Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

पुरुषको तुलनामा महिलामा देखिन्छ डिप्रेसन

         सुशीला आचार्य ||   580 Views   ||   Published Date : 1st March 2020 |

मानिसलाई बाँच्न गास, बास, र कपास जस्ता भौतिक आवश्यकता मात्र पूरा भएर पुग्दैन । उसका भावनात्मक आवश्यकता पनि पूरा हुनु पर्दछ ।sushil Acharya

अनमी पढेर दुई बर्षसम्म स्वास्थ्य संस्थामा काम गरिरहेकी २८ बर्षीया महिलालाई लोकसेवा पढेर सरकारी जागिर खाने रहर लाग्यो । सरकारी जागिर खान पाए जीवन सहज रुपले अगाडि जान सक्छ भन्ने लागेर लोकतसेवा तयारी कक्षा पढ्न पनि शुरु गरिन् । श्रीमान्को साथ सहयोगले उनी पढ्दै थिएन् । यसै बीच श्रीमान् घरको आर्थिक अवस्था सुधार गर्नको लागि भन्दै बैदेशिक रोजगारका लागि प्रक्रिया अगाडि बढाए र दिल्लीसम्म पुगे । केही समयको बसाईपछि श्रीमान् ठगीमा परे । श्रीमान् पैसामा ठगिएको उनले के जानकाारी पाउँथिन् ती महिलामा विभिन्न समस्या देखा पर्न थाले । उनका व्यवहार परिवर्तन हुन थाल्यो । बिस्तारै उनी डिप्रेशनतिर धकेलिन पुगिन् । हाल उनले औषधी सेवन गरिरहेकी छन् ।

उनका श्रीमान् भन्छन्, “मैले गुमाएको पैसा पाईहाले तर श्रीमतीलाई त्यहीँबाट शुरु भएको समस्या अझै निको हुँदैन । कुरा सम्झाउँदा सम्झिँदैन ।” हेर्दा लाग्दै थियो श्रीमान्ले माया र साथ दिन्दै उपचार गराइरहेका छन् ।

यो घटनाबाट के देख्न सकिन्छ भने पुरुषको तुलनामा महिलाहरुमा बढी डिप्रेशन भएको पाईन्छ । हुन त रोगले कुनै लिङ्ग बिशेषलाई हेर्दैन, सानो ठुलो हेर्दैन तर पनि कुनै समस्याले पुरुषको तुलनामा महिलालाई बढी सताउँछ । यस्तै समस्याहरु मध्येको एक समस्या हो डिप्रेसन ।

परिवर्तित जीवनशैलीका कारण पनि हरेक ब्यक्ति कुनै न कुनै कारणले उदास हुनु सामान्य रुपमै लिन सकिन्छ । डिप्रेसन जुन सुकैलाई पनि भएको देख्न सकिन्छ । यो सामान्य पनि हो । जीवनमा कुनै पनि नकारात्मक घटनाहरु हुँदा दिक्क लाग्नु स्वभाविक हो । तर लामो समयसम्म मनमा सामान्यभन्दा धेरै दिक्दारीपना, ब्यवहारमा सोचाईंमा बढी नै नकारात्मक रुपले उतारचढाव आयो भने डिप्रेसनको संकेत हो भनेर बुझ्न सकिन्छ । डिप्रेसन एक मानसिक रोग हो । विश्व स्वास्थ्य संगठनले प्रकाशित गरेको बिभिन्न प्रतिवेदनका अनुसार डिप्रेशनको शिकार पुरुषको तुलनामा महिला बढी हुने गरेको देखिन्छ ।

परिवार तथा समाजमा पुरुषको तुलनामा महिलाले दोहोरो तेहोरो भूमिका निर्वाह गरिरहेको देखिन्छ । हाम्रो समाजमा अझै पनि महिलाहरुले आफ्ना मनका भावनाहरु, पीडाहरु र बिचारहरुलाई ब्यक्त गर्न सहज रुपले सक्दैनन् भनांै या उनीहरुले आफ्नो वरिपरि त्यो वातावरण माहोल नै प्राप्त गर्न सक्दैनन् । उनीहरुले सबै जिम्मेवारी पूर्णरुपले वहन गर्नुपर्ने हुँदा पनि उनीहरुले धेरै जिम्मेवारी त्यसमा पनि परिवारमा आफ्ना भावना पोख्न नपाउँदा पनि डिप्रेसनको सिकार हँुदै गएको पाईन्छ । बच्चा जन्माएपछि कोही महिलाहरुलाई डिप्रेसन हुन सक्छ । जसलाई पोस्टनेटल डिप्रेसन भनिन्छ ।

