Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

स्वास्थ्य र परम्परागत ज्ञान

         डा. अरुणा उप्रेती ||   47 Views   ||   Published Date : 25th September 2020 |

dr Aruna upreti

हाम्रो देशमा त फलामको भाँडामा पकाएको दाल–तरकारी भातसँग मुछेर खाइन्छ । यसरी खाँदा अचारमा रहेको भिटामिन ‘सी’ले दालमा रहेको लौहतत्व शोषण गर्न मद्दत गर्छ । लौहतत्व शरीरमा पुगेपछि रक्तअल्पता कम हुन्छ । फलामको भाँडाको यस उपयोगिताबारे अहिले विज्ञानले सिद्ध गरिसकेको छ ।

केही महिना अघि विदेशबाट आएका एक नेपाली जनस्वास्थ विज्ञले ‘नेपालमा रक्तअल्पता कम गर्न फलामको माछा प्रयोग गर्न आवश्यक छ, त्यसको लागि अध्ययन–अनुसन्धान गर्ने विषयमा छलफल गर्न तपाईं आइदिनुप¥यो’ भने ।

पछि छलफलका क्रममा ती नेपाली विज्ञले भने, ‘कम्बोडियामा धेरै महिलालाई रगतको कमी भएको थाहा पाएपछि एक विदेशी डाक्टरले खाना पकाउँदा फलामको माछा खाना पकाउने भाँडामा हाल्ने गर्नू भनेर सिकाए ।

यसरी खाना पकाउँदा भाँडोमा फलामको माछा राखेको खण्डमा फलामको माछामा रहेको फलामतत्व खाने कुरामा जान्छ र महिलाहरूले पर्याप्त लौहतत्व पाउँछन् भन्ने उद्देश्यले यस किसिमको प्रयोग गरिएको थियो ।’ उनले भने, ‘वास्तवमा यो तरीका अपनाएपछि कम्बोडियाका महिलाको स्वास्थ्यमा सुधार आयो ।

उनीहरूको रक्तअल्पता घट्यो भनेर बीबीसीमा पनि समाचार आयो । यसको लागि बिल एन्ड मिलिन्डा गेट्स फाउन्डेसनले झन्डै ८ लाख डलर बराबरको सहयोग पनि दिएको भनेर समाचारमा आएको थियो । उनको कुरा सुनेपछि मैले हाँसेर भनेकी थिएँ, ‘तर नेपालमा त फलामको भाँडामा खाना पकाउने चलन परम्पराकै रुपमा रहेको छ । त्यसको लागि भिन्नै ‘फलामको माछा’ बनाउनु त पर्दैन होला ।’

फलामको भाँडामा पकाएको खाना स्वस्थकर हुन्छ भन्ने ज्ञान हाम्रापुर्खाहरूलाई थियो । तर अहिले त्यो ज्ञानलाई वास्ता गरिन्न । शायद विदेशी भाषामा लेखिएका र विदेशीहरूले आएर नेपालमा त पौष्टिक तत्व स्थानीय खानामा धेरै पाइन्छ, फलामको भाँडामा पकाएको खाना राम्रो हुन्छ भनेपछि मात्र स्वास्थ्य मन्त्रालयले ‘लौ स्थानीय खाना र फलामको भाँडामा पकाएको खाना राम्रो हुने रहेछ, यसले नै रक्तअल्पता कम गर्न मद्दत गर्छ’ भन्छ होला ।

नेपालका कतिपय स्थानमा मेथीलाई एकरात भिजाएर खिर बनाई सुत्केरीलाई ख्वाउने चलन छ । एक सय ग्राम मेथीमा झन्डै ८.४७ मि.ग्रा. लौहतत्व, केही प्रोटिन र क्याल्सियम पनि हुन्छ । शरीरमा रगतको कमी भएका महिलालाई प्रोटिन र क्याल्सियम पनि कम हुने सम्भावना हुन्छ ।

