Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

बाल संरक्षणमा नागरिक समाजको भूमिका

         अधिवक्ता विनु श्रेष्ठ ||   45 Views   ||   Published Date : 2nd April 2020 |

 

अहिले विश्व नै कोरोनाको महामारीले आक्रान्त छ । हजारौ मानिस मरिसके । लाखौको संख्यामा संक्रमित छन । जसमा बढिजसो बृद्धबृद्धा र बालबालिका यसको चपेटामा परेका छन ।

नेपाल पनि यसबाट अछुतो रहन सकेन । हालसम्म ६ जनामा संक्रमण भेटिएको छ । सरकारद्धारा जारी गरेको लकडाउनको आदेशमा हामी सवै आ–आफनै घरमा बसिरहेका छौ । लकडाउनमा घरपरिवारसँग बसेको बसिवियालोमा विभिन्न परिकारहरु बनाएर खाईरहेका छौ र कतिपयले ति परिकारहरुलाई सामाजिक संजालहरुमा पोष्ट गरिरहनु भएको पनि छ । तर हामीले कहिले एक पटक सोचेका छौ, हाम्रै समाजमा कतिपय बालबालिका भोकै प्यासै पनि बसिरहेका छन होला भनेर ? गरिव भए पनि आमा बुवा सँगसँगै बसेका बालबालिकाहरुले त जेनतेन भए पनि केही खाईरहेका होलान केही नभए पनि आमाबुवाको माया ममता र सान्त्वना त पाईरहेका होलान । तर आमा बुवा कोही नभएका बालगृहमा बसेका ति अनाथ बालबालिकाका बारेका एक पटक सोच्ने बेला आएको छ कि ? उनिहरुलाई त एक पटक काखमा राखेर एकछिन खेल्दै गर नानीबाबु अहिले तिम्रो बाबाले खानेकुरा लिएर आउनु हुन्छ या तिम्रो मामुले खाना लिएर आउनु हुन्छ भनेर मायाले भनिदिने सम्म कोही छैन ।

कठै विचरा ति टुहुरा साना मुनाहरु, बार्डेनले कतिबेला बोलाउनु हुन्छ र खान पाइन्छ भनेर पो पर्खिबसेका छन की ? एकपटक त्यस्ता साना बालबालिका पनि हाम्रो वरपरको बालगृहमा छन कि भनेर हामीले खाना खाँदा सोच्ने बेला आएको छैन र ? देश यो महामारीमा आक्रान्त भईरहेका बेला हामी आफूमात्र होइन अरुलाई पनि खुवाउने बेला आएको छ । बचाउने बेला आएको छ । यो जिम्मेवारी सरकारको हो भनेर पञ्छिने बेला छैन । सवै जनाले हातेमालो गरेर यो समस्याबाट आफू र अरुलाई बचाउने बेला आएको छ । राज्य भनेका हामी पनि त हौ नि होइन र ? राज्यको एउटा जिम्मेवार पक्ष भनेको हामी नागरिक समाज पनि हौ ।

यतिबेला राज्यले नागरिक समाजको सहयोगको अहं भूमिका खोजीरहेको छ । तपाई हामी सवै नागरिक समाजका सदस्य हौ । नागरिक समाज कति बलियो हुन्छ भन्ने कुरा एगलेन्टाईन जेवलाई हेरे पुग्छ । जसले एउटा फोटो पत्रकार भएर पनि विश्वयुद्धको चपेटामा परेका बालबालिकाको हितमा बाल बचाउ अभियानको थालनी एक्लैले गरिन । एगलेन्टाईन जेव आफैले बालबालिकाहरुको हितका लागि नागरिक अभियानको थालनी गरेर राज्यभन्दा अग्रपंक्तिमा नागरिक समाजलाई उभ्याएकी थिईन । लिग अफ द नेसन्सले १९२४मा पारित गरेको बालअधिकार घोषणापत्रको मस्यौदालाई एगलेन्टाईन जेव र उनले स्थापना गरेको बाल बचाउ अर्थात सेभ द चिल्ड्रेनले महत्वपूर्ण योगदान गरेको थियो ।

