Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

घरमै बनाइने स्वस्थ खाना खाऊँ

         डा. अरुणा उप्रेती ||   91 Views   ||   Published Date : 1st June 2020 |

अहिले बाध्यतावस घरमै बस्नुपर्ने समय हो । अधिकांश मानिसहरुले शारीरिक तथा मानसिक रूपले सक्रिय भएर काम नगरेको अवस्था हो । तसर्थ यस समयमा स्वस्थकर खानेकुरा खान जरुरी हुन्छ । घरकै भान्सामा भएका निम्न खानेकुरा यसरी बनाएर खान सकिन्छ ।
गेडागुडी : गेडागुडी र दलहन प्रोटिनयुक्त खानेकुरा हुन् । करीब ८ घण्टासम्म गेडागुडीलाई पानीमा भिजाइसकेपछि पानी निथारेर राख्नुपर्छ । यसरी भिजाएका गेडागुडी गर्मीयाममा प्रायः दुई दिनमा उम्रिन्छन् । यसरी उम्रिएका गेडागुडीलाई पकाएर झोलिलो बनाएर सेवन गर्न सकिन्छ ।

क्वाँटी : क्वाँटी बनाउनका लागि करीब ११ थरीका गेडागुडी मिश्रण गरेर भिजाइन्छ । त्यसमा आलु, तामा र बोडी मिसाएर पकाउन सकिन्छ । विभिन्न प्रकारका तरकारी एकै ठाउँमा मिसाएर ‘जोगी तरकारी’ बनाएर खाँदा स्वास्थ्यका लागि राम्रो हुन्छ । यसको झोल र चिउरा, भुजासँग पनि खान सकिन्छ ।

मिश्रणयुक्त दाल : गेडागुडीबाट झोल बनाएर पिएमा शरीरलाई निकै फाइदा गर्छ । भिटामिन तथा प्रोटिनयुक्त गेडागुडी तथा मिश्रण दाल खाँदा पाचन प्रक्रियालाई बलियो बनाउँछ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदा ज्वरो आउने, रुघाखोकी, झाडापखाला लाग्ने, आउँ पर्ने सम्भावना बढी हुन्छ । साथै यस्तो अवस्थामा विभिन्न रोगका किटाणुले सजिलै आक्रमण गर्छ । त्यसैले स्वस्थ रहनका लागि सन्तुलित र नियमित रूपमा टुसा उम्रिएका गेडागुडी र मिश्रण दलहन खानुपर्छ ।

दहीमोही : दहीमोही सेवन गर्नुपर्छ । दहीमा पानी राखेर पिउनाले पाचन प्रक्रियालाई सहज तथा बलियो बनाउँछ । दही र चिउरा मुछेर पनि खान सकिन्छ । यस्तै मकैको च्याँख्ला, भुटेको मकै, भटमास तथा मोही खाँदा स्वास्थ्यका लागि अति राम्रो हुन्छ ।
मासुको झोल : मासु झोल पौष्टिकयुक्त हुन्छ । यसको झोल भात, कोदो, मकै, गहुँ, फापरको ढिँडोसँग स्वादिष्ट बनाएर खान सकिन्छ ।

अण्डा : अण्डाकरीलाई तरकारी बनाएर खान सकिन्छ ।
फाँडो : कोदो र गहुँको पिठोमा साग तथा विभिन्न किसिमका हरियो तरकारी, टमाटर, गाँजर मिसाएर फाँडो बनाउन सकिन्छ । फाँडोलाई भात, रोटी, ढिँडोसँग खान सकिन्छ ।

जाउलो :  सामान्यतः जाउलो बिरामीले खाने भन्ने गरिए पनि स्वस्थ्य रहनका लागि जसले पनि खान सकिन्छ । जाउलो बनाउँदा चामल, मिश्रण दाल, हरियो तरकारी तथा सागसब्जी मिसाएर बनाउन सकिन्छ ।

ज्वानो, मेथीको झोल तथा जाउलो : ज्वानो, मेथीले गेडागुडी र दाल झानेर खान सकिन्छ । मेथीको गेडालाई भिजाएर त्यसको अचार साँधेर खान सकिन्छ । मेथी र ज्वानोलाई तरकारी, सागसब्जीमा फुराएर खान सकिन्छ । मेथी र ज्वानोको मात्रै झोल बनाएर खान पनि सकिन्छ । यसरी ज्वानो र मेथी खाएको खण्डमा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