त्यसैले भिजाएको मेथी टुसा उमारेर प्रयोग गर्दा स्वस्थ रहन मद्दत गर्छ । नेवारी खानामा त मेथीको परिकार धेरै मात्रामा प्रयोग हुन्छ । मेथीमा रेसादार पदार्थ पनि हुन्छ । मेथीको दैनिक रुपमा सेवन गर्नु गर्भवती र सुत्केरी दुवैलाई राम्रो हुन्छ ।

नेवारी खाजा ‘समयबजी’ एक सम्पूर्ण भोजन नै मान्न सकिन्छ । अफसोस आजकल खाजा भनेपछि अनेक पत्रु खाना र बिस्कुट हुन्छ, समयबजी खाने चलन हराउँदै गएको छ ।

एक सय ग्राम लट्टेमा झन्डै ४ ग्राम प्रोटिन र झन्डै ५ मि.ग्रा.लौह तत्व हुन्छ । क्याल्सियम पनि पर्याप्त हुन्छ । सजिलैसँंग फल्ने लट्टेको प्रयोग गर्दा शरीरलाई चाहिने सूक्ष्म पोषणतत्व पर्याप्त मात्रामा उपलब्ध हुन्छ । यस्ता खाना गर्भवतीको लागि उपयुक्त हुन्छ । लट्टे सजिलैसँग बारीमा फल्छ । खासै मल पनि चाहिन्न । लट्टेको दानालाई तराईतिर रामदाना भनिन्छ । दाना भुटेर लड्डु बनाइन्छ । यसको पीठो पनि बनाइन्छ ।
त्यसैले अस्वस्थकर खानबाट पैदा हुने समस्या नहोस् भनेर हाम्रा सांस्कृतिक र परम्परागत मान्यता अनुरूपका खानाहरूको सिंहावलोकन गर्न जरुरी छ । आधुनिकताको नाममा बजारमा पाइने अनेक थरीका पत्रु खाना गर्भवती महिलालाई दिँदा उनलाई रगतको कमी, मिर्गौलामा समस्या आदि हुन सक्छ । त्यसैले गर्भवती वा सुत्केरीलाई ज्वानो, चाकु आदि परम्परागत पौष्टिक तत्व दिनुपर्छ ,जसले उनीहरुलाई तंग्रिन मद्दत गर्छ ।

अहिले स्कुलहरूमा किशोरीहरूलाई ‘रक्तअल्पता’ नहोस् भनेर ‘आइरन’ चक्की बाँड्ने कार्यक्रम पनि आएको छ । ‘आइरन’ चक्की मात्र बाँडेर लौहतत्व पुग्दैन भन्ने कुरा थाहा भैसकेपछि पनि स्वास्थ्य मन्त्रालय त्यही काम दोर्होयाउँदै छ ।

रोगसँग लड्न घाममा बस्ने कि ?
अहिले कोरोनाको सङ्क्रमणबाट बच्न भिटामिन डीको महत्वका बारेमा धेरै छलफल भइरहेको छ । केही अध्ययनले कोरोना र भिटामिन डीको सम्बन्ध खोजी गरिरहेका छन् ।

अनुसन्धानकर्ताहरूले भिटामिन डीले प्रतिरक्षा प्रणालीमा कस्तो खालको कार्य गर्छ भनेर सूक्ष्म खोजी गर्ने कार्यलाई तीव्रता दिएका छन् । पाका–पुराना मानिसहरूले अहिले पनि बिहान मन्त्रोच्चारण गर्दै लामो समय लगाएर सूर्यलाई अर्घ (दूध, दही, जौ, कुश, दुबो मिश्रित जल) चढाइरहेका हुन्छन् । त्यसक्रममा धेरैजसोले गन्जी पनि लगाएका हुँदैनन्, यसले केहीबेर मात्र भए पनि शरीरमा घाम लाग्न पाउँछ । अर्घ दिनुको धार्मिक महत्व जे भए पनि मानव स्वास्थ्यका दृष्टिले भने लाभदायक नै देखियो । ८० प्रतिशत भिटामिन सूर्यको किरणबाटै पाइन्छ तर घाममा बस्दा छालामा सीधै पर्नुपर्छ । लुगाबाट वा सिसाबाट छिरेर तापिएको घाम काम लाग्दैन ।

