले सहनै नसक्ने छ । त्यति गर्दा पनि महिलाहरु डगमगाएका छैनन् । खोलाले चिथोरी रहेको किनाराको बृक्ष जस्तै सहेका बसेका छन् । त्यस्तै वीरता र साहसले रामेछापको वेथान चौकी आक्रमणमा पहिलो महिला छापामार दिलमायाया यौञ्जन शहीद भएकी छन् । सबै जसो मोर्चामा महिला एसल्ट लिडर बनेका प्रसंग छन् । यो पुस्तक महिला वीरताको रक्तरञ्जित बृत्तान्त हो ।
अयोग्य छापामारको विल्ला भिराईएका मिरा राइ अल्ट्रा धाविका विश्व विजेता बनेकी छन् । भोजपुर दुम्मा गाउँकी छापामार राई फरक मोर्चामा पनि उत्तिकै सफल भएकी छन् । जनयुद्धको पाठले अरु क्षेत्रमा आइपुगेका महिलाहरुलाई सफलता हासिल गर्न समेत सघाएको छ । हरायो, विलायो बर्बाद मात्रै भयो भनेर नकारात्मक तथा निराशा पुस्तकमा भेटिन्न । नेताहरुको आचरणमा चित्त नबुझाए पनि सोंच सकारात्मक हुनु पुस्तकको सफल पक्ष हो ।
पुस्तकमा शहीद दिनेशकी पत्नी भगवती प्रधान र बेपत्ता भिमगिरीका पत्नी टिका बास्तोलाको कृषि फर्मको उदाहरण छ । नेता तथा न्यायधिशहरुले यौन तृष्णा मेटाउन गरेकोे प्रयास निकै निर्मम ढंगले उठाउनुभएको छ । पुस्तकमा जजसको नाम सहित उनीहरुका हर्कत उल्लेख भएका छन् तीनलाई जीवनभर ग्लानी हुनेछ । एकल महिलालाई देखाएको व्यवहारले बाँचुञ्जेल भतभती पोल्ने छ । पुरुषको जुनसुकै पेशा व्यवसाय तथा ओहदा भए पनि उसले महिलालाई यौनको आँखाले हेर्छ भन्ने अनेकन प्रसंग पुस्तकमा छन् । त्यस्ता कमजोरी गर्ने पुरुष नसच्चिई सुख छैन । पुस्तकले पुरुष पाठकहरुलाई समेत महिलालाई हेर्ने दृष्टिकोण बदल्न बाध्य पार्छ ।
लेखकको स्मरण शक्ति, घटनाहरुको लिपिवद्धता तथा जोगाउने क्षमता प्रशंसनीय छ । लेखक जनयुद्धमा होमिने, जिल्ला प्रशिक्षकको भूमिकादेखि मोर्चामा खट्ने योद्धा समेत हुन् । दश महिनाको वैवाहिक जीवनमा उनले २१ दिनमात्रै श्रीमान् शिवहरीसँग विताउन पाइन् । श्रीमान् शहीद भएको दुई महिना पछि मात्र उनले खबर पाएकी थिइन् । यसरी लेखकले आफ्नै र पुस्तकमा समेटिएका अरु पात्रको पीडा लिपीवद्ध गरेर इतिहासको एउटा समयलाई जनसमक्ष जीवित राख्ने छ ।
लेखाई सरल छ । हरेक पाठमा निकै गहन विषयहरु छन् । जसले पटक पटक पाठकको मष्तिष्क खल्बल्याइदिन्छ । लेखक आफैमा महिला र बढी संगत पनि महिलासँग भएकाले महिलाका कुरा बढी लेखिएका छन् । तर आफ्नो सम्पर्कमा भएका पुरुष योद्धाहरुको सुख दुःखका क्षण पनि समेटेकी छन् । पुस्तक पढ्दा मैले यसलाई रातो रगतले लेखिएको जनयुद्धको इतिहास ठानें ।
पुस्तकमा दुश बर्षे जनयुद्धका प्रतिनिधी मुलक सबै घटना समेटिएका छन् । शान्ति प्रकृयापछिको योद्धाको अवस्था पनि छ । सामान्य जनतादेखि नेता कार्यकर्ता जनमुक्ति सेनाका भूमिका उल्लेख छ । सरकारलाई सुझावहरु पनि छन् । एक सय ७८ पुष्ठको पुस्तक २२ वटा पाठहरु छन् । जो पढ्न सरल र सहज छन् । अक्षर राम्रा र कागज सफा भएकाले पढ्न सजिलो छ । दुई सय ९० रुपैयामा जनयुद्धको यत्रो दस्तावेज उपलब्ध हुनु ठूलो अवसर हो । जनयुद्धको कालखण्डबारे जान्न ईच्छुक पाठक एवं चिन्तकले पढ्नै पर्ने पुस्तक छ ।

One Response to महिला वीरताको रक्त रञ्जित बृत्तान्त

  1. Purushottam Adhikari Reply

    March 5, 2020 at 3:51 am

    समसामयिक विषयवस्तु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np