Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

संगीतमा झुमेको परिवार

         नरेन्द्र केसी ||   96 Views   ||   Published Date : 2nd June 2020 |

एक रमाइलो परिवार छ दाङमा, जहाँ परिवारका हरेक सदस्य गीत संगीतमा झुम्छन् र कला साधनामा तल्लीन हुन्छन् । 

कोरोना संकटका कारण नेपाल लकडाउनको अवस्थामा छ । अधिकांश मानिसहरु घरमै बसेका छन् । जसले गर्दा समय कटाउन पनि समस्या भइरहेको छ र दिनहरु पट्यारलाग्दो तरिकाले बितिरहेका छन् । तर, कतिपय परिवार यस्ता पनि छन्, जहाँ समय बितेको पत्तै हुँदैन । त्यस्तै एक रमाइलो परिवार छ दाङमा, जहाँ परिवारका हरेक सदस्य गीत संगीतमा झुम्छन् र कला साधनामा तल्लीन हुन्छन् ।

बेलाबेलामा बाँसुरीको धुनमा सुनिने र अंग्रेजीका अब्बल शिक्षकको रुपमा चिनिने नाम हो– रामहरि रिजाल । उनी लामो सयदेखि गीत संगीतमा तल्लीन छन् । कुनै बेला हरेक प्रतियोगितामा भाग लिने रिजाल अचेल भने शिक्षण पेशामै रमाएका छन् तर पनि गीत संगीतबाट टाढा भएका छैनन् । अहिले लकडाउनले अझ परिवारका सबै सदस्यलाई एक ठाउँमा जुटाइदिएको छ । अचेल हरेक साँझ गीत संगीतले गुञ्जिन्छ उनको घर । लकडाउन शुरु भएदेखि नियमित संत्संगमा जुटेकाले रिजाल गृह अचेल ‘भजन गृह’जस्तो भएको छ ।

रिजाल बाँसुरी, मादल, हार्मोनियम, किबोर्ड, तबला, मुर्चुंगा र डम्फू बजाउँछन् । बाजाहरु तीनथरि हुन्छन् । हावाबाट बजाइने सुशील बाजा, तालमा बजाइने रिदम र तारबाट बजाइने तार बाजा । ‘म तार बाजा बजाउँदिन तर सुशील र रिदम बाजा सबै बजाउँछु’– रिजाल भन्छन् । उनी २०३९ सालदेखि गीत संगीतमा जोडिए भने २०४२ सालमा प्रज्ञा प्रतिष्ठानको प्रतिष्पर्धामा भाग लिएर तत्कालीन मध्यपश्चिम विकास क्षेत्रलाई प्रथम बनाए ।

परिवारका हरेक सदस्य गीत संगीतमै रमाउनु यो परिवारको बिशेषता हो । श्रीमती अम्बिका रिजाल पनि पेशाले शिक्षक हुन् तर बचेको समय गीतसंगीतमै बित्छ । नौ दश बर्षकै उमेरदेखि गीत संगीतमा रुचि भएर दार्जिलिङ, इलामलगायतका क्षेत्रमा सानै उमेरमा ख्याति कमाइसकेकी अम्बिका निकै राम्रो हार्मोनियम बजाउँछिन् । उनी आधुनिक र भजन दुबै विधामा उत्तिकै राम्रो गीत पनि गाउँछिन् ।

बुवाआमाको प्रेरणाबाट छोरा आरोग्य रिजाल सांगीतिक क्षेत्रमा अझ एक कदम अघि बढिसकेका छन् । आर्ट अफ लिभिङमा ‘लिड सिंगर’को भूमिकामा रहेका आरोग्य संगीत साधनामा ‘डिभोटेड’ छन् । अचेल लकडाउनका कारण फुर्सदमा रहेका आरोग्य विहानैदेखि योग साधना, होम जप र साँझमा नियमित भजनमा जोडिन्छन् । १८ बर्षको उमेरदेखि गाउन थालेका उनी अध्ययन र पेशाका हिलाबे सूचना प्रबिधिको क्षेत्रमा छन् ।

छोरी आराधना रिजाल भर्खर १६ बर्ष पुगिन् । उनले पनि परिवारको विरासत समातिसकेकी छन् । म्यूजिक क्लास लिएकी आराधना आधुनिक, पप र भजन गाउँछिन् । रामहरिकै संरक्षणमा हुर्केकी भाइकी छोरी बिजया रिजाल १४ बर्षकी भइन् । २०७० मा भाइ बिष्णुका निधनपछि रामहरिले नै बिजयालाई हुर्काउँदै आएका छन् । बिजया पनि अहिले परिवारको सांगीतिक माहोलमा जोडिइसकेकी छन् । उनी मीठो भजन गाउने भइसकेकी छन् । परिवारका पाँचै जना संगीतका पारखी भएपछि अचेल हरेक साँझ यो परिवारमा सांगीति धून निकै मीठो गरी गुञ्जने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np