मस्यौरा र गुन्द्रुक : विभिन्न थरीका गेडागुडीको पिठो बनाएर पिँडालु, तरुल आदि मिसाएर मस्यौरा बनाइन्छ । मस्यौराको झोल बनाएर खाँदा पनि राम्रो हुन्छ । गुन्दु्रक र भट्मासमा मिसाएर झोलिलो बनाएर खाँदा झनै स्वस्थकर हुन्छ ।

जंकफुड खुवाएर छोराछोरीलाई रोगी नबनाउँ
जंकफुडमा बालबालिकाको आकर्षण बढ्नुमा मुख्य दुई कारण छन् । पहिलो कारण, अभिभावकले आफ्ना छोराछोरीलाई भान्सामा पाक्ने खानेकुराको महत्वबारे नसिकाउनु र घरमा पकाएको खानेकुरा भन्दा प्याकेटका खानेकुरामा बानी पारिदिनु हो । आमाबुबाको मानसिकता कस्तो छ भने, खाना खान नमान्ने बच्चाले चाउचाउ, कुरमुरे जस्ता प्याकेटका खानेकुरा मिश्रण गरेर ख्वायो भने खान्छ ।

शिशु अवस्थादेखि नै बजारमा पाइने प्याकेजिङ खानेकुरा खुवाउने बानी बसालेपछि छोराछोरीमा पछिसम्म त्यो लत हट्दैन । बाबुआमाले साना नानीहरुलाई स्कुल जाँदा खाजाका रुपमा चाउचाउ, बिस्कुट, कुरमुरे जस्ता पत्रु खाना पठाउने गरेको देखिन्छ । अभिभावककै सोंचाइ यस्तो भएपछि बालबच्चाको आकर्षण जंकफुडमा हुने नै भयो । दोस्रो कारण, सरकारको गलत नीति हो । किनभने टोलटोलमा राखिएका होडिङ बोर्ड र विभिन्न स्थानमा राखिएका प्रचार सामग्रीले बालबालिकालाई जंकफुडप्रति आकर्षित गरिरहेको छ । यस्तो प्रचारलाई सरकारले नियन्त्रण गर्न सकेको छैन । जंकफुडको असरको बारेमा अभिभावकमा चेतना जगाउन सकिरहेको छैन । त्यसले पनि बालबालिकालाई जंकफुडप्रति आकर्षित गर्न मद्दत गरिरहेको छ ।

जंकफुडको असर तत्काल त नदेखिएला तर भविष्यमा भयावह स्थिति ल्याउनेमा शंका छैन । भन्सामा पाक्ने दाल, भात, तरकारी, रोटी, आलु, भटमास, मकै, बारीमा फलेको मौसम अनुसारका फलफूल हामीले बिर्सिएका छौं ।

जंकफुडले बालबालिकालाई चाहिने पौष्टिक तत्वमा कमी ल्याउँछ । घर वरपर पाइने खानेकुरा छोडेर बाहिरी प्याकेजिङ खानेकुराले क्याल्सियम, भिटामिन, मिनरल्स जस्ता तत्वहरु नपुग्ने हुँदा बच्चा कुपोषित भई शारीरिक, मानसिक र संवेगात्मक विकासमा रोकावट आउँछ । प्याकेजिङ खानेकुरामा अत्यधिक मात्रामा चिल्लो, नुनिलो र गुलियो पदार्थ हुने हुनाले बालबालिकामा मोटोपन मात्रै देखिने तर भित्र पौष्टिक तत्व नहँुदा सानै उमेरमा उच्च रक्तचाप, मधुमेह, हड्डी कमजोर हुने जस्ता समस्या देखिन्छन् ।

घरको खाना नदिएर पिज्जा, बर्गर, चाउचाउ, बिस्कुट, केक लगायतका खानेकुरा दिने अभिभावकले सम्झनुहोस्, तपाईं आफ्ना बालबालिकालाई श्राप दिँदै हुनुहुन्छ । ‘तँ जिन्दगीभर बिरामी भएर बाँचेस्, कहिल्यै स्वस्थ नभएस्, तेरो बुद्धि भ्रष्ट होस्, मुटु कमजोर होस् । हड्डीहरु मक्किएर जाओस्, शारीरिक र मानसिक रुपमा पनि तँ सधैं सुस्त रहेस्,’ छोराछोरीलाई यस्तो श्राप दिँदै हुनुहुन्छ ।

