Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

न्यायमा महिलाको पहँच सन्तोषजनक छैन

         ||   85 Views   ||   Published Date : 14th March 2013 |

– सरिता भुसाल

photo of sarita

१. महिलाहिंसा विरुद्धको अभियान के हो ?
विश्व स्वास्थ्य संगठनको परिभाषाअनुसार लैङ्गिक बिभेदको आधारमा हुने ९० प्रतिशत हिंसा महिलामाथि हुने भएकोले लिङ्गको आधारमा गरिने हिंसा भन्ने बित्तिकै महिला हिंसा भनेर बुझ्ने गरिन्छ । महिलामाथि हुने हिंसा घर, समाजमा जरा गाडेर बसेको छ । महिलामाथि हुने हिंसा अन्त्यका लागि जुनकुनै क्षेत्रबाट गरिने प्रयास र यसको बिरुद्ध सबै क्षेत्र, समुदाय एकजुट भई यसलाई हटाउनको लागि सामूहिकरुपमा निरन्तर गरिने प्रयास स्वरुप गरिने कार्यक्रमहरुलाई हामी महिला हिंसा बिरुद्धका अभियान भन्न सक्छौं ।

२. हामीकहाँ यसको आवश्यकता र सान्दर्भिकता के हो ?
प्रत्येक घर, समाज, राज्य लगायत जहाँ महिलाको उपस्थिति छ, त्यहाँ विभेद र हिंसा ब्यापकरुपमा रहेको छ । महिलामाथि निरन्तर हिंसा भइरहेको हामी सबैले देखेसुनेकै विषय हो । त्यसैले अभियानको सान्दर्भिकता र आवश्यकता अत्यन्त धेरै छ हामीकहाँ । किनभने यस किसिमका अभियानले सम्बन्धित सबै पक्षलाई एक ठाउँमा ल्याउन र बिगतमा महिला हिंसा बिरुद्ध भए गरेका उपलब्धिहरुको समीक्षा र भावी कार्ययोजना निर्माणमा टेवा पुग्ने गर्छ ।
नेपालमा महिलाहरुको स्वतन्त्रता र गतिशिलतामा अन्य छिमेकी मुलुकहरुको भन्दा केही राम्रो देखिएता पनि महिलाहरुमाथि काम गर्ने स्थल, यातायात, उत्पादनका श्रोत साधन, भाषा देखि घरपरिवारसम्म बिभिन्न रुपमा विभेद तथा हिंसा खेप्नु पर्ने वाध्यता अझै पनि छ । हामी कहाँ महिलामाथि हुने हिंसालाई तथ्याङकमा यति नै भन्न नसकिएता पनि अधिकांश महिलाहरु कुनै न कुनै रुपमा पीडित तथा प्रभावित भएका छन् । त्यसैले महिलाहरु आफै पनि हिंसा विरुद्ध जागरुक हुनको लागि पनि यस्ता अभियानको आवश्यकता छ । महिला माथि हुने हिंसा कुनै एक व्यक्तिको कारणले मात्र नभई सामाजिक, साँस्कृतिक मूल्यमान्यताको आधारमा स्थापित बिभेदकारी पितृसत्तात्मक सामाजिक संरचना हो जसलाई राजनैतिक राज्य ब्यवस्थाले संरक्षण र प्रबद्र्धन गर्दै आईरहेको छ भन्ने विषयहरु बुझ्न बुझाउन पनि यस्ता अभियान सार्थक हुन्छन् जस्तो लाग्छ ।