ब्यक्तिलाई शारीरिक समस्याले पार्ने भन्दा कैयौ गुणा बढी डिप्रेसनले समस्या ल्याउने गर्दछ जसले उनीहरुको उत्पादनशीलतामा कमी ल्याईदिन्छ । विश्व स्वास्थ संगठन अनुसार मानवलाई पिरोल्ने रोगहरु मध्ये चौथो रोगमा पर्दछ डिप्रेसन । डिप्रेसन बालबालिकामा पनि हुन सक्छ । यसका लक्षणहरु वयस्कको भन्दा फरक हुन सक्दछन् । विभिन्न शारीरिक तथा व्यवहारिक समस्याका लक्षणका रुपमा प्रकट हुने गर्दछन् ।

डिप्रेसनका कारण
डिप्रेसन हुनुको कारण एकिनन् यही भनेर भन्न सकिरहेको अवस्था छैन । केही कारणहरु निम्न रहेका छन । अत्यधिक तनावजन्य घटना, असफलता (पढाई रोजगार, ब्यवसाय, प्रेम), पारीवारिक कलह, लैङ्गिक हिंसा, सुत्केरी अवस्था, आर्थिक अवस्था कमजोरी, दीर्घकालीन रोग वा अचानक लागेको रोग, मगजमा रासायनिक तत्वको गडबडी, बंशाणुगत कारण आदि पर्दछन् ।

डिप्रेसनमा देखिने लक्षणहरु
डिपे्रसनमा पुगेका ब्यक्तिहरुमा मानसिक समस्या मात्र नदेखिई शारीरिक तथा ब्यबहारमा पनि समस्याहरु देखिने गर्दछन् । डिप्रेसन भएका व्यक्तिहरुले आत्मग्लानी हुने, नैराश्यता हुने कुनै कुराको रुची नहुने, निद्रामा गडबडी, कुनै कुरामा रुची नलाग्ने, दिक्दारीपन, चाँडोचाँडो रिसाउने जस्ता प्रतिक्रिया देखाउने गर्छन् । त्यस्तै उनीहरु बिस्तारै बोल्ने वा कामकाज पनि बिस्तारै गर्ने, सामाजिक क्रियाकलापमा सहभागी नहुने, असहाय, असक्षम, अयोग्य महसुस गर्ने, खानामा अरुचि हुने र दुब्लाउने, दैनिक क्रियाकलापमा जाँगर नलाग्ने, एक्लै बस्न मनपराउने, छिटो रिसाउने, आत्मविश्वासको कमी हुने वा हीनतावोध हुने, आत्महत्याको साेंच आउने वा गर्न कोशिस गर्ने, बिनाकारण टाउको पेट धेरै दुख्ने, शरीरका बिभिन्न भागहरु दुख्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षणहरु देखिन्छन् ।

यी लक्षणहरुमध्य तीन चार लक्षणहरु दुई हप्ता वा सो भन्दा बढी दिनहुँ जसो रहेमा र यी कारणले व्यक्तिको दैनिकीमा नकारात्मक प्रभाव पार्न गएको अवस्थामा डिप्रेसन भनेर शंका गर्न सकिन्छ ।

डिप्रेसनका कारण हुने नोक्सानी
जब एउटा ब्यतिm समस्यामा पर्दछ त्यसको नकारात्मक प्रभाव उसको सर्बाङ्गिण पक्षमा पर्दछ । मानव सामाजिक प्राणी भएको कारण पनि घर परिवारदेखि समुदाय पनि प्रभावित हुन्छ । परिवारमा तनाव, उपचारको खर्च, काम गर्न नसक्दा हुने आर्थिक नोक्सानी, उत्पादनमुलक काम गर्न नसक्ने, काम गरे पनि पूर्ण क्षमताको उपयोग गर्न नसक्दा हुने कम क्रियाशिलता, आत्महत्याको संभावना, स्वस्थ्य नागरिक भई समाजम्ँ योगदान दिन नसक्दा अपहेलित हुनु पर्ने अवस्था हुन्छ ।