त्यसैगरी पोल्याण्ड सरकारले बालअधिकार मस्यौदाको प्रस्तावको लगत्तै गैरसरकारी संस्थाहरुको सक्रियतामा बालअधिकार महासन्धिको प्रस्तावहरु तयार पार्ने र पैरवी गर्ने कार्यहरु भएका थिए । यसका लागि संयुक्त राष्ट्रसंघमा पहुच भएका गैरसरकारी संघसंस्थाहरु मिलेर तदर्थ समिति समेत गठन गरेका थिए । विभिन्न सदस्य राष्ट्रहरुमा महासन्धिको प्रस्तावित प्रावधानहरुमा रहेका असमझदारी, अस्पष्टता हटाउन तथा सहमति जुटाउनका लागि गैरसरकारी संस्थाहरुको सक्रिय सहयोगात्मक भुमिका रहेको थियो । नेपालमा पनि २०४६ को जनआन्दोलन पश्चात बनेको अन्तरिम सरकारलाई नागरिक समाज र मानव अधिकारवादी नेताहरुको प्रतिनिधि मण्डलले भेटेर तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई बालअधिकार महासन्धिलगायत सवै प्रमुख मानवअधिकार महासन्धिहरु अनुमोदनका लागि विशेष अनुरोध गरेका कारण नेपाले वि.सं.२०४७ मा नै प्रमुख मानअधिकार महासन्धीहरुको अनुमोदन गरेको थियो र बालअधिकार व्यवहारिक कार्यान्वयनमा नागरिक समाज तथा गैरसरकारी संस्थाहरुको अत्यन्त महत्वपूर्ण भुमिकारहेको छ । २

०६२÷०६३ को जनआन्दोलनलाई सफल बनाउनमा समेत नागरिक समाजको अहं भूमिका रहेको थियो । तर अहिले देशले नागरिक समाजको विषेश भूमिका खोजीरहेको छ । यतिबेला हामी आफनो ज्यान बचाउ अभियानमा घरभित्र बसेर मिठा मिठा खानेकुरा पकाएर खादै सामाजिक संजालमा जानकारी गराउदै बसिरहेका छौ । पक्कै हामी अझै पूर्ण रुपमा सुति सकेका त छैनौ । आफनो ज्यान बचाउ अभियानमा आफनो कर्तव्य र भूमिकालाई कहीकतै विर्सीरहेका त छैनौ भन्ने मात्रै हो । वयस्कहरु त आफना पीडा भावना व्यक्त गर्न सक्छन । तर बालबालिका आफना पीडा र भावनालाई व्यक्त गर्न सक्दैनन । उनिहरुको पीडा भावना हामी वयस्कहरुले बुझिदिने र बोलिदिने हो । अहिले फेरी बालबालिकाको त्यो पीडा र भावना बुझिदिने, आशु पुछिदिने भोक मेटाउन सहयोग जुटाईदिने बेला आएको छ । तसर्थ नागरिक समाजको कर्तव्य र दायित्वलाई फेरि एक पटक फर्केर हेर्ने पो हो कि हामी सवैले ।

नागरिक समाजको कर्तव्य : · परिवर्तनको संवाहकको रुपमा काम गर्ने · रचनात्मक सुझावकर्ताको रुपमा काम गर्ने · आवश्यक दवावकर्ताको रुपमा काम गर्ने · समाज सुधारकको रुपमा काम गर्ने · सचेतकको रुपमा काम गर्ने नागरिक समाजका दायित्वहरु : · सचेतना अभिबृद्धिको रुपमा काम गर्ने · राज्यको मुलधारमा आउन कठिन भईरहेको बर्ग,क्षेत्र,लिंग,समुदाय र सम्प्रदायलाई बालबालिकाहरुलाई शिक्षा प्रदान गर्दै उनिहरुको हक अधिकार प्राप्त गराउने । · सामाजिक रुपान्तरणको लागि चेतना जगाउने · सरकारले गरेका नराम्रो कामको आलोचना गर्ने · जनतालाई छिटो छरितो र सर्वसुलभ तरिकाले सेवा उपलब्ध गराउन दवाब दिने · सरकारलाई संविधान ऐन,नियम,कानुन पालना गराउन खबरदारी गर्ने यति महत्वपूर्ण भूमिकामा रहेको छ नागरिक समाज । बालअधिकारका सवालमा बर्तमान अवस्थासम्म आईपुग्दा नागरिक समाजले खेलेको भूमिका अतुलनीय रहेको छ भने अहिले हामी बालबालिकाको जीवन सुरक्षाका लागि किन चुप भई बसिरहेका छौ । आफनो घर नजिकै या जिल्लामा रहेको बालगृहमा गएर एकपटक हेरौ, बालगृहमा मास्कको व्यवस्था छ कि छैन , हात धुनलाई कम्तिमा पनि पर्याप्त मात्रामा सावुन पानी छ कि छैन ,स्वच्छ खानेपानी छ कि छैन, साँझ विहानलाई मिठो मिठो परिकार नभए पनि बाच्नका लागि पर्याप्त मात्रामा खाने कुराको व्यवस्था छ कि छैन ? प्राथमिक उपचारका लागि चाहिने अति आवश्यक औषधिहरु छन कि छैनन ?

