Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

मेरो स्कूल जीवन र अहिले चलेको अनलाइन शिक्षाको बहस

         सविना मल्ल ||   17 Views   ||   Published Date : 2nd June 2020 |

Sabina Mallaआजभोलि सम्झना मै सीमित छ मेरो पुरानो परिवेश । कखरा सिकाउने मेरा आदरणीय गुरु वर्ग अनि शिक्षा प्रदान गर्ने पवित्र मन्दिर मेरो विद्यालय आज पनि मानसपटलमा समय समयमा उसैगरी घुमिरहन्छ । सम्झिदैछु बाल्यकालका ती रमाइला पलहरु अनि कक्षाकोठाका साथीसङ्गीहरू । बिहान उठेर डोको अनि नाम्लो बोकेर घाँस दाउरा अनि हतार हतार गर्दै भोको पेट हुँदा गहुँ अनि नहुँदा मकैको रोटी झोलामा हालेर स्कुल कुदेका दिन ।
शैक्षिक सत्र सकिनै लाग्दा नि समयमा किताब नपाउँदा कापी र कलम बोकेर मात्र गुजारेका ती दिन । पुस माघको कठ्याग्रिंने चिसोले फुटेर चिरा चिरा परेका हातखुट्टा । न त लगाउनलाई जुत्ता न त मोजा । चप्पल लगाउन पाउनु नि सबैभन्दा भाग्यमानी ठानिन्थ्यो आफूलाई । वर्षभरि लगाउनलाई एउटै ड्रेस । आइरन गर्ने त कुरौ छोडौ हप्तामा एकदिन बल्लतल्ल धोएर ड्रेस लगाउनुपर्ने विवशता । अरुले प्रयोग गरेका पुराना किताबले गुजारेका ती दिन । आधारभूत शैक्षिक सामाग्रीको अभावमा नै गुज्रिएका ती दिन ।

अझै नि नेपालका हिमाली र पहाडी विकट ग्रामीण भेगका कयौं बालबालिकामा यस्तो दयनीय अवस्था छ । कयौंका सपनाहरू अधुरै अनि अपुरै छन् । हिजोआज कोरोनाको कारणले अस्तव्यस्त पढाइलाई अनलाइन मार्फत निरन्तरता दिने जस्ता समाचार पढिरहँदा मनमनै उहीँ पुरानै दिनहरू एकपछि अर्काे गर्दै आइरहेको छ । सोच्दैछु आवश्यक कापी र कलम किनिदिने हैसियत नभएका कयौं अभिभावक अनि कम्प्युटर अनि मोबाइल फोन देख्न र छुन नपाएका सयौं ग्रामीण विद्यार्थीहरूको अधुरा सपना अनलाइन कक्षाले पूरा गर्ला त ? वर्षैपिच्छे पूरा हुन नसकेका कोर्स अनलाइनले पूरा गर्ला त ?

के नेपालको हरेक कुनाकन्द्रामा वाइफाइको पहुँच छ त ? हिँजोआज यिनै प्रश्नहरू पालैपालो रोटेपिङ जसरी घुम्दैछन् मानसपटलमा । सम्झिदैछु उही दिन जुन दिन पहिलो पटक जीवनमा कम्प्युटर र फोन सेट देखेकी थिएँ त्यो पनि जिल्ला सदरमुकाम एस एल सी को परीक्षामा सहभागी हुन गएको बेला । आश्चर्यजनक लाग्यो जति बेला मानसपटलमा कोरिएको आवरणभन्दा भिन्न प्रकृतिको कम्प्युटरको आकृती देख्दा ।

ग्रामीण विद्यार्थी जीवन शहरिया जस्तो सहज कहाँ पो थियो र ? पढ्नलाई न त व्यवस्थित भवन, बस्नलाई विद्यालयमा न त आवश्यक डेस्क बेञ्च, लेख्नलाई न त सेतोपाटी अनि मार्कर, खेल्नलाई न त खेल सामग्री, साँस्कृतिक कार्यक्रम गर्नलाई न त आवश्यक सामग्री नै उपलब्ध हुन्थ्यो । अभाव नै अभावको जीवन जीउन विवश हामी साथीहरूसँग स्कुल जानू मै गर्व गथ्र्यौं । जब वर्षायाम सुरु हुन्थ्यो बाढी पहिरोको डर । एकातिर त पानीमा भिजिने डर अर्काेतिर किनकि पानी छेक्नलाई न त साथमा छाता हुन्थ्यो न त विद्यालयमा ओढ लाग्ने ठाउँ नै । म लगायत सबै विद्यार्थी खुशी हुन्थ्यौँ जब हिउँदको टन्टलापुर घाम तापेर चौरमा पढ्न पाउथ्यौँ ।

अझै नि याद आइरहन्छ, हरेक शुक्रबार गोबर र माटो जम्मा पारेर पालैपालो कक्षाकोठा लिपेको अनि घरबाट पुरानो ब्याट्री होस् या कोइला लिएर दुई जनाको समूह विभाजन गरेर कालोपाटी रङ्गाएको । सारै रमाइला लाग्थे ती दिनहरू । कहिलेकाहीँ कक्षाकोठामा शिक्षकले दिएको गृहकार्य नगरेर होस् या त सोधेको प्रश्नको जवाफ दिन नसकेर त्यही कालोपाटीको कालो रङसँगै लाजले रङ्गिन्थे सबैका गालाहरू । तै पनि मनमा न त कुनै सन्त्रास नै थियो न त कुनै कुराको भय नै । जीवन निष्फिक्रीका साथ निरन्तर गतिमा अघि बढ्दै थियो । जब दशैँ तिहार नजिकिदै जान्थ्यो विद्यालय बिदा शुरु हुनुभन्दा एक हप्ता पहिले नै हामी सबै व्यस्त हुन्थ्यौँ विद्यालयको भवन लिपपोत गर्न ।

समय आफ्नै गतिमा निरन्तर अघि बढ्दै थियो । उमेरको घोडा चढी धावनमार्गमा पाइला चाल्दै गर्दा समय र परिस्थितिले कति सँग भेटायो अनि कति सँग छुटायो हेक्का राखी साध्य छैन केवल सबै कुरा स्मृतिको पानामा अविस्मरणीय बनेर बेला बेलामा याद दिलाइरहन्छन् । जीवन सोंचेको जस्तो कहाँ हुदो रहेछ र ? सँगसँगै एक दशक पार गरेका हामी समयले कसैलाई दासी बनायो त कसैलाई प्रवासी बनायो । हेर्दाहेर्दै दुई दशक नि बित्न आँटेछ स्कुले जीवनले कोल्टे फेरेको । समय बदलियो, उमेर बदलियो, परिवेश बदलियो तर कहिल्यै बदलिएन मेरो विद्यालय, गुरुप्रतिको आस्था अनि साथीसङ्गीको माया । अझै नि ती अविस्मरणीय यादहरू मानसपटलमा सजाएर राखेकी छु । हार्दिक नमन आदरणीय सम्पूर्ण गुरुप्रति जसले गर्दा आज म आफ्नो अनुभूति शब्दमार्फत प्रस्फुटन गर्न सक्षम भएकी छु । यहाँहरूको अतुलनीय योगदानको सदैव ऋणी छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np