डिप्रेसनमा सहयोग
ब्यक्तिमा देखिने दिक्दारीपनको पहिचान नै नहुनु, पहिचान भई हाले पनि गलत धारणाको कारणले पनि उपचारतिर नलाग्नु, यसको मुख्य समस्या हो । अझै पनि हाम्रो समाजमा मनोसामाजिक समस्या वा मानसिक समस्या भएका ब्यक्तिहरुलाई हेर्ने दृष्टिकोण पनि नकारात्मक रुपमै रहेको पाईन्छ । समस्यामा रहेका ब्यतिmहरुप्रति पनि नकारात्मक ब्यबहारहरु गरेको देखिन्छ । हेयको दृष्टिकोणबाट हेरिन्छ । सर्वप्रथम त यस्ता नकारात्मक साेंच ब्यवहारहरु हटाउन जरुरी छ । मानसिक समस्या कुनै हेयको दृष्टिले हेर्ने समस्या होईन । यो एक अवस्था हो भनेर बुझ्न जरुरी छ ।

सर्बप्रथम त डिप्रेसनमा परेको ब्यक्तिलाई मनोसामाजिक र परिवारको सहयोगले सुरक्षित महशुस गराउनु पर्दछ । कतिपय अवस्थामा औषधी पनि खुवाउनु पर्ने हुनाले बिशेषज्ञ सेवा भएको स्वास्थ्य संस्थाहरुमा लिनु पर्दछ । यस्तो अवस्थामा मनोसामाजिक कार्यकर्ताको सहयोग लिन पनि सकिन्छ । डिप्रेसनमा पुगेका ब्यक्तिहरुले आत्महत्या समेत गर्न सक्ने हुनाले उनीहरुलाई बिशेष हेरचाहको आवश्यकता पर्दछ ।

यसको साथै पिद्यालयदेखि हरेक टोल टोलमा सचेतनामूलक कार्यक्रम गर्नु पर्दछ । परिवारलाई मनोशिक्षा प्रदान गर्नु पर्दछ । समस्यामा रहेका व्यक्तिहरुका कुराहरु ध्यान दिएर सुन्ने, उनीहरुलाई बिना दोषारोपण गरी उनीहरुलाई सामाजिक संजाल (घर, परिवार, साथीभाई, छिमेकी, संघ सस्थाको बारेमा जानकारी दिनुपर्छ । सामाजिक कार्यक्रमहरुमा सहभागी गराउने, मानिसलाई बाँच्न गास, बास, र कपास जस्ता भौतिक आवश्यकता मात्र पूरा भएर पुग्दैन । उसका भावनात्मक आवश्यकता पनि पूरा हुनु पर्दछ । त्यसकारण पनि उनीहरुको भावनालाई केन्द्रीत गरेर ब्यबस्थित रुपले बृहत छलफल गर्नु पर्दछ ।

ब्यक्तिमा देखिएका समस्याहरुलाई सही समयमा पहिचान गरी उचित उपचार गर्न सफल भएमा मानिसलाई पूर्णरुपमा स्वस्थ बनाउन वा धेरै लक्षणहरुलाई न्यूनीकरण गर्न सकिन्छ । डिप्रेसनमा परेका व्यक्तिहरुलाई भावनात्मक रुपमा सहयोग गरी उनीहरुलाई जीवन जिउने सीप उनीहरुमा भएका सकारात्मक सबल पक्षहरुलाई उजागर गर्न कालागि मनोविमर्श तथा साइकोथेरापीको सहयोग लिन सकिन्छ ।

One Response to पुरुषको तुलनामा महिलामा देखिन्छ डिप्रेसन

  1. मर्मस्पर्शी लाग्यो हजुर! Reply

    March 2, 2020 at 1:38 am

    मर्मस्पर्शी छ,नेपाली वास्तविकता!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np