३. महिला विरुद्ध हुने हिंसा अन्त्य गर्न धेरै अभियान चलाइए । चौविस दिने आन्दोलनदेखि सय दिने साठी दिने अभियान पनि हामीले सुन्यौं । अहिले उर्लंदो सय करोड अभियान पनि चल्दैछ । यी सबका बाबजुुद महिलाविरुद्ध हुने हिंसा उत्तिकै सुनिन्छ । परिवर्तन नभएकै हो त ?
अभियान त प्रभावकारी भएकै छन् । त्यो चाहे सूचनाको हिसाबले होस् चाहे सरकारलाई दवाव श्रृजना गर्ने हेतुले । दुई चारवटा अभियानले महिला हिंसा न्युनीकरण हुने अवस्था पनि छैन । परिवारदेखि राज्यका हरेक संरचनामा रुखको जरा जसरी जब्बर बनेर बसेको पितृसत्तात्मक सोंचले महिलामाथि निरन्तर हिंसा गरिरहेको छ । त्यस्तो संरचनालाई संरक्षण गर्ने राज्यव्यवस्थाको मूल स्वरुप अझै परिवर्तन भएको छैन । महिलामािथ हुने हिंसा अन्त्यको सवाल व्यक्तिको सोंच परिवर्तनसँग जोडिएको विषय भएकोले परिवर्तनका लागि अलि बढी समय लाग्ला ।
आशातित परिवर्तन नभएपनि परिवर्तन नै नभएको त होइन । महिला हिंसालाई संबोधन गर्ने गरी केही कानुनी व्यवस्था पनि भएका छन् । महिलाहरुमा चेतनास्तर बढ्दो छ । सहनुहुन्न भन्ने सोंचको विकास विस्तारै हुँदै गएको छ । हिंसा प्रभावित महिलाहरुको न्यायमा पहुँच बढाउन केही सहयोगी संयन्त्र पनि बनेका छन् । तर बढ्दो संक्रमणकाल, राजनीतिक अस्थिरता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण जस्ता मुलुकका जटिल समस्याको प्रत्यक्ष मार हिंसा प्रभावितहरुमा पनि परिहेको छ ।

३. कुन कुन कुराले महिला विरुद्धका हिंसालाई निरन्तरता दिइरहेका छन् ?
सबैभन्दा ठूलो कुरा सोंच हो । स्थापित सोंचलाई परिबर्तन गर्नु एकदमै चुनौतिपूर्ण कार्य हो । बिद्यमान पितृसत्तात्मक सामन्ती राज्यव्यवस्थाले यसलाई निरन्तरताको लागि सहयोग अथवा बढावा दिइरहेको छ । सत्ता, शक्ति र श्रोतको पहुँच र नियन्त्रणबाट जहिलेसम्म महिलाहरुलाई पाखा पारिन्छ तबसम्म महिलाहरु अनेक तवरवाट हिंसा खेप्न बाध्य हुन्छन् । त्यस्तै हाम्रा परम्परागत मूल्य मान्यता छन् जसले महिलामाथि हुने हिंसालाई निरन्तरता दिइरहेका छन् ।

४. महिला विरुद्ध हिंसा कहाँबाट शुरु हुन्छ किन यो निरन्तर छ ?
महिला बिरुद्ध हुने हिंसाको स्वरुपलाई हेर्दा घरपरिवार, समाज, राजनीति लगायत प्राय ः सबै क्षेत्रमा बिद्यमान छ । जहाँ बिभेद छ, त्यहाँ हिंसा हुन्छ । महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा मान्यता दिइएको छ । सारमा हेर्ने हो भने महिला विरुद्ध हिंसा यो बिभेदकारी सामाजिक संरचनाको परिणाम हो । जुन समाजमा यसरी स्थापित छ कि नजानिँदो गरी स्वतः पछिल्लो पुस्तामा हस्तान्तरण भइरहेको छ । धर्मको नाममा, चाडपर्व र संस्कार संस्कृतिको नाममा या परम्परा र जातभातको नाममा यहाँ महिला र पुरुषकालागि बेग्ला बेग्लै मान्यता स्थापित छन् । एउटै मानवीय गुण र दोषलाई लिङ्गका आधारमा राम्रो र नराम्रो छुट्याउने प्रचलन ब्यापक छ । महिलालाई समान मान्छेको दर्जामा समेत हेर्न नसक्ने यी मूल्य मान्यताले महिलाबिरुद्ध हुने हिंसालाई निरन्तरता दिइरहेका छन् ।

