Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

सुत्केरीले पाएनन् प्रोत्साहन भत्ता

         ||   119 Views   ||   Published Date : 31st January 2022 |
सल्यान, २१ पुस । सल्यानको छत्रेश्वरी गाउँपालिकामा स्वास्थ्य संस्थामा सुत्केरी हुनेहरुले यातायात र प्रोत्साहन भत्ता पाउन सकेका छैनन् ।

जिल्लाको प्राथामिक स्वास्थ्य केन्द्र लेखपोखरा, स्वास्थ्य चौकी दमाचौर, स्वास्थ्य चौकी झिम्पे, स्वास्थ्य चौकी छायाँक्षेत्रलगायत गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरुमा प्रसूति सेवा लिएका सुत्केरी आमाहरुले यातायात र प्रोत्साहन भत्ता नपाएका हुन् । स्थानीय सरकार उदासिन हुँदा सरकारले नै तोकेको भत्ता पाउनबाट सुत्केरी आमाहरु बञ्चित भएका छन् ।
यस गाउँपालिकामा सातवटा वडा छन् । ती सबै वडाहरुमा बर्थिङ सेन्टर सञ्चालन भइरहेका छन्। ती सबै बर्थिङ सेन्टरमा गत साउन महिनायता प्रसूति भएका कुनै पनि सुत्केरी आमाहरुले यातायात र प्रोत्साहन भत्ता पाउन सकेका छैनन् । सरकारले पहाडी जिल्लाका लागि स्वास्थ्य संस्थामा सुत्केरी भएवापत दुई हजार र नियमित चार पटक गर्भजाँच गरेका आठ सय गरी एकमुष्ट दुई हजार आठ सय रुपैयाँ दिने व्यवस्था गरेको छ ।
तर यस बारेमा स्थानीय सरकारले ध्यान नदिदा छ महिनादेखि सुत्केरीहरु यातायात र प्रोत्साहन भत्ता पाउनबाट बञ्चित भएका हुन् । राज्यले स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवा लिए वापत तत्काल आमा र बच्चालाई दिने रकम छ महिना हुँदासमेत नपाएको सुत्केरी आमाहरुको गुनासो छ । स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बृद्धि गर्ने, बच्चा तथा आमाको सुरक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ राज्यले दिने गरेको सुत्केरी प्रोत्साहन भत्ता नपाएको उनीहरुको भनाइ छ ।
गत भदौ महिनामा सुत्केरी हुनुभएकी छत्रेश्वरी गाउँपालिका–५ लेखपोखराकी मित्रीकुमारी परियारले आफूले यातायात र सुत्केरी प्रोत्साहन भत्ता पाउनुभएको छैन । ‘म गत भदौमा सुत्केरी भएकी हुँ, त्यो बेला भत्ताको पैसा अहिले छैन् पछि लैजानुहोला भनेर खाली हात पठाउनुभएको थियो, नियमित गर्भ जाँचको कार्ड र नागरिकताको फोटोकपि स्वास्थ्य संस्थामा दिएकी हुँ’– उहाँले भन्नुभयो– ‘पैसा आयो भने फोन गर्छौं भन्नुभएको हो, अहिलेसम्म फोन आएको छैन ।’
उहाँ जस्तै छत्रेश्वरी गाउँपालिकाका एक सयबढी सुत्केरी आमाहरुले यातायात र प्रोत्साहन भत्ता पाउनुभएको छैन । यातायात र प्रोत्साहन भत्ता समयमा नपाउँदा सुत्केरी अवस्थामा पोषिलो खानेकुरा खुवाउन समस्या भएको स्थानीय शान्ति डाँगीले गुनासो गर्नुभयो । राज्यले सुत्केरी आमालाई दिने प्रोत्साहन भत्ता विभिन्न कारण देखाउँदै समयमै नदिदा समस्या भएको उहाँको भनाइ छ । समयमा नै यातायात र प्रोत्साहन भत्ता नपाउँदा विपन्न तथा दलित समुदाय बढी प्रभावित भएका छन् । कतिपयले ऋण काढेर समेत एम्बुलेन्स भाडा र पोषिलो खानेकुराको जोहो गरेको बताएका छन् । स्वास्थ्य चौकी छायाँक्षेत्रका प्रमुख गणेश चन्दले साउन महिनायता स्वास्थ्य चौकीमा सुत्केरी भएका आमाहरुलाई सुत्केरी प्रोत्साहन तथा यातायात रकम दिन नसकिएको बताउनुभयो ।
प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखराका निमित्त प्रमुख बीरबहादुर ओलीका अनुसार यस स्वास्थ्य संस्थामा हालसम्म २७ जना प्रसूति भएका छन् । तर तिनीहरु कसैले पनि यातायात र प्रोत्साहन भत्ता पाएका छैनन् । गाउपालिकाले अहिलेसम्म रकम नपठाउँदा तत्कालै दिनुपर्ने पैसा दिन नसकिएको उहाँको भनाइ छ । स्वास्थ्य संस्थामा गर्भजाँच गराउन आउने गर्भवतीलाई आयोडिन नुन, हात धुने साबुन भने वितरण गर्दै आएको उहाँको भनाइ छ । गाउँपालिकाले रकम पठाउन ढिलाइ गर्दा सुत्केरी आमाहरुलाई खाली हात घर पठाउने गरिएको स्वास्थ्य चौकी दमाचौरका निमित्त प्रमुख रुपक चन्दले बताउनुभयो ।
गाउँपालिकाले समयमा नै पेश्की वापतको रकम निकासा नगर्दा यातायात र प्रोत्साहन रकम दिन नसकिएको स्वीकार गरेको छ । स्वास्थ्य शाखा प्रमुख केशरीदेवी भट्टराईले तत्कालै पहिलो चौमासिक रकम निकासा गरेर अहिलेसम्मका सुत्केरी आमाहरुलाई दिइने र दोस्रो चौमासिकको लागि पेश्की लिएर वितरण गर्ने व्यवस्था मिलाइने बताउनुभयो । ‘सबै स्वास्थ्य संस्थाबाट रिपोर्ट आइसकेको छ, कहिले लेखा त, कहिले हाकिम नहुँदा केही ढिला भएको हो’– उहाँले भन्नुभयो– ‘अब छिट्टै पहिलो चौमासिकमा सुत्केरी भएका सबै आमाहरुलाई रकम उपलब्ध गराउने गरी तयारी गरेका छौं ।’ उहाँले अबका दिनमा यस्तो समस्या नआउने दाबी गर्नुभयो । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार गत आर्थिक वर्षमा जिल्लाभर चार हजार ७८ जना स्वास्थ्य संस्थामा पुगेर प्रसूति भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np