Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

लकडाउनमा महिलाबिरुद्धका हिंसा र असुरक्षा

         ||   69 Views   ||   Published Date : 4th April 2020 |

लकडाउनका बेला महिला तथा बालिकामाथि हुने हिंसा र असुरक्षाको अवस्था कस्तो होला ? लकडाउनका बेला कोहीमाथि हिंसा भैरहेको भए उसले कहाँ सम्पर्क गर्ने ? बाहिर निस्केर ज्यान कसरी जोगाउने ? न्याय खोज्न कहाँ जाने ?

यो हप्ता दाङमा दुई महिलाको शंकास्पद मृत्यु भयो । गढवा गाउँपालिका — १ बनघुस्रीकी १६ वर्षीया विवाहित एक किशोरी घरभित्र मृत अवस्थामा भेटिइन् । उनले गएको फागुनमा प्रेम विवाह गरेकी थिइन् । माइती पक्षले केटाबिरुद्ध हत्याको किटानी जाहेरी दिने भनेको भए पनि यी पंक्ति लेख्दासम्म प्रहरीमा जाहेरी परेको छैन । त्यस्तै घोराही १२ नारेवाङकी २२ वर्षकी महिला घरभित्र झुण्डिएको भेटिएपछि परिवारले राति नै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याए । अस्पताल पुर्याउँदै गर्दा बाटोमा उनको मृत्यु भएको भनिएको छ । दुवै घटनामा प्रहरीले आत्महत्या हुनसक्ने भनेको छ भने दुवैका माइती पक्षले हत्या भएको भन्दै आएका छन् ।

त्यस्तै यही बेला घोराहीमै डेरा गरी बस्ने एक स्टाफ नर्सलाई कोरोना सार्न सक्ने भन्दै घरबेटीले घरबाट निकालेको घटना बाहिर आयो । घटना भएलगत्तै यहाँको प्रहरी प्रशासनले तदारुकता बढाएको पनि देखियो । स्वास्थ्यकर्मीलाई घरबाट निकालेका घरबेटीलाई नियन्त्रणमा लिने काम भयो । तर ‘त्यसो भनेको होइन’ भनेका भरमा उनी छुटे पनि । अर्थात् छुटाउने काम भयो । प्रहरीसम्म पुगिसकेको घटना पनि पीडित स्वास्थ्यकर्मीको उजुरी परेन भन्ने कुरा केस ‘ढिसमिस’ गर्नका लागि पर्याप्त बन्यो । त्यसपछि ती स्टाफ नर्स अन्यत्र नै कोठा लिएर बसेकी छन् । कोरोना कहर विश्वव्यापी बनेका बेला फ्रन्ट लाइनमा रहेर स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा विश्वले ताली दिइरहेका बेला हामीकहाँ भने बास खोस्नेसम्मको निकृष्ट काम भयो । तपाईं हामी सबै मूकदर्शक जस्तै बन्न पुग्यौं ।

त्यसो त माथि उल्लेख गरिएका प्रकृतिका घटना लकडाउन नहुँदा पनि नसुनिएका होइनन् । तर अरुबेला ती सामाजिक संघसंस्था तथा धेरै सञ्चारकर्मीको पहुँचमा पर्थे । अलिकति भए पनि दबाबको वातावरण बन्थ्यो कि भन्ने हो । स्वास्थ्यकर्मी ‘बेघर’ बनेको घटनाले हाम्रा राजनीतिक दल, सरकारी निकायहरु, संविधान, कानुन कार्यान्वयन गर्नुपर्ने निकायहरुमा मिलापत्रका नाममा हुने छलफल कति पीडितमुखी, न्यायसंगत हुन्छ भन्ने दृष्टान्त भने थपेको छ ।

हामी अहिले स्वास्थ्य संकटको घडीमा छौं । देश लकडाउनमा गएको छ । यस्तो बेला महिलाले घरभित्र भोग्ने हिंसा र असुरक्षाको विषय उठाएको शायदै राम्रो मानिएला । किनभने यी विषयलाई अहिलेसम्म प्राथमिक विषयको रुपमा लिने सोंच हामीकहाँ विकास भएकै छैन । उपरी तहमा हेर्दा महिलाबिरुद्धका हिंसा र असुरक्षाको विषय बढी चर्चा हुने विषयमै पर्छ । नियम कानुनले पनि त्यस्तो देखाउँछन् तर गहिरिएर हेर्ने हो भने लैंगिक विभेद र हिंसा निम्त्याउने सोंच र व्यवहार तपाईं हाम्रो दैनिकीमा नै छ । अहिले लकडाउनले परिवार सबै एकठाउँमा बस्ने अवस्था छ । परिवारका सदस्य यसरी एकै ठाउँमा बस्न पाउनु एक हिसाबले राम्रो कुरा नै हो । परिवारका सबै सदस्य एकठाउँमा भएका बेला दिनहुँ अनेकथरी परिकार पकाएर खाने, चाडपर्व आएजस्तो पारिवारिक वातावरण बनेको सामाजिक सञ्जालमा समेत प्रशस्तै देख्न सकिन्छ । सामाजिक सञ्जालमा देखिने त्यो परिवेशको भित्री कथा भने त्यति सुखद छैन । हाम्रोजस्तो पितृसत्तात्मक समाजमा महिलामाथि भित्रभित्रै हिंसा भैरहेको छ । यतिबेला महिलामाथिको कार्यबोझ कम्तिमा तीन गुणा बढेको बताइन्छ ।