५. महिलाअधिकारकर्मीहररु विरुद्ध हुने हिंसा सामाजिक समस्या हो भन्ने गर्छन । सामाजिक अभियान चलाउँदा महिलालाई मात्रै लिएर चलाएको पनि देखिन्छ । महिलालाई मात्रै लिएर अभियानहरु चलाउँदा सामाजिक समस्या कसरी हल हुन सक्ला त ?
महिलाबिरुद्ध हुने हिंसा बिरुद्धका सामाजिक अभियानमा महिलाहरुको मात्र सहभागिता हुने गरेको धेरै टिका टिप्पणीहरु उठ्ने गरेका छन् । जसको सवाल उसको नेतृत्व र सहभागिता हुनु अत्यन्तै जरुरी छ । महिलाका सवालहरुका सन्दर्भमा उनीहरु आफै आफ्नो ब्यक्तिगत समस्या मात्र नभएर सामाजिक समस्या हो यसका बिरुद्ध जाागरुक हुनु मेरो कर्तब्य तथा दायित्व हो भन्ने भावनाको बोध भई अभियानमा लाग्दैनन् तबसम्म अभियान अगाडि बढ्न सक्दैन । त्यसैले पनि महिलाहरुको सहभागिता अन्यन्तै महत्वपूर्ण रहेको हुन्छ । तर यो होइन कि महिला विरुद्ध हुने हिंसाका अभियानमा महिला मात्रैको सहभागिताले यसको अन्त्य हुनसक्छ । त्यसैले पनि यस्ता अभियानमा ऐक्यबद्धता र प्रतिबद्धताको लागि सँधै आमनागरिकलाई आह्वान गरिएको हुन्छ । तर समस्या कहाँनिर रहेको छ भने महिलाबिरुद्ध हुने हिंसा, अन्याय, बिभेद लगायत महिलाका अधिकारका सवालहरु सामाजिक समस्या जसले समाज र देशलाई पछौटे बनाईरहेको छ, बिकासमा प्रत्यक्ष प्रभाव पारिरहेको छ भन्ने रुपमा नहेरी यो समस्या महिलाको मात्र हो भन्ने साेंच छ जसको कारण अभियानमा धैरै महिलाहरुमात्रै देखिन्छन् । तर बिस्तारै बिस्तारै यसको बुझाईको दायरा फराकिलो हुँदै गएको छ । पुरुष, महिला, राज्य, गैर राज्यपक्ष सबैतिरबाट सहभागिता र सहयोग बढ्ने क्रम शुरु भएको छ । महिलामाथि हुने हिंसा सबैको साझा र उत्तिकै सरोकारको बिषय नबन्दै यसको अन्त्य संभव छैन ।

६. महिलाका खास खास चुनौती के हुन् ?
नेपालमा आम महिलाका सवाल तथा चुनौतीहरु मुख्य रुपमा अंश र बंश माथिको अधिकार नहुनु नै हो । यद्यपि नेपालको अन्तरिम संविधानमा यो अधिकारको उल्लेख गरिएको भएता पनि व्यवहारिक कार्यन्वयन लगभग शून्य जस्तै रहेको छ । महिलाको शरीर र श्रम माथि महिलाको आफ्नो निर्णय र नियन्त्रण छैन भन्दा फरक पर्दैन । एक्काइसौं शताब्दिको बिकासको चरम उत्कर्षको क्षणमा पनि महिलाहरु आफुले गर्ने श्रम र आफ्नो शरीर माथि पनि आफु मालिक बन्न नसकेको अरुले नै आफ्नो सम्पत्तिको रुपमा प्रयोग गरेर फाइदा लिईरहेको बिडम्वना प्रमुख चुनौतीको रुपमा रहेको छ । त्यति मात्रै होइन, उत्पादनका श्रोत र साधनको पहुँच नहुनु, निर्णय र नियन्त्रण नहुनुका साथै महिलाहरुको भूमिकालाई सधै सहयोगीको रुपमा मुल्यांकन गरिँदै आएको छ । जसको कारण महिलाहरु विकासको मूूलधारवाट पछाडि पारिएका छन् । आफ्नो पहिचानको लागि दोश्रो ब्यक्तिको आवश्यकता पर्ने अवस्थाले महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा स्थापित बनाएको छ । नेपालका अधिकांश महिलाहरु खेतीपाती अर्थात किसानको काम गर्दछन् तर किसानको रुपमा महिलाले पहिचान पाउन सकेका छैनन् । किसान भन्नासाथ पुरुषको नाम आउँदछ  । आखिर महिलाहरु के हुन ? यिनीहरुको अस्तित्व कहाँ छ ? के महिला माध्यम अथवा साधनको रुपमा प्रयोग भइरहने वस्तु मात्र हुन् त ? यस्ता यावत सवालहरु महिलाका चुनौतिका रुपमा रहेका छन् ।