परिवारका सदस्यले सबैभन्दा पहिले यो बुझ्न जरुरी छ कि, घरको खाना खाएन भनेर बालबालिकालाई खानामा जंकफुड मिसाएर खुवाउने, त्यति गर्दा पनि मानेन भने मोबाइल दिएर खुवाउने बानी कहिल्यै गर्नुहुँदैन । उनीहरुलाई आफूसँगै राखेर घरकै खाना खुवाउने गर्नुपर्छ ।

जथाभावी थुक्ने बानी छाड्ने कि ?
कोरोना भाइरसका कारणले हात मिलाउनेहरू नमस्ते गर्न र ठेलमेल गरेर लाइनमा बस्नेहरू केही दूरी राख्न थालेका छन् ।
कोरोनाका कारण घरमा बस्न बाध्य भएकाहरू घरमै आफैंले पकाउन पनि बाध्य छन् । ‘पत्रु’ खानाको सट्टा स्वस्थकर खाना खान थालेका छन् । बालबालिकालाई पनि प्याकेटको सट्टा स्वस्थ खाना दिन्छन् । हात फोहोर भएको वास्ता नगर्नेहरू अहिले बारम्बार साबुन पानीले हात धुन थालेका छन् । अर्थात् हाम्रो धेरै बानी कोरोनाले परिवर्तन गरिदिएको छ । आशा गरौं, यस्तो स्वस्थकर बानी पछिसम्म पनि रहिरहला । कोरोना संक्रमित व्यक्ति धेरै नै बिरामी पर्छन् । कोरोना भाइरस लागेपछि मरिहालिन्छ भन्ने मान्छेमा त्रास छ । कोरोना संक्रमित भएर अस्पतालको भेन्टिलेटरमा बस्नुपर्छ कि ? मरी पो हालिन्छ कि भन्ने त्रासले नै यस्तो बानी विकसित भएको छ ।

यस्तै परिवर्तन गर्नैपर्ने अर्काे बानी हो– जथाभावी ख्याक्क गर्ने र थुक्ने । यस्तो लाग्छ, मानौं यो राष्ट्रिय चरित्र हो । ‘कोरोना’ को छलफलमा ‘खोक्दा’ रुमालले नाक, मुख छोप्नुपर्छ त भनियो तर कसैलाई पनि जथाभाबी थुक्नु, ख्याक्क र खुक्क गर्नु हुँदैन भनिएन । यो बानी असभ्य मात्र होइन, रोग सर्ने कारण पनि बन्न सक्छ । यो बानीका कारण कोरोना मात्र होइन, क्षयरोग पनि सर्न सक्छ । क्षयरोगले नेपालमा हरेक दिन २० जना मर्छन् । तर प्रायः मानिसहरूले यो तथ्यांकलाई खासै वास्ता गर्दैनन् ।

हामीमध्ये कतिले जथाभाबी थुक्नेलाई किन थुकेको भनेर सोध्ने साहस गर्छौं ? माइक्रो चालकलाई बाहिर नथुक भन्न सक्छौं र ? चार वर्षअघि दसैंका बेला काठमाडौंबाट दोलखा जाँदाको ७ घण्टा समयमा बस चालकले झन्डै दुईसय पटक थुके । चालकले थुक्दा बाटोमा मोटरसाइकल चढेर गइरहेका कतिपय महिला र पुरुषको लुगामा थुक र खकार लागेको उनीहरूले थाहै पाएनन् । सायद अफिस वा घर पुगेपछि थाहा पाए कि । थाहा पाएपछि रिसाए होलान् तर गर्न पो के सकिन्थ्यो र ?

मानिसले जथाभाबी थुक्नु लज्जाको विषय हुनुपर्ने हो । सिंगापुरमा जाने नेपालीले त्यहाँको सडकमा ‘ख्याक्क’ थुक्दैन न त युरोप जाने विद्यार्थीले नै । तर नेपालमा त जसले जहाँ पनि थुकिरहन्छन् । मानौं यो ‘गिनिज बुक अफ वल्र्ड’ मा लेखिन योग्य चरित्र हो । अरूको देशमा फोहोर गर्न डराउनेले नेपालमा किन फोहोर गर्ने होलान् ? यहाँको हावापानी नै फोहोर भएकाले वा देशमा क्रान्ति ल्याउँछु भनेर ठूलो स्वरले चिच्याउने नेताले कहिल्यै ‘सफाइ क्रान्ति’ का बारेमा नबोलेर पो हो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np