हामी सबैलाई थाहा छ, महिलाबिरुद्ध हुने हिंसाको ग्राफमा सबैभन्दामाथि देखिने अंक घरेलु हिंसा नै हो । प्रहरीमा पर्ने गरेका उजुरी मात्र हेर्ने हो भने पनि यो मान्न कर लाग्छ । नेपाल प्रहरीको पछिल्लो एकवर्षको तथ्यांकले महिलाबिरुद्ध हुने हिंसाको ७८.८४ प्रतिशत घरेलु हिंसा भएको देखाउँछ भने बलात्कार, बलात्कार प्रयास र बालबालिकामाथिको यौनहिंसा जोड्दा १७.१७ प्रतिशत यौन हिंसा भएको देखाउँछ । बालिका बलात्कारका कहालिलाग्दा घटना हुने गरेका छन् । दुःखको कुरा, अध्ययनहरु भन्छन्, महिला तथा बालिकाबिरुद्धका हिंसामा पीडक भनेको परिवारमा सबैभन्दा नजिकको व्यक्ति, आफन्त र नातेदार नै छन् । अब सम्झौं, लकडाउनका बेला महिला तथा बालिकामाथि हुने हिंसा र असुरक्षाको अवस्था कस्तो होला ? लकडाउनका बेला कोहीमाथि हिंसा भैरहेको भए उसले कहाँ सम्पर्क गर्ने ? बाहिर निस्केर ज्यान कसरी जोगाउने ? न्याय खोज्न कहाँ जाने ?

लकडाउनपछि बढेको महिलाबिरुद्धको घरेलु हिंसा संबोधन गर्न फ्रान्सेली सरकारले हिंसापीडितहरुले बस्नका लागि होटल रुम प्रयोग गर्न सक्ने र त्यसको भुक्तानी सरकारले गर्ने तथा २० वटा काउन्सिलिङ सेन्टर स्थापना गर्ने घोषणा गरिसकेको छ । दैनिक उपभोग्य सामान खरिद गर्न निस्केका बेला पीडितहरुले रिपोर्ट गर्न सकून् भन्ने कुरालाई ध्यान दिएर काउन्सिलिङ सेन्टरको स्थापना भएका छन् । त्यस्ता काउन्सिलिङ सेन्टर लकडाउनको पहिलो हप्तामै महिलाबिरुद्धको घरेलु हिंसा बढेपछि फ्रान्सेली सरकारले घरेलु हिंसाबिरुद्ध गरिने खर्चमा १.१ मिलियन डलर थप गरेको छ । मार्च १७ देखि लकडाउनमा गएको फ्रान्समा लकडाउनपछि दुई महिलाको हत्यासहित पेरिसमा ३६ प्रतिशतले महिलाविरुद्ध घरेलु हिंसा बढेको छ भने फ्रान्सभरको कुरा गर्ने हो भने ३२ प्रतिशत बढेको सरकारी तथ्यांक छ । स्पेनमा हिंसा पीडितहरुकालागि कोड वर्ड प्रयोगमा ल्याइएको छ । पीडितहरुले फार्मेसीहरुमा पुगेर ‘मास्क १९’ भन्नासाथ त्यहाँ फार्मेसी सञ्चालकहरुले सम्बन्धित अधिकारीलाई खबर गर्ने सिस्टम बनाइएको छ ।

फ्रान्समा मात्र होइन, ब्राजिलदेखि जर्मनीसम्म, इटलीदेखि चाइनासम्म महिलाबिरुद्ध हिंसा बढिरहेको तथ्यहरु समाचारमा आइरहेका छन् । द गार्डियनले अनलाइनमा उल्लेख गरे अनुसार चिनको हुवाई प्रान्तमा कोभिड १९ ले महामारीको रुप लिएपछि गरिएको लकडाउपछि महिला र बालिकामाथि हुने हिंसा तीन गुणाभन्दा बढी भएको प्रहरीमा रिपोर्ट भएको छ । त्यस्तै त्यहाँ सम्बन्ध विच्छेदको मुद्दाहरु ३० देखि ४० प्रतिशतले बृद्धि भएका छन् । कोरोना कहर विश्वव्यापी बनेसँगै महिलाहरुमाथि बृद्धि भएका घरेलु हिंसा संबोधन गर्ने विषय भने उति उठेको देखिँदैन । अरु देशमा केही प्रयास भएको देखिए पनि हामीकहाँ बहसको विषय बन्न नसकेको मात्र होइन, अहिलेको समय यी कुरा गर्ने समय होइन भन्ने तहको सोंच नै बलियो देखिन्छ ।