७. लैंगिक हिंसा विरुद्धको १६ दिवसीय अभियानको कुरा गरिरहँदा अहिले महिला अधिकारकर्मीहरु सैनिकवादको बीचको अन्तसम्बन्ध पहिल्याउने र त्यो सोंचका विरुद्ध काम गर्नुपर्छ भनिरहेका छन् । सैनिकवाद र महिला विरुद्ध हुने हिंसाको के सम्बन्ध छ ?
हाम्रो जस्तो समाजमा महिलाको भूमिकालाई दोहोरो रुपमा अथ्र्याउने गरेको पाइन्छ । एकातिर महिलालाई देवीको स्थान दिई पूजा गर्ने, सम्मान गर्ने, अथवा महिलालाई जहाँ सम्मान हुन्छ त्यहाँ सुख र संबृद्धि हुन्छ भन्ने जस्ता भनाई एकातिर छन् भने अर्कोतिर महिलालाई जबसम्म दमन गरिदैन, कुटिदैन, हिंसा गरिँदैन तबसम्म महिलालाई नियन्त्रण गर्न सकिदैन दासतामा राख्नु पर्छ भन्ने मान्यता अनुरुपको ब्यवहार गर्ने परिपाटी छ । जसरी भए पनि महिलालाई आफ्नो सम्पत्तिको रुपमा नियन्त्रणमा राख्नु पर्दछ मान्यताले प्रश्रय पाईरहेको छ ।
महिलामाथि हुने हिंसाको चर्चा परिचर्चा हुन थालेको पनि धेरै भइसकेको छ । यसलाई संबोधन गर्दै समस्या न्यूनीकरणका लागि केही नीतिनियमहरु बनेका छन् । कानूनहरु संसोधन भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट लगानी भइरहेको छ तथापी संतोषजनक परिणाम भने आउन सकेको छैन । अधिकारकर्मी महिलाहरुले घर, परिवार, समाज, राष्ट्रको साथै हाम्रो मानसिकतामा स्थापित सैनिकवादबिरुद्ध जुट्नु पर्ने आवश्यकताको निक्र्याैल निकाल्दै विगत केही बर्षदेखि यस नारामा केन्द्रित भएर काम गरिरहेका छन् ।
सैनिकबाद भन्ने बित्तिकै राष्ट्रिय सुरक्षासँग जोडिएको बिषय जसमा सेनाको हैकम भन्ने बुझिन्छ । महिला अधिकारको सन्दर्भमा भन्दा ब्यक्तिभित्र डरको संस्कृतिको बिकास गर्ने र हिंसालाई सामान्यीकरण गर्दै हिंसालाई द्वन्द्व निरुपण गर्ने माध्यमको रुपमा स्वीकार गर्ने परिपाटी भन्ने बुझिन्छ । समष्टिगत रुपमा हिंसा, दवाव र शक्तिको प्रयोगद्वारा समस्या समाधान हुन्छ भन्ने मानसिक सोंच नै सैनिकबाद हो । यो सोंचले हिंसालाई प्रश्रय दिएको हुन्छ । जसले प्रत्यक्ष रुपमा महिलालाई असर पारिरहेको छ । जस्तै, महिलाको शरीर र यौनिकतालाई बदलाको रुपमा प्रयोग गर्ने, नीचा देखाउने, बोक्सीको आरोप लगाउने, श्रीमतीलाई आफ्नो सम्पत्ति ठान्ने, धर्मका नाममा छोरी चढाउने, बाटोमा वा गाडीमा जिस्काउने, धम्काउने, आफ्नो नियन्त्रणमा लिन खोज्ने जस्ता व्यवहारहरु सैनिकबाद हावी हुनुको परिणाम हो । यस्ता किसिमका सोंचको अन्त्य नहुन्जेलसम्म महिलामाथि हुने हिंसाको अन्त्य संभब हुदैन । त्यसैले ब्यक्तिमा, समाजमा, राज्यमा हावी भएको सैनिकवादी सोंचको अन्त्य नहुञ्जेलसम्म महिलामाथि हुने हिंसाको श्रृखला बिभिन्न रुपमा जारी नै रहन्छ भन्ने नै हो ।

८. दाङमा के कस्ता प्रकृतिका हिंसा खेप्दैछन् महिला ?
दाङमा बिशेष गरी बहुबिवाह, बलात्कार, यौनहिंसा (यौन संबन्धको लागि गरिने बिभिन्न जालसाझी), घरेलु हिंसा —कुटपिट, मानसिक तनाब, बोक्सीको आरोप आदि जस्ता हिंसाका रुपहरु खप्न बाध्य छन् महिलाहरु ।