हिजो मात्रै सामाजिक संजालमा देखे, सुर्खेत जिल्लामा बसोबास गरिरहेका राउटेलाई खानाको अभाव भएकाले सहयोग । दाङ जिल्लाबाट सहयोगको लागि पचास हजार बराबरको खाद्यान्न सहयोग हुदैछ भन्ने पनि खबर पाए । मलाई असाध्यै हाँसो उठेर आयो, हामी अझै हल्लैहल्लामा बाँचीरहेका छौ । राउटे अल्पसंख्यक जातिमा पर्छन तिनको संरक्षण र सम्वद्र्धन गर्नु हामी सवैको कर्तव्य र दायित्व पनि हो तर एक पटक दाङ जिल्लाबाट जाने साथिले बुझने कोशिस पनि गर्नु भयो कि राउटे भोकभोकै बसिरहेका छन कि छैनन भनेर । म त्यही दैलेख जिल्लामा बसेर लामो समय काम गर्ने शिलशिलामा राउटेहरुका बारेमा बुझने मौका पाए । जब राउटेहरु दैलेखको गुरास गाउँपालिकाको लालीकाडामा बसेका थिए । गुरास गाउपालिकाले परिचय पत्र वितरण गरि विभिन्न सिपमूलक कामहरुमा स्वयंसेवकहरु त्यो बस्तीमा नै खटाएर सहयोग गरेको थियो । विभिन्न संघसंस्थाले राउटेहरुलाई कसरी समाजमा घुलमिल गराउने भनि गाउपालिकासँग सहकार्य गरिरहेका थिए र छन । सिंगो कर्णाली प्रदेश अल्पसंख्यक राउटे समुदायको संरक्षण र सम्बद्र्धनका लागि रणनैतिक योजना सहित अगाडी बढीरहेको छ त्यस्तो बेलामा हामी दाङ एउटा फोनको भरमा त्यति ठूलो रासी बराबरको खाद्यान्न सहयोग गर्न जादैछौ । तर हामी दाङबासीहरु आफनो नजिकमा भएको बृद्धाआश्रम जो आफनै सन्तानबाट परित्यक्त आमा बुवा छन ,बुवा आमा नभई अनाथ भएर बालगृहमा बसेका बालबालिका छन तिनको सहारा बन्न छोडेर टाढा ताकी रहेका छौ ।

लकडाउनका बेला कसरी खाद्यान्न राउटेसम्म पुरयाउने भनेर सोचिरहेका छलफल चलाईरहेका छौ ,जबकि त्यहाँ हाम्रो सहयोगको आवश्यकता नै छैन । सहयोग सवैलाई चाहिन्छ त्यहाँको गाउँपालिकाले नगरपालिकाले नि सहयोग लिन्छ र त्यहाँ राउटे समुदायमा गरिने सहयोग अन्य ठाउँमा वितरण गर्छ । नजिकको तिर्थ हेला भने झै हामी नजिकमा भएको बृद्धआश्रम र बालगृहलाई छोडेर टाढा परोपकार र सहयोग गर्न जादैछौ । सहयोग गर्ने हो तर कसलाई कति आवश्यकता हो भन्ने सोच्नु अपरिहार्य हुन्छ । जहाँ राज्यको आखा पुग्दैन त्यहाँ नागरिक समाजको आखा पुग्छ किन कि हामी घर घरमा छौ टोलटोलमा छौ तसर्थ कृपया आफनो नजिकमा भएका बृद्ध आश्रम र बालआश्रममा एक पटक गएर हेरौ । कही कसैले कतिबेला खानेकुरा ल्याईदिन्छ र पेटभरि खाना खाउला भन्दै आखाभरि आँसु बोकी भोकै प्यासै पेटले टुलुटुलु ढोका तिर त हेरि रहेका छैनन । एक पटक गएर हेरौ बुझौ कही कतै हामी सहयोगको नाउमा चुकिरहेका त छैनौ । देश रोईरहेको छ विश्व रोईरहको छ । तसर्थ हामी सवैजना आफू पनि बाँचौ र सके सानो सहयोग गरि अरुलाई पनि बचाउ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np