जुनसुकै समस्या किन नहोस्, औषधीले नै ठीक पार्छु भन्ने गलत मानसिकता अधिकांश मानिसमा देखिन्छ । यो मानसिकता र बानी ठीक छैन । प्राकृतिक तवरले पनि समस्या समाधान हुन्छ कि भनेर विकल्प खोज्न हामीले बिर्संदै गएका छौं । स्वास्थ्यप्रति सचेत व्यक्तिले क्याप्सुल किन्न भन्दा पनि प्राकृतिक तवरमै पाइने खुला स्रोतको उपयोग गर्न चुक्नुहुँदैन ।

किशोरी वा महिलाहरू पनि छाला डढेर कालो हुन्छ भनेर घाममा बस्दैनन् । यसले उनीहरूको शरीरमा कति नोक्सान भइरहेको छ भन्ने थाहा पाउञ्जेलसम्ममा समस्याले उग्ररूप लिइसकेको हुन्छ । धेरै स्वास्थ्यकर्मीले पनि त्यसबारे याद गरेको पाइँदैन भने सामान्य मानिसले त थाहा नपाउनु स्वाभाविक नै भयो ।

किशोरीहरूको शरीरमा भिटामिन डीको कमी हुँदा प्रजनन् स्वास्थ्यमा पनि असर पर्छ । घाममा बस्दा पुठ्ठाको हड्डी बलियो हुन्छ । किशोरीहरूको हड्डी बलियो भयो भने गर्भावस्था र प्रसुतिको वेलामा पनि स्वास्थ्य राम्रो रहन्छ । उमेर ढल्कँदै जाँदा रजोनिवृत्ति भएपछि हड्डी दुख्ने समस्या कम हुन्छ । घामले महिलामा हुनसक्ने बाथरोगको जोखिम पनि कम गर्छ ।

चिसो ठाउँमा बसेर काम गर्ने व्यक्तिलाई हुने दुखाइ घटाउँछ । हड्डी कमजोर हुँदै नजाओस् भनेर स्वस्थकर खाना खानु, घाम ताप्नु र हिँड्नु तीनै वटा कार्य अति जरूरी छ । घाममा बसेर मालिस गर्नु शरीर स्वस्थ राख्ने एक उत्तम उपाय हो । यो परम्परागत मान्यता विज्ञानसम्मत छ ।

हामीकहाँ बच्चालाई घाममा राखेर तेल लगाउँदा छाला डढेर कालो हुन्छ भन्ने डरले घाममा नराख्ने अभिभावक धेरै छन् । तिनले बुझ्नुपर्छ– भिटामिन डीले नै बालबालिकामा दम र श्वास–प्रश्वास सम्बन्धी विविध समस्या घटाउने गर्छ । हड्डी र शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ । रोगसँग लड्ने क्षमता वृद्धि गर्छ ।

मेरो घरको बगैंचाको एउटा कुनामा मेवाको सानो बिरुवा तीन वर्षदेखि हुर्कदै थियो तर कहिल्यै फस्टाएन । मालीले विशेष ध्यान दिँदै मलजल गरे पनि बिरुवा टाक्सिइरह्यो । एकजना कृषिविद् घरमा आएका वेला उक्त मेवाको बिरुवा हेर्दै भने– ‘घाम नपाएकाले यो बिरुवा मर्न थालेको छ । यसलाई ऊ त्यो घाम आउने ठाउँमा लगेर रोपिहेर्नुहोस्, मौलाउँछ कि ?’