९. जिल्लामा हिंसा प्रभावितको न्यायमा पहुँचको अवस्थालाई कसरी हेर्नुहुन्छ ?
हिंसा प्रभावितहरुको न्यायमा पहुँच बृद्धि गर्नका लागि धेरै किसिमका संरचनाहरुको स्थापना भएका छन् । जिल्लामा हिंसा प्रभावितको न्यायमा पहुँच नै नभएको अवस्था त होइन तर सबैमा सहज रुपमा पहँुच पुग्न भने सकेको अवस्था छैन । दाङ्गमा मात्र नभई देशब्यापी रुपमै न्यायमा पहुँचको यही अवस्था छ । अहिलेको परिस्थितिमा पीडितहरुले न्याय पाउनको लागि थप हिंसा, दुब्र्यवहार तथा बिभिन्न लाञ्छनाहरु खेप्नु पर्ने बाध्यता छ ।
पहिलो कुरा त समस्यामा परेको महिलालाई थाहा नै छैन, म कहाँ गएमा न्याय पाउन सक्छु । आफ्ना समस्याको सहज रुपमा सुनुवाई कहाँ हुन्छ, कस्तो समस्याको लागि कुन कानूनको सहयोग लिन सकिन्छ भन्ने अनभिज्ञता एकातिर छ भने अर्कोतिर न्यायिक निकायहरु महिलामैत्री हुन सकेका छैनन् । समस्याको वास्तविक कारणले भन्दा पनि न्याय पाउने भन्ने विषय सम्बन्धित अधिकारीको सोंचमा निर्भर रहेको छ । लैंगिक रुपमा संवेदनशील अधिकारीबाट राम्रा काम पनि भएका छन् भने अन्यबाट थप हिंसा गर्ने काम भएको छ । न्यायमा पहुँचको अवस्था सन्तोषजनक छैन ।

१०. महिलाबिरुद्ध हुने हिंसा रोक्न धेरै कानुन पनि बनेका छन् । अन्तरिम संविधानले महिलाका धेरै अधिकारलाइ सम्बोधन गरेको पनि छ । घरेलु हिंसा कसूर तथा सजाय ऐन र बैवाहिक बलात्कार सम्मका विषयमा कानुन बनेका छन् तर ती कानुनले पीडितलाई त सहयोग पुग्न सकेन नि है ?
पीडितहरुलाई सहयोग नपुगेकै त भन्न मिल्दैन होला । कानुन बनिसकेपछि केही मात्रामा भए पनि सहयोग पुगेको होला र पुग्नेछ भन्ने पनि आशा गरौं । तर ऐन, कानूनहरु बनेर मात्र समस्या समाधान हुन्छ भनेर बस्न सकिने अवस्था छैन । कानून, नीति नियमहरु त कार्यान्वयनको पाटो सन्तोषजनक छैन । जुन रुपमा महिला अधिकारको लागि संविधान तथा कानूनमा ब्यवस्था गरिएको छ त्यही रुपमा ब्यवहाारिक कार्यान्वयनको अभाव छ । समस्याको कारणको जरा सम्म पुगेर समाधान गर्ने खालको संयन्त्रको जरुरी छ ।
११. महिला विरुद्ध हुने हिंसा अन्त्यका लागि कसले के गर्नुपर्ला ?
सबैभन्दा ठूलो कुरा महिलालाई हेर्ने सोंचमा आमुल परिवर्तन हुनु जरुरी छ । महिलामाथि महिला भएकै कारण गरिने हिंसालाई हदैसम्मको दण्डनीय बनाइनु पर्दछ । महिलालाई पुरुपको सम्पत्तिको रुपमा नलिई एउटा स्वतन्त्र अस्तित्वको रुपमा स्वीकार गरिनुपर्दछ । बिकासको मूूलप्रवाहमा ल्याउन यी तमाम विषय सबैको साझा सरोकारको विषय बन्नु पर्छ । महिलामाथि हुने हिंसा अन्त्यको लागि एउटा कुनै संस्था तथा राज्यको मात्र दायित्व भनेर पन्छिनु भन्दा सबैले आ—आफ्नो स्थानबाट सक्दो पहल गर्न सक्यौं भने एउटा हिंसा रहित सभ्य समाज निर्माण गर्न सकिन्छ भन्ने जस्तो लाग्छ ।

१२. अन्त्यमा केही भन्नु छ कि ?
अवसर दिनुभएकोमा धन्यवाद । ल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np