नेपालमा आफूमाथि हिंसा हुँदा महिलाहरुले राष्ट्रिय महिला आयोगको हटलाइन ११४५ मा फोन गरेर उजुरी गर्न सक्थे । लकडाउनपछि त यो सेवा समेत बन्द गरिएको छ । यो बेला प्रहरी तथा स्थानीय तहका न्यायिक समितिहरुमा गएर उजुरी गर्न सक्ने अवस्था छैन । महिलाबिरुद्ध हुने हिंसामा काम गर्ने गैरसरकारी संस्थाहरु बन्द जस्तै छन् । पीडितलाई समेत ‘यस्तो बेलामा’ कहाँ भन्नु भन्ने लाग्ने बेला छ । लकडाउनका बेला घरभित्रै बस्ने हो तर घर नै असुरक्षित हुनेहरु कसरी सुरक्षित भएर बस्ने ? सूचना दिने काम समेत भएको देखिँदैन । प्रहरी, स्थानीय तह र गैरसरकारी क्षेत्र मिलेर कम्तिमा यो बेला उजुरी लिन सक्ने गरी हेल्प डेस्क तथा हटलाइन सञ्चालन हुनु आवश्यक छ । व्यक्ति घरभित्र छ, हामीले खाद्यान्नसहितका सामान होम डेलिभरी सेवा दिइरहेका छौं भने यो छुटिरहेको यो सेवा सञ्चालनमा पनि सम्बद्ध पक्षले बेलैमा ध्यान पुर्याऔं ।

घर, मानिसले सबैभन्दा सुरक्षित महशुस गर्ने ठाउँ । तर त्यही घर कसैको हिंसा भोग्ने स्थान किन बनिरहेको छ ? हरेकले मनन गर्नु आवश्यक छ । अहिले अन्य काम स्थगित छन् । फुर्सदिलो समय छ । आफैले आफूलाई हेरौं । हाम्रा व्यवहारहरु परपीडक त छैनन् ? परिवारका सदस्यमाथि अन्याय त भैरहेको छैन ? महिलाहिंसाका कुरा गर्दा पीडकको रुपमा स्थापित पुरुष छवी बदल्ने बेला पनि हो यो । परम्परागत रुपमा रहँदै आएको हाम्रो भूमिका बदलेर हेरौं । सबै कामको सम्मान गर्ने थिति बसालौं । हाम्रै घर परिवारका महिला हाम्रै घरभित्र असुरक्षित बन्ने अवस्था अन्त गरौं ।

कोरोना संक्रमणको त्रास बढेसँगै विश्व नै एक किसिमले लकडाउनमा गएको छ । हरेकजसो देशले कोरोना संक्रमण रोक्नका लागि लकडाउनलाई अवलम्बन गरेका छन् । लकडाउनसँगै सबैको दैनिकी घरभित्र सीमित बन्न पुगेको छ । ठीक यहीबेला आफ्नै घरहरुमा महिला र बालिकाहरु असुरक्षित बन्ने क्रम बढेको तीतो पक्षप्रति हाम्रो ध्यान नपुगेको त होइन भनेर सम्झाउन खोजिएको मात्र हो । हो, यति बेला कोरोना भाइरस हामी सबैको मुख्य समस्या हो । कोरोना संक्रमण रोक्न, संक्रमितहरुको उपचारमा जुट्न र यसका कारणले निम्त्याएका अन्य सबैखाले दुःखसँग सामूहिक रुपमा लड्नुपर्ने हामी सबैको जिम्मेवारी हो, यसमा दुईमत छैन । तर सबैको ध्यान कोरोना केन्द्रीत भएका बेला महिला तथा बालिकाहरुले घरभित्रै भोगिरहेका हिंसालाई नजरअन्दाज गर्नु हुँदैन । कोरोनाबिरुद्ध जुझ्ने तयारी गरिरहँदा महिलाको जीवन र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको यी कुरामा पनि पर्याप्त ध्यान पुग्नु पर्छ । कोरोनाले लैजाला नलैजाला तर लकडाउनमा घरभित्रै हिंसा भोगेर कसैको जीवन जाने परिस्थिति पनि हाम्रा लागि सह्य हुन सक्दैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np