उनको सल्लाह अनुरूप बिरुवा जतनसाथ घाम लाग्ने ठाउँमा सारियो । त्यसपछि मेवा एक वर्षमै हलक्क बढेर बोटले नथेग्ला झैं गरी फल्यो । घाम पाएपछि हलक्क बढेको त्यो मेवाको रूख देखेर मालीले भनिन्, ‘सूर्यको दर्शन नपाएर पो मर्न लागेको रहेछ ।’ बिरुवालाई त यति घाम चाहिन्छ भने मानिसलाई कति आवश्यक पर्दो हो ? वेलैमा विचार गरौं घाम ताप्ने कि रोग पाल्ने ?

बालबालिकाको खानपान के सिकाउने ?
‘मेरो दुई वर्षको बच्चाले खाना नै खाँदैन, फलफुल, आलु, दाल, अण्डा । चाउचाउ पनि खान्छ । तर भात, रोटी खाँदैन । हामी त चिन्तित छौं । लौ न के गर्ने होला ।’ एकजानाले मलाई दुःखी भएर लेखे र मेरो फोन नं. मागे । मैले फोन दिएको केही समयपछि उनले यही कुरा दोहो¥याएर । मैले सोधेँ ‘तपाईको बच्चा लोसे भएर सुुतेको छ ? नहाँसेको, झिजो मानेको छ ? तपाईले बोलाउँदा वास्ता नगर्ने, उफ्रिने खेल्ने नगरेको छ ?’ बावुले जवाफ दिए ‘होइन, उ त दिनभरी चल्छ । कहिले यता कहिले उता उफ्रिन्छ । नाच्छ । बिहान उठेदेखि नै हल्ला गर्छ ।’ त्यसो हो भने चिन्ता नलिनुस् । भात र रोटी नखाएर केही फरक पर्दैन । आलु, तरकारी, दाल, फलफुल खाए पनि बच्चालाई शक्ति आउँछ । आलु र भात उस्तै हो । अनि मैले भने ‘तपाईहरु एउटा बच्चाले आलु, भात, सबै खाओस् भनेर कोच्याएको कोच्याए नगर्नुस । भोक लागेपछि बच्चाले खान्छ । ज्वरो आयो, सुस्त भयो, पखाला लाग्यो भने मात्र चिन्ता लिने हो ।’

दुर्भाग्यवश हाम्रा बच्चा उपभोक्तामा परिणत भएका छन् । उनीहरुको खाना बनाउनेले निर्धारण गर्छ । उनीहरु साना प्राणी हुन्, जो सम्पूर्ण रुपमा हामीमा निर्भर छन् । विभिन्न व्यापारीहरुले हामीलाई भन्छन् ‘तपाईको लागि बाहिरका खाना महत्वपूर्ण हुन्छ ।’ अहिले ठूला निजी स्कूलमा बच्चाको जन्मदिनमा केक र पिज्जाको पार्टी हुन्छ । त्यसको खर्च आमाबुवाले बेहोर्नुपर्छ ।

अहिले बजारमा पाइने पत्रु खानेकुरालाई पोषणतत्वयुक्त खानेकुरा भनि गरिएको प्रचार विश्वास गर्नुहुन्छ ? प्रोटीन छ, रेशादार पदार्थ छ, लौहतत्व छ आदि भन्दै गलत विज्ञापन हुन्छ । यसरी ठूला खाद्य कम्पनीहरुले पैसा कमाएका छन् । भोजनभन्दा सुक्ष्म पोषणतत्वको आधारमा खाद्य पदार्थ प्रयोग गर्नुपर्छ भन्ने प्रचारले भ्रम उत्पादन गर्छ ।

प्रोटिन क्याप्सुल होइन भटमास, चना, दाल खाँदा स्वस्थ तरीकाले शरीरमा पोषण पुग्छ । गलत विज्ञापनले मानिसलाई अलमल्लमा पारिरहेको छ । स्वस्थ भोजन नभई स्वास्थ्य हँुदैन । पत्रुखाना स्वस्थ हुँदैन । परम्परागत रुपमा पाइने र मौसम अनुसार स्थानीय ठाउँमा पाइने खानेकुरालाई घरमा साधारण तरिकाले पकाएर खाए स्वस्थ भोजन पाइन्छ, बालबालिकालाई सानैदेखि यही सिकाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np